नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ।
न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये सबैभन्दा बढी मत हासिल गरेको हो।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति आभार व्यक्त गरेको छ।
‘बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ नियोगले भनिएको छ।
नियोगले परिषद्को नयाँ कार्यकालका लागि निर्वाचित अन्य राष्ट्रहरूलाई पनि बधाई दिएको छ। नेपालले सन् २०२७-२०२९ कार्यकालका लागि निर्वाचित ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई बधाई दिएको हो।
नियोगले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र तथा अन्य साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै मानव मर्यादाको संरक्षण, समावेशिताको प्रवर्द्धन, सामाजिक न्याय र सबैका लागि समान तथा न्यायोचित विकासलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको जनाएको छ।
नेपाल यसअघि सन् २०१८-२०२० र २०२१-२०२३ मा गरी लगातार दुई कार्यकाल परिषद्को सदस्य रहिसकेको छ। नयाँ निर्वाचनसँगै नेपाल सन् २०२७ जनवरी १ देखि तेस्रो कार्यकालका लागि परिषद्को सदस्य बन्नेछ।
सन् २००६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको प्रमुख अन्तरसरकारी निकाय हो। स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको परिषद्मा भौगोलिक प्रतिनिधित्वका आधारमा ४७ सदस्य राष्ट्र रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघको महासभाबाट तीन वर्षका लागि निर्वाचित हुन्छन्।
परिषद्ले सदस्य राष्ट्रहरूमा मानवअधिकारको अवस्थाको समीक्षा गर्ने, मानवअधिकार उल्लङ्घनसम्बन्धी विषयमा छलफल गर्ने, आवश्यक सिफारिस गर्ने तथा मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रोत्साहन गर्ने कार्य गर्दछ। यसले विश्वव्यापी आवधिक समीक्षा प्रक्रियामार्फत सबै सदस्य राष्ट्रको मानवअधिकार अवस्थाको मूल्याङ्कनसमेत गर्दछ।
नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन् ।
समयमै बेलीब्रिज निर्माण सम्पन्न नहुँदा यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको हो।
दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हाुँदैछ । पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ ।
दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ तुइन चढ्नुअघि करिब एक घण्टा पालो कुर्नुपरेको बताउँछिन् ।
उनले भनिन्, ‘एक घण्टा वेटिङ बस्यौँ, बल्लबल्ल पालो आयो। डर त खासै लागेन तर तुइनभन्दा झोलुङ्गे पुल भएको भए अलि सजिलो हुन्थ्यो ।’
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत बढेको उनको भनाइ छ । ‘असर त धेरै परिरहेको छ। सामानहरू धेरै महँगो भइरहेको छ, बाटो धेरै लामो भइसक्यो, सामान पनि धेरै महँगो हुँदो रहेछ । त्यही भएर चाँडै बेलीब्रिजको व्यवस्था हुनुपर्छ, बाटो पनि चाँडो बन्नुपर्यो,’ उनले भनिन्।
दशैँ–तिहारमा घर फर्किने यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनुपर्ने उनको माग छ । आफ्नो ठाउँमा ठूलो घटना नभए पनि आफन्तहरू पहिरोका घटनाबाट प्रभावित भएको उनले बताइन् ।
चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढिरहेका बेला पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी तथा यात्रु थप समस्यामा परेका छन्। बेली ब्रिज सञ्चालनमा आएपछि तुइन र जिपलाइनको सहारा लिनुपर्ने बाध्यता हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।
आज दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन्। आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन्। यस अवधिमा नेपालीहरूको महान् चाड बडादशैँ परेपनि दसैँको पूजाआजा गर्न तथा टीका–जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ।
ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ। शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ। त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा माङ्गलिक कार्यहरू गरिँदैन। बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको तीन दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ।
तर, शुक्र अस्तको समयमा नित्य र नैमित्तिक कर्महरू गर्न कुनै रोकतोक हुँदैन। यस अवधिमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्य व्रत, तुलसी पूजा एवं विवाह, तुलसीको मठमा हवन, रामनवमी आदिका व्रतजस्ता नित्य कर्मका साथै श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया र ग्रहणस्नानादि कर्महरू गर्न सकिन्छ। साथै, यसै बिचमा बडादसैँ परेकाले देवी पूजा, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका दिन गरिने नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, साधना, अष्टमीको बली पूजा, हातहतियार पूजा तथा देवी विसर्जन गरी दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न कुनै शास्त्रीय बाधा पर्ने छैन।
यद्यपि, शुक्र अस्तको अवधिमा नयाँ शुभ कार्यहरूको थालनी गर्न भने शास्त्रले निषेध गरेको छ। यस समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण, गृहारम्भ वा गृहप्रवेश, मन्दिर निर्माण, देवता स्थापना, प्राणप्रतिष्ठा, चान्द्रायणादि व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि महादान, व्रतबन्ध, विवाह तथा कर्णवेधजस्ता संस्कार गर्न हुँदैन।
त्यस्तै कहिल्यै नगरिएको देवताको दर्शन, नयाँ तीर्थयात्रा, दीक्षा ग्रहण, सन्न्यास व्रत, अग्निहोत्र, राज्याभिषेक र समावर्तनजस्ता कार्यहरू पनि शास्त्र अनुसार वर्जित मानिएका छन्। ज्योतिष शास्त्रमा शुक्रलाई सवारी साधन र विलासिताको समेत कारक ग्रह मानिने भएकाले यस अवधिमा सकेसम्म नयाँ सवारी साधनको खरिद–बिक्री नगर्नु राम्रो हुने र विलासी जीवनशैली तथा सामानको प्रयोगमा सचेत रहनुपर्ने उल्लेख छ।
बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।
नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ– ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरीपूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।
दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। अलोका थाइल्यान्डबाट बौद्ध भिक्षुहरूसँगै हालै काठमाडौं आइपुगेको हो।
काठमाडौं आइपुगेपछि अलोकाको व्यस्तता बढेको छ भने उसलाई हेर्न आउनेहरूको भीड पनि उत्तिकै लागेको छ। एकपटक हेर्ने र सुम्सुम्याउने रहर बोकेका थुप्रै नेपाली अलोकाको वरिपरि झुम्मिएको मंगलबार बौद्धमा देखियो। बौद्धस्थित सेतो गुम्बामा भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरूको स्मृतिमा आयोजित शोक तथा प्रार्थना सभामा अलोका पनि उपस्थित थियो।
भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका भिक्षुहरूसँगै विभिन्न देशको यात्रा गर्दै विश्व शान्तिको सन्देश फैलाउने प्रतीकका रूपमा चर्चित बनेको छ।
यही असोज २२ गते बौद्ध भिक्षुकहरुकोसाथ नेपाल आइपुगेको अलोकाको यहाँको बसाई असोज ३० गतेसम्म हुने कुरा बौद्ध भिक्षुहरुको यात्राको संयोजन गरिरहेका नरेन्द्र मानन्धरले बताए । मानन्धरका अनुसार अलोकासँगै रहेको बौद्ध भिक्षुहरुले बाढी पीडित परिवारका साथै प्रभावित क्षेत्रका जनावरको हितका लागि पनि काम गर्ने छ ।
अलोकाको कथा सन् २०२२ बाट सुरु हुन्छ। भारतमा बौद्ध भिक्षु भिक्खु पञ्ञाकरसहितका भिक्षुहरू पदयात्रामा रहेका बेला अलोका उनीहरूको सम्पर्कमा आएको थियो। भिक्षुहरूलाई पछ्याउँदै हिँड्न थालेको यो कुकुर बिस्तारै उनीहरूको यात्राको साथी बन्यो। सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका त्यसपछि भिक्षुहरूसँगै लामो यात्रामा निस्कियो।
अमेरिकामा बौद्ध भिक्षुहरूसँगै लामो दूरीको पैदल शान्ति यात्रामा सहभागी भएपछि अलोका अझ चर्चित बन्यो। भिक्षुहरूसँगै हिँडिरहेको अलोकाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिँदै गए। त्यसपछि धेरै मानिसले उसलाई ‘पिस डग’ भनेर चिन्न थाले।
अलोकाको चर्चा उसको यात्राका कारण मात्रै भएको होइन। उसले दिने सन्देशले पनि मानिसहरूको मन छोएको छ। मानिसहरू धर्म, जात, भाषा र देशका आधारमा विभाजित भइरहेका बेला एउटा कुकुर भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै यात्रा गरिरहेको छ। उसको यात्राले माया र करुणाको भाषा सबैले बुझ्छन् भन्ने कुरा सम्झाउँछ।
अलोका बोल्न सक्दैन। तर, भिक्षुहरूसँगै हिँडिरहेको उसको दृश्यले मानिसहरूलाई सोच्न बाध्य बनाउँछ। शान्तिको कुरा गर्न ठूलो भाषण दिनैपर्छ भन्ने छैन। अरूप्रति दया देखाउनु, सबै प्राणीलाई माया गर्नु र सँगै अघि बढ्नु पनि शान्तिको सुरुवात हुन सक्छ भन्ने सन्देश उसको कथाले दिन्छ।
नेपालमा पहिलोपटक आएको अलोका मंगलबार बौद्धमा देखियो। अलोकाको नेपाल आगमनले उसको यात्रामा अर्को अध्याय थपेको छ। बौद्ध धर्ममा करुणा, अहिंसा र सबै प्राणीप्रति मैत्रीभाव राख्नुलाई महत्त्व दिइन्छ। त्यसैले भिक्षुहरूसँगै शान्तिको सन्देश फैलाउँदै हिँडिरहेको अलोकाको नेपाल यात्रा अर्थपूर्ण बनेको छ।
भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको अलोका आज विश्वभरका मानिसको चासो र मायाको पात्र बनेको छ।
कुन–कुन देशमा यात्रा ग¥यो अलोकाले?
भारत
सन् २०२२ मा कोलकाताबाट बोधगयातर्फ पैदल यात्रामा रहेका बौद्ध भिक्षुहरूसँग अलोका जोडिएको थियो। उनीहरूसँगै करिब १०० दिन यात्रा गर्दै नेपाल सीमासम्म पुगेको थियो।
अमेरिका
सन् २०२५ अक्टोबर २६ मा टेक्ससको फोर्ट वर्थबाट सुरु भएको शान्ति पदयात्रामा अलोका सहभागी भयो। करिब १०८ दिनमा ३ हजार ७ सय किलोमिटर यात्रा गर्दै पदयात्रा वासिङ्टन डीसी पुगेको थियो।
श्रीलंका
सन् २०२६ अप्रिलमा डम्बुलाबाट सुरु भएको शान्ति यात्रामा अलोका सहभागी भयो। अनुराधापुर, माटाले, क्यान्डी र केलनियालगायतका क्षेत्र हुँदै कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरसम्म यात्रा गरेको थियो।