त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपाली आत्मदाहसम्बन्धी घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा आइतबार भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत, मृतककी श्रीमतीलाई रोजगारी र छोरीको उच्च शिक्षाको व्यवस्था गरिने भएको छ।
सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउने भएको छ।
त्यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ।
घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्नेछ। उनीहरूमाथिको थप कारबाही भने छानबिन समितिको प्रतिवेदनका आधारमा गरिनेछ।
काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था गर्ने सहमति भएको छ। यसका लागि सम्बन्धित सरकारी निकायले आवश्यक समन्वय गर्नेछन्।
यस्तै, महानगरको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराइनेछ। अन्तिम संस्कार र काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापन पनि महानगरपालिकाले गर्ने भएको छ।
पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमसहितका कानुनी प्रक्रियामा सहयोग गर्ने तथा अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिने सहमति भएको छ।
यसका साथै, मृतकका एकाघरका परिवारको काठमाडौं आउजाउ, बसोबास र काजक्रियाका सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ भने परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिनेछ।
सहमतिपत्रमा सरकार तथा स्थानीय तहका तर्फबाट प्रमुख जिल्ला अधिकारी पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्।
पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन्।
अविरल वर्षापछि कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर पूरै डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरेको छ।
कीर्तिपुरको सेन्टरमा बाढी पसेर बिजोग भएपछि शनिबार र आइतबार बिहान गरेर दुई दिनको अवधिमा ३१ घरपरिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो भने केही परिवारलाई भक्तपुरकै बोडेमा व्यवस्थापन गरिएको छ।
बागमती किनारका बस्तीहरू डुबानमा पर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको टोलीले गत वैशाख १२ गतेदेखि बल प्रयोग गरेर थापाथली लगायतका क्षेत्रबाट सुकुमवासीहरूलाई हटाएको थियो।
सुरुमा मात्र १५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा राखिएका उनीहरूलाई दुई महिना बित्दासमेत उचित व्यवस्थापन नगर्दा अहिले एकपछि अर्को गम्भीर संकट आइलागेको छ।
दुई दिनअघि मध्यरातमा अचानक होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुकुमवासीहरूका प्रायः सबै भौतिक सामग्री, घरायसी सामान, लत्ताकपडा र अत्यावश्यक वस्तुहरू भिजेर पूर्ण रूपमा नष्ट भएका छन्।
अचानक बाढी पसेका कारण धेरैले आफ्नो सामान सुरक्षित स्थानमा निकाल्ने मौका नै पाएनन्, जसले गर्दा उनीहरू अहिले एक सरो लुगाको भरमा मात्र बाँच्न बाध्य भएका छन्। होल्डिङ सेन्टर पूरै डुबानमा परिसकेपछि मात्र सुरक्षाकर्मीहरू उद्धारका लागि पुगेका थिए र उनीहरूले सुकुमवासीहरूलाई डुङ्गाको सहायताले सुरक्षित बाहिर निकालेका थिए।
सुरक्षा निकायका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनाको उद्धार गरी तत्कालका लागि त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो। त्यस्तै अन्य ६ जना आफ्ना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका थिए भने बाँकी ९४ जनाले सुरुमा अन्यत्र जान मानेका थिएनन्।
अन्ततः सरकारले उद्धार गरिएका र समस्यामा परेका ती सुकुमवासीहरूलाई भक्तपुरका विभिन्न सेन्टरहरूमा स्थानान्तरण गरे पनि स्थायी विकल्प र उचित व्यवस्थापनको अभावमा उनीहरूको बिचल्ली कायमै रहेको छ।
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।
प्रसाईँले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ ।
घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।
उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन्। यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले। जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ। देशको हालत यही भएको छ। देश भनेको हरेक परिवार मिलेर बनेको हो। आज त्यो परिवार कसैको पनि घरमा छैन। यो सुरुवात मात्रै हो ।’
प्रसाईँले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए । ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे। लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे । यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने।
उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो। जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने ।
सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईँले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गरे । ‘विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ। त्यसपछि राम्रो सडक दिएका छौं, अब नियम उल्लंघन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ। तर नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ। अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,’ उनले भने।
आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसंग उल्लेख गर्दै प्रसाईँले त्यसप्रति पनि प्रश्न उठाए । ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ। तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त? ’ उनले प्रश्न गरे ।
उनले देशमा दैनिक २२ देखि २५ जना मानिस झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । ‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन्। भोको पेट, पानीमा भिजेको छ। जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला? कति हृदयविदारक कथा छ। यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,’ उनले भने।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो ।
वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ । दर्ताका लागि कुकुरधनीको नाम, ठेगाना, सम्पर्क नम्बर, कुकुरको जात, उमेर, लिङ्ग, रङ, उचाइ, लम्बाइ र तौल खुल्नुपर्नेछ । साथै, रेबिजविरुद्धको खोप लगाएको विवरण र कुकुर तथा धनीको रङ्गीन फोटोसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
वडा कार्यालयसँग जिम्मेवारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेपछि मात्र कुकुर दर्ता हुनेछ । वडा अध्यक्ष सन्तकुमार फेउदिनका अनुसार वडाले बनाएको कार्यविधिमा सहमति नभए वडाभित्र कुकुर पाल्न पाइने छैन ।
‘कुकुर पाल्ने अधिकारसँगै त्यसको जिम्मेवारी पनि जोडिने भएकाले दर्ताको नियम लगाइएको हो,” अध्यक्ष फेउदिनले भने, “दर्ता भएको कुकुर घर वा तोकिएको कम्पाउन्ड बाहिर निस्किएर कसैलाई आक्रमण गरेमा त्यसबाट हुने उपचार खर्च, क्षतिपूर्ति र अन्य कानुनी दायित्व सम्बन्धित कुकुरधनीले नै बेहोर्नुपर्ने व्यवस्था गरेका छौँ ।’
वडा कार्यालयका अनुसार हालसम्म १२ जना कुकुरधनीले आफ्ना कुकुर दर्ता गराइसकेका छन् । यसअघि वडा नम्बर ८ मा सामुदायिक कुकुरको टोकाइबाट घाइते भएका ९ जनालाई नगरपालिकाले रेबिजविरुद्धको खोपसहित प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको थियो ।
विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिएको छ।
विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन तयारी गरेपछि उनलाई सरकारले प्रहरी लगाएर सिधै घरमा पुर्याइिएको हो ।
उनले वालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणीको तयारी गरेका थिए ।
आइतबार गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने योजनासहित पत्रकार सम्मेलन गर्न लागेका थिए ।
तर प्रहरीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित ठिमी (कमेराेटार) स्थित निवासमा पुर्याएको हो ।
विमानस्थलमा पत्रकार सम्मेलन गर्न नपाएपछि प्रसाईंले आइतबार दिउँसो ३ बजे ठिमीस्थित निवासमा पत्रकार सम्मेलन गरेर बोल्दैछन्।
सरकारले किसानलाई पेन्सन दिने प्रतिबद्धतासहितको राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा १६ वटा विषय समावेश छ । जसको बुँदा नम्बर २ मा ‘कृषि पेसाको सम्मान र आत्मनिर्भरता’को विषय छ ।
जसमा भनिएको छ, ‘योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान, ऋण, सेवासुविधा र सामाजिक सुरक्षा तथा संरक्षण उपलब्ध गराइनेछ ।’
अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका रोमाञ्चक खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको हो ।
सेमिफाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ । डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएका यी दुई युरोपेली पावर हाउसबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र इङ्गल्यान्ड आमनेसामने हुनेछन् । एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको सामना गर्नेछ ।
सेमिफाइनलका विजेता टोली उपाधिका लागि आगामी आइतबार जुलाई १९ तारिखमा न्युयोर्क न्युजर्सी स्टेडियममा भिड्नेछन् ।
पहिलो सेमिफाइनल: फ्रान्स विरुद्ध स्पेन- मंगलबार (जुलाई १४)
दोस्रो सेमिफाइनल: अर्जेन्टिना विरुद्ध इङ्गल्यान्ड- बुधबार (जुलाई १५)
फाइनल : आइतबार (जुलाई १९)
नेपालको शेयर बजार पछिल्लो समय निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६०० को बिन्दुमा झरेसँगै बजार ६ महिनायताकै न्यून स्तरमा पुगेको हो ।
नयाँ सरकारको गठन र नयाँ नीतिहरूको घोषणा भए पनि लगानीकर्ताहरूमा उत्साह देखिनुको सट्टा निराशा छाएको तथ्यांकले देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ्ने आशा गरिएको थियो । तर शेयर बढ्न सकेको छैन ।
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।
खेलभर आक्रामक प्रदर्शन गरेको अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप दुई गोल गरेपछि स्विट्जरल्यान्डमाथि सहज जित निकाल्न सफल भयो । स्विट्जरल्यान्डले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन ।
यस जितसँगै अर्जेन्टिना लगातार उपाधि रक्षा गर्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी इङग्ल्यान्डको सामना गर्नेछ ।