२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पु¥याएको छ । प्रारम्भिक जानकारीअनुसार बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको र त्यसपछि आएको बाढीले बूढीगण्डकी नदीको जलसतह बढाएको हो। बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पु¥याएको उनले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ। त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।

बाढीले जगत बगरका नौ वटा, सल्लेरीका पाँच वटा र ठाडो भञ्ज्याङका तीन वटा घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको पत्रकार उप्रेतीले बताए।

त्यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज पनि बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।

यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएको पत्रकार उप्रेतीले बताए । बाढीबाट भएको क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ।

गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार खाली गराइएको छ।

नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।

बूढीगण्डकीमा आएको बाढीले यसअघि नै विभिन्न स्थानमा क्षति पुर्‍याइसकेको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाउनुका साथै घरहरूमा समेत क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घरहरूमा समेत क्षति पुर्‍याएको छ भने केही बस्ती जोखिममा परेका छन्।

चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको विवरण प्राप्त भएको छ।

बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।

आज बिहान ४:०० बजे ती गाउँमा बाढी पसेपछि नदी तटीय क्षेत्रका स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनको भनाइ छ ।

बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको हुन सक्ने बताइएको छ ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्ती, बजार, होटल तथा केही विद्यालयमा क्षति पुगेको खबर आएको बताएका छन् ।

सापकोटाका अनुसार नदीमा पानीको बहाव पटकपटक थुनिने र खुल्ने भइरहेको छ । बाढीको ठूलो झड्काले नदी आसपासको करिब १५० देखि २०० मिटर माथिसम्मको क्षेत्र प्रभावित भएको उनले बताए ।

‘हामी यही तटीय क्षेत्रमा छौँ । गाउँपालिका आसपासमै छौँ। ठूलो बाढी आएको छ। माथि सुक्खा पहिरो गयो र नदी थुनिएर बाढीको रूप लिएको छ भन्ने भनिएको छ। हामीले त्यहाँ सम्म यही हेरिराख्या छौँ। त्यो थुनिँदै खोलिँदै, थुनिँदै खोलिँदै गरिराख्या छ। बाढीको ठूलो झड्का आएको छ। करिब १५०–२०० मिटर जति माथिको एरियासम्म त्यसले कभरेज गर्या छ, उनले भनेर्, तल्लो तटीय क्षेत्रका बस्तीहरू बग्यो भन्ने खबर आएको छ। मानवीय क्षतिबारे अहिलेसम्म कुनै सूचना आएको छैन ।’

उनका अनुसार नदी किनारमा रहेका जगत, सल्लेरीलगायत तल्लो तटीय क्षेत्रका बस्ती तथा बजारमा क्षति पुगेको खबर प्राप्त भएको छ । ती क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा ट्रेकिङ एजेन्सीसम्बद्ध होटलहरू बगाएको र केही विद्यालयसमेत बाढीले बगाएको सूचना आएको उनले जानकारी दिए।

बाढीबाट मानवीय क्षति भए–नभएकोबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त नभएको सापकोटाले बताए । क्षतिको वास्तविक विवरण संकलन तथा अवस्था बुझ्ने काम भइरहेको र सम्बन्धित निकायबीच समन्वय भइरहेको उनले बताए।

नदीमा पानीको बहाव निरन्तर परिवर्तन भइरहेकाले तत्काल क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।

बाढीको जोखिम कायमै रहेकाले बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

जमरामा जौँबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत ११:४७ बजे
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ११:४७ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्रा. डा. पुरुषोत्तम भट्टराईले बताए।

सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए । केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्रसम्मत नहुने पनि उनले सुनाए।

दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष गौतमले बताए । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठपारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेको छ ।

विजयादशमीको साइत कात्तिक ४ गते १०:२६ बजे
नवरात्र भनेर चिनिने दसैँ नौ रात र १० दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ४ गते बुधबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

कात्तिक ४ गते देवी विसर्जनको साइत बिहान ८:४९ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०:२६ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

हनुमानढोकाको दसैँ घरमा विशेष पूजा
परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आइतबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताए ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिसहरू दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।

धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । यसैकारण राजधानी र सहरी क्षेत्रबाट आ–आफ्ना थातथलो फर्कने मानिसको लाम देखिन्छ ।

नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो ।

जारी मतगणनामा अहिलेसम्म १ हजार २२९ मत गणना हुँदा उपसभापति (खुला २) तर्फ डा. चन्द्रकान्त भण्डारीले सबैभन्दा बढी ६४३ मत प्राप्त गरेका छन् ।

ई. मधु आचार्य– ३६२ मत
गोविन्द भट्टराई– ३०८ मत
सुरेन्द्रराज पाण्डे– ३०५ मत
दीपक गिरी– २४८ मत
धनराज गुरुङ– २२३ मत
प्रा. डा. चन्द्र मोहन यादव– १२९ मत

उपसभापति (समावेशी १ पद)
बिनोद कुमार चौधरी– ३५७ मत
जीवन परियार– ३०० मत
फरमुल्लाह मंसुर– १७७ मत
सीता गुरुङ– १५७ मत
रञ्जित कर्ण– १०० मत

महामन्त्री (खुला २ पद)
प्रदीप पौडेल– ७२३ मत
अमरसिंह पुन मगर– ४५५ मत
उदयशमशेर राणा– ४१२ मत
डा. सुनिलकुमार शर्मा– ३०९ मत
गुरुराज घिमिर– १७८ मत
नैनसिंह महर– १३५ मत
शंकर तिवारी– १९ मत
डा. सन्तोष उपाध्याय– १७ मत

महामन्त्री (महिला १ पद)
डा। डिला संग्रौला (पन्त)– ५३६ मत
महालक्ष्मी उपाध्याय (डिना)– ५१३ मत
रीता खनाल– १४७ मत

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।