
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका केही समर्थक बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै गाडीबाट खसेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार, समर्थकहरू विमानस्थल पुगेका बेला गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेका हुन्।‘४–५ जना समर्थक गाडीबाट खसेको भन्ने जानकारी आएको छ। विमानस्थल भित्रको सडक भएकाले गाडी स्पीडमा थिएन, त्यसैले सामान्य घाइते भएका छन्,’ एसपी जिसीले बताए।
बालेन २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा रास्वपा बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका छन्। चुनावी प्रचार–प्रसारका लागि उनी अहिले पश्चिमतर्फ गएका हुन्।पूर्वी पहाडी जिल्लाहरू भ्रमण गरी झापा ५ बाट उम्मेदवारी दिएकाले बालेन केही समयअघि काठमाडौं फर्किएका थिए। अहिले उनी पश्चिम प्रदेशमा प्रचार–प्रसारमा लागेका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही जानुअघि सोमबार काठमाडौँ क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् ।
सामाजिक संजालमार्फत भिडियो सन्देशमार्फत सभापति थापाले काठमाडौँ क्षेत्र नं. ४ का मतादातालाई धन्यवाद दिँदै माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको बताएका हुन् । उनले यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहने उल्लेख गरेका छन् ।
उनले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् । उनले सर्लाही जानुको कारण मधेसलाई काठमाडौँसँग जोड्नु रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म मधेसका कथा, व्यथा र पीडा सुनेर काठमाडौँ ल्याएर सुनाउन चाहन्छु र काठमाडौँको कथा मधेसमा सुनाउन चाहन्छु । मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तीव्र इच्छा भयो र आवश्यक पनि थियो ।’
उनले मधेससँगको माटो ढोग्नुपर्छ, आशिर्वाद लिनुपर्छ भनेरै सर्लाही गएको बताए । उनले आफू उत्तेजनाको राजनीति नगर्ने बताए ।
लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।”
नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवागमन भइरहेको उनको भनाइ छ । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।
सो स्थानमा विसं २०७८ असार १ गते र २०७८ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि संघीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४०० मिटर जति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले भने, “यस सडकमा कालोपत्रे गर्नको लागि काम भइरहेको छ, यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ ।”
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ ।
निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ ।
सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो ।
यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो ।
मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता लागू गराउन ध्यानाकर्षण गराएको हो । निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ रहेको छ ।
काठमाडौँ । नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा ६८ रनमा अलआउट भयो ।
समूह चरणमा तीन खेलमा जित र एक खेलमा हार भोगेसँगै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ रन बनाइन्। रोमा थापा १४ रनमा अविजित रहिन्। रुबिना क्षेत्रीले १० रन थपिन्।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डस निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो ।




