बाराको फेटा गाउँपालिकामा स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो। तर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो।
अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीच सुरु भएको विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।

गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन। प्रहरीले गोली चलाएको घटनाबारे भने औपचारिक पुष्टि गरिसकेको छैन।
इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताएका छन्।









