विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्न मधेशका विभिन्न जिल्लामा भइरहेको कार्यक्रमअन्तर्गत शनिबार सिरहाको औरही नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलको सम्बोधनलाई लिएर विवाद भएको छ ।
पाठ्यक्रम विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाले पाठ्यक्रम परिमार्जनका विषयमा आ–आफ्ना सुझाव राखेका थिए । त्यसपछि औरही नगरपालिकाका मेयर शिवजी यादवले धारणा राखेका थिए ।
मेयर यादवपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोलाई बोल्ने कार्यक्रम रहेको थियो । तर उनलाई बोल्न समय नदिई शिक्षामन्त्री पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएपछि महतोले आफूलाई बोल्न किन नदिइएको भन्दै प्रश्न उठाएका थिए ।
त्यसक्रममा कार्यक्रममा केहीबेर होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव यादवले कार्यक्रममा सामान्य विवाद भएपछि मन्त्रीले आफ्नो सम्बोधन छोट्याएर बाहिरिएको बताए । उनले मन्त्रीलाई कार्यक्रमबाट लखेटिएको भन्ने प्रचार गलत भएको दाबी गरे ।
‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छोट्याएर निस्किनुभएको हो। लखेटिएको होइन,’ उनले भने ।
जिल्ला समन्वय समिति सिरहाका सभापति महतोले भने मन्त्री ढिलो आएका कारण कार्यक्रमको निर्धारित तालिका प्रभावित भएको र आफूहरूलाई धारणा राख्न नदिएपछि विवाद भएको बताए ।
‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेड्युल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै हिँड्नुभयो।’
महतोले आफूलाई धारणा राख्न समय नदिएपछि आफूले त्यसबारे प्रश्न उठाएको बताए ।
कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादवसहित शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता थियो । शिक्षामन्त्री पोखरेल केही दिनयता मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।
भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले राससलाई जानकारी दिए ।
शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ ।
नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन् ।
डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ । सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ । अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।
मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ ।
शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
प्रहरीको प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण गर्ने क्षमता छ । अहिले दैनिक २५–३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । प्रहरीले भदौ १३ गतेदेखि डिएनएको नमुना सङ्कलन गरिरहेको छ । हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको छ ।
कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ । हड्डी र दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्याउनुपर्ने हुनसक्ने बताइन्छ ।
फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उनले भने । भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहेका छन् ।
डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयरको प्रयोग
फेला परेका शव र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस)सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।
“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने । कोडिस अन्तरराष्ट्रिय सफ्टवेयर हो ।
“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उनले भने “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तरराष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं ।”
डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ । प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको छ ।
“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उनले भने । डिएनए खर्चिलो र समय लाग्ने परीक्षण हो । त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको छ ।
मृतकको शव फेला पर्नेक्रम बढिरहेको र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको छ । सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउँछन् । “सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उनले भने ।
कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ ।
शव पहिचानमा प्रहरीका तीन उपाय
फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ । प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाउँछन् ।
हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ । “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उनले भने ।
औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ । यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ ।
बढ्दो महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाँदै विरोध प्रदर्शन गरेको छ।
उनीहरूले ‘बढ्दाे महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायाे,’ लगायत नारासहित प्लेकार्ड बाेकी प्रदर्शन गरेका हुन् ।
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो ।
योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।
गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो । फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो । उसका लागि राहुल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन ।
यस्तै सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा चनवीरले १५ रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट लिए ।
त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको इनिङ खेलेका हुन् ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो । यस्तै, आज गुलशनकुमार झाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको पारी खेलेका हुन् ।
एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे ।
युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक एक विकेट लिएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् । विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाइ छ ।
दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे । विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ ।
उनले १० दिनपछि र ११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताए । सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको दाहालको टिप्पणी छ ।
यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढङ्गले सम्हाल्न नसकेको देखिएको उनले बताए । दाहालले विपद्का कारण हजारौं मानिस बेपत्ता भएको र ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनामा मधेसका जनतालाई सहयोग गर्न अपिलसमेत गरे ।
पहाडमा पीडा हुँदा मधेस र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने परम्परा नेपालमा विकसित हुँदै गएको उल्लेख गर्दै उनले अहिलेको विपद्मा पनि राष्ट्रिय एकताको भावना प्रदर्शन गर्नुपर्ने बताए । जनस्तरबाट हुने सहयोगले राहत र पुनःस्थापनामा मात्रै नभई राष्ट्रिय एकता तथा पीडितको मनोवैज्ञानिक पुनस्र्थापनामा समेत महत्वपूर्ण भुमिका खेल्ने दाहालको भनाइ छ । प्रदेश सरकार तथा आम नागरिकले पनि यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
दाहालले विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयलाई समेत जोड दिए । नेपालले लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र ‘क्लाइमेट जस्टिस’को विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गराउँदै उनले विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने बताए ।
हिमपहिरो, हिमताल विस्फोट तथा त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने बाढी र पहिरो कुनै एक देशको मात्रै समस्या नभएको भन्दै दाहालले यसलाई विश्व मानव समुदायसमक्ष देखिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताए।
रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।
जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ ।
ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ ।
माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाखको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाखको क्षति भएको छ ।
त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ ।
प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाखको क्षति भएको छ ।
रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ ।
उक्त रकमबाहेक पनि छुट्टै १९ करोड ५९ लाख क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लााख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ ।
प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषको खातामा रु १३ अर्ब ५४ करोड नौ लाख तीन हजार ११७ मौज्दात छ ।
कार्यालयका अनुसार भदौ २६ गते साँझ ५ः०० बजेपछि मात्रै रु २८ करोड २० लाख १४ हजार ३६६ थपिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा बैंकमा रहेको छ । सरकारले यसअघि उक्त कोषबाट बाढीपीडितका नाममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिसकेको छ ।
त्यस्तै कोषका दुई वटा बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ । भदौ २६ गते साँझ ५ः०० बजेपछि उक्त
उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए । आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीका लागि रसुवा पुगेका थिए । रसुवा हाइड्रोपावर कम्पनीमा कार्यरत ङिमाका दाजु दोर्जे पनि यही क्षेत्रमा काम गर्दै आएका थिए । हाइड्रोको काम उनीहरुको जीवन बनेको थियो ।
तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले परिवारको खुसी एकाएक खोसिदियो । हाइड्रोपावर कम्पनीको कम्पाउन्डभित्र काम गरिरहेका ङिमा बाढीमा बेपत्ता भए । त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।
बाढीमा परी ङिमा हराएपछि उनकी आमा डोल्मा याङ्जी शेर्पा छोराको खोजीमा काठमाडौँ पुगेकी थिइन् । छोरा भेटिने आशमा काठमाडौँ पुगेकी ५८ वर्षीया डोल्मा याङ्जीलाई कम्पनीले छोरा अब जीवित भेटिने सम्भावन न्युन रहेको खबर सुनाएर घर फर्काइदियो ।
छोराको मृत्युको खबरले आमाको मन थामिन सकेन । छोरालाई गुमाउँदा डोल्मा याङ्जी गहिरो शोकमा डुबिन् । काठमाडौँबाट घर त फर्किइन् तर घर फर्किएपछि पनि उनले आफूलाई सम्हाल्न सकिनन् । छोराको मृत्यु भएकै निष्कर्षमा परिवार पुग्यो ।
छोराको अन्तिम संस्कार कसरी गर्ने भन्ने विषयमा उनले अर्का छोरा दोर्जे र आफन्तसँग छलफल गरिन् । भदौ १६ गते रातिसम्म सोही विषयमा छलफल भयो । राती अबेरसम्म परिवारसँगै रहेकी उनी त्यसपछि भने घरबाट निस्किइन् । उनले आफूले लगाएका सबै गरगहना घरमै सुरक्षित छाडेकी थिइन् । रातको समयमा एउटा टर्च लाइटको सहारामा घरबाट निस्किएकी डोल्मा याङ्जी त्यसपछि परिवारको सम्पर्कमा आइनन् ।
एकातिर बाढीमा बेपत्ता भएका ङिमाको पीडा, अर्कोतिर आमाको अचानक बेपत्ता हुने घटनाले परिवारमाथि अर्को बज्रपात थपियो । भोलिपल्ट भदौ १७ गते बिहानैदेखि परिवार, आफन्त र स्थानीयले उनको खोजी सुरु गरे । सम्भावित ठाउँमा खोजी गर्दा पनि उनी फेला परिनन् ।
पाँच दिनसम्मको खोजीपछि अन्ततः उनी बसोबास गर्दै आएको स्थानभन्दा निकै टाढा रहेको खोलामा मृत अवस्थामा फेला परिन् । छोराको बिछोडको पीडा सहन नसकेर डोल्मा याङ्जीले समेत संसार छाडेको घटनाले परिवार र आफन्तलाई स्तब्ध बनाएको छ ।
उमाकुण्ड गाउँपालिका–१ गुम्देलस्थित तेछीमकी डोल्मा याङ्जी लामो समयदेखि सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ किन्जामा बस्दै आएकी थिइन् । सोही क्षेत्रतर्फ पर्ने खोलामा उनको शव भेटिएपछि पोस्टमार्टमका लागि सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगिएको थियो ।
पोस्टमार्टमपछि सल्लेरीमा नै शेर्पा परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको उनका भाइ पेम्बा शेर्पाले जानकारी दिए । केही दिनको अन्तरालमा एउटै परिवारले भोगेको यो दोहोरो वियोगले बाढीले बगाएको केवल एउटा ज्यानको कथा नभई त्यसले परिवारको मनमा छाडेको गहिरो देखाएको छ । ङिमाको बिछोडमा आँसु झारिरहेकी आमाले पनि अन्ततः संसार छाडेपछि परिवार अहिले अपूरणीय क्षतिका बीच शोकमा डुबेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ ।
एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो ।
टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ ।
बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाएसँग उद्धारमा सहज बनेको छ ।
टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।