
ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ।
प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरु डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा जेठ २० गते सुरु भएको सुनुवाइ शुक्रबार सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो।
अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ।
यसअघि, गत वैशाख २८ गते तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ गर्दै राय बाझी आदेश गरेको थियो।
तत्कालीन कायममुकायम प्रधानन्यायाधीश मल्ल, न्यायाधीशहरु रेग्मी र फुयालले सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकानीन अन्तरिम आदेश गरेका थिए भने न्यायाधीशहरु विनोद शर्मा र शारङ्गा सुवेदीले भने फरक मत राख्दै अपूरणीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाएका थिए।
अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहालसमेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइ ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको जनाइएको छ ।
मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।
समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समितिले अध्ययन गर्नेछ ।
मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।
मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ ।
यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।
काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को २०८३ जेठ २९ गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत गठन गरिएको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को कार्यावधि २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको बताए ।
त्यस्तै, सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण तथा छानबिनसँग सम्बन्धित उच्चस्तरीय आयोग (रावल आयोग) ले पेश गरेको प्रतिवेदन, २०५२ कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
यस्तै, अर्थ मन्त्रालयको प्रस्तावमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।
सरकारले सार्वजनिक प्रशासन, सुशासन तथा नीतिगत सुधारसँग सम्बन्धित विषयमा आवश्यक निर्णयहरू गर्दै आएको र ती निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको उनले बताए ।
काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । काभ्रेका डीएसपी रवीन बिष्टका अनुसार दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार अस्पताल पठाइएको उनले बताए ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सांसदहरूलाई धम्की दिएको भन्दै संसदीय समितिमा हंगामा भएको छ ।
बिहीवारको बैठकमा पहिला पनि आर्थिक विधेयक सच्याइने गरिएको र अहिले पनि आफूले सच्चाएको बताएका थिए । उनले सरकार अब सुशासनको मामिलामा निर्मम भएको र ‘फाइल खोल्ने’ बताएका थिए भने आर्थिक विधेयकमा आफूले ‘कम गल्ती गरेको’ दाबी गरेका थिए ।
यही अर्थमन्त्रीको भनाइलाई लिएर शुक्रबारको बैठकमा प्रतिपक्षी दल नेकपा र सत्तापक्षका सांसदबीच सबालजवाफ भएको हो । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले वर्तमान अर्थमन्त्रीले समितिको मर्यादा विपरित धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाए ।
बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले अर्थमन्त्रीले सांसदहरूलाई ‘हेप्ने र धम्की दिने’ शैलीमा प्रस्तुत भएको भन्दै उक्त कार्यको विरोध गरे ।
पुनले हिजोकाले ७० ओटा गरे त्यसैले मैले ६ वटा मात्र गरेँ भन्दै अर्थमन्त्री वाग्लेले भनेकोप्रति विरोध गरे । अपराध जति वटा गरे पनि अपराध नै हो भन्दै यसमा समिति गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अर्थमन्त्रीका लागि यो समिति आफ्नो कुरा प्रष्ट पार्ने र तथ्य प्रश्तुत गर्ने अवसर हुनुपर्नेमा उल्टै समितिको मानमर्दन हुने व्यवहार देखाएकाले समिति गम्भीर हुन जरुरी रहेको बताए ।
पुनले समितिको मानमर्दन हुने गरी व्यवहार भयो भने यहाँ बस्ने–नबस्ने विषयमा पनि सोच्नुपर्ने हुनसक्ने बताउँदै लेखा समिति सभापतिले रुलिङ गर्नुपर्ने बताए ।
पुनको आरोपपछि सत्तापक्षका सांसद गणेश पराजुलीले प्रतिवाद गरे । उनले पुनको भनाइलाई ‘चित्त दुःखाइ र दुखेसो’ को संज्ञा दिँदै लोकतान्त्रिक प्रक्रियामा जिम्मेवार हुनुपर्ने बताए ।
सांसद पराजुलीले एउटा अर्थमन्त्रीले अर्को अर्थमन्त्रीको बाध्यता बुझ्नुपर्ने बताए । उनले आफुहरु प्रतिपक्ष भएकै कारण खरो उत्रने र सत्तापक्ष भएकै कारण छानबिन रोक्ने सोचमा नरहेको बताउँदै धम्की र अवरोधले कतै नपु¥याउने बताए ।
उनले विगतलाई स्मरण सम्झाउँदै यसअघि आफूहरु प्रतिपक्षमा रहँदा आवाज उठाउँदा ‘संख्या पु¥याएर ल्याऊ’ भन्ने खालको ‘सफ्ट धम्की’ आउने गरेको बताउँदै त्यसलाई सहज रूपमा लिएको बताए । उनले त्यसैको परिणामस्वरुप अहिले जनताले रास्वपालाई त्यो संख्या दिएर पठाएको बताए ।
दुई पक्षबीचको सवालजवाफपछि सार्वजिनक लेखा समितिका सभापति भरतबहादुर खड्काले अर्थमन्त्रीले दिएको अभिव्यक्तिका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘माननीयज्यूले उठाएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । आज विविधमा धेरै नजाऊँ, यो विषयमा पछि पनि छलफल गरौँला’ उनले भने ।
पुनले कानूनी ग्रे एरिया’ हरूलाई स्पष्ट पार्न समितिले सहयोग गर्ने भन्दै अर्थमन्त्रीलाई जिम्मेवार बन्न आग्रह गरेका थिए ।
काठमाडौं । फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ । शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो । खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् ।
दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दक्षिण कोरियाका ह्वाङ इबोनले ६७ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८० औँ मिनेटमा ओ हेन्युले गोल गर्दै दक्षिण कोरियाको अग्रता बढाए । जितसँगै दक्षिण कोरियाले तीन अंक जोडेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये शुक्रबार राति १२ बजेसम्म ५ लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरिसकेका छन् ।
यस्तै १ लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापतिमार्फत अद्यावधिक प्रक्रियामा सहभागी भएका छन् । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा इन्टरनेट पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने उल्लेख गरिएको छ।
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहने जनाएको छ। साथै सदस्यता अद्यावधिक अभियान सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सबैप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ।
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको छ ।
मेक्सिको सिटी रंगशालामा भएको समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको हो ।
खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरेका थिए । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए ।
खेलमा दक्षिण अफ्रिकाका दुई र मेक्सिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको दोस्रो हाफको सुरुवातमै दक्षिण अफ्रिकाका मिडफिल्डर स्पेफेलो याया सिथोलेले मेक्सिकोका ब्रायन गुटियरेजलाई गोल गर्ने क्रममा लडाएपछि रातो कार्ड पाएका थिए ।





