२०८३ आश्विन ३० गते शुक्रबार
२०८३ आश्विन ३० गते शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका रूपमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरेको छ ।

पार्टीले आजदेखि ‘नगरपालिका क्यान्डिडेट क्लब’ को आवेदन खुला गरेको जानकारी दिएको हो ।

रास्वपाका अनुसार स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

इच्छुक व्यक्तिले पार्टीको आधिकारिक मोबाइल एपमा लग इन गरेर आवेदन दिन सक्ने रास्वपाले जनाएको छ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा असफल वा पराजित भएको अर्थमा बुझ्न नहुने बताए ।

उनले आफ्नो नेतृत्वको सरकारले अघि सारेका सामाजिक सुरक्षाका कार्यक्रम तथा सुधारका प्रयासलाई समाजवादउन्मुख राज्य निर्माणका कदमका रूपमा व्याख्या गरे । सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, सहयोगापेक्षी सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई उनले सरकारको जिम्मेवार व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे ।

ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम तथा बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलाई मानवतावादी सोचबाट अघि बढाइएका कामका रूपमा चर्चा गरे ।

‘हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ,’ ओलीले भने ।

उनले शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए । सरकारको जिम्मेवारी आर्थिक हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नागरिकप्रति संवेदनशील भएर काम गर्नुपर्ने धारणा राखे ।

‘सरकारको जिम्मेवारी केवल जवाफदेहिता र हिसाबकिताबमा सीमित हुँदैन । जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने ।

आफ्नो कार्यकालमा भएका विकास निर्माण तथा सामाजिक कामको आलोचनाप्रति टिप्पणी गर्दै ओलीले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गरे । कुनै साइनबोर्ड हटाउँदैमा आफूहरूले गरेका सामाजिक कामको महत्त्व समाप्त नहुने उनको तर्क थियो ।

उनले सामाजिक कार्यक्रमले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन नसकिने दाबीसमेत गरे ।

समृद्धिको यात्राबारे धारणा राख्दै ओलीले नागरिकलाई सुखी बनाउन पहिले उनीहरूका दुःख, गरिबी र अभाव हटाउनुपर्ने बताए । नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण निर्माण गर्नु नै समृद्धिको आधार भएको उनको भनाइ थियो ।

‘सुखी नेपाली बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ,’ ओलीले भने, ‘पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति—यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’

उनले सामाजिक न्याय, नागरिकको सुरक्षा र आधारभूत आवश्यकताको परिपूर्तिलाई समृद्ध नेपाल निर्माणको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरे ।

नेपाल रेडक्रस सोसाइटी र पुर्वाधार विकास मन्त्रालयको भवन विभागसँग आपसी समझदारी भएको छ । 

सोसाइटीले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकका लागि दुई हजार घर बनाइदिनेगरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

एक हजार अस्थायी र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए।

आवास निर्माणको लागि बिहीबार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता हो । सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ।

भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने भण्डारीले बताए।

घर बगाएका करिब पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउनेसमेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उनले जानकारी दिए।

अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो।

नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको, जसमध्ये १५ लाख नगद र कान्छी श्रीमतीका नाममा चेक लिएर थप धम्की दिइरहेको दाबीसहित ‘एबी राई’ को नामबाट अख्तियारमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा उजुरीकर्ता भनिएका आङबाबु राई (एबी राई) ले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी आयोगसमक्ष सनाखत गरेका थिए। अनुसन्धानकै क्रममा दीपक पुन मगरले राईको जानकारी र सहमतिबिना नै उनको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।

बयानका क्रममा पुन मगर र राई दुवैले प्रहरी डीआईजीबाट रकम माग गरिएको वा धम्की दिइएको भनिएको त्यस्तो कुनै घटना नै नभएको स्पष्ट पारेको अख्तियारले जनाएको छ ।

आङबाबु राईको नाम र दस्तखत दुरुपयोग गरी अरूलाई दुःख र हैरानी दिने बदनीयतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि आयोगले पुन मगरलाई भ्रष्टाचार निवारण ऐनको दफा ४९ लगायतका प्रचलित कानुनबमोजिम २ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेको थियो ।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए।

छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने बताएका छन् ।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ ।

‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।

उनले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जबाफदेही बनाउने व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन् ।

‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ उनले भनेका छन् ।

राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले गर्ने निगरानीलाई उनले लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरेका छन् ।

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ ।

पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।

दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।

दशैंको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन् । यात्रुको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्न उनले चालकलाई विशेष सन्देश दिएका छन् ।

टाइम कार्डअनुसार सडकखण्ड पार गर्न लाग्ने समय

प्रहरीले लागू गरेको टाइम कार्डअनुसार विभिन्न सडकखण्ड पार गर्न निम्न समय निर्धारण गरिएको छ ।

हेटौँडा देखि भैँसेसम्म : २५ मिनेट

भैँसे देखि भीमफेदीसम्म : ३० मिनेट

भीमफेदी देखि कुलेखानीसम्म : ४० मिनेट

कुलेखानी देखि फर्पिङसम्म : ४५ मिनेट

निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिमा कमी आउने र दुर्घटनाको जोखिम न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ ।

टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति रहेको थियो ।

प्रहरीले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले चालकलाई संयमित भएर सवारी चलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ ।

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

 

यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताए । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताए ।

उनकाअनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार भएको थियो । सोमबार ३२१ र मङ्गलबार १८६ जनाको उद्धार भएको हो । बुधबार भने ४४१ जनाको उद्धार भएको सहायक प्रजिअ शर्माको भनाइ छ ।

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताए । बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकोप्टर प्रयोग गर्नुपरेको उनि बताउँछन् ।

“राहत वितरण गर्नका लागि पनि हेलिकोप्टरकै प्रयोग भइरहेको छ । यताबाट उद्धार गर्न जाने हेलिकप्टरले राहतका सामग्री लाने र उताबाट आउँदा मान्छेलाई उद्धार गरेर ल्याउने गरेको छ”, उनले भने ।

रेडक्रसको सहयोग

यसैबीच, नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढीको प्रतिकार्यलाई तीव्रता दिएको छ रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरूले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।”

बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ ।

महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन), म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पुगेको उनले जानकारी दिए ।

महामन्त्री खनालले भने “क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पुर्‍याउन स्वयंसेवक तल्लीन छन् ।”

आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्टि गर्ने अन्तिम म्याद असोज ३१ गतेसम्म तोकिएको छ।

विभागका अनुसार पाक्षिक रूपमा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत २०८३ असोज १६ देखि ३१ गतेसम्मको अवधिमा जारी भएका खरिद बिलका आधारमा उपहार कुपन वितरण गरिनेछ। सो अवधिको उपहार कुपन कात्तिक १ गते खोली विजेता घोषणा गरिने विभागले जनाएको छ।

कार्यक्रममा सहभागी हुन तोकिएको अवधिभित्र नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको आधिकारिक पोर्टल https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्टि गर्नुपर्नेछ। विवरण प्रविष्टिपछि उपभोक्ताले उपहार कुपन प्राप्त गर्न सक्नेछन्।

विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने स्पष्ट पार्दै वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।

त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न विभागले अनुरोध गरेको छ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।