२०८३ कार्तिक १३ गते बिहीबार
२०८३ कार्तिक १३ गते बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै त्यसको कडा विरोध गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा उपाध्यक्ष पौडेललाई ‘अपहरण शैलीमा’ गिरफ्तार गरिएको उल्लेख गर्दै एमालेले उक्त कदमको घोर निन्दा तथा भर्त्सना गरेको छ । वक्तव्यमा एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाइएको छ ।

एमालेले पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेतमा रहेको र कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जनाएको छ । पार्टीले सामान्य कानुनी प्रक्रिया अपनाएर पनि सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको दाबी गरेको छ ।

वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ र ‘स्टन्ट’का लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाइएको छ। एमालेले यसलाई पार्टी र अध्यक्ष ओलीमाथि भइरहेको श्रृंखलाबद्ध राजनीतिक प्रहार तथा षड्यन्त्रको निरन्तरता भएको उल्लेख गरेको छ।

एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी तथा अधिनायकवादी बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरेर गरिने यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ।

उपाध्यक्ष पौडेलको गिरफ्तारीबारे सरकारी निकायको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। एमालेले यस विषयलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सक्ने संकेत दिएको छ।

राहदानी (पासपोर्ट) छपाइका क्रममा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ। आयोगले उनीविरुद्ध तत्कालै विशेष अदालतमा मुद्दा दायर नगरे पनि उनी जोडिएका विषयहरूमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै छुट्टै मिसिल खडा गर्ने निर्णय गरेको हो।

विशेष अदालतको हालैको फैसला र आदेशलाई समेत आधार मान्दै आयोगले राहदानीको नयाँ ठेक्का प्रक्रियामा भ्रष्टाचारजन्य कार्य भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार, आयोगको पछिल्लो बैठकले डा. राणासँग जोडिएका कतिपय प्राविधिक र आर्थिक पक्षहरूमा थप स्पष्टता आवश्यक रहेको ठहर गरेको छ। सोही आधारमा ती विषयहरूसँग सम्बन्धित कागजातहरूको छुट्टै फाइल तयार पारेर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको हो।

यसअघि, अनुसन्धानको सिलसिलामा अख्तियारले डा. राणालाई बयानका लागि उपस्थित हुन बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरेको थियो। सो समयमा स्वास्थ्य उपचारका लागि हङकङमा रहेकी पूर्वमन्त्री राणाले आफू भौतिक रूपमा उपस्थित हुन असमर्थ रहेको जानकारी इमेलमार्फत गराएकी थिइन्।

नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको हो । पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

 

गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध आयोगमा निवेदन दर्ता गरिएको हो ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।

गत जेठ १९ गते कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने भन्दै सोडारीको समूहले भारतीय दूतावास अगाडि प्रदर्शन उनीहरूलाई पक्राउ गरेर सोह्रखुट्टे प्रहरी वृत्त लगिएको थियो । सो समयमा दलबलसहित प्रहरी हिरासत पुगेका गृहमन्त्री गुरुङले गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको र त्यसले गम्भीर मानव अधिकार हनन भएको दाबी उजुरी पत्रमा गरिएको छ ।

‘गृहमन्त्री सुदन गुरुङको टोली प्रवेश गरेको मिति ०८३ साल जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सिसिटिभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर तत्काल नियन्त्रणमा लिई सुरक्षित राखियोस्’, पत्रमा उल्लेख छ । ‘आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिई घटनाको सत्य तथ्य जाँचबुझ गरियोस्।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा छैनन् । उनी रास्वपाका प्रवक्ताका रूपमा सक्रिय छन् ।

आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्रको तयारी भइरहेको छ ।

नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा कायमै रहने भएको छ । एफटीएफको जुन १९ मा पेरिसमा बसेको बैठकले नेपाललाई ग्रे लिस्टमा यथावत राखेको हो ।

नेपालले गत फेब्रुअरीमा ग्रे लिस्टबाट बाहिर निस्कन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको र आफ्ना रणनीतिक कमजोरीलाई सम्बोधन गर्न एफएटीएफ कार्ययोजना कार्यान्वयन गर्नुपर्ने भन्दै ग्रे लिस्टमा कायमै राखेको हो ।

एफटीएफले विभिन्न ७ वटा कार्ययोजना कार्यान्वयन गर्नुपर्ने जनाएको छ । जसमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य बैंकहरू, उच्च–जोखिम सहकारीहरू, क्यासिनोहरू, घर जग्गा क्षेत्रको जोखिम–आधारित पर्यवेक्षण सुधार गर्ने, वित्तीय समावेशीकरणमा बाधा नपु¥याई भौतिक रूपमा महत्त्वपूर्ण अवैध हुन्डी प्रदायकहरूको पहिचान र स्वीकृति प्रदर्शन गर्ने काम गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान सञ्चालन गर्न सक्षम अधिकारीहरूको क्षमता र समन्वय बढाउने, सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि प्रदर्शन गर्ने र जोखिम प्रोफाइल अनुरूप अपराधको आम्दानी र साधनहरू पहिचान गर्न, पत्ता लगाउन, रोक्न, जफत गर्न र लागू भएमा जफत गर्ने उपायहरू प्रदर्शन गर्ने कार्ययोजना नेपालले कार्यान्वयन गर्नुपर्ने एफएटीएफलले औँल्याएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।