
नेपाली कांग्रेसले पार्टीका वैचारिक नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा ‘प्रदीप गिरी फेलोसिप’ र ‘निष्ठामूलक असहमति’ निबन्ध पुरस्कारको घोषणा गरेको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘हि टोल्ड असः इन स्पिरिट एन्ड स्ट्रगल’ कार्यक्रममा सभापति गगनकुमार थापाले यस्तो जानकारी दिएका हुन् । स्व. गिरीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठान र प्रदीप गिरी इन्स्टिच्युटको संयुक्त पहलमा यो कार्यक्रम सुरु गरिएको हो । सभापति थापाका अनुसार गिरीको अध्ययनशील स्वभाव र सीमान्तकृत समुदायप्रतिको निष्ठालाई जीवित राख्न दुई फरक विधामा फेलोसिप प्रदान गरिनेछ ।
प्रदीप गिरी फेलोसिपलाई ‘विचार, अध्ययन र अनुसन्धान’ तथा ‘कर्म र न्याय’ गरी दुई पाटोमा विभाजन गरिएको छ । पहिलोमा विचार, अध्ययन र अनुसन्धान छ । यस विधाअन्तर्गत चार जना अध्येतालाई फेलोसिप प्रदान गरिनेछ । यसमा नेपाली राजनीति, गणतन्त्र, सङ्घीयता, सामाजिक न्याय, समावेशिता, दर्शन र साहित्यका क्षेत्रमा अनुसन्धान, पुस्तक लेखन तथा दस्तावेजीकरणका लागि सहयोग उपलब्ध गराइनेछ ।
साथै, प्रदीप गिरीको व्यक्तित्व, मधेस दृष्टिकोण र उनको दार्शनिक जीवनमाथि गरिने शोधलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ । फेलोहरूले निश्चित पारिश्रमिक, सम्पादकीय मार्गदर्शन र पुस्तकालयको सुविधा प्राप्त गर्नेछन् । दोस्रोमा कर्म र न्याय रहेको छ । यो विधाअन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीहरूलाई फेलोका रूपमा छनोट गरिनेछ ।
उनीहरूले एक वर्षसम्म कानुनी सहायता डेस्क सञ्चालन गरी जातीय विभेद, भूमि विवाद र नागरिकताबाट वञ्चित सीमान्तकृत एवं दलित समुदायका कम्तीमा २० वटा मुद्दामा निःशुल्क कानुनी पैरवी गर्नेछन् । यसको उद्देश्य व्यक्तिगत पीडालाई सार्वजनिक अभिलेखका रूपमा स्थापित गर्दै नीति निर्माणमा दबाब सिर्जना गर्नु रहेको छ ।
गिरीको राजनीतिक संस्कार र आलोचनात्मक चेतलाई सम्मान गर्दै कांग्रेसले ‘निष्ठामूलक असहमति’ शिर्षकमा वार्षिक निबन्ध पुरस्कारको समेत घोषणा गरेको छ । आफ्नो दल, संस्था वा विचारधाराको रचनात्मक आलोचना गर्दै लेखिएका उत्कृष्ट निबन्धलाई यो पुरस्कार प्रदान गरिने सभापति थापाले जानकारी दिए । यो फेलोसिप कुनै राजनीतिक दलमा आबद्ध वा नभएका सबै योग्य नेपाली नागरिकका लागि खुला रहनेछ । यसका लागि आगामी कात्तिक २४ गते (गोवद्र्धन पूजा तथा प्रदीप गिरीको जन्म जयन्ती) देखि आवेदन खुला गरिनेछ ।
छनोट प्रक्रियालाई पूर्णतः निष्पक्ष बनाउन कुनैपनि राजनीतिक दलको बहालवाला पदमा नरहेका व्यक्तिहरू सम्मिलित एक स्वतन्त्र निर्णायक समिति गठन गरिनेछ । मंसिर मसान्तभित्र फेलोहरूको छनोट गरिने र यो कार्यक्रम प्रत्येक वर्ष निरन्तर सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ ।
उनले भने, ‘प्रदीप गिरीलाई सम्झेर हामीले यो पनि सँगसँगै राखेका छौँ, ‘निष्ठामूलक असहमति’ । यो निबन्ध पुरस्कार हो, फेलोसिप होइन । वार्षिक रूपमा आफ्नै पक्ष, संस्था वा राजनीतिक धारको आलोचना गर्दै लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई यो पुरस्कार प्रदान गरिनेछ ।’ सीमान्तकृत, महिला र दलित समुदायका आवेदकहरूलाई विशेष प्रोत्साहन गरिने यस पहलले नेपाली राजनीतिमा बौद्धिक विमर्श र सामाजिक न्यायको मुद्दालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।




