
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए । उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे ।
साम्पाङले प्रधानमन्त्रीले आफूहरूले साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन माग गरिरहेपनि आउन नमानेको भन्दै बालहठ नगर्न आग्रह गरे ।
साम्पाङले देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना भइरहे पनि सरकारले प्रभावकारी रूपमा कारबाही गर्न नसकेको आरोप लगाए । उनले नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउन सरकारसँग माग गरे ।
न्यायको अवस्था पनि कमजोर रहेको भन्दै उनले आन्दोलनरत नागरिकका समस्या बुझ्न मन्त्री तथा सम्बन्धित निकायका अधिकारीहरू सडकमा जानुपर्ने बताए ।
उनले भने,‘मन्त्रालयमा एसीको हावा खाँदै बसेर देश भेट्न सकिँदैन । देश भेट्नका लागि खोलाखोल्सी, खेत, कारखानामा जानुप¥यो। आन्दोलन गरिरहेका नागरिकहरूको सडकमा गएर उनीहरुको आवाज बुझ्नुप¥यो ।’
साम्पाङले ग्यासको लाइनमा घण्टौँ उभिन बाध्य नागरिकको पीडा सरकारले बुझ्नुपर्ने बताए । जनताले ठूलो आशा गरेर वर्तमान सरकारलाई मत दिए पनि अपेक्षित परिवर्तन आउन नसकेको उनको भनाइ थियो ।
उनले वर्तमान अवस्थाको मुख्य कारण प्रधानमन्त्रीको लापरवाही, गैरजिम्मेवारी तथा मन्त्रीहरूसँग प्रभावकारी समन्वयको अभाव रहेको आरोप लगाए । सरकारभित्रै असमझदारी देखिएको दाबी गर्दै उनले केटाकेटीपनबाट देश सञ्चालन हुन नसक्ने बताए ।
नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाहीमाथि प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले नेपालको भूमि भारतले मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे सदनमा स्पष्ट पार्नुपर्ने माग गरे ।
स्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग भारतले मिचेको विषयमा सरकार मौन बसेको आरोप लगाए । उनले सरकारले चुच्चे नक्सालाई बेवास्ता गरेको भन्दै प्रश्नसमेत गरे ।
भ्रष्टाचार छानबिनका लागि सबैको सम्पत्ति जाँच गर्नुपर्ने माग गर्दै उनले दोषी जोसुकै भए पनि न्यायालयको कठघरामा उभ्याउनुपर्ने बताए । विभिन्न समयमा गठन भएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि उनले सरकारसँग माग गरे ।
स्वाँरले सरकारले जनतालाई आधारभूत सेवा दिन नसकेको आरोपसमेत लगाए । राहदानी, सवारी चालक अनुमतिपत्र, मालपोत, ग्यास, महँगी तथा स्वास्थ्य बिमालगायतका विषयमा सर्वसाधारणले समस्या भोगिरहेको उनले बताए ।
उनले प्रधानमन्त्रीसँग भेटका लागि आफूले चैत २१ गते लिखित निवेदन दिएको भए पनि अहिलेसम्म भेट्ने अवसर नपाएको बताए । उनले भने, ‘मैले भेट्ने टाइम माग्दा चैत २१ गतेबाट लिखित निवेदन उहाँका स्वकीयको हातमा थमाएको थिएँ । तर आजसम्म पनि भेट्ने मौका पाइँन । तपाईं कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ प्रधानमन्त्रीज्यू ? यो समग्र सुदूरका जनता र अछामका जनतालाई माथि गरेको अपमान हो ।’
स्वाँरले सुदूरपश्चिमका जनताको विकास निर्माणका समस्या राख्न आफूले प्रधानमन्त्रीसँग भेट्न खोजे पनि समय नदिइएको गुनासो गरे ।
उनले भने, ‘समग्र सुदूरका जनताका लागि विकास निर्माणका समस्या मैले राख्न खोजेको थिएँ, समय दिनुभएन। यो सुदूरका जनतालाई देखावटी माया तपाईंको चाहिँदैन। त्यो माया फिर्ता लिनुहोस् ।’
स्वाँरले सरकारले गरेको काम र प्रतिबद्धताबीच ठूलो अन्तर रहेको भन्दै आलोचना गरे । लामो समयदेखि सामाजिक तथा सार्वजनिक क्षेत्रमा काम गरेको आफ्नो अनुभव रहेको उल्लेख गर्दै उनले सरकारको काम ‘खोदा पहाड निक्ला चुहा’ जस्तै भएको टिप्पणी गरे ।
नेपाल प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्ष सेवा पूरा गरेपछि पेन्सनसहित ऐच्छिक अवकाश लिन पाउने व्यवस्था लागू गर्न माग गरेका छन्।
जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले लामो समयदेखि उठाउँदै आएको उक्त माग प्रहरी ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन हुनुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार १६ वर्षे पेन्सनको विषयमा पटक–पटक छलफल र आश्वासन पाए पनि हालसम्म कानुनी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
तल्लो तहका प्रहरी कर्मचारी २४ घण्टा ड्युटीमा खटिनुपर्ने तथा लामो समयसम्म कठिन र जोखिमपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले १६ वर्ष सेवा पूरा गरेपछि सम्मानजनक रूपमा अवकाश लिन पाउने व्यवस्था आवश्यक रहेको उनीहरूको भनाई छ।
हालको व्यवस्थाअनुसार पेन्सन सुविधासहित ऐच्छिक अवकाश लिन २० वर्ष सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था रहेको उनीहरूले उल्लेख गरेका छन्।
२० वर्ष नपुग्दै सेवा छाड्दा पेन्सन सुविधा नपाइने भएकाले कतिपय कर्मचारी बीचमै राजीनामा दिनुपर्ने अवस्था आउने उनीहरूको भनाइ छ।
त्यस्तै, तल्लो तहमा पदोन्नतिको अवसर सीमित हुँदा लामो समय एउटै पदमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै १६ वर्षे ऐच्छिक अवकाशको व्यवस्था लागू भए नयाँ जनशक्तिका लागि अवसर सिर्जना हुने उनीहरूको दाबी छ।
उनीहरूले १६ वर्षे पेन्सनसम्बन्धी मागलाई तत्काल कानुनी रूपमा सम्बोधन गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
भूकम्पपछि देशका पाँचवटा प्रमुख शहरमा ‘रेड अलर्ट’ घोषणा गरिएको छ । हालसम्म ८६ वटा भवन पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ भने सातवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ । करिब पाँच लाख जनसंख्या रहेको पेरेइरा शहर भूकम्पको केन्द्रबिन्दुबाट ६४ किलोमिटरभन्दा कम दूरीमा अवस्थित रहेको बताइएको छ ।
भूकम्पका धक्का राजधानी बोगोटासहित देशका विभिन्न शहरमा महसुस गरिएको थियो। बोगोटामा साइरन र चेतावनी प्रणाली सक्रिय भएपछि धेरै भवनबाट मानिसहरू सुरक्षित स्थानतर्फ बाहिरिएका थिए ।
राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाले हालसम्म १ हजार ५७७ आवासीय भवनमा क्षति पुगेको र ३७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन् । उनका अनुसार ६० भन्दा बढी भवन भत्किएका छन् भने १८ स्वास्थ्य संस्था र ५२ विद्यालयमा समेत क्षति पुगेको छ ।
पश्चिम–मध्य कोलम्बियाको रिसाराल्दा विभाग सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ । रिसाराल्दाका गभर्नर जुआन डिएगो पाटिनोले उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन् ।
राष्ट्रपति दे ला एस्प्रिएलाले आपत्कालीन समिति गठन गरी प्रभावित नागरिकको सुरक्षाका लागि सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भूकम्पपछिको अवस्थालाई सामना गर्न आफूले व्यक्तिगत रूपमा उद्धार तथा पुनस्र्थापना प्रयासको नेतृत्व गर्ने बताएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको क्षेत्रको सान होजे डेल पाल्मार नजिक भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको र गहिराइ १०७ किलोमिटर रहेको जनाइएको छ ।
चोको क्षेत्रकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबा कुरीले क्षेत्रीय राजधानी क्विब्डोमा धेरै व्यक्ति घाइते भएको र भवनहरूमा गम्भीर क्षति पुगेको बताएकी छन् । उनले परकम्पको सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेकी छन् ।
यसैबीच, बोगोटाका मेयर कार्लोस एफ गालानले प्रभावित क्षेत्रका लागि राहत संकलन अभियान सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार पिउने पानी, कम्बल, खाद्यान्न, सरसफाइ सामग्री र प्राथमिक उपचारका सामग्री संकलन गर्न राजधानीमा छवटा राहत संकलन केन्द्र स्थापना गरिएको छ ।
मेयर गालानले बोगोटामा हालसम्म कुनै गम्भीर क्षति नदेखिएको जनाउँदै उद्धार तथा खोज अभियानमा सहयोग गर्न १०० जना उद्धारकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको बताएका छन् ।
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (मंगलवार) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सवारीसाधनका ५५ ब्रान्ड सहभागी हुने भएका छन् भने ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ । अर्थतन्त्रमा देखिएको सुस्ती र उपभोक्ता मागमा आएको कमीका बीच अटोमोबाइल बजारलाई चलायमान बनाउने तथा नयाँ प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको नाइमाले जनाएको छ ।
आयोजकका अनुसार यस वर्षको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न प्रविधि र सेवाहरू प्रदर्शन गरिनेछन् । विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू प्रदर्शनीको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ ।
गत वर्षको तुलनामा यसपटक सहभागी ब्रान्डको संख्या उल्लेख्य रूपमा बढेको आयोजकको दाबी छ । अटोमोबाइल कम्पनीहरूले नेपाली बजारका लागि नयाँ मोडल सार्वजनिक गर्न एक्स्पोलाई प्रमुख प्लेटफर्मका रूपमा प्रयोग गर्न थालेपछि लन्च हुने सवारीसाधनको संख्या पनि बढेको हो ।
प्रदर्शनी अवधिभर विभिन्न ब्रान्डले विशेष छुट, एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ सुविधा तथा अन्य ग्राहकमुखी योजना सार्वजनिक गर्ने तयारी गरेका छन् । यसले नयाँ सवारी खरिद गर्न चाहने उपभोक्तालाई एकै स्थानमा विभिन्न विकल्पको तुलना र छनोट गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजकको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई नेपालको अटोमोबाइल क्षेत्रको ‘कुम्भमेला’का रूपमा समेत लिने गरिएको छ । बजारमा नयाँ प्रविधि भित्र्याउने, उपभोक्तालाई नवीनतम सवारीसाधनसँग परिचित गराउने तथा अटोमोबाइल व्यवसायमा उत्साह थप्ने उद्देश्यले आयोजना हुने यो प्रदर्शनीलाई यस वर्ष अझ भव्य बनाइएको आयोजकले जनाएको छ ।
सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव र्याली निकालिएको छ ।
गोलबजारमा पछिल्लो समय उत्पन्न तनाव, हिंसा तथा अशान्तिपछि विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा स्थानीयवासीको सहभागितामा र्याली आयोजना गरिएको हो । र्यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।
र्याली मार्फत गोलबजारको शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको छ । सहभागीहरूले कुनै पनि घटनालाई लिएर समुदायबीच वैमनस्य फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नसमेत आग्रह गरेका छन् ।
१२ दिनअघि भएको हिंसात्मक घटनाले गोलबजारको जनजीवनमा त्रास र तनाव सिर्जना गरेको अवस्थामा आजको सद्भाव ¥यालीले शान्ति र एकताको वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको स्थानीयहरूको भनाइ छ ।





