
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले नेपाललाई विभिन्न सुरक्षा सामग्री तथा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको छ।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट दंगा नियन्त्रणका उपकरणसहित आवश्यक सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेटीय सीमितता रहेको अवस्थामा प्राप्त यो सहयोगले निर्वाचन प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले नेपाल कठिन परिस्थितिमा पर्दा भारतले समयमै सहयोग गर्दै आएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछिको उद्धार तथा राहत प्रयासमा देखाएको सक्रियतालाई स्मरण गरे। भारतलाई नेपालको विश्वसनीय ‘प्रथम सहयोगी’का रूपमा व्याख्या गर्दै द्विपक्षीय सम्बन्ध केवल छिमेकीमै सीमित नभई विकास साझेदारीको तहमा रहेको धारणा व्यक्त गरे।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधन क्षति भएको सन्दर्भ उल्लेख गर्दै नयाँ सवारी साधन प्राप्त भएपछि सुरक्षा निकायको कार्यसम्पादन क्षमता थप सुदृढ हुने विश्वास पनि अर्थमन्त्रीले व्यक्त गरे। यदि यी सामग्री सरकार आफैँले खरिद गर्नुपरेको भए राज्यकोषमा ठुलो आर्थिक भार पर्ने अवस्था रहने भन्दै भारतीय सहयोगले त्यसलाई न्यूनीकरण गरेको उनको भनाइ थियो।
भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउने ६५० सवारी साधनमध्ये २५० वटा यसपटक हस्तान्तरण गरिएको र बाँकी सवारी आगामी साताभित्रै उपलब्ध गराइने जानकारी कार्यक्रममा सहभागी भारतीय पक्षले दिएको थियो। निर्वाचनलाई लक्षित गरी अनुदानमा प्राप्त यी सवारी साधन नेपाल सरकारले स्वीकार गरेको अर्थमन्त्री खनालले स्पष्ट पारे।
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग गरेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता, २०८२ लागू भएदेखि माघ १५ गतेसम्म २१ स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन् । त्यसमध्ये आजसम्म आठ वटाको मात्र जवाफ प्राप्त भएको छ ।
आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई यही माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरिएको थियो । त्यसमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको जवाफ आएको छ भने भण्डारीको जवाफ नआएको सहायक प्रवक्ता श्रीसले बताइन् ।
“काठमाडौँ जिल्ला क्षेत्र नं ४ का उम्मेदवार भण्डारीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) अनुसार स्पष्टीकरण मागिएको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (च) मा ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ”, उनले भनिन् ।
यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता श्रीसले बताइन् । दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणको विषय उल्लेख छ । दफा ५ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ । यही व्यवस्था पालना नभएको भनी आयोगमा उजुरी परेको थियो । कार्कीको जवाफ आए पनि त्यो चित्तबुझ्दो छ वा छैन भन्ने विषयमा अध्ययन भइरहेको उनले बताइन् ।
दोलखा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ढ) र (ण) बमोजिम माघ ८ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार भएको थियो । गल्ती, कमीकमजोरी भएको भए सुधार गर्ने भनी पेस गरेको र उनको स्पष्टीकरण चित्तबुझ्दो भएकाले अब गल्ती, कमी कमजोरी नगर्ने गरी सचेत गराइएको छ ।
आयोगले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एन्फा अर्डिनरी कंग्रेसको निर्वाचन आयोजना भएको विषयमा दुई दिनभित्र स्पष्ट जवाफ पेस गर्न माघ ८ गते स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ पनि आयोगमा अहिलेसम्म प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो । परिषद्ले पनि अहिलेसम्म आयोगलाई स्पष्टीकरण पेस नगरेको सहायक प्रवक्ता श्रीसले बताइन् । नेपाल सरकार मातहतकै परिषद्ले आयोगलाई एक हप्तासम्म पनि स्पष्टीकरण पेस गरेको छैन ।
नेपाली कम्युनिस्ट पार्टी जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (झ) र (ण) बमोजिम माघ ९ गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । आचारसंहिताको दफा १३ मा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण उल्लेख छ ।
यस्तै दफा १३ को उपदफा (१) मा राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उपदफा (१) को खण्ड (झ) मा विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने व्यवस्था रहेको छ ।
यसैगरी उपदफा (१) को खण्ड (ण) मा निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान नहुने उल्लेख गरिएको छ । “बस्नेतले जवाफ पेस गरे पनि चित्त बुझ्दो छ, छैन भन्ने विषयमा अध्ययन भइरहेको छ”, सहायक प्रवक्ता श्रीसले भनिन् ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीलाई पनि आयोगले माघ ९ गते निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) बमोजिम तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरेको थियो । उनले पनि आयोगलाई स्पष्टीकरण बुझाएका छैनन् । रास्वपाका तर्फबाट ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वराज पोखरेललाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ण) बमोजिम माघ १० गते तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्ने भनी पत्राचार गरिएको थियो । उनको जवाफबारे आयोगले अध्ययन गरिरहेको छ ।
यस्तै नेपाल जनसेवा पार्टीकी प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टीविरुद्धमा गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानी गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले जानकारी दिइन् ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) उल्लंघन भएको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको छ । पाठकले पेस गरेको जवाफका बारेमा पनि आयोगले अध्ययन गरिरहेको छ ।
यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिन्ह र उम्मेदवारको तस्बिर अंकीत टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लंघन भएको हो वा होइन भनी स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन् । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लंघन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो । सो पार्टीले पनि जवाफ पेस गरी थप अध्ययन भइरहेको छ ।
जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा. निकोलस)लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेन जेड आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दुरुपयोग भएको भनी उजुरी पर्न आएकोले सो विषयमा आफ्नो निर्वाचन प्रचारप्रसार गर्न अमुक व्यक्तिको जुत्ता प्रयोग गरेको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको छ । भुसालले आयोगमा जवाफ पेस गरिसकेका छन् ।
नेपाल स्वास्थ्य स्वयंसेवक संघलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो ? कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन् । आयोगले स्वास्थ्य स्वयंसेवक संघलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको थियो । तर अहिलेसम्म आयोगमा जवाफ आएको छैन ।
आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बाल विकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने ब्यहोराको उजुरी प्राप्त भएकोले यस विषयमा के कसो भएको हो ? भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मधेशी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकोले कारबाही गरी पाउँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको सहायक प्रवक्ता श्रीसले बताइन् ।
यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लंघन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ । तर उनले अहिलेसम्म जवाफ पेस गरेका छैनन् ।
रास्वपाका उम्मेदवार बालेन्द्र साहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । यसैगरी आयोगले बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ का रास्वपाका उम्मेदवार खगेन्द्र सुनार, सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डा चन्द्रकान्त राउत (सिके राउत) र काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार निशा अधिकारीलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
सुनारलाई राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैल्याएर आचारसंहिता उल्लङ्घन गरेको भन्ने उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको शाखा अधिकृत प्रकाश सुवेदीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । शाह, सुनार, राउत र अधिकारीले पनि आजसम्म जवाफ पेस गरेका छैनन् ।
यस्तै सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राउतलाई आफ्नो निर्वाचन क्षेत्रमा चुनाव चिन्ह र झन्डाको तोरण बनाई झुन्ड्याएको भनी उजुरी परेका आधारमा स्पष्टीकरण सोधिएको हो । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार अधिकारीलाई अष्टे«लियामा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यू आर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने समेत ब्यहोराको विवरण पठाएका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यसैगरी आयोगले पूर्वाञ्चल विश्वविद्यालय, केन्द्रीय कार्यालय गोठ गाउँ, मोरङलाई करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नुका साथै संलग्नलाई कानुनी कारबाही गर्ने सम्बन्धमा उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो । विश्वविद्यालयले पनि अझै जवाफ पेस गरेको छैन ।
यसैगरी देउती आधारभूत विद्यालय भैरवी-३ दैलेखका शिक्षक देवीराम आचार्यलाई सामाजिक सञ्जालबाट दल विशेषलाई मत मागेको भन्दै स्पष्टीकरण सोधिएको हो । आचार्यले पनि अझै जवाफ दिएका छैनन् । यसैगरी गुठी संस्थानलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई निर्वाचन आचारसंहिता विपरीत हटाउने निर्णय गरिएको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । संस्थानले आज आयोगमा स्पष्टीकरण पेस गरेको छ । संस्थानको स्पष्टीकरणका विषयमा अध्ययन भइरहेको आयोगले जनाएको छ ।
काठमाडौं । पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुनेक्रम बढ्न थालेको थियो । दैनिक दर्जनौँ लुटपाटका उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी अधिकारीलाई चिन्तित बनायो ।
उक्त चुनौतीपूर्ण घटनालाई नियन्त्रणमा लिएर समाजमा अमञ्चयन कायम गराउन काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय ग¥र्यो । त्यसक्रममा प्रहरीले विभिन्न शङ्कास्पद क्षेत्रमा ‘चेक प्वाइन्ट’ राखेर निगरानी बढायो । काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतङ्क मच्चाइरहेको सो समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद गरिएको सामग्रीसहित सार्वजनिक गरेको छ ।
प्रहरीले काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी र २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट बा १२ च ७७०१ नंको कार र बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी तथा ६ थान मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले बुधबार साँझ ६ देखि आज बिहान ३ बजेसम्म ‘अप्रेशन’ चलाएको थियो ।
सिसीटिभी फुटेजका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । जाँचका क्रममा प्रहरीमाथिनै जाइलाग्न खोजेपछि गोली प्रहार गरेर सो समूहलाई नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछि सो समूह सक्रिय भएको अनुसन्धानले देखाएको छ ।
तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातका समयमा महिला तथा पुरुषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनीहरुले मध्यराति १२ देखि बिहान ४ बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेका थिए ।
लुटपाटका लागि उनीहरु तीन÷तीन जनाको समूह बनाएर मोटरसाइकमा हिँड्ने गर्थे । विनय समूहका विभिन्न सदस्यले दिउँसोमा ट्याक्सी चलाउने, ‘रेकी’ गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भएर खाना खाने र राति १२ देखि बिहान ४ बजेसम्म लुटपाट मच्चाउने गरेका थिए । लुटपाट सकिएपछि उनीहरु पुनःट्याक्सी र निजी कारमा चढेर नियमित दैनिकीमा फर्कने गरेका थिए ।
सो समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हिरासतबाट भागेपछि उनले आफ्नो नेतृत्वमा सो समूहलाई सक्रिय पारेका थिए । उक्त समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध, गौशालामा तीन÷तीन र भक्तपुरको ठिमीमा १३ लुटपाटको घटना घटाएको प्रहरीले जनाएको छ । गएराति सो समूह मुलपानी क्षेत्रमा लुटपाटका लागि निस्केको थियो । मूलपानी क्रिकेट मैदान नजिकै प्रहरीको ‘चेकप्वाइन्ट’ नरोकी प्रहरीमाथि नै जाइलाग्ने गर्नेगरी अघि बढेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागेको लुटेरा समूहका सदस्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूहका कमाण्डर रहेका आयन लुटपाटका क्रममा मोटरसाइकल चलाउने गरेको अनुसन्धानबाट खुलेको छ । विनय यसअघि २०७९ चोरी र २०८२ मा डाँका चोरीमा संलग्न रहेको थिए । आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा चलेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको बताए । पेमा र सलोन भने दाजुभाइ रहेको उहाँले जानकारी दिए । प्रहरीबाट जोगिन सो समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापेर पहिचान नखुल्ने गरी प्रयोग गर्ने गरेको थियो ।
निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गरेको आरोपमा यहाँका तीन जना सरकारी कर्मचारीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।
सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेका अनुसार सामाजिक सञ्जालमार्फत दलका उम्मेदवारको प्रचार गर्दै भोट मागेको उजुरी प्राप्त भएपछि ती कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। उनीहरूबाट लिखित स्पष्टीकरण लिइएको भए पनि कर्मचारीहरूको नाम सार्वजनिक गरिएको छैन।
सहायक निर्वाचन अधिकृत न्यौपानेले आचारसंहिता विपरीत गतिविधि पुनः दोहोरिए कडा कारबाही गरिने चेतावनी दिएका छन्। साथै, यस्ता गतिविधिमा संलग्न कर्मचारीलाई निर्वाचन कार्यमा नखटाउने निर्णयसमेत गरिएको उनले बताए।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन्। जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन्।
निर्वाचनमा १५ राजनीतिक दल र एक स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार चुनावी मैदानमा छन्, जसमा तीन जना महिला छन्। सुरक्षा दृष्टिकोणले जिल्लाका आठ मतदानस्थल अति संवेदनशील, ८२ संवेदनशील र १९ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।
काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रासन रकम वृद्धि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन रकम र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको बताए ।
रन्जित गौली/अमेरिका
अमेरिकी सरकारको सेभिस (SEVIS) तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत सक्रिय नेपाली विद्यार्थीहरूको संख्यामा उल्लेखनीय गिरावट आएको छ। डिसेम्बर २०२५ मा ३४,४५२ रहेको नेपाली विद्यार्थी संख्या जनवरी २०२६ मा घटेर ३३,७३५ मा झरेको छ। यसरी एक महिनाको अवधिमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ७१७ ले घटेको हो।
लैङ्गिक आधारमा हेर्दा पुरुष र महिला दुवै विद्यार्थीको संख्या घटेको देखिन्छ। डिसेम्बरमा १९,१९३ रहेका पुरुष विद्यार्थी जनवरीमा घटेर १८,९०२ मा सीमित भएका छन्। त्यस्तै महिला विद्यार्थीहरूको संख्या पनि १५,२५९ बाट घटेर १४,८३३ मा झरेको छ।
शैक्षिक तहअनुसार विश्लेषण गर्दा स्नातकोत्तर (मास्टर्स) र विद्यावारिधि (डक्टरेट) तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या भने बढेको छ। मास्टर्स तहमा अध्ययनरत विद्यार्थीहरूको संख्या ७४ ले वृद्धि भई ९,८४५ बाट ९,९१९ पुगेको छ। डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ९५ ले बढेर ४,२४० बाट ४,३३५ पुगेको छ।
तर स्नातक (ब्याचलर) तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या भने उल्लेखनीय रूपमा घटेको छ। ब्याचलर तहमा ६११ जना विद्यार्थी घट्दै १२,६०५ बाट ११,९१४ मा झरेका छन्। एसोसिएट तहमा पनि २३३ जना विद्यार्थी घटेर ७,२५४ बाट ७,०२१ मा सीमित भएका छन्।
अन्य कार्यक्रमतर्फ हेर्दा भाषा तालिममा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या २३९ बाट बढेर २७६ पुगेको छ। त्यस्तै फ्लाइट स्कुलमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या पनि ५१ बाट बढेर ५३ पुगेको छ।
राज्यअनुसार वितरण हेर्दा टेक्सासमा सबैभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। तर डिसेम्बरको तुलनामा जनवरीमा टेक्सासमा १३६ जना विद्यार्थी घट्दै संख्या ७,८९४ बाट ७,७५८ मा झरेको छ।
ओहायोमा ४६ जना विद्यार्थी घटेर २,४६८ बाट २,४२२ पुगेका छन्। न्युयोर्कमा ६६ जना घट्दै २,२६६ बाट २,२०० मा सीमित भएका छन्।
त्यसैगरी मिसौरीमा ११३ जना विद्यार्थी घटेर संख्या १,५८० बाट १,४६७ पुगेको छ। सेभिस तथ्यांकअनुसार जनवरीसम्म केन्टकीमा १,६४७ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। क्यालिफोर्नियामा १,२०० र इलिनोयमा ८६४ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको देखिन्छ।
सेभिसको यो तथ्यांकले अमेरिकामा नेपाली विद्यार्थीको कुल संख्या घट्दै गए पनि उच्च शिक्षा (मास्टर्स र डक्टरेट) तहमा नेपाली विद्यार्थीको सहभागिता भने बढिरहेको संकेत गरेको छ।
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । हो इतिहासकै उच्च मूल्य हो ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भैइरहेको छ । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।




