
चरीकोट । नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेन-जी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले खोजतलास गर्नुपर्ने धारणा राखे।
“जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत रहेन, सार्वजनिक विषय बन्यो,” उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै न्यायसंगत ढंगले र पूर्वाग्रह नराखी सार्वजनिक पदमा बसेका सबैको छानबिन हुनुपर्नेमा जोड दिए। उनले कांग्रेसले कहिल्यै पनि आफ्ना मान्छेलाई जोगाउने वा संरक्षण गर्ने पक्षमा नरहेको दाबीसमेत गरे।
आफ्नो पत्रकारिताको पृष्ठभूमिलाई स्मरण गर्दै शिवाकोटीले आफू जहिले पनि सत्ता र शक्तिको दुरुपयोगका विरुद्ध उभिएको बताए। तत्कालीन सभामुख कृष्णबहादुर महराको अनैतिक प्रकरण र तत्कालीन सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड घोटाला अडियो प्रकरण सार्वजनिक गर्दा आफूले ज्यानको जोखिम मोल्नुपरेको, भूमिगत हुनु परेको र घर छोडेर भाग्नुपरेको तीतो अनुभव उनले सुनाए ।
पत्रकार जहिले पनि सत्ताको विपक्षमा हुने र शक्तिमा हुनेहरूलाई नै प्रश्न गरिने उनको तर्क थियो। राजनीतिलाई ‘मूल’बाटै सफा गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफू यस क्षेत्रमा लागेको भन्दै उनले पार्टीभित्र पनि केन्द्रीय समितिमा आफ्नो फरक मत राख्दै कतिपय अवस्थामा अप्ठ्यारोमा परेर पनि सत्यको पक्षमा लडिरहेको उल्लेख गरे।
उनले भने, ‘पत्रकार जहिले पनि पत्रकार जहिले पनि सत्ताको विपक्षमा हुन्छ । शक्ति जोसँग छ त्यसैलाई प्रश्न गरिन्छ । त्यो सत्तामा भएको बेला शक्तिको दुरुपयोग हुँदा उजागर गरेका विषय थियो । मैले त्यो गर्दा लखेटाइ र भाग्नु परेको थियो । ज्यानको सुरक्षा थिएन । म एक महिना घर बसेको थिइन । रमाइलो कुरा छैन यो र स्वादको कुरा पनि छैन । भूमिगत हुँदै हिँड्नुपर्ने कुरा सजिलो छैन । योबीचमा पनि मैले पत्रकारिता गर्दै आएको थिएँ ।’
दोलखाको विकासका लागि आफ्ना योजनाहरू सुनाउँदै उनले जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बनाउने सङ्कल्प गरे । बुद्ध धर्मसँग जोडिएका लप्ची, बिगु र जिरी जस्ता क्षेत्रहरूलाई बुद्ध सर्किटको रूपमा विकास गर्ने र श्रृङ्गी ऋषिले तपस्या गरेको क्षेत्रलाई रामायण सर्किटसँग जोड्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
साथै दोलखा भीमसेन, कालिन्चोक भगवती र सैलुङ जस्ता पर्यटकीयस्थलको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने तथा छोरोल्पा हिमतालमा हिउँदको समयमा ‘आइस हक्की’ खेलाउने योजनासमेत उनले अघि सारे । उनले दोलखामा कृषकहरूका लागि टाउको दुखाइ बनेको बाँदरको समस्या हल गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।
‘हामी दोलखालाई धार्मी पर्यटनको रुपमा बिकास गर्न चाहन्छौँ । बुद्ध धर्मसँग जोडिएका थुप्रै केन्द्रहरू छन् । लप्ची, बिगु, जिरी आदि । यसलाई हामीले बुद्ध धर्मको केन्द्र बनाउन सक्छौँ । धार्मिक हिसाबले श्रंगी ऋषिले तपस्या गरेको सुरुंगेलाई रामायण सर्किटसँग जोड्न सकिन्छ भन्ने कुरामा अहिले लबिङ भइरहेको छ । यही दोलखा भीमसेन सबैको आस्थाको केन्द्रलाई अझ बढी प्रवर्धन गर्न सकिन्छ । कालिन्चोक माता लगायतका स्थानलाई जोडेर धार्मिक पर्यटन बनाउन सकिन्छ । सैलुङको चर्चा अन्तराष्ट्रिय हिसाबले भएको छ त्यसलाई हामी प्रवर्धन गर्न सक्छौँ । छोरोल्पा हिमतालमा हिउँदमा त्यहाँ आइस हक्की खेलाउने भन्ने ढंगले साथीहरू प्रस्ताव लिएर आइरहनुभएको छ ।’
भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण उनीप्रति विशेष गरी युवा पुस्ताको आकर्षण बढेको देखिएको छ । “हामी सक्छौँ, परिवर्तन सम्भव छ” भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका शिवाकोटीले सिँचाइ र माटोको गुणस्तर सुधारलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन् । आफू जनताको सच्चा प्रतिनिधि भएर दोलखाको मुहार फेर्न आएको र विजयी भएपछि सधैँ जनताकै सुखदुःखमा साथ दिने प्रतिबद्धता उनले जनाए ।
उनी अहिले कार्यकर्तासहित जिल्लाका टोल र बस्तीमा पुगेर मतदाताका राय लिँदै आफ्ना योजनाहरू सुनाउन व्यस्त छन्। नयाँ सोच र जोश भएको नेतृत्वले मात्र दोलखाको विकास गर्न सक्ने भन्दै उनले आफूलाई जिताउन सबै मतदातामा अपील गरे ।
काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् ।
नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेस बदलिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे ।
‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्याउनुपर्नेछ,’ उनले भने । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातलाई घर घरमा गएर संवाद गर्नुपर्ने र जेनजीका कुरा सुन्नुपर्ने उल्लेख गरे ।
सभापति थापाले जेन्जीको पूरा कुरा सुनेर सडकमा तिमीले गरेको आवाजका आधारमा बदलिएको एक मात्र पार्टी कांग्रेस भएको बताउन आग्रह गरे ।
‘माघको अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उनले भने ।
सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुरा फेस गर्नुपर्ने बताउँदै रिसाएकाहरूको मागअनुसार अधिवेशन भएको र नयाँ नेतृत्व आएको स्पष्ट पारे । “यसमा कसैले हारेको छैन, सबैले जितेका छौं, अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो, हामी सबै एक ठाउँमा छौं,” सभापति थापाले भने।
उनले देशका सबै पक्षलाई मिलाएर लैजाने शक्ति कांग्रेस भएको बताए । देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।
प्रदीप पौडेल जिम्मेवार विद्रोही
सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोहीको संज्ञा दिएका छन् । कार्यक्रममा उनले भाद्र २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको उल्लेख गरे । भाद्र २३ गते म निरन्तर सम्वादमा थिएँ, उनले भने, त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो ।
उनले मन्त्रीका रुपमा सरकारमा बस्दै गर्दा आफूले शुरु गरेको स्वास्थ्य बीमामा परेका अप्ठेरा हटाउन खोज्दा सहयोग नपाएर छटपटिएको देखेको बताए ।
उनले सरकारमा रहँदा गरेका इमान्दार प्रयाससँगै कांग्रेस नयाँ बनाउने कुरामा पनि आफूसँगै रहेर महामन्त्री पौडेलले ठूलो भूमिका निर्वाह गरेको स्मरण गरे ।
समुन्नत नेपाल निर्माणका लागि संसद र सरकारमा प्रदिप पौडेलको आवश्यकता रहेकोमा समेत सभापति थापाले जोड दिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले अभियन्ता दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।
नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक समेत रहेका मेडिकल ब्यबसायी प्रसाईंलाई प्रहरीले हिजो शुक्रबार काठमाडौंको दक्षिणकाली स्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो ।
प्रसाईंलाई दुस्ख दिने नियतबाट पटकपटक पक्राउ गरिएको लिङ्देनले बताएका बताउनु भयो ।
प्रसाईंलाई दुख दिने, फरक मान्यतालाई निरुत्साहित तुल्याउने, दबाउने नियतबाट पटकपटक पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ,’ लिङ्देनले भन्नुभएको छ ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, बोल्न, र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित गरेको उहाँको भनाई छ । उहाँले भन्नु भयो प्रसाईको गिरफ्तारीले मानव अधिकारको उल्लंघन भएको हुँदा बिना सर्त तत्काल रिहाई गर्न माग गर्नु भयो ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने दाबी गरेका छन् ।
काठमाडौँ ५ मा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेलामा उनले भदौ २३ को जेन-जी आन्दोलनले आफूहरूलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए ।
‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । तपाईंले खोजेजस्तो कांग्रेसले नै देश रूपान्तरण गर्छ मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने,
‘भदौ २३ ले हामीलाई खबरदारी गर्यो, हामीले कमजोरी स्वीकार गरेर सच्चियौँ ।’
‘भदौ २३ मा कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो,’ उनले भने,‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्वीकार्न ढिला गरेनौँ । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौँ । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रूपान्तरण गरेर निर्वाचनमा होमिएका छौँ ।’
नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रूपान्तरित भएर आउ भनेकाले त्यसै अनुसार सच्चिएको बताए । जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस नयाँ जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जबरजस्त राजनीति नगरेको बताए ।
समाजको चाहनाअनुसार नै नयाँ ढंगबाट पार्टी अघि बढिरहेको उनले बताए । ‘कार्यकारी को हुन्छ भन्ने विषय आम नागरिकको जान्न पाउने हक भएकाले त्यसको सम्मान गरेरै गगन थापालाई उम्मेदवार घोषणा गरेका हौँ, महामन्त्री पौडेलले भने,‘यो निर्णय व्यक्तिको होइन, पार्टीको हो ।’
आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउ भनेकाले त्यसैलाई आत्मसात् गरेर भावी कार्यक्रममा प्रष्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेन्डा लिएर आउने उनले बताए ।
कसैलाई गाली गरेर योग्य भैंदैन, दृष्टिकोण र एजेन्डा राम्रो हुनुपर्छ
कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए । ‘मतदाताले पनि एजेन्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ । हामीले मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ,’ उनले भने ।
आफूले विगतमा पनि सांसदका रूपमा नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको प्रसंग कोट्याउँदै पूर्व सांसद तथा मन्त्रीसमेत रहेका पौडेलले यसले क्षेत्रका मतदाताको छाती गर्वले फुल्ने बताए ।
मेरो कामले मतदाताले छाती गर्वले फुलाउन पाउनुहुन्छ
‘काठमाडौँका मतदाताले घरको बाटो संघीय सांसदले बनाउँछ भनेर पर्खिराख्नु हुँदैन होला । मैले जिताएको व्यक्तिले देशका लागि के गर्यो सोच्नुहुन्छ जस्तो लाग्छ । देशका लागि राम्रो गर्यो भने छाती गर्वले फुल्छ भन्नुहुन्छ भन्ने बुझाइ छ,’ उनले भने ।
सांसद रहँदा ठूलो समस्या रहेको रिंग रोड निर्माणमा दबाब दिन सार्वजनिक महत्वको प्रस्ताव लगेको देखि मेलम्चीको पानी क्षेत्रभित्र विस्तारका लागि पनि संसदमार्फत दबाब दिएको उनले बताए । विष्णुमती करिडोरको विषय होस् वा खोलाको मापदण्ड, कुनै विषयमा पनि पैरवी गर्न छाडेनौं, उनले भने ।
स्वास्थ्य मन्त्रीका रुपमा थुप्रै काम गरेको छु, केही बिगारेको छैन
महामन्त्री पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो कामबाट क्षेत्रका मतदाता कसैले शिर निहुरिउनु पर्ने अवस्था नरहेको बताए । ‘मैले सबै गर्यौं भन्दिन, थुप्रै काम भएको छ । र, केही पनि बिगारेको छैन,’ उनले भने ।
आफू हिजो भन्दा पनि सरल रहेको भन्दै सभापति गगन थापाबाट प्रभावित भएको भन्दै राजनीति लामो गरिरहने नभै छोटो समय गर्ने तर देखिने गरी गर्ने बताए । ‘नेतृत्व गरेर परिवर्तन ल्याउनेछु, उनले भने, ‘यसका लागि जोसँग परे पनि लड्नेछु ।’
आफूले टिकट नपाएर काठमाडौँ ५ मा नलडेको भन्दै आफ्नो जीवन नै कांग्रेसमै बित्ने र क्षेत्र ५ मै बित्ने उनले बताए ।
‘कसैले अनावश्यक हल्ला गरे नपत्याउनु होला । मलाई माया गर्ने सभापति भएको बेलामा मैले खोजेको ठाउँमा टिकट पाउँथिन होला र ? मेरो जीवन कांग्रेसमै बित्छ र क्षेत्र ५ मै बित्नेछ,’ उनले भने ।
पार्टी सभापति गगनकुमार थापा समेत सहभागी कार्यक्रममार्फत चुनावी परिचालनका लागि ५ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।
अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।
यस्तो संवेदनशिल समयमा क्षणिक आवेगमा आएर तपाईं अरुलाई गाली गरेका तथा मित्थ्या सूचना सेअर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि ? सावधान ! यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।
नेपाल प्रहरीले अहिले सामाजिक सञ्जालको उच्च निगरानी गरिरहेको र यस्ता सूचनाहरू सार्वजनिक गरिएमा कारबाही हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार यसरी सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धमा टोली नै बनाएर अनुगमन गरिएको छ । यसका साथै प्रहरीको साइबर ब्यूरोले समेत सुक्ष्म अनुगमन गरिरहेको उनले बताए ।
उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेअर गर्नु अपराध भएको पनि बताए ।
प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रूपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेअर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।
कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरू सेअर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन् ।
प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, ‘सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ । जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ ।’
काठमाडौँ। नेपाल-भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ ।
मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला उनी बेहोस भएर ढलेका थिए ।
उनको उपचारका क्रममा विराट मेडिकल कलेजमा शुक्रबार राति निधन भएको हो ।
अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए । बेहोस भएर ढल्ने क्रममा उनको जिब्रो समेत काटिएको र स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ ।
काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । थापाको आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। उनी नेपाली फिल्ममा खलनायक दृश्यमा स्थापित कलाकार हुन्। उनी फिल्मी जगतमा राते काइला नामले पनि परिचित छन्।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।





