
काठमाडौँ। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पद अनुकूल आचरण नगरेको प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।
बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।
प्रस्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउत ईशरले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् । उनका अनुसार प्रदेश सभा बैठकमा ७८ सांसदको उपस्थित थियो ।
गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।
बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, काँग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।
त्यसपछि निर्माणार्थ प्रस्तुत गरी मत विभाजन मार्फत पारित गरिएको हो ।
बैठकमा नेकपा एमालेबाट भने एक जना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात् पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईँको तत्काल रिहाइको माग गरेका छन्।
काठमाडौँमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले भने, ‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईँलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो ।’
उनका अनुसार प्रसाईँले दिउँसो सार्वजनिक गरेको भिडियोकै कारण रातारात पक्राउ गरिएको हो । सरकारको गलत मनसायको संकेत हो । उनले दाबी गरे, ‘उहाँले भिडियोमा वास्तविक तथ्यहरू मात्रै राखेका थिए । त्यसकै भरमा गिरफ्तारी गर्नु उचित हुँदैन।’
ओलीले प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘दुर्गा प्रसाईँले एउटा भिडियो निकाले । दिउँसो निस्कियो बेलुका समातियो । यो सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? दुर्गा प्रसाईँलाई दिने जवाफ छ कि छैन । म प्रधानमन्त्री र गृहमन्त्रीलाई सोध्न चाहन्छु । एआई त होइन होला,’ ओलीले भने, ‘प्रश्न उठायो, कसैले अनि । भएकै भिडियो त देखाएको हो नि ? दुनियाँ शोकमा भएको बेला तपाईँहरू त षडयन्त्रको तानाबाना बुनिरहनु भएको रहेछ भनेको त हो ।’
उनले अभिव्यक्ति स्वतन्त्रताको आधारमै कसैलाई पक्राउ गर्नु स्वेच्छाचार ठहरिने बताए । ‘बोलेबापत आक्रोशित, उत्तेजित भएर मान्छे गिरफ्तार गर्न हुँदैन । कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन । के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन । भएको भिडियो बाहिर ल्याउनु अपराध हो । राति राति स्वेच्छाकारी ढङ्गले के गरेको ? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो । तमासा गरिरहेको छ यो सरकारले,’ उनले भने ।
काठमाडौं । बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए ।
सो क्रममा प्रहरी र युवाहरुबीच झडप भएको थियो । स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार आठ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा दुई लाख ३९ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर प्रतितोला तीन हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा तीन हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।




