गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार खाली गराइएको छ।

नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।
बूढीगण्डकीमा आएको बाढीले यसअघि नै विभिन्न स्थानमा क्षति पुर्याइसकेको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाउनुका साथै घरहरूमा समेत क्षति पुर्याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।








