२०८३ जेष्ठ १४ गते बिहीबार
२०८३ जेष्ठ १४ गते बिहीबार

काठमाडौँ । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।

नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताए। उनका अनुसार नेपाल आउने पर्यटकले यात्रामै बढी खर्च गर्नुपर्ने बाध्यता भएकाले खुलेर खर्च गर्ने अवस्था नरहेको हो । “यातायात टिकट नै तीन हजार डलर पुग्छ । यस्तो अवस्थामा पर्यटकले यहाँ आएर प्रशस्त खर्च गर्ने पैसा कटौती हुन्छ”, उनले भने, “हामीले पर्यटकलाई खर्च गराउने वातावरण सिर्जना गर्न सकेका छैनौँ ।”

संघका अध्यक्ष थपलियाले पर्यटकलाई खर्च गराउन विलासी प्याकेज (लक्जरियस प्याकेज)को प्रावधान बनाई कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए। बाटो सुविधायुक्त बनाउने, खर्च गर्ने कलात्मक संरचना निर्माण गर्ने र ट्राभल शुल्क कम गर्ने हो भने पर्यटकले खर्च गर्ने आधार बढ्ने उनको तर्क छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा गत आर्थिक वर्ष(सन्, २०२४) मा ४० दशमलव ८४ अमेरिकी डलर औसत खर्च गर्ने पर्यटकले सन् २०२५ मा ३३ दशमलव शून्य आठ अमेरिकी डलर मात्रै खर्च गरेका छन् । यस हिसाबले नेपालमा आउने पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको थपलियाले जानकारी दिए।

सर्वेक्षणका अनुसार सन् २०२५ देखि केन्द्रीय विद्युतीय पर्यटन व्यवस्थापन सूचना प्रणाली (सिटिएमआइएस) बाट अध्यागमन विभागले पर्यटकको आगमन र प्रस्थान मिति प्रविष्ट गरेपछि स्वचालित हिसाबले गणना हुने प्रबन्ध गरिएकाले पर्यटकको प्रतिदिन औसत खर्चसमेत सोही अनुपातमा घटेको हो ।

सर्वेक्षणले गत वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या एक दशमलव तीन प्रतिशतले वृद्धि भई लाख ६२ हजार ३६५ पुगेको छ देखाएको छ । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक भित्रिएका थिए ।

नेपालमा भित्रिने पर्यटकमध्ये ६० दशमलव दुई प्रतिशत बिदा र मनोरञ्जनका लागि आउने गरेका छन् । यसमा पनि सबैभन्दा बढी घुम्न आउने पर्यटकमा तीर्थयात्री १४ दशमलव चार प्रतिशत रहेका तथ्यांकले देखाएको संघका अध्यक्ष थपलियाले उल्लेख गरे । उनका अनुसार पदयात्रा पर्वतारोहणका लागि १४ दशमलव दुई प्रतिशत र अन्य प्रयोजन (व्यापार, अध्ययन, भ्रमण वा अन्य विविध) का लागि ११ दशमलव दुई प्रतिशत पर्यटक नेपाल आएका छन् ।

यसरी नेपाल भ्रमण गर्ने पर्यटकको बसाइ अवधिसमेत बढेको तथ्यांकले देखाएको छ । सन् २०२४ मा प्रतिपर्यटक औसत बसाइ अवधि १३ दशमलव ३० दिन रहेकामा सन् २०२५ मा १६ दशमलव ३४ दिन पुगेको छ । तथ्यांकअनुसार सन् २०२५ मा आएका पर्यटकमध्ये भारतबाट करिब दुई लाख ९३ रहेका छन् ।

त्यसैगरी, अमेरिकाबाट एक लाख १३ हजार, चीनबाट ९६ हजार, बेलायतबाट ५९ हजार, बंगलादेशबाट ५८ हजार, अष्ट्रेलियाबाट ५० हजार, श्रीलंकाबाट ३८ हजार, थाइल्यान्डबाट ३० हजार, जर्मनीबाट ३० हजार, श्रीलंकाबाट ३८ हजार, थाइल्याण्डबाट ३० हजार जर्मनीबाट ३० हजार, जापानबाट २५ हजार र अन्य मुलुकबाट तीन लाख ७१ हजार रहेका छन् ।

तथ्यांकले २०२५ मा भ्रमण आय चार दशमलव आठ प्रतिशत वृद्धि भएको देखाउँछ । गत वर्ष आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट प्राप्त हुने भ्रमण आय ८३ अर्ब ३९ करोड ४० लाख थियो । ठमेल पर्यटन परिषद् विकास परिषद्को उपाध्यक्ष सहदेव धमलाले पर्यटकले पर्याप्त खर्च गरे मात्रै राज्यको कुल गार्हस्थ्य उत्पादनमा योगदान पुर्‍याउन सकिने बताए। उनका अनुसार अहिले पर्यटकलाई गुणस्तर किनमेल गर्ने वस्तुको अभाव छ ।

त्यस्तै, पर्यटकको चाहनाअनुसारका सेवा प्रवाहमा पनि नेपाल व्यवस्थित हुन आवश्यक रहेको उनले बताए । “सेवा प्रवाह नै बलियो बनाउन र पर्यटकले किनमेल गर्ने गुणस्तर वस्तुको उत्पादन गर्न राज्यले लगानीमा जोड दिनुपर्छ”, उनले भने ।

जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुवात गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले जानकारी दिँदै भने, ‘अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुवात गरेका छौँ ।’

स्वदेशी उद्यमीको संयुक्त लगानीमा एक अर्ब ३० करोड सञ्चालनमा आएको जनाइएको छ । उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ । उनले भने, ‘क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका छौँ ।’

क्यान्सरको औषधि आयत हुँदै आएको छ । उद्योगले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ । हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको छ । लौठ सल्लोलाई प्रशोधन गरेको सहायक कच्चा पदार्थ ‘टेन ड्यब थ्री’बाट अन्य केमिकल प्रयोग गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ कच्चा पदार्थ उत्पादन गरेको उनको भनाइ छ ।

हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी यहाँ ल्याएर पुनः प्रशोधन गरिएको उनको भनाइ छ । प्रशोधन गरेपछि कच्चा पदार्थ तयार हुने गर्दछ । त्यही तयारी कच्चा पदार्थ दुई किलो पाँचसयग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको हो ।

आफूहरुले उत्पादन गरेको कच्चा पदार्थ उत्पादन परीक्षण गरी अनुमति समेत प्राप्त गरिसकेको उनको भनाइ छ । कच्चा पदार्थ निर्यात गर्न भारतीय कम्पनीलाई नमूना पठाइएको र नमूना सफल भएसँगै भारतमा कच्चा पदार्थ निर्यात गरिएको उनले जानकारी दिए । यो कच्चा पदार्थ रु आठ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्दछ । कच्चा पदार्थको ‘ब्राण्ड’ नाम हुँदैन ।

उनले पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरुमा निर्यात गर्ने आफूहरुको योजना रहेको जानकारी दिए । नेपालका ४० देखि ४५ जिल्लामा यो लौठसल्लो पाइने जनाउँदै उनले वार्षिक एक हजार ५०० टन लौठसल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारी दिए ।

उद्योगमा नै रहेको अर्काे भवनमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको समेत उत्पादन गर्ने तयारी आफूहरुले गरिरहेको उनको भनाई छ । उद्योगमा मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्नसक्ने क्षमता रहेको जनाइएको छ ।

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठुलो महान् चाड बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदहरूमा परम्परागत विधिअनुसार मनाइँदैछ ।

धार्मिक मान्यताअनुसार इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा यो पर्व मनाउने गरिन्छ । बकर इदका दिन बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा एकत्रित भएर सामूहिक नमाज पढ्ने गर्दछन् । नमाज पूरा गरेपछि उनीहरूले एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परा छ ।

यस विशेष अवसरमा काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका विभिन्न मस्जिद र इदगाहहरूमा बिहानैदेखि भक्तजनहरूको ठुलो भीड लाग्ने गर्दछ ।

मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार, हिजरी संवत्अनुसार १४३९ वर्षपहिले अल्लाहको आदेश पालना गर्दै इब्राहिमले आफ्ना प्रिय छोरा इस्माएल अलेह सलामलाई बलिदान (कुर्बानी) दिन तयार भएको ऐतिहासिक सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

मुस्लिम धर्मगुरु (मौलाना) रहमत अलीले यो ऐतिहासिक पर्वको जग बसाल्ने इब्राहिमकै वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्लाको जन्म भएको र उनले नै यसलाई निरन्तरता दिएको बताएका छन् । उनले यो पर्व र धर्मलाई पुस्तान्तरण गर्न अहम् भूमिका खेल्दै ‘हदिस’ नामक पवित्र धर्मग्रन्थको रचनासमेत गरेका थिए ।

मौलाना अलीले भने, ‘जुन ग्रन्थलाई अहिले पनि मुस्लिम धार्मिक विद्यालय अर्थात् मदरसाहरूमा अध्ययन अध्यापन गराइन्छ । मक्कामा जन्मनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको इतिहास छ र त्यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठुलो मेला लाग्ने गर्दछ ।’

बकर इदका अवसरमा मक्कामदिनाको दर्शन गर्नु अत्यन्तै शुभ मानिने भएकाले गृह मन्त्रालयले हजयात्रीहरूका लागि आउने–जाने विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गर्दछ । मक्कामदिना जान नपाउने सर्वसाधारणले भने घरघरमै बकर इद मनाउने गर्दछन् । वास्तवमा यो पर्वको मुख्य उद्देश्य नै हजयात्रासँग जोडिएको छ । यस दिन अल्लाहलाई प्रसन्न पार्नका लागि मुस्लिम धर्ममा जायज मानिएका जनावरहरूको कुर्बानी (बलि) दिने प्रचलन छ ।

धार्मिक किम्वदन्तीअनुसार अल्लाहका दूत इब्राहिम अलि सलामलाई ९० वर्षको उमेरमा पत्नी हाजराबाट छोरा इस्माईल प्राप्त भएका थिए । तर पछि अल्लाहबाट उनै प्रिय छोरालाई कुर्बानी गर्नुपर्ने आदेश आयो । इब्राहिमले सो आदेश पालना गर्न लाग्दा अल्लाह उनीसँग प्रसन्न भए र इस्माईलको सट्टा स्वर्ग (जन्नत) मा पालिएको दुम्बा (भेडाजस्तो जनावर) को कुर्बानी भएको विश्वास गरिन्छ । यही घटनाको सम्झनामा मुस्लिम समुदायमा कुर्बानी गर्ने प्रथा चलिआएको हो ।

भनिन्छ, निःसन्तान रहेका इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मन्नत मागेका थिए र सन्तान सुख पाएपछि कुर्बानी गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताको परीक्षा लिन अल्लाहले उनलाई सपनामा आफ्ना छोराको कुर्बानी गर्न आदेश दिएका थिए ।

इब्राहिमले सुरुमा धेरै जनावरहरूको कुर्बानी गर्दा पनि अल्लाह खुसी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा छोरालाई नै बलि चढाउन तयार भएका थिए । उनको यो कडा परीक्षा सफल भएपछि कुर्बानी गर्ने ठाउँमा मानिसको सट्टा जन्नतबाट आएको दुम्बाको बलि भएको धार्मिक कथन छ ।

परम्परागत नियमअनुसार कुर्बानी गरिएको मासुलाई तीन बराबर भागमा बाँडेर वितरण गर्नुपर्ने धार्मिक मान्यता छ । जसमध्ये एक भाग गरिब तथा विपन्न परिवारलाई, दोस्रो भाग आफ्ना इष्टमित्र तथा आफन्तलाई र तेस्रो भाग मात्र आफैँले उपभोग गर्नुपर्ने नियम छ । यसै विधिअनुसार आज पहिलो दिनको बकर इद मनाइँदै छ ।

नेपाली जामे मस्जिदका अनुसार मुस्लिम धर्मावलम्बीहरूले यो पर्व आगामी शनिबारसम्म अर्थात् तीन दिनसम्म मनाउनेछन् र यी तीनै दिन कुर्बानी गर्नुपर्ने धार्मिक विधान रहेको छ । बकर इदको यस पावन अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।