
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षाको प्रवन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार साँझ गृहमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो निर्देशन दिएका हुन् । ‘लोकतन्त्रमा जनताको अभिमत बुझ्ने उपयुक्त माध्यम निर्वाचनले नै मुलुकको वर्तमान अवस्थालाई निकास दिन्छ, त्यसैले यो निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन ।’
सो भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सो भेटघाटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।
काठमाडौँ । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र उम्मेदवारले निर्वाचनको बेग्लै बैंक खाता खोली निर्वाचन आयोगमा बुझाउने क्रम सुरु भएको छ ।
यही फागुन २१ गते हुने निर्वाचनका लागि सहभागी हुने दल र उम्मेदवारले बेग्लाबेग्लै बैंक खाता खोली जानकारी दिन थालेका आयोगले जनाएको हो ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले हालसम्म ४५४ उम्मेदवार र चार दलले त्यसरी बेग्लै बैंक खाताको विषयमा जानकारी गराएका बताए । निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
आयोगले गत माघ २० गते स्वीकृत गरी जारी गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ मा निर्वाचनमा सहभागी दल र उम्मेदवारलाई प्राप्त हुने आर्थिक सहयोगको रकम र प्रचारका क्रममा गर्ने खर्चलाई मितव्ययी र पारदर्शी बनाउने व्यवस्थाहरू गरिएका छन् ।
आयोगमा अहिलेसम्म तीनवटा दलले निर्वाचन घोषणापत्र बुझाएका छन् । आयोगले फागुन ३ गतेभित्र आयोगमा निर्वाचन घोषणापत्र बुझाउन निर्देश गरेको छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २१ मा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि उपहार, पुरस्कार, इनाम, दान दातव्य वा बकसको रूपमा नगद जिन्सीबाट प्रभावित पार्न नहुने व्यवस्था गरिएको छ ।
सोही ऐनको दफा २७ मा दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका क्रममा प्रचलित कानुनविपरीत हुनेगरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी सङ्घसंस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन हुने व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि बेग्लै खाता खोलिएपछि साविकका दल र उम्मेदवारका खाता यसै खातामा सार्नुपर्ने व्यवस्था गरिएको सहसचिव भट्टराईले जानकारी दिए । निर्वाचन प्रचारप्रसारको खर्चको विवरण तयार भएको ३५ दिनभित्र आयोगद्वारा उक्त खाता बन्द गराउन लगाइने उनले बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ को प्रभावकारी कार्यान्वयन गरी निर्वाचनको कार्यलाई व्यवस्थित र मर्यादित बनाउन यो कार्यविधि ल्याइएको हो । आयोगले उम्मेदवारले खर्च गर्ने हद (सीमा) पनि निर्धारण गर्दै आएको छ ।
यसपटकको निर्वाचनका लागि भौगोलिकताका आधारमा क्षेत्रगत रूपमा रु २५ लाखदेखि रु ३३ लाखसम्म निर्वाचनको खर्चको हद तोकेको छ । सोसम्बन्धी सूचना २०७९ असोज ३१ को नेपाल राजपत्र (भाग ५, सङ्ख्या ४१) मा प्रकाशित गरिएको छ ।
कार्यविधिमा नेपाली मुद्राको कारोबार गर्नुपर्ने, खाताको विवरण आयोगका कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रस्तुत गरिएपछि ती खाताका कागजात र वित्तीय अभिलेखहरु प्रचलित कानुबमोजिम अनतिक्रम्य र गोप्य रहनेछन् ।
आयोगको संयन्त्रले उक्त खाताको आमदानी र खर्चबारे नियमित अनुगमन गर्नेछ । आयोगले निर्वाचन खर्चको अनुगमनका लागि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई अनुगमन अधिकृत तोकेको छ ।
भक्तपुर। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए ।
उनले भने, ‘आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ । कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ ।’
उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको जानकारी दिँदै प्रबन्ध निर्देशक पौडेलले छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको बताए ।
केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी जिल्ला जिल्लामा ढुवानी सुरु भइसकेको छ ।
केन्द्रका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी सकिएको छ । ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको छ ।
केन्द्रले डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ सम्पन्न गरिसकेको छ ।
यस्तै, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकको मतपत्रसमेत छपाइ सकिएको केन्द्रले जनाएको छ ।
काठमाडौं– लामो समयको झापाको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
शुक्रबार काठमाडौं फर्किएपछि पूर्वराजा शाहलाई ठूलो सङ्ख्यामा उपस्थित भएका समर्थकहरूले विमानस्थल मुख्य गेट बाहिर स्वागत गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र राजावादी संस्थाहरूले शाहलाई स्वागतका लागि विमानस्थल पुग्न आह्वान समेत गरेको थियो ।
प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि ठूलो सङ्ख्यामा राजसंस्था समर्थकहरू स्वागतका लागि पुगेका थिए । उनीहरूले राजसंस्था समर्थित नारा लगाएका थिए ।
पूर्वराजा शाह शुक्रबार हेलिकप्टरमार्फत झापाबाट काठमाडौं आएका थिए ।




