२०८३ भाद्र २७ गते शनिबार
२०८३ भाद्र २७ गते शनिबार

सरकारको अहंकारका कारण रसुवा बाढीमा धेरैको ज्यान गयो : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन् ।

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताएका हुन् । विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिले नेपालसँगै विश्व समुदायलाई समेत स्तब्ध बनाएको उनको भनाइ छ ।

दाहालले विपद्को प्रारम्भिक चार–पाँच दिनमै विज्ञहरूलाई परिचालन गरेर उद्धार कार्यलाई गम्भीर ढङ्गले अघि बढाएको भए थप मानिसको ज्यान बचाउन सकिने दाबी गरे । विदेशी विज्ञहरूले सहयोग गर्ने इच्छा देखाउँदा पनि सरकारले समयमै उनीहरूलाई ल्याउन पहल नगरी ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार प्रदर्शन गरेको उनको आरोप छ ।

उनले १० दिनपछि र ११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको घटनाले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरै मानिसलाई बचाउन सकिने अवस्था रहेको पुष्टि गर्ने बताए । सरकारले विपद्का बेला नागरिकसँग गरिरहेको व्यवहारसमेत अहंकारपूर्ण र मनोगत देखिएको दाहालको टिप्पणी छ ।

यस्तो कार्यशैलीले सरकारले गम्भीर विषयलाई प्रभावकारी ढङ्गले सम्हाल्न नसकेको देखिएको उनले बताए । दाहालले विपद्का कारण हजारौं मानिस बेपत्ता भएको र ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनामा मधेसका जनतालाई सहयोग गर्न अपिलसमेत गरे ।

पहाडमा पीडा हुँदा मधेस र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने परम्परा नेपालमा विकसित हुँदै गएको उल्लेख गर्दै उनले अहिलेको विपद्मा पनि राष्ट्रिय एकताको भावना प्रदर्शन गर्नुपर्ने बताए । जनस्तरबाट हुने सहयोगले राहत र पुनःस्थापनामा मात्रै नभई राष्ट्रिय एकता तथा पीडितको मनोवैज्ञानिक पुनस्र्थापनामा समेत महत्वपूर्ण भुमिका खेल्ने दाहालको भनाइ छ । प्रदेश सरकार तथा आम नागरिकले पनि यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

दाहालले विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायबाट न्याय र सहयोग प्राप्त गर्नुपर्ने विषयलाई समेत जोड दिए । नेपालले लामो समयदेखि जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र ‘क्लाइमेट जस्टिस’को विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गराउँदै उनले विकसित तथा बढी कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने बताए ।

हिमपहिरो, हिमताल विस्फोट तथा त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने बाढी र पहिरो कुनै एक देशको मात्रै समस्या नभएको भन्दै दाहालले यसलाई विश्व मानव समुदायसमक्ष देखिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।