२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

दैलेख। भैरवी गाउँपालिका-१, जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्यांक सार्वजनिक गरिएको हो। यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले बताए।

भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। प्रवक्ता खड्काले भने, ‘अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ। वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन।’

उनका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि निस्कने ग्यासमा भएका तत्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीलेः सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।

उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदन माथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ। विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ। यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ।

व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ। दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो। फागुन २१ हुन लागेको निर्वाचनमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्।

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आजसम्म एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । बुधबारसम्म ५३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो ।

आज थप पाँच जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उनले बताए । हालसम्म १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।

काठमाडौं । आगामी निर्वाचनको लागि भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको तेस्रो खेप उपलब्ध गराएको छ ।

काठमाडौंस्थित गृह मन्त्रालयमा बिहीवार आयोजित एक समारोहका बीच भारतीय राजदुत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई २ सय ७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले आगामी निर्वाचनको तयारीका लागि खोजेको सहयोग अनुरूप भारतले यो सामग्री उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमध्ये नेपाली सेनाका लागि ५० वटा ट्रकहरू रहेका छन् । जुन प्रधान सेनापति महारथी अशोकराज सिग्देलले राजदुत श्रीवास्तवबाट ग्रहण गरे ।

सहयोग ग्रहण गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले समयमै उपलब्ध गराइएको यो महत्वपूर्ण सहयोगका लागि भारतीय पक्षलाई धन्यवाद व्यक्त गरे ।

उनले नेपाल र भारतबीचको सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिवद्धताद्वारा निर्देशित रहेको उल्लेख गर्दै दुई देशबीचको बृहत् सहकार्यको प्रशंसा गरे ।

भारतले यसअघि नै पहिलो र दोस्रो खेपमा गरी ३१० भन्दा बढी सवारी साधन र अन्य सामग्रीहरू क्रमशः माघ ६ र माघ १५ गते हस्तान्तरण गरिसकेको छ ।

भारतीय राजदुतावासकाअनुसार थप सहयोगहरू आगामी दिनहरूमा विभिन्न चरणमा उपलब्ध गराइनेछ । यो सहकार्यले दुई देशबीचको बहुआयामिक विकास साझेदारी र जनताबीचको गहिरो सम्बन्धलाई झल्काएको छ ।

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । आजको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गरेको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए । यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । आजको खेल हारेसँगै नेपाल अंकविहिन बन्न पुगेको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिना निषेधाज्ञा जारी गरिएको छ । विरोधका कार्यक्रम तथा भिड उत्तेजित हुन सक्ने सम्भावित जोखिमलाई लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि लागू हुने गरी एक महिना निषेधाज्ञा जारी गरेको हो ।

‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) को व्यवस्थाबमोजिम मिति २०८२/१०/२९ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ’, प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रशासनले निषेधाज्ञाविपरीत सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्तिवापतको रकम असुल्ने जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह १ फागुनमा उपत्याकाबाहिरबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ । सो दिन शाहलाई स्वागतका लागि विमानस्थलमा आउन राप्रपा नेताहरूले अपिल गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

 कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट क्षेत्र घोषणा गर्न, बँदेलको आक्रमणबाट मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन माग दावी सहित उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो ।

अधिवक्ताहरू उपेन्द्रकुमार रावत, नमराज योगी, लोकप्रसाद गौतम र नमनकुमार शाहीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, वन मन्त्रालय, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन दैलेखदेखि सम्बन्धित स्थानीय तह गरी २५ वटा निकायविरुद्ध रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय दैलेखसहित संघ, प्रदेश र स्थानीय तहका २५ निकायलाई विपक्षी बनाइएको छ ।

निवेदनमा दैलेखका दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका, आठबीस नगरपालिका र महाबु गाउँपालिकालगायत क्षेत्रमा झण्डै एक दशकदेखि जंगली बँदेलले बालीनाली नष्ट गर्दै आएको रिटमा उल्लेख छ । पछिल्लो समय भने मानिसमाथि सिधा आक्रमणका घटना बढेको दाबी गरिएको छ ।

माघ १२ गते भैरवी गाउँपालिका–६ कुर्माकोटमा ७७ वर्षीय प्रदीप सिंहको बँदेल आक्रमणबाट मृत्यु भएको थियो । सोही घटनामा दीपक सिजाली र मिकेश सिजाली घाइते भएका थिए । माघ २४ गते भैरवी–५ का ५० वर्षीय पदमबहादुर विष्टको आफ्नै बारीमा काम गरिरहेका बेला बँदेल आक्रमणबाट ज्यान गएको थियो । आठबीस नगरपालिका–८ का दीपेन्द्र वडुवाल पनि बँदेल आक्रमणबाट गम्भीर घाइते भई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

निवेदकहरूले जंगली बँदेलको अस्वाभाविक वृद्धि र मानव–वन्यजन्तु द्वन्द्वलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार ‘गैरप्राकृतिक विपद्’को अवस्थाका रूपमा व्याख्या गरेका छन् । प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न र त्यसअनुसार राहत, उद्धार तथा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

रिटमा तीनै तहका सरकारले कानुनी दायित्व अनुसार पूर्वतयारी, जोखिम न्यूनीकरण, राहत तथा पुनःस्थापना कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लगाइएको छ । बँदेल नियन्त्रण पश्चिम दैलेखकाका जनताले लामो समयदेखि बँदेल आतंक भोग्दै आएको हुँदा स्थानीय तहमार्फत सर्वसाधारण किसानहरूको बालीनालीमा पुगेको हानि नोक्सानीको लगत संकलन गर्नुपर्ने कुरा पनि रिटमा उठाइएको छ । साथै किसानहरूलाई उचित राहत तथा क्षतिपूर्ति दिनु/दिन लगाउनु, उक्त समस्याको अल्पकालीन र दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गरी बँदेल गर्न सरकारी निकायका नाममा उपयुक्त आज्ञा आदेश जारी गर्न पनि माग गरिएको छ ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोस्रो खेलमा इटलीको सामना गर्दैछ । मुम्बईस्थित ऐतिहासिक वाङ्खेडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

समूह ‘सी’ मा रहेका दुवै टोली आज मैदान उत्रिँदा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछन् । यसअघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्डसँग र इटली अर्को एसोसियट राष्ट्र स्कटल्यान्डसँग पराजित भएका थिए । अघिल्लो खेलको नतिजालाई बिर्सिएर दुवै टोली आजको खेलमार्फत अंक तालिकामा खाता खोल्ने दाउमा छन् ।

नेपाल र इटली झण्डै १३ वर्षपछि क्रिकेटको मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ अन्तर्गत यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । तर, त्यो ५० ओभरको खेल थियो । टी-२० अन्तर्राष्ट्रियको इतिहासमा भने नेपाल र इटली पहिलोपटक भिड्न लागेका हुन् । १३ वर्षपछि भेट हुँदा फर्म्याट र टोलीको संरचना बदलिए पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेटका लागि आजको खेल केवल अंक बटुल्ने माध्यम मात्र होइन, बरु विश्वकपमा दशकौँ लामो जितको खडेरी तोड्ने अवसर पनि हो । सन् २०१४ को टी-२० विश्वकपमा बंगलादेशको मैदानमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपको मञ्चमा कुनै पनि खेल जित्न सकेको छैन । यदि आज इटलीलाई पराजित गर्न सकेमा नेपालले १२ वर्षपछिको त्यो प्रतीक्षालाई पूर्णविराम लगाउनेछ ।

समूह ‘सी’ को समीकरण
नेपाल रहेको समूह ‘सी’ मा हाल आयोजक वेस्ट इन्डिज दुई खेलमा स्पष्ट दुई जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा सुरक्षित छ । बलिया राष्ट्रहरू इंग्ल्यान्ड र स्कटल्यान्डले समान २ खेलबाट २-२ अंक जोडेका छन् । यस्तो अवस्थामा नेपाललाई अघिल्लो चरणको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ।

बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए। उनले बिमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए।

बोर्डले रु २५ हजार ओपिडी सेवा र रु ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताए।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य रु सात सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ।

बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ। सूचना अधिकारी मल्लले भने, ‘पाँच जनाको परिवारले वर्षभरिमा बढीमा रु दुई हजार ५०० बराबरको बहिरंग सेवा (ओपिडी) सेवा लिन पाउने व्यवस्था छ। पाँच जनाभन्दा बढी सदस्य भएका प्रतिसदस्यले थप रु पाँच हजार बराबरको ओपिडी सेवा कायम गरिएको छ।’

हाल स्वास्थ्य बिमाको बजेटको ७० प्रतिशतभन्दा ठूलो हिस्सा सामान्य बिरामीको ओपिडी सेवामा नै खर्च भइरहेको छ। यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपर्याप्त हुने र बिरामीको आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारहरू बताउँछन्।

बोर्डका सूचना अधिकारी मल्लले वास्तविक बिरामीको उपचारमा बिमाको रकम खर्च गर्ने उद्देश्यका साथ ओपिडी, अस्पताल भर्ना र शल्यक्रिया जस्ता अलग अलग शीर्षकमा खर्च तोकिएकाले त्यसको पालना गर्न आग्रह गरेका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।