काठमाडौंको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा जगदम्बा मोटर्सले ११, १२, १४ र १६ सिट क्षमताका चारवटा विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ ।
कम्पनीका अनुसार नयाँ मोडलप्रति अवलोकनकर्ताको आकर्षण बढ्दै गएको र एक्स्पोको तेस्रो दिनसम्म १४ वटा बुकिङ भइसकेको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा जगदम्बा मोटर्सको बोर्ड डिभिजनका निश्चल घिमिरले एक्स्पोमा फरक–फरक क्षमता र विशेषताका चारवटा गाडी प्रदर्शनमा राखेको जानकारी दिए ।
उनले भने, ‘हामीले यस नाडामा ११, १२, १४ र १६ सिटे गरी जम्मा चार वटा गाडी प्रस्तुत गरेका छौँ। हाम्रो ११ सिटेमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। सिट इन्डिभिजुअल छ, सिट बेल्ट पाइन्छ र अगाडिपट्टिको ड्यासबोर्ड पनि एकदम राम्रो छ।अहिलेसम्म १४ वटा बुकिङ भइसकेको छ ।’
कम्पनीले प्रस्तुत गरेका गाडीमध्ये ११ सिटे गाडीको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, १२ सिटेको ४९ लाख ९० हजार, १४ सिटेको ५९ लाख ९० हजार र १६ सिटेको ६८ लाख ५० हजार रुपैयाँ तोकिएको घिमिरेले जानकारी दिए।
गाडीअनुसार ब्याट्री र मोटरको क्षमता फरक–फरक रहेको उनले बताए। उनका अनुसार केही मोडलमा ५३ किलोवाट आवर र अर्कोमा ४१.८६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ।
चार्जिङका विषयमा घिमिरेले फास्ट चार्जिङबाट करिब ४५ मिनेटमा र सामान्य चार्जिङबाट करिब पाँच घण्टामा गाडी चार्ज गर्न सकिने बताए।
नेपाली सडकको अवस्थालाई ध्यानमा राखेर गाडीमा उच्च ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ। विशेषगरी खाल्डाखुल्डी तथा असहज सडकमा सहज सञ्चालनका लागि १८० एमएम ग्राउन्ड क्लियरेन्स उपयोगी हुने घिमिरेको भनाइ छ।
उनले भने,‘खाल्डाखुल्डीकै लागि भनेर उच्च ग्राउन्ड क्लियरेन्स, १८० एमएमको ग्राउन्ड क्लियरेन्स गाडीमा राखेका छौँ। यसले गर्दा खाल्डाखुल्डीमा गाडीमा केही असर पर्दैन,’ उनले भने।
एक्स्पोमा ग्राहकको सहभागिता उत्साहजनक रहेको पनि घिमिरेले बताए। कम्पनीले बिक्रीपछिको सेवाका लागि भक्तपुरको राधेराधेस्थित भाटभटेनीको अगाडि बृहत सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
एक्स्पोमा विशेष छुट तथा अफरसमेत उपलब्ध रहेको भन्दै घिमिरेले ग्राहकलाई जगदम्बा मोटर्सको हल डी, स्टल नम्बर १६ मा पुगेर गाडीको मूल्य, सुविधा तथा अफरबारे जानकारी लिन आग्रह गरे।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिवासी जनजातिको हकअधिकार संरक्षणसँगै राष्ट्रिय एकता र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् ।
उनले आदिवासी जनजातिको विकास, उत्थान तथा हकअधिकारको संरक्षण र आवश्यक अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘आदिवासी जनजातिहरुको सर्वोपरि, सर्वमुखी विकास, उत्थान, हकअधिकारहरुको सुरक्षा र आवश्यक अधिकारहरुको प्राप्ति हुनैपर्छ । त्यसका निम्ति पनि काम गर्नुपर्ने छ । सँगसँगै राष्ट्रिय एकता कसरी कायम गर्ने ? हामी सबैलाई थाहा छ, हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक लगायत विभिन्न भौगोलिक, वनस्पतीय, जैविक र सामाजिक विविधताले भरिएको देश हो।’
राष्ट्रको विकास, सुरक्षा, समृद्धि र सुशासनका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा ओलीले जोड दिए ।
उनले भने, ‘हामीले हाम्रो देशको विकासका लागि सबै एकजुट भएर मात्र विकास हुन सक्छ । त्यसकारण राष्ट्रको विकास, राष्ट्रको उत्थान, राष्ट्रको सुरक्षा, राष्ट्रको समृद्धि र सिङ्गै देशलाई विकास गरेर देशलाई सुशासनमा लगेर शान्तिपूर्ण नेपाल बनाएर सुखी नेपालीको देश बनाउनका लागि हामी सबै मिल्नुपर्दछ ।’
यसै क्रममा अध्यक्ष ओलीले वर्तमान सरकारलाई संकेत गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाए । उनले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग हुनसक्ने दाबी समेत गरे ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्न त्यो रोक्नको लागि कथित आयोग बनायो । कस–कसलाई मुद्दा लगाउनुपर्ने त्यो लगाउने, यसले के भन्यो भने उनीहरूलाई मुद्दा नलाग्ने । कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।’
ओलीले आफूलाई समेत सामान्य विषयमा छानबिनको नाममा दुःख दिन सक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे ।
उनले भने, ‘हाम्रो जरिकोट पनि कुन पैसाले किनेको भनी सोध्नुपर्ने। जरिकोट कहाँबाट आयो, नक्कली हो कि सिलाएको हो, कुनमा सिलाइस्, त्यो टेलरलाई पनि दुःख दिने। केपी ओलीको जरिकोट सिलाउने धागो कहाँबाट ल्याइस्, उसले पैसा दिएर सिलाइस् कि यसै सिलाइस् भनेर बयान दुई–चार दिनलाई लिन र दिन सक्ने भयो। मुद्दा नचलाए पनि दुई–चार दिन त भयो। यस्तै काम गरेर यिनीहरू बसेका छन्।’
खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न आइतबार नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ ।
निगमका अनुसार बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था गरिएको हो ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ । पशु सेवा शाखा, चपली–बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री हुनेछ ।
त्यस्तै नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट÷सुगम र क्त्ऋ ग्यास बिक्री हुनेछन् ।
निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको र सोहीअनुसार बिक्री वितरण गर्न उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित व्यवस्था मिलाउन अनुरोध गरेको छ । पछिल्लो समय निगमले बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको जनाएको छ ।
निगमले ग्यास आवश्यक पर्ने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई ग्यास खरिद गर्न अनुरोध गरेको छ ।
हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ ।





