
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्युजन नोटिस जारी भएका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पक्राउ गरेको हो ।
बीआईले पाठकको फोटोसहित विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । जिल्ला अदालत, काठमाडौँले १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । सो विवरण बीआईसम्म पुगेको जनाइएको छ । पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको आरोपमा इन्टरपोलमा पनि डिफ्युजन नोटिस जारी गरिएको थियो ।
‘फिलिपिन्सको अध्यागमनले प्राप्त गरेको आधिकारिक सूचना अनुसार उनले फरार कैदीहरुलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग दिने तथा हतियारसम्म पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए,’ अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग पनि जोडिएको पाइएको छ ।’
फिलिपिन्सको अध्यागमन रेकर्ड अनुसार पाठक १८ अगस्ट २०२५ मा त्यहाँ पुगेका थिए । उनलाई १८ डिसेम्बरसम्म बसोबासको अनुमति थियो । डिपोर्ट प्रक्रिया पूरा नभएसम्म उनलाई अध्यागमनको हिरासतमा राखिने बताइएको छ ।
पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै राईसहित अन्य व्यक्तिको हत्या गर्ने धम्की दिएको आरोप छ । यस घटनासँग सम्बन्धित उनका तीन जना साथीलाई काठमाडौं प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको बिरूद्ध ठूलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताएका छन्।
“संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाएका हुन्।
मादुरोको पक्राउ ट्रम्पद्वारा पुष्टि गरिए अनुसार, संयुक्त राज्य अमेरिका र भेनेजुएला बिच तीव्र तनावको बीचमा आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को-आतंकवादी“ सरकारको अध्यक्षता गरेको आरोप लगाएका थिए।
अमेरिकाले भेनेजुएलाको तेल ओसारपसारमा संलग्न रहेको दाबी गर्ने जहाजहरूमा पनि प्रतिबन्ध लगाएको थियो। सोही समयमा, अमेरिकी सेनाले लागुऔषध तस्करीमा संलग्न भएको आरोप लगाउँदै यस क्षेत्रमा भेनेजुएलाका डुङ्गाहरू विरुद्ध कारबाही बढाएको छ। भेनेजुएलाले अमेरिकाविरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ।
यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ।
आधिकारिक विज्ञप्तिमा, अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको उल्लेख गरिएको छ।
भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ।
विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई “साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ।
बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ। जबकि कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ। राष्ट्रपति निकोलस मादुरोले संविधान र सान्दर्भिक राष्ट्रिय सुरक्षा कानुन अनुरूप राष्ट्रिय योजनाहरू कार्यान्वयन गर्न आदेश दिई भेनेजुएलामा सङ्कटकालको आदेशमा हस्ताक्षर गरेको जनाइएको छ।
हाल राज्य र नगरपालिकाहरूमा व्यापक राष्ट्रिय रक्षा कमान्ड संरचनाहरू तैनाथ गरिएको बताएको छ। संयुक्त राष्ट्रको बडापत्रको धारा ५१ लाई आह्वान गर्दै भेनेजुएला सरकारले आफ्ना जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्न आत्मरक्षा गर्ने अधिकार सुरक्षित राखेको र विश्वव्यापी सरकार र जनतालाई एकता व्यक्त गर्न आह्वान गरेको छ।
भेनेजुएलाको राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको रिपोर्टको बीचमा यो विज्ञप्ति जारी गरिएको थियो, जसले धेरै क्षेत्रमा बिजुली कटौती गरेको सिएनएनले जनाएको छ।
घटनाक्रममा प्रतिक्रिया दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् बोलाउन आह्वान गरेका छन्।
काठमाडौँ । भद्रपुर विमानस्थलमा शुक्रवार राती बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीले रनवे घटाएर विमानस्थललाई सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनकाअनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ । रनवे छोट्याएर विमान स्थल सञ्चालन गरिएकोले त्यसको बारेमा जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको उनले जानकारी दिए ।
हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनको लागि पर्याप्त रहेको उनको भनाई छ । उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए । उनकाअनुसार शुक्रवार राती ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । मौसम सफा रहेकोले मौसमको कारण दुर्घटना नभएको उनले बताए । प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए ।
काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । जहाज दुर्घटना भएको आवाज सुनेपछि स्थानीयहरूले यात्रुको उद्धार गरेको भद्रपूरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिए । उनकाअनुसार तीन जना यात्रु भने विमानभित्र रहेका थिए ।
दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको छ ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।
आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले प्रत्यक्ष तर्फ उम्मेदवारको रूपमा ओलीको एकल नाम सिफारिस गरेको हो ।
यस अघि २०७९ र २०७४ को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।
झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ ।
मोरङ क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिलकुमार शर्माले आफूले अध्ययन गरेको मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयलाई करोडौँ रुपैयाँ बराबरको भवन बनाइदिने भएका छन् ।
आफ्ना मातापिताको नाम सदैव अमर रहोस् भन्ने उद्देश्यका साथ डा. शर्माको सहयोगपछि उक्त भवनको आज भव्य कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

साथै उक्त विद्यालयको नाम अब श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय राखिएको छ। करिब चार करोड रुपैयाँको लागतमा विद्यालय हाताभित्र १० कोठे अत्याधुनिक कम्प्युटर ल्याब तथा शौचालयसहितको भवनको आज शिलान्यास गरिएको छ। उक्त भवन ६ हजार ४ सय वर्गफुट क्षेत्रफलमा निर्माण हुने जनाइएको छ।

शिलान्यास कार्यक्रमकै अवसरमा डा. शर्माले एमबीबीएस, बीडीएसलगायत काठमाडौं मेडिकल कलेजमा उपलब्ध सबै विषयहरूमा पीएचडीसम्म अध्ययन गर्न थप एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्।
Kathmandu Medical College अन्तर्गत अध्यापनहुने MBBS, BDS लगायत सम्पूर्ण विषयहरूमा PHD तहसम्म अध्ययन गर्न सकिने रु. १ करोड बराबरको छात्रवृत्ति (Medical Scholarship) व्यवस्था गरेका छौ । उक्त छात्रवृत्तिमा रु. ५० लाख, विद्यालयलाई जग्गा दान गर्नुहुने स्वर्गीय नरेन्द्र बहादुर थापा नाममा, रु. २५ लाख डा. शर्माका हजुरबुवा गुणलाल न्यौपाने स्वर्गीय जी. बा. गणपति न्यौपाने नाममा र रु. २५ लाख नाममा स्थापना गरिएको हो।

शिक्षामा गरिएको लगानी नै राष्ट्र निर्माणको सबैभन्दा दिगो आधार हो भन्ने विश्वासका साथ, यस पहलले स्थानीय समुदाय तथा भावी पुस्ताको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ
विद्यालयको नाम परिवर्तन गर्ने प्रक्रिया रतुवामाई नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७२ (तेस्रो संशोधनसहित) को दफा २६ को उपदफा २, ३ र ४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर गरिएको जनाइएको छ।
कार्यक्रममा डा. शर्माले आफू पढेको विद्यालय र शिक्षकहरुले गरेको न्यानो स्वागतले भावुक बनाएको उल्लेख गर्दै यही विद्यालयका संस्थापकहरूले दुःख र संघर्षका बीच खोलेको शैक्षिक संस्थाले आफूलाई आजको स्थानसम्म पुर्याएको बताए। “एउटा असल मानिसको योगदानले हजारौँको भविष्य निर्माण हुन सक्छ,” उनले भने।
साथै उनले विद्यालयका संस्थापकहरूले अत्यन्त दुःख, अभाव र संघर्षका बीच खोलेको यही विद्यालयमा अध्ययन गरेर आफू आज यो स्थानसम्म आइपुगेको स्मरण गरे। आफूले पाएको शिक्षा, संस्कार र प्रेरणाको जड यही विद्यालय भएको उल्लेख गर्दै उनले समाजमा एउटा असल र जिम्मेवार मानिसको योगदानले हजारौँ मानिसको भविष्य निर्माण हुन सक्ने धारणा व्यक्त गरे। विद्यालयप्रतिको ऋण तिर्ने उद्देश्यले नै शिक्षा क्षेत्रमा यो सहयोग गरेको बताए।
कार्यक्रममा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर सिंहले डा. सुनिल शर्मालाई महान् दाताको रूपमा स्मरण गर्दै उनको योगदानको खुलेर प्रशंसा गरे। उनले धन हुने व्यक्ति धेरै भए पनि यति मनकारी, निस्वार्थ र समाजप्रति समर्पित दानवीर विरलै देखिने उल्लेख गरे। डा. शर्माको यो सहयोगले ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने विश्वास समेत व्यक्त गरे।
कार्यक्रममा बोल्दै कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले डा. सुनिल शर्माको यो सहयोगले विद्यालयका विद्यार्थीहरूमा पढाइप्रति थप आत्मविश्वास र हौसला पैदा भएको बताए। आवश्यक पूर्वाधार, छात्रवृत्ति र प्रोत्साहन उपलब्ध भएपछि अब यस विद्यालयका विद्यार्थीहरूले निजी बोर्डिङ विद्यालयका नतिजालाई समेत चुनौती दिन सक्ने विश्वास आफूले लिएको उनले बताए। यस्तो सहयोगले सामुदायिक विद्यालयप्रतिको जनविश्वास अझ बलियो बनाउने उप्रेतीको भनाइ थियो।
स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा डा. शर्माको योगदानलाई शिक्षा क्षेत्रमा उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा लिइएको छ।
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र पश्चात् दलहरूले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि समय दिइनेछ । फिर्ता हुन आवेदन दिइएको उम्मेदवारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेदवार पठाउन पाउनेछ ।
आगामी माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ । आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेदवार कानुनी रूपमा अयोग्य रहेको भनी दाबी विरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उक्त सूची पश्चात् परिवर्तन हुने छैन ।
काठमाडौं– आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । कुल परम्पराअनुसार कथावाचन भने कसैले बिहान त कसैले बेलुकी गर्छन् ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रूपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ले जानकारी दिए ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला सुरु गरिँदै छ ।
यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित शालिनदीमा आजदेखि मेला लाग्दैछ । यसका लागि सबै तयारी पूरा भएको शालीनदी व्यवस्थापन समितिले जनाएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।
झापा। भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको नाइन एन–एएमएफ विमान दुर्घटनामा पर्दा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको विमान शुक्रबार राति ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो ।
उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए। दुर्घटनामा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठसहित अन्य छ जना यात्रु घाइते भएका छन्।
घाइते हुनेमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, बिर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, बिर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं–१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचारका लागि पु¥याएको थियो। टाउको र अनुहारमा चोट लागेका को–पाइलट सुशान्त श्रेष्ठको अस्पतालमै उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए।
बुद्ध एयरको उक्त विमान शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो। दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक लिम्बुको कमान्डमा ७० जनाको टोली उद्धारमा खटिएको थियो। प्रहरीले सबै यात्रुलाई सकुशल विमानबाट बाहिर निकालेको जनाएको छ।




