
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
प्रहरीले उनलाई शुक्रबार दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यही विषयमा १९ माघमा चितवन पुगेका उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने दाबी गरेका थिए ।
काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा भएको खेलमा अन्तिम ओभरमा १० रन चाहिँदा नेपालले ५ रनमात्रै जोड्न सक्यो।
इङ्ल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले २९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनले कप्तान रोहित पौडेलसँग ८२ रनको साझेदारी गरेका थिए।
ओपनर कुशल भुर्तेल २९ रनमा कट एण्ड बोल्ड भएका थिए। उनलाई विल ज्याक्सले कट एण्ड बोल्ड गराएका थिए। नेपालले पावरप्लेमा २ ओपनर गुमाउँदै ४७ रन बनाएको थियो। १० ओभरमा नेपालले २ विकेटको क्षतिमा ८५ रन बनाएको थियो। यति बेलासम्म नेपाल इङ्ल्यान्डभन्दा अगाडि रहेको थियो। बीचमा रोहित र दीपेन्द्रले क्रिज सम्हाल्दा एक समय १२४ मा तेस्रो विकेट गुमाएको नेपालले खेल जित्छ भन्नेसम्म पुगेको थियो।
१८औँ ओभरमा लोकेश बमले हानेको २ छक्काले खेल नेपालको पक्षमा पुर्याएको थियो। लोकेश बम ३९ र करण केसी १ रनमा अविजित रहे। इङ्ल्यान्डका लागि लियम डाउसनले सर्वाधिक २ विकेट लिए। लुक वसड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले १-१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।
पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा नेपालका लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औँ खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्।
दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो।
१० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतीमा ८४ रन बनाएको थियो। ११।२ ओभरमा ३ विकेटको क्षतीमा इङ्ल्यान्डले १०० रन पूरा गरेको हो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दिपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३.४ ओभरमा दीपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए।
पाँचौँ विकेटको रूपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दिपेन्द्र सिंह ऐरीले बोल्ड गरे। छैटौँ विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए। विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शुन्यमा अविजित रहे।
नेपालको लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामछानेले १-१ विकेट लिए। नेपालले समूह चरणको दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग यही मैदानमा खेल्नेछ।
काठमाडौँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । चौधरीविरूद्ध सर्वोच्च अदालतमा अन्य मुद्दा पनि विचाराधीन अवस्थामा रहेको भन्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए । माघ ८ गते निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको थियो।
यसअघि प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश बालकृष्ण ढकालको इनलासले माघ ११ गते विपक्षीका नाममा कारण देखाऊ आदेश र अन्तरिम आदेश सम्बन्धि छलफलमा बोलाएको थियो। सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको भन्दै उनको उम्मेदवारी खारेज गरिएको थियो ।
बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी र मोटरसाइकलको प्रयोग बढ्दा पेट्रोलको खपत बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्रतिनिधि सभा निर्वाचनमा इन्धन खपत सामान्य बढ्ने बताए । चुनाव प्रचारप्रसारको मौन अवधि सुरु हुनुभन्दा अघि एक हप्ताको समयमा डिजेलरपेट्रोल १० देखि १५ प्रतिशत खपत बढ्ने अनुमान गरिएको उनले जानकारी दिए । चुनावको बेला प्रचारप्रसारका गतिविधिमा गाडीको प्रयोग बढी हुने भएकाले पनि डिजेलको तुलनामा पेट्रोलको खपत बढी हुने उनको भनाइ छ ।
निगमका अनुसार हाल सामान्य अवस्थामा दैनिक औसत २२ देखि २५ लाख लिटर पेट्रोल र ४० देखि ४५ लाख लिटर डिजेल खपत हुँदै आएको छ । निर्वाचनको मुख्य प्रचारप्रसार अवधि सुरु हुने मौन अवधिसम्म पेट्रोलको दैनिक खपत २५ देखि २७ लाख लिटरसम्म पुग्न सक्ने निगमको अनुमान छ ।
निर्वाचनमा ग्यासको खपत पनि बढ्ने देखिन्छ । गाउँ गाउँमा साना साना खाजा नास्ता र चिया पसलदेखि रेस्टुराँ चल्ने भएकाले पनि ग्यासको खपत धेरै हुने गर्छ । निर्वाचनका बेला केही दिन सीमानाका बन्द हुने सम्भावनालाई ध्यानमा राख्दै त्यस अवधिका लागि समेत पर्याप्त मौज्दात राख्ने तयारी गरिएको निगमले जनाएको छ । हाल निगमसँग डिजेल करिब १४ दिन र पेट्रोल करिब १२ दिनका लागि भण्डारण गर्ने क्षमता रहेको छ ।
सोह्र प्रतिशतले घट्यो पट्रोलियम पदार्थको मूल्य एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १६७ प्रतिशतले घटेको छ ।
काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग ‘कसलाई मत दिनुहुन्छ’ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ ।
निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य गरेको पाइएकाले त्यस्ता कार्यहरू नगर्न/नगराउन अनुरोध गर्दै त्यस्ता कार्य नरोकिए प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने उल्लेख गरेको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ । त्यसमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न, निर्वाचन प्रचारप्रसारका लागि घरलैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ ।
आचारसंहिताको यो व्यवस्था पूर्ण पालना गर्नका लागि पटकपटक छलफल, अन्तक्रिया र सूचना प्रकाशन गरी जानकारी गराइसकिएको भए तापनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारले उक्त व्यवस्थाको उल्लङ्घन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्धारित समयअगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रम गरी मतदातालाई प्रभाव पार्ने काम गरिरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्तो कार्य नगर्न/नगराउन निर्वाचन कार्यालयले ध्यानाकर्षण गराएको छ ।
कोही कसैबाट आचारसंहिताको उल्लङ्घन गरी कुनै पनि तरिकाले प्रचारप्रसार गरेको प्रमाण प्राप्त भएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले सूचित गरेको छ ।
आचारसंहिता अनुमगन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताको सम्पूर्ण पक्षका बारेमा ध्यानाकर्षण गराएका छन् ।
नियमित समयभन्दा दुई वर्षअघि प्रतिनीधिसभा सदस्य निर्वाचन फागुन २१ मा हुँदैछ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक परिवर्तनका बिच हुन लागेको निर्वाचनमा दल र नेताहरुको जनमत परीक्षण हुने छ। केही निर्वाचन क्षेत्रमा पुराना दलका शीर्ष एवं अनुभवी नेताहरू र नयाँ दलका उदयीमान नेताहरुबिच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलबिच नै मुख्य र रोचक प्रतिस्पर्धा हुने देखिन्छ। निर्वाचन आयोगमा दर्ता भएका दल र उम्मेदवारको संख्याले यस पटकको चुनावलाई विगतको भन्दा फरक हुने छ। चुनावी मेदानमा धेरै दल र स्वतन्त्र उम्मेदवार उत्रिएकाले जनमत विभाजन हुने सम्भावना छ।
पुराना र ठुला दलहरू आ–आफ्नो संगठनात्मक बलमा मत माग्न मतदाताको घरदैलोमा पुगिरहेका छन्। निर्वाचनमा कांग्रेसले स्थिरता र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता साथउठाएको छ। एमालेले राष्ट्रियता, विकास र नेतृत्व क्षमताको मुद्दा अघि सारेको छ। नेकपाले सामाजिक न्याय र समावेशी विकासलाई मूल अजेन्डा बनाएको छ। रास्वपा र अन्य नयाँ दलहरू पुराना दलका नेताहरुको आलोचना गर्दै जनआक्रोशलाई आफ्नो पक्षमा पार्न सक्रिय छन्।
प्रारम्भिक प्रचारप्रसार र घरदैलोका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहसहित केही स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षण देखिएको छ, जसले परम्परागत दलका उम्मेदवारलाई दबाबमा पारेको छ। यसलाई २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले प्राप्त गरेको सफलतासँग जोडेरसमेत हेर्न थालिएको छ।
विद्रोह त्यागेर शान्ति प्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी त्यो चुनावमा ठुलो दल बन्न सफल भएको थियो। निर्वाचनबाछ ठुलो दल बन्न सफल भए पनि उसले सरकार बनाउन चाहिने बहुमत भने पाएन। फागुनमा हुने निर्वाचनबाट पनि बहुमतको एकल सरकार बनाउन कुनै दललाई जनमत मिल्ने सम्भावना कम र संयुक्त सरकार बन्ने विश्लेषण पनि गर्न थालिएको छ।
यस पटक निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा रास्वपा सभापति रवि लामिछानेले फरकफरक चुनौती सामना गर्नुपर्ने देखिन्छ। ओलीमाथि जेनजी आन्दोलन दबाएको आरोप छ।
थापालाई आफ्नै पार्टीभित्रैबाट असहयोग हुने खतरा छ। दाहालमाथि पार्टी एकताका नाममा माओवादलाई विसर्जन गरेको र सशस्त्र द्वन्द्वका घाइते र सहिदलाई बेवास्ता गरेको आरोप छ। नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अदालतमा विचाराधीन छ। लामिछानेमाथि सहकारी ठगीको आरोप छ। रास्वपा वरिष्ठ नेता साहमाथि पनि मेयरको कार्यकाल पूरा नगरी बिचैमा काठमाडौंका जनतालाई धोका दिएको आरोप छ। निर्वाचनका क्रममा उनीहरूले यी आरोप र चुनौतीको सामना गर्नुपर्ने छ।
झापा–५: दबाबमा ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि चुनाव लड्दै आएको झापा–५ मा यस पटक रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले पनि उम्मेदवारी दिएका छन्। काठमाडौंका मेयरबाट राजीनामा दिएर साह साह प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न झापा–५ पुगेका हुन्।
ओलीको गृह क्षेत्रमा साह पुगेपछि चुनावी माहोल तातिएको छ। झापाबाट २०४८ देखि चुनाव लड्दै आएका ओलीले एक पटकबाहेक निर्वाचन जित्दै आएका छन्। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका साहलाई ओलीको प्रतिस्पर्धामा उतारेको हो , एमालेले पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। झापा–५ मा साहको उम्मेदवारीले ओलीमाथि चुनौती थपिएको छ।
संविधानसभा सदस्य निर्वाचन, २०६४ बाहेकका सबै चुनावमा सहज जित निकाल्दै आएका ओलीका लागि यस पटक एमालेभित्रको आन्तरिक असन्तुष्टि पनि चुनौती बन्न सक्छ। ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेताहरू खुलेर बोल्न नसके पनि त्यसले चुनावी नतिजामा असर पार्न सक्छ। केही दिनअघि मात्र ओलीकै क्षेत्रका युवा नेता राजेश प्रसाईंले एमाले छाडेका छन्। रास्वपाले साह झापा–५ बाट उम्मेदवार बन्नुलाई ‘गौरवको विषय’ भनेको छ। एमालेले भने आफ्नो पार्टी संगठन बलियो रहेकाले साहको उम्मेदवारीले चुनावी परिणाममा खासै असर नपर्ने अर्थात् जित ओलीकै हुने दाबी गर्दै आएको छ। एमालेले जे भने पनि साहको उपस्थितिले ओली दबाबमा परेको देखिन्छ।
ओलीलाई जित निकाल्न स्थानीय भएको सुविधा छ। उनले झापामा गरेका विकास निर्माणका कामहरू पनि प्रशस्त छन्। नयाँ पुस्ताका साहमाथि युवा आकर्षण देखिन्छ। युवा जोश भएका कारण उनी अधिकतम खटिन र दौडधुप गर्न सक्छन्।यस पटक झापा–५ मा कडा प्रतिस्पर्धा हुने र थोरै मतान्तरले हारजित हुने विश्लेषण विश्लषेकहरूले गर्न थालेका छ। २०६४ सालमा ओलीलाई तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङदेनले पराजित गरेका थिए। त्यसबेला ओलीलाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चा बटुलेका लिङदेन गुमनाम छन्।
अघिल्लो निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मतमा रोकिएका थिए। त्यस्तै रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत पाएका थिए। झापामा समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत पाएको थियो। समानुपातिकतर्फ रास्वपाले १८ हजार २०५ र कांग्रेसले १६ हजार ८५९ मत पाएका थिए। झापा–५ मा १ लाख ६३ हजार ३७९ मतदाता छन्। जसमा करिब करिब १० हजार नयाँ मतदाता छन्।
सर्लाही–४: थापालाई सिंह चुनौती
कांग्रेसभित्रको रस्साकस्सीबिच विशेष महाधिवेशनबाट सभापति बनेपछि उत्साहपूर्वक मधेस झरेर सर्लाही–४ बाट उम्मेदवारी दिएका गगनकुमार थापालाई जित निकाल्न रास्वपाबाट उम्मेदवार बनेका स्थानीय नेता अमरेशकुमार सिंह चुनौती बनेका छन्। सिंहको विगत कांग्रेस पृष्ठभूमि हो। अघिल्लो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्रबाट जित निकालेका थिए। यसअघि लगातार तीन पटक जित निकालेको काठमाडौं–४ छाडेर थापा सर्लाही–४ पुगेका हुन्। थापालाई पार्टी सभापति भएको नाताले पनि अन्य निर्वाचन क्षेत्रमा पुग्नुपर्ने बाध्यता छ। उनी अहिले देश दौडाहमा छन्। थापालाई कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ।
सर्लाही–४ कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ। यो क्षेत्रमा २०४८, ५१ र ५६ सालमा कांग्रेसले जित निकालेकोमा २०६४ मा भने जनमत मधेसी जनअधिकार फोरमको पक्षमा गयो। २०७० र ७४ का चुनावमा कांग्रेसबाट सिंह निर्वाचित भए। २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेका सिंहले कांग्रेसका नागेन्द्र राय यादवलाई पराजित गरेका थिए। सिंहले २० हजार १७ र यादवले १८ हजार २५२ मत पाएका थिए। थापाले यही क्षेत्रलाई रोजेका छन्। थापा काठमाडौं–४ भन्दा सर्लाही–४ जित निकाल्न सहज ठानेर त्यहाँ गएको बताइन्छ।
सर्लाही–४ बाट २०४८ र ५१ को निर्वाचनमा कांग्रेसका नेता महन्थ ठाकुर निर्वाचित भएका थिए। २०५६ को चुनावमा कांग्रेसका नागेन्द्र राय यादव निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा ठाकुर कांग्रेस छाडेर यही क्षेत्रमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट उम्मेदवार भए पनि मधेसी जनअधिकार फोरमका शिवपूजन यादवबाट पराजित भएका थिए। २०७० मा ठाकुर र शिवपुजनलाई पराजित गरी सिंह निर्वाचित भएका थिए।
विगतमा सर्लाहीबाट उम्मेदवार बनेका झलनाथ खनाल र सूर्यबहादुर थापाले पराजय भोगेका थिए। यस पटक सर्लाही–४ मा एक लाख २१ हजार १२ मतदाता छन्।
रुकुम पूर्व: दाहालविरुद्ध सहिद पुत्र
हरेक निर्वाचनमा क्षेत्र फेर्दै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल यसपालि सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका छन्। रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालविरुद्ध ‘माओवादी जनयुद्ध’का सहिदपुत्र सन्दीप पुनले उम्मेदवारी दिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुन उम्मेदवार बनेका हुन्। यो पार्टी दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मालगायतले गठन गरेका हुन्। पुनलाई एमालेको समेत समर्थन छ। यसकारण दाहालका लागि पुन चुनौती बनेका छन्। संसदीय राजनीतिमा आएपछि दाहालका लागि यो पाँचौं निर्वाचन हो। संघीय प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्ती विजयी भएका थिए। घर्तीले निकटतम प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्ललाई ३ हजार ९४९ मतान्तरले पछि पारेका थिए। घर्तीले १२ हजार २६२ र मल्लले ५ हजार २११ मत पाएका थिए।
रूकुम पूर्व द्वन्द्वकालमा माओवादीको आधार इलाका हो। माओवादी शान्ति प्रक्रियामा आएपछिका चारवटा निर्वाचन उसैले जितेको छ। रुकुम पूर्वमा ‘जनयुद्ध’को स्मृति अझै ताजा छ। त्यहाँका धेरै परिवार प्रत्यक्ष रूपमा जनयुद्धसँग जोडिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर आफू यसपालि रुकुम पूर्व आएको प्रष्टीकरण दिइरहेका छन्। माओवादी जनयुद्धको रहेकाले रुकुम पूर्वले आफूलाई जिताउने दाहालको विश्वास छ तर यस पटकको चुनाव त्यति सहज छैन।
राज्य पुनर्संरचनाका क्रममा बनेको रुकुम पूर्व कान्छो जिल्ला हो। रुकुमलाई टुक्राएर पूर्व र पश्चिम बनाइएको हो। रुकुम पूर्वमा तीनवटा मात्र स्थानीय तह छन्। रुकुम पूर्वमा कांग्रेसबाट कुसुमदेवी थापामगर, एमालेबाट लीलामणि गौतम, रास्वपाबाट लखनकुमार थापाचुनावी मैदानमा छन्। एमालेले प्रलोपाका उम्मेदवार पुनलाई समर्थन गरेको छ। यो तालमेल दाहालका लागि चुनौती बन्न सक्ने विश्लेषण पनि गर्न थालिएको छ।
दाहाल २०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० बाट विजयी भएका थिए। दोस्रो संविधानसभा निर्वाचन, २०७० मा दाहाल काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बनेका दाहाल सिरहाबाट झिनो मतान्तरले विजयी भएका थिए। दाहाल २०७४ सालमा चितवन–३ बाट २०७९ मा गोरखा–२ बाट विजयी भएका थिए। दाहाललाई ७४ मा एमाले र ७९ मा कांगे्रसको समर्थन (गठबन्धन) थियो।
रौतहट–१: दोहोरिएलान् नेपाल?
रौतहट–१ बाट उम्मेदवार बनेका नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपाललाई जित निकाल्न एमालेका अजयकुमार गुप्ता र कांग्रेसका अनिल झा चुनौती बन्न सक्छन्। एमालेबाट अलग भएपछि २०७९ सालको निर्वाचनमा नेपालले नेकपा एकीकृत समाजवादीबाट यही क्षेत्रबाट जित निकालेका थिए। यस पटक उनले जित निकाल्न एमालेका गुप्ता र कांग्रेसका झा दुवैलाई पछाडि पार्नुपर्छ। अघिल्लो निर्वाचनमा नेपाललाई कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्रलगायतको समर्थन थियो। अन्य दलसमेतको समर्थनमा नेपाल ३३ हजार पाँच सय २२ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका गुप्ताले २६ हजार ९२२ मत पाएका थिए। त्यस्तै यही क्षेत्रबाट चुनाव लडका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४ सय ११ मत पाएका थिए।
रौतह–१ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ३ वटा र गरुडा नगरपालिकाका एउटासहित ४१ वटा वडा पर्छन्। २०७९ को स्थानीय तह निर्वाचनमा २२ वटा वडामा हालको नेकपा, ९ वटा वडामा कांग्रेस, ६ वटा वडामा जसपा नेपाल, ३ वटा वडामा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन्। गौर नगरपालिकाको प्रमुख तथा उपप्रमुख, राजदेवी नगरपालिकाको प्रमुख र उपप्रमुख, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष नेपाल आबद्ध नेकपाका छन्। यस पटक कांग्रेसले झालाई उम्मेदवार बनाएपछि नेपालमाथि चुनौती थपिएको हो।
नेपाल रौतहट– १ बाट पटक–पटक निर्वाचित नेता हुन्। २०५६ र २०७० सालको चुनाव पनि उनले यही क्षेत्रबाट जितेका थिए। २०७४ मा नेपाल काठमाडौं २ बाट निर्वाचित भएका थिए।
चितवन–२: प्रश्नहरूको घेरामा लामिछाने
सहकारी ठगी आरोपमा पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार छन्। जित सहज भए पनि उनले धेरै प्रश्न र आलोचनाको सामाना गर्नुपर्नेछ। लामिछाने यसै क्षेत्रबाट २ पटक निर्वाचित भइसकेका छन्। उम्मेदवारी दर्ताकै दिन पर्सा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दाको सुनुवाइ भएका कारण वीरगन्ज पुग्नुपरेकाले लामिछानेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।
चितवन–२ मा यस पटक नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। कांग्रेसले महिला अधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा ३५ वर्षदेखि काम गर्दै आएकी मीना खरेललाई उम्मेदवार बनाएको छ। भरतपुर महानगरपालिका–४ घर भएकी खरेल जिल्लामा परिचित छन्।
एमालेबाट युवा नेता अस्मिन घिमिरे उम्मेवार छन्। एमाले बागमती प्रदेश कमिटी सदस्य घिमिरे जनवादी गायक पनि हुन्। उनी अनेरास्ववियुबाट पार्टी राजनीतिमा आएका हुन्। उनी युवा माझ प्रिय मानिन्छन्। नेकपाले प्रताप गुरूङलाई उम्मेदबार बनाएको छ।
इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा समेटिएको चितवन–२ बाट लामिछाने पहिलो पटक २०७९ को निर्वाचनमा ४९ हजार २ सय ६४ मत पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए। त्यस्तै एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ भोट पाएका थिए। त्यसपछि उनी उपप्रधान एवं गृहमन्त्री बने।
नागरिकता विवादमा परेको मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशसँगै उनको सांसद पद खारेज भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका लामिछाने २०८० वैशाखमा चितवन–२ मा भएको उपनिर्वाचनबाट ५४ हजार १७६ मतसहित पुनः निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ र एमाले रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए।
दोस्रो पटक निर्वाचित भएपछि पनि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने। यसै क्रममा उनीमाथि सहकारीको रकम अपचलन गरेको आरोप लाग्यो। संसदीय छानबिन समितिले उनी दोषी भएको प्रतिवेदन बुझायो। त्यसपछि उनले विभिन्न जिल्लामा मुद्दा झेल्दै आएका छन्।
लामिछानेको प्रवेशअघि चितवन–२ एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो। यहाँबाट २०७० र २०७४ को चुनावमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यो क्षेत्रका स्थानीय तह निर्वाचनमा एमालेकै मत धेरै भए पनि संसदीय उपनिर्वाचनमा लामिछानेले जित निकाले। अघिल्ला दुई निर्वाचनको मतान्तर हेर्दा अहिले पनि लामिछानेका लागि यो क्षेत्र सुरक्षित मानिएको छ। नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
नेपालले तेश्रो पटक टी–२० विश्वकप खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो । प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ ।





