२०८३ आश्विन ६ गते मंगलवार
२०८३ आश्विन ६ गते मंगलवार

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । तोलामा सुन १७ सय रुपैयाँ घटेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार भने सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३० रुपैयाँ घटेर आज ४ हजार ७ सय ७५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कायम भएको थियो ।

रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् ।

यसका लागि प्रभावित स्थानीय तहसँगको समन्वयमा काम भइरहेको मन्त्रालयको भनाइ छ । पूर्वाधार विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिमा विभिन्न विभागका चार महानिर्देशक र सबै प्रभावित क्षेत्रका पालिका प्रमुख छन् । उनिहरूले आफ्नो क्षेत्रको आवश्यकताको विवरण समितिलाई उपलब्ध गराई रहेका छन् ।

यसअघि सरकारले बाढी प्रभावित नागरिक आफैँले कोठा खोजी बस्न चाहेमा चार जनासम्मको परिवारलाई मासिक रु १५ हजार र चारभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति रु दुई हजारका दरले उपलब्ध गराउने निर्णय गरिसकेको छ तर प्रभावित नागरिकको अन्यत्र सुरक्षित जग्गा भएमा त्यहाँ उहाँहरूका लागि ‘मोड्युलर’ (अलग–अलग भाग जोडेर तयार पारिएको) घरहरूको व्यवस्था गर्ने सरकारले तयारी गरिरहेको छ ।

अन्यत्र कतै सुरक्षित जग्गा पनि नभएकाहरूका लागि सरकारले आफैँ जग्गाको व्यवस्थापन गर्नाका साथै त्यहाँ ‘मोड्युलर’ घरको व्यवस्था गर्ने तयारी गरिरहेको छ । यसको विवरण सङ्कलन कार्य जारी रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

साथै, भूमि मन्त्रालयले जग्गाको पहिचानलाई तीव्रता दिएको छ भने पूर्वाधार विकास मन्त्रालयले घरहरुको व्यवस्थासम्बन्धी गृहकार्य तीव्र पारेको छ ।

सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार बाढी प्रभावित क्षेत्रमा ६० प्रतिशत परिवारले कोठा भाडामा बस्ने विकल्प रोजेका छन् । आफ्नै जग्गामा घरको व्यवस्था होस् भन्ने चाहने २० प्रतिशत र सुरक्षित जग्गा पनि नभएको भन्ने परिवारको सङ्ख्या २० प्रतिशत छ ।

यसैगरी, सरकारले बाढी प्रभावितहरूको स्थायी बसोबासका लागि पनि काम सुरु गरेको छ । उनिहरूलाई सुरक्षित ठाउँमा सबै सुविधासहितको सहर निर्माण गरी पुनःस्थापना गर्ने सरकारको प्रारम्भिक अवधारणा छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजे सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३२९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । 

साथै पहिचान नभएको १ हजार ४२४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३४२ जना व्यक्तिहरूलाई राखिएको छ । 

काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सबल रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ। आर्थिक कारोबारमा शत्रुहरुको वृद्धि हुनेछ। कार्यक्षेत्रमा शुभचिन्तकहरूको साथ पाइनेछ। व्यापार व्यवसायमा धन सम्बन्धी लेनदेनमा सावधानी राख्नुपर्ने हुन्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रचनात्मक वा कलात्मक क्षेत्रमा आफ्नो व्यक्तित्वलाई आकर्षक बनाउन सफल रहनुहुनेछ। वाणिले गर्दा आफन्तहरूसँग मनमुटाव हुनसक्छ। पारिवारिक र वैवाहिक जीवन राम्रो रहनेछ। भौतिक सुख सुविधामा धन खर्च हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अग्रिम कार्यहरू समयमा सम्पादन हुनेछ। विद्यार्थी वर्गहरूले हेलचेक्र्याइँ गरेर कुनै कार्य गर्दा असफलता हात लाग्न सक्छ। आर्थिक कारोबारमा भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। गरेको कार्यको जस पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्यक्षेत्रमा पद प्रतिष्ठामा वृद्धि हुनेछ। अधिकारी वर्गहरूबाट शुभ सूचना पाइनेछ। मित्रहरूबाट कुनै मूल्यवान वस्तुको प्राप्ति हुनेछ। घर परिवारमा मेलमिलाप बढ्नेछ। अरूलाई अनावश्यक सल्लाह नदिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सन्तान पक्षबाट मन प्रसन्न हुने सूचना मिल्नेछ। विवाद र मुद्दाहरूमा हजुरको पक्ष बलियो रहनेछ। घरपरिवारमा जिम्मेवारी बढ्नेछ। कारोबारमा आफ्नो कुराहरूलाई गोप्य राखौं। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। वाहनमा खर्च हुने सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुन सक्छ। मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा र‍ोकिएका कामहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने सम्भावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस्। वस्त्र आभूषण आदि उपहार पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्तिको समस्या बुझेर सहयोग गर्न सकिनेछ। घरको वातावरणमा आत्मीयता बढ्नेछ। व्यक्तिगत निर्णयमा आफ्नो मनको कुरा सुन्नु राम्रो हुन्छ। निद्रा पूरा गर्न ध्यान दिनुहोस्। शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कामलाई सानो सानो भागमा बाँड्दा सहज हुनेछ। कागजपत्रमा आवश्यक सुधार गर्न सकिनेछ। घरको व्यवस्थापनमा तपाईंको भूमिका बढ्नेछ। पानी पर्याप्त पिउनुहोस्। शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।