
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको विजेता घोषणा गरिएको छ ।
बिहीबार अर्थमन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले बिहीबार भदौ महिनाका लागि ३२ जना विजेता घोषणा गरेको हो ।
विभागका कटियानी पोलिक्लिनिकमा २०० रुपैयाँको सेवा लिएका कुपन नम्बर ०४८९१५६१८२११ ले १० लाख रुपैयाँ जितेको छ ।
साथै १५ भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट सात हजार रुपैयाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर ०३६४४७८५२३७८ ले १० लाख रुपैयाँ जितेको छ ।
यस्तै ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले नगद पुरस्कार पाएका छन् ।
त्यस्तै प्रधानमन्त्री राहत कोषमा १ हजार रुपैयाँ भुक्तानी गरेका एक ग्राहकले१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
उनको कुपन नम्बर ०४२६१८४७७६२० रहेको छ ।
रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले आज विजेताहरू घोषणा गरेको हो ।
काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
अब उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन् । एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ ।
हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत एपबाट उपलब्ध गराइनेछ ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउँदै एपलाई देशभर विस्तार गर्ने तयारी गरिएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेटेर सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने सडक डिभिजन काठमाडौंको लक्ष्य छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।
समितिको बिहीवार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिसमेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए ।
उनका अनुसार समितिको प्रतिवेदन प्रतिनिधिसभाको बिहीवार नै बस्ने बैठकमा पेश गरिनेछ । प्रतिवेदनलाई अन्तिम रूप दिन सभापति ढकालले समिति सचिवलाई निर्देशनसमेत दिएका छन् ।
समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारीसमेत हेरफेर गरेको छ ।
समितिले दिपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ ।
सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो ।
यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत तोकिएको थियो । नयाँ व्यवस्थाअनुसार अब सहकारी संस्थाले १३ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार संस्थाले आफ्नो कारोबारको अवस्था, आवश्यकता र औचित्यको विश्लेषण गरी १३ प्रतिशतभन्दा कम ब्याजदरसमेत निर्धारण गर्न सक्नेछन् ।
त्यस्तै, बचतमा दिने र ऋणमा लिने ब्याजदरबीचको अन्तर भने छ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ । कार्यालयले सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनःब्याज लगाउन नपाउने कानुनी व्यवस्थाको पूर्ण पालना गर्नसमेत निर्देशन दिएको छ ।
यस्तै, संस्थाले हर्जाना रकम लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकमको पाँच प्रतिशतभन्दा बढी हर्जाना लिन नपाउने व्यवस्था गरिएको छ ।
ऋणसँग सम्बन्धित सम्पूर्ण लागत ब्याजदरमै समावेश हुने भएकाले सहकारी संस्थाले प्रशासनिक शुल्क, सेवा शुल्क, नवीकरण शुल्क, फाराम दस्तुर वा यस्तै अन्य कुनै शीर्षकमा थप रकम लिन नपाउने कार्यालयले स्पष्ट गरेको छ ।
नयाँ निर्देशनअनुसार सहकारी संस्थाले निर्धारण गरेको ब्याजदर सबै सदस्यले जानकारी पाउने गरी आफ्नो वेबसाइट वा अन्य माध्यमबाट अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ ।
एकै प्रकृतिको बचत वा ऋणमा ब्याजदर कायम गर्दा सदस्य, सञ्चालक समिति तथा पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्य, विभिन्न उपसमितिका संयोजक तथा सदस्य, व्यवस्थापक र कर्मचारीबीच कुनै विभेद गर्न नपाइने व्यवस्था पनि गरिएको छ ।
यस्तै, सहकारी संस्थाले ऋण प्रवाह गर्दा सम्बन्धित ऋणी सदस्यको व्यक्तिगत खातामा रकम जम्मा गर्नुपर्नेछ । सदस्यले व्यक्तिगत रूपमा लिएको ऋण दायित्वभन्दा बढी हुने गरी संस्थाको दायित्वसँग जोडेर ऋणी सदस्यमाथि थप ऋणभार सिर्जना गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका–६, पेलेगास्थित घाँगी भिरमा जमिनमुनिबाट लगातार निस्किरहेको धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका प्रतिनिधिले स्थलगत अध्ययनका क्रममा धुवाँमा कार्बन मोनोअक्साइड ग्यास रहेको बताएका हुन्।
धुवाँ निस्किनुको कारणबारे थप अध्ययन गर्न विभागको टोलीले घटनास्थलबाट माटो, ढुंगा तथा धुवाँका अवशेषका नमुना संकलन गरेको छ। संकलित नमुनाहरू प्रयोगशालामा परीक्षण गरेपछि जमिनमुनिबाट धुवाँ निस्किनुको वास्तविक कारणबारे थप तथ्य पत्ता लाग्ने विभागले जनाएको छ।
सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी उपकरणको पूजाआजा गर्दै आज विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व श्रम, सीप, प्रविधि र निर्माण कार्यप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा लिइन्छ ।
यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण गरेर पूजा गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ ।
संस्कृतिविद् डा. माधव भट्टराईका अनुसार हिन्दू परम्परामा विश्वकर्मालाई भगवानको एक स्वरूप तथा निर्माणकलाका आदिपुरुषका रूपमा मानिन्छ । प्राचीन कालमा नगर, भवन तथा ठूला निर्माण कार्यसँग विश्वकर्माको नाम जोडिने भएकाले उनलाई तत्कालीन समयका महान् इन्जिनियरका रूपमा पनि स्मरण गर्ने गरिएको उनले बताए ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले विश्वकर्मा पूजा विशेषगरी उद्योग, कलकारखाना, फ्याक्ट्री र निर्माण क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए । ‘विश्वकर्मा भनेको भगवानकै एउटा स्वरूप हो । ठूलठूला निर्माण, नगर र भवन निर्माण गर्ने उहाँलाई उतिखेरको सबैभन्दा ठूलो इन्जिनियरका रूपमा पनि लिइन्छ । उहाँको सम्झनामा आश्विन १ गते उद्योग, कलकारखाना र फ्याक्ट्रीमा पूजा गरिन्छ,‘ उनले भने ।
उनका अनुसार यो पूजा धर्मकर्ममा मात्र सीमित छैन । श्रम, सीप, ज्ञान र सिर्जनशील कार्यप्रतिको सम्मान व्यक्त गर्दै आफूले गर्ने काम सफल होस, उद्योग–व्यवसाय प्रगति गरून् र कार्यस्थल सुरक्षित रहोस् भन्ने कामनाका साथ पूजा गर्ने चलन रहेको छ । ‘उहाँबाट प्रेरणा लिने, उहाँको कला, सीप र ज्ञान हामीमा प्राप्त होस, हाम्रा कर्म सफल होऊन् र हाम्रा उद्योगधन्दा प्रगति गरून् भन्ने कामनाले विश्वकर्मा पूजा गरिन्छ,‘ उनले भने ।
विश्वकर्मालाई कतिपयले जातिसँग जोडेर हेर्ने गरे पनि त्यसको आधार धार्मिकभन्दा व्यावहारिक रहेको डा. भट्टराईको भनाइ छ । निर्माण, हातहतियार तथा कलकारखानामा काम गर्ने समुदायसँग विश्वकर्माको नाम जोडिए पनि धार्मिक दृष्टिले उनी भगवानकै स्वरूपका रूपमा पूजिने उनले बताए ।
उनका अनुसार विश्वकर्मा पूजाका लागि अन्य ठूला धार्मिक अनुष्ठानजस्तो विस्तृत शास्त्रीय विधि अनिवार्य छैन । सामान्य पूजा पद्धतिबाट पनि विश्वकर्माको आराधना गर्न सकिने उनले बताए । नेपालका विभिन्न भूगोल र समुदायमा पूजा गर्ने शैलीमा केही भिन्नता पाइने भए पनि यसको मूल भावना भने एउटै रहेको उनले उल्लेख गरे ।
‘तराईमा अलि फरक ढङ्गले हुन्छ, पहाडमा अलि फरक हुन्छ । ठाउँ, समाज र परम्पराअनुसार शैली फरक भए पनि मूल कुरा एउटै हो,‘ उनले भने । विश्वकर्मा पूजाका अवसरमा आज देशभरका उद्योग, ग्यारेज, यातायात कम्पनी, निर्माणस्थल तथा कार्यशालामा आफ्ना औजार, उपकरण र कार्यस्थलको पूजा गर्दै काममा सफलता, सुरक्षा र समृद्धिको कामना गरिएको छ ।





