सामाजिक सञ्जाल फेसबूकमार्फत विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भनेर ‘फोकटको सल्लाह (उनकै भाषामा)’ दिने कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर खटाएको छ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट रसुवाको टिमुरे क्षेत्रमा काज सरुवा गरेको हो ।
उनलाई भोटेकोशी नदीमा आएको बाढीपछि हराएका, बेपत्ता भएका र मृत्यु भएका व्यक्तिहरूको खोज, उद्धार तथा विशेष गरी ‘शव व्यवस्थापन’ को काम गर्ने जिम्मेवारी तोकिएको छ ।
सचिव निरौलाले शनिबार फेसबूकमा एउटा लामो स्टाटस लेख्दै बाढीमा परी ज्यान गुमाएकाहरूको शव सामूहिक रूपमा गाडिएको भन्दै सरकारको आलोचना गरेका थिए ।
कोभिड–१९ को समयमा मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुँदाको अनुभव सुनाउँदै उनले लेखेका थिए, ‘हतार गरेर लास गाड्ने निर्णय नगरौँ, आफन्त नभेटिए केही महिना पर्खौं मृतकको धर्म र संस्कारलाई सम्मान गरौँ ।’
उनले ‘फोकटको सल्लाह’ भन्दै दिएको यो सुझाव सार्वजनिक भएको २४ घण्टा नबित्दै मन्त्रालयले उनलाई सोही कामको व्यवहारिक अनुभव लिन रसुवा पठाउने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट उनलाई गृह प्रशासन र विपद् व्यवस्थापनको अनुभव भएको कर्मचारीका रूपमा परिचालन गरिएको पत्रमा उल्लेख छ ।
मन्त्रालयको पत्रअनुसार निरौलाले रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्नेछ र उनले जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नेछन् ।
उनको तलब, भत्ता र अन्य सुविधा भने हाल कार्यरत कोशी प्रदेशकै मन्त्रालयबाट भुक्तानी हुनेछ ।
आफ्नो सुझावका कारण रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै लागि खटाइएपछि सचिव निरौलाले उक्त फेसबूक स्टाटस भने हटाएका छन् ।
भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत सयौँ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सार्वजनिक गरेको विवरणअनुसार रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो संख्यामा कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका हुन्।
बाढीका कारण आयोजना क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क विच्छेद हुँदा सुरुङ र आयोजना परिसरमा रहेका कर्मचारी तथा श्रमिकको अवस्थाबारे यकिन जानकारी लिनसमेत कठिनाइ भइरहेको छ। उद्धारका लागि हेलिकप्टरसहित सुरक्षा निकाय, भारत र चिनका उद्धार टोलि पनि परिचालन गरिएको छ ।
रसुवाका ६ आयोजना:
माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) : ५७६ जना सम्पर्कविहीन (अहिलेसम्म २५४ जनाको उद्धार, ३०० जना सुरूङमा फसेको)
रसुवागढी (१११ मेगावाट) : ९३ जना
लाङटाङ खोला (२० मेगावाट) : ४२ जना (१८ जनाको उद्धार, सुरूङभित्र अझै २५ जना फसेको)
चिलिमे (२२ मेगावाट) : ८ जना
मैलुङ खोला (५ मेगावाट) : ७ जना (सुरूङमा नफसेको)
रसुवा–भोटेकोशी (१२० मेगावाट) : ४ जना
नुवाकोटका ५ आयोजना:
माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) : १२२ जना (११ जनाको उद्धार)
माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) : ४२ जना
मिडल त्रिशूली गंगा (१९.६ मेगावाट) : २ जना
त्रिशूली (२४ मेगावाट) : १ जना
देवीघाट (१४.९ मेगावाट) : १ जना
भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ ।
शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सहयोग मागेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा शव व्यवस्थापन तथा पहिचानका लागि फ्रिजर र डीएनए परीक्षण किट तत्काल आवश्यक रहेको बताए ।
‘शवहरू थुप्रै संकलन गरिसकेका छौँ र डिकम्पोज हुन सुरु भइसकेको छ । जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न अहिले फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ,’ राईले भने ।
उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ ।
प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिने भएकाले पछि परिवारले चाहेमा पहिचान तथा धार्मिक संस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिने उनले बताए ।
उनले भने,‘अहिले जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।’
राईका अनुसार सरकारले अस्ट्रेलिया, खाडी मुलुक, युरोपेली संघलगायत विभिन्न देशसँग फ्रिजर तथा डीएनए परीक्षण सामग्रीका लागि सहयोग मागेको छ । यसअघि दुई हजार वटा एयरटाइट ब्याग प्राप्त भइसकेको उनले जानकारी दिए ।
यस्तै खोज, उद्धार तथा राहतका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञहरू समेत परिचालन गरिएको उनले जानकारी दिए।
भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।
भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा सहयोग गर्नेछ।’
श्रीवास्तवले पनि एक्समा लेखेका छन्, ‘काठमाडौं आएको चौथो राहत उडानसँगै आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेँ। उनीहरूले नेपाली समकक्षीसँग मिलेर रसुवामा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा सहयोग गर्नेछन्। नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर बलियो सहयोग गर्नेछ।’
भारतले यसअघि पनि नेपाललाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ। नेपालले भने बाढीपहिरोमा भेटिएका ६०० भन्दा बढी शवको पहिचान गर्न फरेन्सिक प्रयोगशाला तथा तीव्र डीएनए परीक्षणका लागि थप सहयोग मागेको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार भने, ‘हामी फरेन्सिक प्रयोगशालाका लागि थप सहयोग खोजिरहेका छौँ। हामीले ६०० भन्दा बढी शव फेला पारेका छौँ, जसमध्ये धेरैको पहिचान गर्न निकै कठिन अवस्था छ। हामीले तीव्र रूपमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले त्यस्तो सहयोग खोजिरहेका छौँ र यसका लागि सक्रिय रूपमा समन्वय गरिरहेका छौँ।’
यसअघि भारतले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री तथा विशेष प्राविधिक क्षमता बोकेको चौथो उडान काठमाडौं पठाएको थियो।
भारतका विदेशमन्त्री एस। जयशंकरले एक्समा लेखेका छन्, ‘चौथो भारतीय उडान काठमाडौंमा अवतरण गरेको छ। यसले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री र प्राविधिक क्षमता ल्याएको छ।’
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसार आइतबार बिहानसम्म नेपालमा भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४१९ जना बेपत्ता वा सम्पर्कविहीन छन्।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि काठमाडौंस्थित विभिन्न अस्पतालहरुमा प्रभावितहरुको ठूलो भीड छ ।
काठमाडौंको ट्रमा सेन्टरमा भने हालसम्म सम्पर्कविहीन भएका आफन्तहरुको तस्विर भित्तामा टाँसेर पहिचान र खोजीका लागि आब्हान गरिएको छ ।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।
बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ वटा रहेका छन् ।
त्यस्तै, बाढीमा परेका २ हजार ७१५जना घाइतेहरुको उद्धार गरिएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ६९२, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ ।
बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १४ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको जनाएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनबाट २५९, नवलपरासी पूर्वबाट १४८, नवलपरासी पश्चिमबाट ८२, नुवाकोटबाट ५२, धादिङबाट ५०, गोरखाबाट ४८, तनहुँबाट ३६ र रसुवाबाट १३ जनाको शव भेटिएको छ। यस्तै २४२ जना घाइतेको उपचार भइरहेको छ।
अझै पनि २,४९८ जना नागरिक सम्पर्कविहीन रहेका छन्। जसमा ५६२ जना रसुवा, ५८९ जना विदेशी नागरिक, १३३ जना जलविद्युत् आयोजनाका कामदार, १२७ जना विदेशी पर्यटकसँग गएका नेपाली र सुरक्षाकर्मीहरूसमेत रहेका छन्।
सुरक्षा निकायको एकीकृत प्रयासबाट हालसम्म ८,१८६ जनाको सकुशल उद्धार गरिएको छ। जलविद्युत्को सुरुङभित्र थुनिएका २७९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ भने २२७ जना विदेशी नागरिकको पनि उद्धार भइसकेको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन, खाद्यान्न तथा ग्यास-इन्धन ढुवानी र उपचारको प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ।