
सरकारले सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने उद्देश्यले विद्युत् व्यापारको तयारीका लागि निजी कम्पनीहरूलाई आशय पत्र (लेटर अफ इन्टेन्ट-एलओआई) प्रदान गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार निजी क्षेत्रलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता पहिचान र व्यापारिक साझेदारीका लागि आवश्यक तयारी अघि बढाउने बाटो खुलेको हो।
नेपालमा जलविद्युत् उत्पादनमा निजी क्षेत्रको लगानी विस्तार भइरहेका बेला सरकारले विद्युत् व्यापार तथा बजार विकासमा समेत निजी क्षेत्रलाई सहभागी गराउने नीति अघि बढाएको छ। यसलाई उत्पादनसँगै विद्युत्को बजार सुनिश्चित गर्ने दिशामा गरिएको पहलका रूपमा हेरिएको छ।
मन्त्रालयको निर्णयअनुसार आशय पत्र प्राप्त कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको सम्भाव्यता अध्ययन गर्न, सम्भावित विद्युत् खरिदकर्ता र व्यापारिक साझेदार पहिचान गर्न तथा प्राविधिक एवं वित्तीय तयारी अघि बढाउन सक्नेछन्।
यसबाट निजी क्षेत्रले विद्युत् उत्पादनमा मात्रै नभई उत्पादित विद्युत्को बजार खोज्ने, व्यावसायिक अवसर पहिचान गर्ने र भविष्यमा सीमापार कारोबारका लागि आवश्यक आधार तयार गर्ने अवसर पाउनेछ।
नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तारसँगै उत्पादित विद्युत्को दीर्घकालीन बजार व्यवस्थापन महत्त्वपूर्ण विषय बन्दै गएको छ। विशेष गरी आन्तरिक खपत र सीमापार व्यापारका अवसरबीच समन्वय कायम गर्दै विद्युत् उत्पादनबाट अधिकतम आर्थिक लाभ लिन बजार विस्तार आवश्यक मानिन्छ।
सरकारको पछिल्लो निर्णयले विद्युत् व्यापारमा निजी क्षेत्रको सम्भावित भूमिकालाई संस्थागत रूपमा अघि बढाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, सरकारले प्रदान गरेको आशय पत्रलाई विद्युत् व्यापार सञ्चालन गर्ने अन्तिम अनुमतिका रूपमा लिन नमिल्ने मन्त्रालयको निर्णयसम्बन्धी विवरणमा स्पष्ट पारिएको छ।
आशय पत्र प्राप्त गर्दैमा सम्बन्धित कम्पनीले तत्काल स्वदेशी वा विदेशी बजारमा विद्युत् खरिद–बिक्री गर्न पाउने छैनन्।
वास्तविक विद्युत् कारोबार सञ्चालनका लागि प्रचलित कानुनअनुसार आवश्यक कानुनी व्यवस्था, व्यापार अनुमतिपत्र, सम्बन्धित नियामक तथा अन्य निकायको स्वीकृति र प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ।
यसर्थ, हालको व्यवस्था विद्युत् व्यापारको व्यावसायिक तयारीका लागि उपलब्ध गराइएको अवसर हो। यसले स्वतः विद्युत् निर्यात वा आयात गर्ने कानुनी अधिकार प्रदान गर्दैन।
नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले लामो समयदेखि विद्युत् उत्पादनमा लगानी गर्दै आएको छ। उत्पादनसँगै व्यापारिक सम्भाव्यता अध्ययनमा निजी क्षेत्रलाई सहभागी गराउँदा नयाँ बजार र लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सीमापार विद्युत् व्यापारका लागि सम्भावित विदेशी खरिदकर्तासँग सम्पर्क विस्तार, प्राविधिक सम्भाव्यता मूल्यांकन तथा वित्तीय व्यवस्थापनका विकल्प पहिचान गर्नु महत्त्वपूर्ण हुनेछ।
यद्यपि, विद्युत् व्यापारको वास्तविक विस्तार सम्बन्धित मुलुकको नियामकीय व्यवस्था, अन्तरदेशीय सम्झौता, प्रसारण पूर्वाधारको उपलब्धता र व्यापारिक सर्तमा निर्भर रहनेछ।
सरकारको यस पहलले निजी क्षेत्रलाई ऊर्जा बजारको अध्ययन र व्यावसायिक तयारीमा सहभागी गराउने आधार तयार गरेको छ। तर, आशय पत्र प्राप्त कम्पनीहरूलाई वास्तविक व्यापार सञ्चालनको अनुमति दिने कानुनी तथा संस्थागत प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयले यसको प्रभावकारिता निर्धारण गर्नेछ।
विद्युत् उत्पादनसँगै बजार विकास र क्षेत्रीय ऊर्जा व्यापारलाई जोड्ने उद्देश्यले अघि बढाइएको यो व्यवस्थाको कार्यान्वयन आगामी कानुनी, नियामकीय तथा प्रशासनिक निर्णयमा निर्भर रहनेछ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिंकले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्न थालेको छ। कम्पनीले खेलाडीको व्यक्तिगत कौशल, मेहनत र प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एक्स्ट्रीम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने व्यवस्था गरेको हो।
आठ टोली सहभागी प्रतियोगितामा एक्स्ट्रीम इनर्जी ड्रिंकले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीले प्रायोजन गरेका टोलीका उत्कृष्ट खेलाडीलाई उक्त पुरस्कार प्रदान गरिनेछ। एक्स्ट्रीम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक-एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो खेलबाटै पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।
कम्पनीका अनुसार खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत योगदान र उत्कृष्ट प्रदर्शनलाई समेत सम्मान गर्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको हो। यसबाट खेलाडीमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास हुने अपेक्षा गरिएको छ।
एक्स्ट्रीम इनर्जी ड्रिंकले आफ्नो यस पहलबाट एनपीएलप्रतिको आकर्षण बढ्नुका साथै नेपाली क्रिकेटका खेलाडी र समर्थकमा थप उत्साह सिर्जना हुने विश्वास व्यक्त गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण हिमपात, हिमआँधी र हिम पहिरोको जोखिम बढ्ने पूर्वानुमानपछि अध्यागमन विभागले तीन दिनका लागि जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति नदिने निर्णय गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने सम्भावना देखिएकाले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई अनुमति प्रदान गरिने छैन।
मौसमसम्बन्धी पूर्वानुमानलाई आधार बनाउँदै विभागले सम्भावित दुर्घटना तथा मानवीय क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको हो।
विभागका अनुसार जोखिमयुक्त क्षेत्रमा पदयात्रा गर्ने उद्देश्यले दिइने अनुमति आजदेखि नै रोकिएको छ। यससँगै सम्बन्धित क्षेत्रमा पदयात्रा गर्ने तयारीमा रहेका विदेशी पर्यटकको यात्रा योजना प्रभावित हुन सक्ने देखिएको छ।
विभागले विशेष गरी निषेधित क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटक तथा पदयात्रा व्यवस्थापनमा संलग्न व्यक्ति र संस्थालाई उक्त अवधिमा यात्रा नगर्न तथा नगराउन अनुरोध गरेको छ।
यसअघि नै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्राका लागि गइसकेका पर्यटकलाई पनि मौसमको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।
हिमपात, हिमआँधी तथा हिम पहिरोको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा पदयात्रीको सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भएकाले विभागले पूर्वसावधानीका रूपमा अनुमति रोक्ने निर्णय गरेको हो।
विशेष गरी उच्च हिमाली क्षेत्रमा मौसमको अवस्था प्रतिकूल हुँदा पदमार्ग अवरुद्ध हुने, यात्रा प्रभावित हुने तथा उद्धार कार्यमा समेत कठिनाइ आउन सक्ने जोखिम रहन्छ। यस्तो अवस्थामा पदयात्रा जारी राख्नुभन्दा सुरक्षित स्थानमा रहनु उपयुक्त हुने विभागको सूचनाको आशय छ।
विभागले पदयात्रामा रहेका विदेशी पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमै बस्न र जोखिमयुक्त क्षेत्रमा थप यात्रा नगर्न आग्रह गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।
आज भएको खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा अलआउट हुँदै १ सय १३ रनमा समेटियो ।
जनकपुरका मयान यादवले १४, त्रित राज दासले १ र मोइन अलीले १९ रन बनाए । अनिल साहले ११, कुसल परेराले ६ र जेम्स निशमले १५ रनको योगदान दिए । कप्तान हरमित सिंहले १९ रन बनाउँदा अभिषेक तिवारीले २० रनको इनिङ खेले । राहुल यादव र ललित राजवंशीले समान १–१ रन जोडे ।
कर्णालीका लागि हुसैन तलत र युनीश सिंहले समान ३–३ विकेट लिए । नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।
कर्णालीका लागि आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । पवन सर्राफले ३६, दीपक डुम्रेले १३ र गुल्शन झाले १२ रन जोडे ।
मार्क वाटले १ रन मात्रै बनाए । हुसेन तलत ३ रनमा आउट भए भने अकबर अली १ रनमै आउट भए । सोमपाल कामी र युवराज खत्रीले समान १–१ रन बनाउँदा नन्दन यादवले ९ रन जोडे ।
जनकपुरका लागि कप्तान हर्मित सिंहले ३ विकेट लिए । मोइन अली र राहुल यादवले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् ।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन् ।
पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान् जन्मिन थालेको उनको टिप्पणी छ । भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति रहेको भन्दै उनले समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरे ।
ओलीले भने, ‘अब यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवान्हरू छ्याप्छ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए, धन्न पार्वतीले सराप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ’अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने सराप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् । भनेपछि ठप्प भए देवताहरू अब । अब देवता, बढी देवता जन्मिदैनन् । तर पार्वतीले सराप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैँले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’
अध्यक्ष ओलीले पछिल्लो समय योगलाई पनि ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । योगको सुरुवाती चरण कुनै ईश्वरसँग सम्बन्धित नरहेको उनको दाबी छ ।
अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको मार्गमा हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनले बताए । यिनै मान्यतालाई आधार बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘सत्यबाट हामी आफ्ना विचार बनाउन प्रस्थान गर्न थाल्छौँ । त्यहीँबाट हाम्रा विचारको प्रस्थान हुन्छ, न्यायबाट र मानवतावादबाट । यसैकारण यो अष्टाङ्ग योगको अष्टाङ्गमध्येको पहिलोले के भन्छ भन्दाखेरि– यम, दोस्रोले के भन्छ– नियम । यो गर, यो नगर । यम, नियम भनेको त्यो । हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिँड, सबैको सुरक्षा भन्छ । अस्तेय, अर्काको सम्पतीमा लोभ नगर । आफ्नो हकको, जायज हकको चीजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ । हामीले खोजेकै त्यही त हो नि !’
अरूको सम्पत्तिमा लोभ नगर्ने र आफ्नो जायज हकमा मात्र सीमित रहने मान्यता आफूहरूले खोजेको सामाजिक आदर्शसँग मेल खाने ओलीको भनाइ छ ।
पतञ्जलिको योगमा आइपुग्दा योग दर्शन ईश्वरवादसँग मिसिएको उनले दाबी गरे । त्यसअघि सांख्य र शैव परम्परामा योग ईश्वरवादसँग नमिसिएको उनको भनाइ छ ।
‘तर यसमा के छ भनेदेखि यहाँ आइपुग्दाखेरि योग पतञ्जलिमा आइपुग्दाखेरि ईश्वरवादमा मिसिन गएको छ । त्योभन्दा अगाडि ईश्वरवादमा योग मिसिँदैन । सांख्यमा ईश्वरवादमा योग मिसिँदैन, शैवमा ईश्वरवादमा योग मिसिँदैन । आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन् । बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख । शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ उनले भने ।
ओलीले योगले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने पनि बताए । उनले मदन भण्डारी स्मृति प्रतिष्ठानलाई नयाँ खोज तथा अनुसन्धान र रैथाने ज्ञान, सीप तथा परम्पराको खोजीमा ध्यान दिन आग्रह गरे ।
हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्।
स्थानीय देवीदेवताको पूजाआजा तथा परम्परागत नाचका क्रममा धामीले आफ्नै कम्मरमा फलामको डण्डा भाँचेर प्रदर्शन गरेको दृश्यले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।
कर्णालीका हिमाली जिल्लामा धामी नाच स्थानीय धार्मिक आस्था, विश्वास र मौलिक संस्कृतिसँग जोडिएको परम्परा हो।
विभिन्न पर्व तथा धार्मिक अवसरमा आयोजना गरिने यस्ता गतिविधिले स्थानीय सांस्कृतिक परम्परालाई जीवन्त राख्न मद्दत गर्दै आएका छन् ।
पूर्णिमाका अवसरमा माझ्खाडामा आयोजित कार्यक्रममा देखाइएको धामी नाचले स्थानीय धार्मिक विश्वास र परम्पराको झल्को दिएको स्थानीय काली थापाले बताए ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।
चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो।
नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर १२.०९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनिलिभरको शेयर ४.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २८ करोड ५८ लाख बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीमाथि टिप्पणी गर्दै राईले सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा सरकारको कामको मूल्याङ्कन गर्न नहुने बताएका हुन् । उनले सरकारका वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ । सरकारले गरेका कामको मूल्याङ्कन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन्, उनले भने, त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु ।’
राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि सरकारको भूमिकामाथि प्रश्न उठाए । कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था दुःखद् भएको उल्लेख गर्दै उनले नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताए ।
कुनै पनि देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले त्यसलाई सच्याउन माग गरे । प्रधानमन्त्रीको अभिव्यक्ति र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका भनाइप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताउँदै उनले यी विषय संसद्मा उठाउने जानकारी दिए ।
सीमा र राष्ट्रियताका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने उनको भनाइ छ । राष्ट्रियता र देश निर्माणका सवालमा सबै राजनीतिक शक्ति दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुनुपर्ने उनले बताए ।
‘राष्ट्रियता र सीमा जस्ता विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर हामी सबैले जिम्मेवार नागरिकका रूपमा उभिनुपर्छ । यी विषयमा सदनमा प्रश्न उठाउने नै छौँ,’ उनले भने ।
राईले राष्ट्रियताको पक्षमा उभिनु कुनै राष्ट्रको विरोध गर्नु नभएको स्पष्ट पारे । आफ्नो देशको सार्वभौमिकताको रक्षा गर्नु र राष्ट्रिय स्वाभिमानका पक्षमा बोल्नु अरू देशको विरोध गर्नु नभएको उनको भनाइ छ ।
यसैगरी, सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरी फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि उनले चिन्ता व्यक्त गरे । राजनीतिक दलप्रति अन्धभक्त बन्ने र राष्ट्रिय हितका विषयमा प्रश्न उठ्दा पनि समर्थनमा ताली बजाउने प्रवृत्तिबाट मुक्त हुन उनले युवाहरूलाई आग्रह गरे ।
‘कुनै पनि राजनीतिक दलको अन्धभक्त नबनौँ । देशको हित र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्दा पनि ताली बजाउने प्रवृत्तिबाट मुक्त बनौँ,’ उनले भने ।
देशको हित, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका सवालमा दलगत आग्रहभन्दा माथि उठेर सचेत नागरिकका रूपमा उभिनुपर्नेमा राईले जोड दिए ।
राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित वडामा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ ।
समितिको मंगलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले राहत वितरणको समग्र तथ्याङ्क मात्र पर्याप्त नहुने भन्दै प्रभावित पालिका र वडागत विवरण उपलब्ध गराउन सरकारसँग माग गर्ने बताउनुभएको हो ।
उहाँका अनुसार प्रभावित प्रत्येक वडामा कति नगद राहत, खाद्यान्न तथा अन्य सहायता उपलब्ध गराइएको छ भन्ने विवरण आवश्यक छ । त्यसका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी तथ्याङ्क व्यवस्थित रूपमा उपलब्ध गराउन उहाँले समितिको सचिवालयलाई निर्देशन दिनुभएको छ ।
खोज, उद्धार र राहत वितरणको प्रारम्भिक चरण लगभग सकिएको उल्लेख गर्दै सभापति पौडेलले अब प्रभावित नागरिकका गुनासा सम्बोधन गर्ने र सरकारी तथ्याङ्कको वास्तविकता जाँच्ने काममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
‘नेपाल सरकारले यति अर्ब, यति करोड राहत दिएका छौँ भनेर भएन । प्रभावित पालिकामा कति पुग्यो र प्रभावित वडामा कति पुग्यो भन्ने विवरण चाहियो । मैले पाएको इन्फर्मेसनमा ४९ जति वडा प्रभावित छन् । ती वडामा कति राहत पुग्यो ? के–के पुग्यो ? नगद कति पुग्यो ? खाद्यान्न कति पुग्यो ? यो कुरा सरकारले अद्यावधिक गरेर हाम्रो समितिलाई दिनुपर्यो,’ उहाँले भन्नुभयो ।
सरकारबाट प्राप्त तथ्याङ्क सही र व्यवस्थित भएमा मात्रै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर उचित निर्णय लिन सकिने उहाँको भनाइ छ ।
समितिले विपद् प्रभावित वडामा भएको क्षतिको वैज्ञानिक अभिलेखीकरणलाई प्राथमिकतामा राखेको छ । प्रत्येक वडाका अध्यक्ष र प्राविधिकको हस्ताक्षरसहित क्षतिको विवरण तयार पार्ने योजना रहेको सभापति पौडेलले बताउनुभयो ।
उक्त विवरणमा मृतक तथा बेपत्ता व्यक्तिको सङ्ख्या, प्रभावित परिवारका बालबालिकाको अवस्था, पशुपन्छीमा भएको क्षति, खेतीपातीको नोक्सानी तथा प्रभावित परिवारको सामाजिक र आर्थिक अवस्थासमेत समेटिनेछ ।
त्यसैगरी, प्रभावित नागरिकको रोजगारी, उद्योग–व्यवसाय र विद्यालय सञ्चालनको अवस्थाबारे पनि अभिलेख राख्नुपर्ने उहाँको भनाइ छ ।
सरकारले उपलब्ध गराएको विवरण र स्थानीय नागरिकले दिएको जानकारीबीच फरक देखिएमा सम्बन्धित सरकारी निकायलाई समितिमा बोलाएर स्पष्टीकरण लिइने उहाँले बताउनुभयो ।
‘सरकारले हामीलाई दिएको डेटा र त्यहाँका नागरिकले भनेको डेटाबीच फरक आयो भने फेरि सरकारलाई बोलाउँछौँ । तपाईँले हामीलाई यति गर्यौँ भन्नुभएको थियो, तर त्यहाँका नागरिकले त यो होइन भन्छन् भने त्यसबारे स्पष्ट पार्नुपर्छ । यो अलिकति संवेदनशील कुरा पनि छ । कुन वडामा कति बेपत्ता भए ? तिनीहरूका बालबच्चाको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? उद्योग–व्यवसायको अवस्था के छ ? त्यसको विस्तृत विवरण हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
समितिले सरकारी विवरण र स्थानीय तहबाट प्राप्त तथ्याङ्क भिडाएर प्रमाणीकरण गरेपछि मात्रै स्थलगत अनुगमनमा जाने तयारी गरेको छ ।
समितिमा प्रस्तावित कार्ययोजनाअनुसार कात्तिक १७ देखि २१ गतेसम्म रसुवा, नुवाकोट र धादिङका विपद् प्रभावित क्षेत्रको अनुगमन गरिनेछ ।
अनुगमनका क्रममा सम्बन्धित जिल्लाका सङ्घीय तथा प्रदेश सांसद, प्रभावित गाउँपालिका र नगरपालिका, वडा प्रतिनिधि, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका जिल्ला सभापति तथा अन्य सरोकारवालासँग अन्तरक्रिया र छलफल गर्ने तयारी छ । प्रस्तावित कार्यक्रमअनुसार धादिङको गल्छी, नुवाकोटको विदुर र रसुवाको धुञ्चेमा छलफल गरिनेछ ।
समितिले राहत वितरणको समग्र विवरणमा मात्र सीमित नभई प्रभावित वडामा वास्तविक रूपमा पुगेको सहायता, भएको क्षति र नागरिकले भोगिरहेका समस्यालाई आधार बनाएर अनुगमन गर्ने जनाएको छ ।
बैठकमा सहभागी सांसदहरूले भोटेकोशी र कालीगण्डकी कोरिडोरका साथै गोरखा तथा बुढीगण्डकी कोरिडोरमा समेत अनुगमन गर्नुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले विपद् प्रभावित नागरिकको दैनिक जीवनयापन, मानसिक स्वास्थ्य, रोजगारी र कृषिमा परेको प्रभावबारे जानकारी लिन सम्बन्धित विज्ञ, मन्त्रालय तथा विभागका प्रतिनिधिलाई समेत अनुगमनमा सहभागी गराउनुपर्ने बताएका थिए ।





