२०८३ असार ८ गते सोमबार
२०८३ असार ८ गते सोमबार

संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको हस्तक्षेप प्रधानमन्त्री वालेन्द्र शाहले स्वीकारेका छन् ।

तीन दिनअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारका प्रमुख प्रेमकुमार राईसहितका पदाधिकारीलाई ९ घण्टासम्म थुनेर केरकार शैलीमा दबाब दिएको कुरामा आलोचना भइरहेको सन्दर्भमा बालेनले त्यसलाई स्वीकारेका हुन् ।

सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेनका सहयोगीहरूले आफ्नो कार्यालयमा ९ घण्टासम्म थुनेर करकापमा गराएको खुलेको थियो ।

त्यही कुरालाई बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आइतबारदेखि सुरू भएको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा स्वीकारेका हुन् ।

विगत बदमासीबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५ घण्टा मात्रै नभएर ५ वर्षसम्म नै राखेर सल्लाह गर्ने उनको जिकिर थियो ।

‘पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ । निहुँ खोज्दै गर्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन, ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ । हामी नियम बाहिर जाँदैनौं,’ बालेनले भने ।

उनले रास्वपा विकासवादी पार्टी भएको पनि जिकिर गरे । उनले आफू देशको हितविरोधी नभएकोले आफ्नो राष्ट्रभक्तिमाथि शंका नगर्न पनि भने ।

‘हाम्रो पार्टी विकासवादी हो । काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साँध्ने पुराना कुरामा निहुँ खोज्दै बस्ने होइन,’ बालेनले भने, ‘निहुँ खोज्नै पर्ने अगाडि बढ्दै गर्दा खोजिन्छ, विगतमा केही फट्याइँ भएका छन्, सरकारी सम्पत्ति दोहन भएको भेटिए निहुँ खोज्नु पर्छ ।’

बालेनका सहयोगीले अख्तियारका अधिकारीलाई अपमानसँगै जर्मनीका नेपालस्थित राजदूतलाई पनि अपमान गरेको सार्वजनिक भएको थियो । त्यस्तै निर्वाचन आयोगका पदाधिकारी पनि बालेनका सहयोगीको अपमानको शिकार भएका थिए।

गत सोमबार जर्मनीका नेपालस्थित राजदूत उडो भोल्जलाई प्रधानमन्त्री कार्यालयमा बालेनका सहयोगी सुवास शर्मासहितले राहदानी छपाइको काम गरेको जर्मन कम्पनीबारे बुझ्ने क्रममा आपत्तिजनक व्यवहार गरेका थिए ।

काठमाडौं । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरूले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, ‘हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।’

महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिनुभएको सुझावलाई पार्टीले गम्भीर रूपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे ।

रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले रास्वपा विकासवादी पार्टी भएको बताए । ‘रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन’, उनले भने ।

सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले भने, ‘सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।’

‘हाम्रो भूमिको प्रमाण हामीसँग छ’

प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।

‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ’, उनले भने, ‘हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।’ आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उहाँको प्रष्टीकरण थियो ।

‘पार्टीमा गुट, उपगुट नगरौँ ’

वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । ‘राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ’, उनले भने ।

उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पारे । ‘हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौँ । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ’, प्रधानमन्त्रीले भने ।

अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताए ।

उनले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश गर्दा र कारागारबाट समेत आफ्ना कुरा राखेको तर ती बेवास्ता गरिएको उल्लेख गरे ।

उनले भने, ‘रास्वपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैरराजनीतिक मानिसहरु आइपुगेका छन् । यो एउटा बाध्यता हो, रहर थिएन । पटकपटक भन्यौं तर हाम्रो कुरा सुनिएन । टेलिभिजनको पर्दाबाट भन्यौं, राजनीतिको मैदानमा आउने वित्तिकै घोषणा गर्दा भन्यौं तर सुनिएन । यतिसम्मकी जेलको कालकोठरीबाट पनि भन्यौं सुनिएन ।’

यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे । 

उनले भने, ‘मैंले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन । तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन ।’

उनले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।

यसैगरी उनले भैरहवा कारागारमा रहँदा आफूले लेखेको भनाइ स्मरण गर्दै ‘एक दिन जनताले हातमा भएको तस्करले दिएको घडी खोस्नेछन् र त्यहाँ हतकडी लगाउनेछन्’ भन्ने अभिव्यक्तिको उल्लेख गरे । हाल परिस्थिति परिवर्तन भएको र सोही परिवर्तनले रास्वपालाई देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको रूपमा स्थापित गरेको उनको दाबी थियो ।

‘बद्लिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रास्वपालाई राम्रोसँग थाहा छ। रास्वपा प्रतिशोध र दम्भभन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ ।’

उनले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार, समतामूलक समाज र समावेशिता जस्ता मूल्यहरूलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने,‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र नेतृत्व सम्हालेका पुस्ताहरूले दिएको अमूल्य उपहार हो, हामी यसलाई जगेर्ना र माया गर्ने छौं।’

उनले विगतका आन्दोलनहरूको सम्मान गर्दै रास्वपा ती उपलब्धिहरूको निरन्तरता र संरक्षणमा प्रतिवद्ध रहने बताए । रास्वपाले लोकतान्त्रिक अभ्यासलाई तोड्ने नभई सुदृढ गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन। त्यो कदम कदापि चाल्ने छैनौं। रास्वपाले त्यो लाइन क्रस गर्दैन।’ 

लामिछानेले राष्ट्रिय राजनीतिमा कुनै एक दल मात्र सही हुने नभई सबै दल जिम्मेवार हुनुपर्ने धारणा राखे । उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान नभए त्यसको असर समग्र देशमा पर्ने चेतावनी दिँदै ती दलहरूलाई आन्तरिक समस्या समाधान गर्न आग्रह गरे ।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर हुँदैन, राष्ट्रिय राजनीतिमा भएका सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र कहीँकतै केही न केही अप्ठ्याराहरू देखिएका छन्। त्यो अप्ठ्यारो त्यो दलको मात्र होइन, त्यो दलका अप्ठ्याराहरू सुल्झिएनन् भने समग्रमा त्यो देशको अप्ठ्यारो पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठ्याराहरूलाई मिलाउनुहोला ।’

नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न सुझाव दिएका छन्।

चितवनमा रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिँदै थापाले कांग्रेसले विगतमा आफ्ना नेताहरूलाई देवत्वकरण गरेर गल्ती गरिसकेको स्वीकार गर्दै रास्वपाले त्यो गल्ती नदोर्होयाओस् भन्ने कामना गरे।

उनले आफ्नै दलभित्र पनि प्रश्न उठाउन आग्रह गरे।

आफ्नो पार्टी ‘दास र लासको पार्टी’ होइन भनेर कांग्रेसले समयमै भन्न नसक्दा ठुलो मूल्य चुकाउनुपरेको स्मरण गर्दै उनले गल्ती भएको बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट र साहस राख्न रास्वपाका कार्यकर्ताहरूलाई आह्वान गरे।

थापाले रास्वपाले पाएको जनमत असाधारण रहेको उल्लेख गर्दै यसलाई सदुपयो गर्न सुझाव दिए।

अहिले रास्वपाले अहिले पाएको जस्तै जनमत यसअघि पनि विभिन्न दलहरूले तीन÷चार पटक पाएको भए तापनि नेताहरूको अहंकार, आपसी टकराव र शक्तिको सीमा नबुझ्दा दुर्घटनामा परेको स्मरण गरे।

कांग्रेस र रास्वपाबीचको सम्बन्धका बारेमा प्रष्ट पार्दै महामन्त्री थापाले दुई दल प्रतिस्पर्धी भएको तर दुश्मन नभएको टिप्पणी गरे।

कांग्रेस पनि आफूलाई सुधारेर अघि बढ्न चाहने तर त्यो रास्वपाको खुट्टा काटेर वा उसलाई सानो बनाएर नभई इमानदारिताका साथ आफ्नै घरभित्रको दुर्गन्ध हटाएर हुने उनको भनाइ थियो।

सभापति थापाले रास्वपाको सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताए। संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दा जहाँ औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउने र जहाँ राष्ट्रिय मुद्दामा थपडी बजाउनुपर्ने हो त्यहाँ जिम्मेवार भएर थपडी बजाउने नीति कांग्रेसले लिँदै आएको उल्लेख गरे।

२०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामिछाने र बालेन्द्र शाहको निकै प्रशंसा गरेका छन् ।

डाक्टर राउतले खुलेर दुई नेताको प्रशंसा गर्दै उनीहरूले आफूले सोचेको वैकल्पिक शक्तिको सपनालाई साकार पारेको उल्लेख गरे ।

वैकल्पिक शक्ति देशको पहिलो शक्ति बनेकोमा आफूले शुभकामना दिनका लागि चितवन झरेको उल्लेख गर्दै राउतले जनताको अथवा विश्वासलाई केन्द्रमा राखेर काम गर्न सुझाव समेत दिएका छन् ।

बोल्ने क्रममा राउतले पार्टी सभापति रवि लामिछानेलाई बीपी कोइरालापछिको उत्कृष्ट र साहसी नेताको संज्ञा दिएका छन् ।

रविलाई राउतले बीपी कोइराला पछिको नेताभन्दा महाधिवेशन प्रतिनिधिले हुटिङ लगाए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन भएको छ ।

चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा शुरु भएको उक्त महाधिवेशनलाई पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पार्टीको निर्वाचन चिन्ह घण्टी बजाएर उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनमा हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीको भने सहभागिता भएको छैन ।

रास्वपाको महाधिवेशनमा नबोलाएपछि डा. मुकुल ढकालले भावुक सन्देश सार्वजनिक गरेका छन् ।

पार्टीको प्रथम महाधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले चार वर्षअघि पार्टी स्थापना गर्दाका संघर्षपूर्ण दिनहरू स्मरण गरेका छन् ।

उनले पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकता जुटाउनसमेत कठिन संघर्ष गर्नुपरेको उल्लेख गर्दै छोटो समयमै रास्वपा दुई तिहाइ जनमतसहित सरकारमा पुग्नु ऐतिहासिक उपलब्धि भएको बताएका छन्  ।

यद्यपि, पार्टी स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका आफू महाधिवेशनको निम्तो सूचीमा समेत नपरेको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरेका छन् । ‘पार्टीलाई ‘Fuc*’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ,’ उनले लेखेका छन् ।

ढकालले आफ्नो भौतिक उपस्थिति महाधिवेशनमा नभए पनि विचार, मूल्य र सिद्धान्त नै राजनीतिक व्यक्तिको वास्तविक उपस्थिति हुने उल्लेख गरेका छन् । महाधिवेशनमा आफू उपस्थित नभए पनि यदि त्यहाँबाट सही विचार, सही कार्यदिशा र सही निर्णय आउँछ भने त्यसमा आफ्नो समर्थन रहने उनको भनाइ छ ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पद प्राप्ति वा व्यक्ति चयनभन्दा पार्टीको वैचारिक दिशा र राजनीतिक लक्ष्य महत्वपूर्ण हुने बताएका छन् । ‘पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, ‘राजव्यक्ति’ गर्नु हो । राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो,’ उनले उल्लेख गरेका छन् ।

ढकालले महाधिवेशन केवल पद बाँडफाँडको कार्यक्रम बन्न नहुने भन्दै प्रतिनिधिहरूलाई संस्थागत सोचका साथ निर्णय गर्न आग्रह गरेका छन् । ’राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस्,’ भन्दै उनले महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय तय गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङमा देखिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजू राणासँग हङकङको सडकपेटीमा हिँडिरहेको अवस्थामा देखिएका हुन्। उक्त भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ता केशर थापाले सार्वजनिक गरेको जनआस्थाले जनाएको छ ।

देउवा दम्पती गत फागुन २१ गते सम्पन्न निर्वाचनअघि उपचारका लागि सिङ्गापुर गएको बताइएको थियो। त्यसयता उनीहरू सिङ्गापुरबाट हङकङ पुगेको चर्चा भए पनि सार्वजनिक रूपमा कुनै तस्बिर वा भिडियो बाहिर आएको थिएन। अहिले सार्वजनिक भएको भिडियोले उनीहरू हङकङमै रहेको संकेत गरेको छ।

यद्यपि भिडियो कहिले खिचिएको हो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। साथै देउवा दम्पतीको स्वास्थ्य अवस्था वा उनीहरूको बसाइबारे पनि औपचारिक विवरण आएको छैन।

गत भदौ २४ गते भएको ‘जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी तथा तोडफोड भएको थियो। सो घटनामा देउवा दम्पतीमाथि समेत सांघातिक आक्रमण भएको दाबी गरिएको थियो। त्यसपछि केही समय नेपालमै उपचार गराएपछि उनीहरू थप उपचारका लागि कात्तिक १० गते सिङ्गापुर गएका थिए।

हाल सार्वजनिक भएको भिडियोपछि देउवा दम्पतीको विदेश बसाइ र स्वास्थ्य अवस्थाबारे पुनः चासो बढेको छ।

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि भरतपुर आइपुगेका छन् ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता साहले संयुक्त रूपमा उद्घाटन

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि भरतपुर आइपुगेका छन् ।

आज अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता साहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव साहले जानकारी दिए ।

गर्ने कार्यक्रम रहेको पार्टीका महामन्त्री भूपदेव साहले जानकारी दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।