
काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा ठगी र आपराधिक विश्वासघातको आरोपमा थप एकजना पूर्वअधिकारीलाई पक्राउ गरेको छ।
सीआईबी का अनुसार नेपाल ट्रस्टको नाममा दर्ता रहेको काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित जग्गा थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिने क्रममा कागजात हेरफेर गरी बढी क्षेत्रफल लिजमा दिएको आरोपमा पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका हुन् ।
यस प्रकरणमा थप ३ वर्षका लागि निर्माण अवधि भनिएको जग्गा ३० वर्षका लागि लिजमा दिने सम्झौता मिलाइदिएको खुलेको छ। २०७४ साल जेठ १४ गते गरिएको उक्त करारमा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ बाहेक अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिएको, जसबाट नेपाल ट्रस्टमार्फत् राष्ट्रलाई दीर्घकालीन हानी हुने परिस्थिति सिर्जना गरिएको सीआईबीको ठहर छ।
यस प्रक्रियामा संलग्न रहेकाहरूले गैरकानुनी रूपमा व्यक्तिगत लाभ लिएको ठहरिएको सीआईबीका प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठले बताएका छन् । यसै प्रकरणमा यसअघि तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई गत कात्तिक २१ गते सीआईबीले पक्राउ गरेको थियो।
अनुसन्धानको क्रममा संलग्नता देखिएको भन्दै दोलखा, जिरी–६ दोलखा निवासी पूर्वसचिव अर्जुन कुमार कार्की (तत्कालीन सचिव, नेपाल ट्रस्ट, हाल सेवा निवृत्त)लाई सीआईबीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर कात्तिक पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार उक्त करारमा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि सीआईबीले थप अनुसन्धान जारी राखेको जनाएको छ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगले आज आइतबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । यो कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा समेत प्रकाशन गरिने छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।
मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यसपछि सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ । मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेछ ।
निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिनेछ । पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम छ ।
माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
काठमाडौं- एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेको छ ।
आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा योजना स्वीकृत भएको हो ।
सुरक्षा योजनाअनुसार निर्वाचनमा नेपाली सेना परिचालनका लागि रक्षा मन्त्रालय हुँदै सुरक्षा परिषद्लाई सिफारिस गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। बैठकले सातै प्रदेशका सुरक्षा गोष्ठि गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका रथी सहभागी थिए।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विधानसम्मत रूपमा उठेको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न नसकिने चेतावनी दिएका छन् ।
उनले महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित गरेको लिखित माग विपरीत पार्टीले निर्णय गरे आफू महामन्त्री पदबाट राजीनामा गर्न तयार रहेको स्पष्ट सन्देश दिएको स्रोतले बताएको छ ।
शुक्रबार सिंगापुरबाट फर्केका देउवालाई भेट्न शर्मा आइतबार मध्यान्ह हात्तीसार पुगेका थिए । झण्डै डेढ घण्टा चलेको भेटमा शर्माले विशेष महाधिवेशन पार्टी विधानले व्यवस्था गरेको बाध्यकारी प्रक्रिया भएकाले त्यसलाई बेवास्ता गर्न नहुने धारणा राखेका थिए । देउवालाई भेटेर फर्केपछि उनले केही सीमित नेताहरूसँग पनि भेटमा राखेको आफ्नो धारणा साझा गरेका छन् ।
शर्माले विशेष महाधिवेशन संविधानसम्मत माग भएको बताउँदै भनेका छन्, ‘संसद् विघटन संविधानसम्मत भएन भनेको कांग्रेसले हो । अब विधानले दिएको अधिकारभित्र बसेर माग गरिएको विशेष महाधिवेशनलाई बुझाइएन भने हामी आफूले भनेको कुरामै टिक्न सक्दैनौँ ।’
उनका अनुसार विशेष महाधिवेशनका मागविपरीत पार्टीले अन्यान्त निर्णय गरे निर्णय लागू भएको मितिदेखि नै आफू महामन्त्री पदबाट हट्ने जानकारी देउवालाई गराइसकेका छन् । उनले राखेको धारणा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पनि बताइएपनि कांग्रेस नेताहरूले पुष्टि गरेका छन् ।
विधानको धारा १७(२) का अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर आग्रह गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
यही व्यवस्था अनुसार ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन् । असोज २९ मा सो लिखित माग पेश भएकाले पुस २८ भित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ ।
काठमाडौं- निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ को निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो ।
आयोगले आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ । प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताए ।
थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । ती दलको सनाखत र कागजात रुजुको काम भइरहेको छ ।
काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।
आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो।
कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्।
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयसीमा आज सकिँदैछ । निर्वाचन आयोगले तोकेको समयावधि अनुसार इच्छुक राजनीतिक दलहरूले आज साँझ कार्यालय समयसम्म आफ्नो दर्ता प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आह्वान गरेसँगै धेरै नयाँ दलहरू दर्ता भएका छन् । यस प्रक्रियामा रहेका केही दलहरूले आज आफ्नो प्रमाणपत्र प्राप्त गर्नेछन् । हालसम्म निर्वाचन आयोगका अनुसार १२६ दलले आधिकारिकता पाइसकेका छन् । आजको अन्तिम दिनपछि यो संख्यामा केही थपघट हुन सक्नेछ ।
आयोगले यसअघि नै फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरेको थियो ।
यसैबीच, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न चाहने उम्मेदवारहरूका लागि निवेदन दिने समय तोकिएको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आयोगले सम्पूर्ण तयारी अगाडि बढाएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तहरूको सहयोगले चलिरहेको आपसी मतभेद सुल्झिनेछ। मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साझेदारी व्यापारमा लाभ मिल्नेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तहरू मध्य कुरा राख्ने अनुकुल समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अध्ययनमा आइरहेको बाधा पन्छिनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग कारोबारमा राम्रो अवसर हात पार्न सक्नुहुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा अधिकारीहरुको सहयोग मिल्नाले तनाव कम हुनेछ। नयाँ योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। परिवारको मांगलिक कार्यक्रममा सहभागी भइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। नयाँ लगानी लगाउनु भन्दा अघि अनुभवीजनहरूसँग परामर्श लिनुहोस्। भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा साहसिक कार्य गर्ने समय रहेको छ। आर्थिक स्थिति सुदृढ रहनेछ। विवादास्पद मामलाहरू सजिलै सम्पादन हुनेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। अनिन्द्राले आँखा दुख्ने समस्या देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
जीवनसाथीको भावनालाई सम्मान गर्नुहोस्। पायक स्थानमा यात्राका योग छन्। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ६ छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक योजनाहरूमा भागीदारी बढ्नेछ। गोप्य सूचना बाहिरिनाले दोहोराएर कार्य गर्नुपर्ला। नयाँ अवसरको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पहिलाको सफलताले नयाँ कार्य गर्नमा हौसला जगाउनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। आम्दानी बढ्नाले नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।





