
विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ ।
खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगतको भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ । तर, कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली स्वीकार्य हुन नसक्ने रास्वपाको ठहर छ ।
समाचारमा चित्त नबुझे वा उजुरी भएमा राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र कानुनी निकायहरू क्रियाशील रहेको अवस्थामा, स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाले जनाएको छ ।
कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै, कुनै पनि भय र त्रासका बाबजुद निर्भिकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिताको पक्षमा उभिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमील्सीनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको तथा पत्रकारको खोजी गर्दै सञ्चारगृहमा पुगेको घटनाप्रति विरोध भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत रिहाइको जानकारी दिएका हुन्।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ सञ्चारमन्त्रीले लेखेका छन्। उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वतन्त्र प्रेस र जिम्मेवार पत्रकारिताको महत्त्वसमेत औँल्याएका छन्।
‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’ उनको स्टाटसमा उल्लेख छ।
यसअघि शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। सुवेदी र बराललाई सम्बन्धित सञ्चारमाध्यमका कार्यालयबाट नियन्त्रणमा लिइएको थियो भने बस्नेतलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बोलाएपछि नियन्त्रणमा राखिएको थियो ।
त्यसैगरी, नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका प्रहरी पुगेर संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा उपस्थित गराउन खोजेका थिए। नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले प्रहरी टोलीसँग पक्राउ पुर्जी नरहेको बताएका थिए।
पत्रकारलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको थियो। महासंघका महासचिव रामप्रसाद दाहालले यस्तो कार्य प्रेस स्वतन्त्रता र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेका थिए। उनले यस्ता गतिविधि नरोकिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाबारे जानकारी पाएलगत्तै उनीहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी हुन्।
दाहालले पत्रकार पक्राउ गर्ने विषयमा प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको उल्लेख गरेकी छन्। घटना सार्वजनिक भएपछि मात्रै प्रधानमन्त्रीले त्यसबारे जानकारी पाएको उनको भनाइ छ।
‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ,’ दाहालले लेखेकी छन्।
उनले घटनाबारे जानकारी पाएपछि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएको पनि जनाएकी छन्। ‘उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ,’ उनको भनाइ छ।
शुक्रबार प्रहरीले विभिन्न सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी गरेको घटना सार्वजनिक भएपछि प्रेस स्वतन्त्रताका विषयमा प्रश्न उठेका छन्। नेपाल पत्रकार महासंघले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ।
पत्रकार पक्राउको घटनाप्रति सार्वजनिक रूपमा चासो र आपत्ति व्यक्त भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयबाट यस्तो स्पष्टोक्ति आएको हो।
प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार कार्यालय समय सकिएपछि सादा पोसाकका प्रहरी विभिन्न सञ्चारमाध्यममा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलले जनाएको छ।
काउन्सिलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारलाई नियन्त्रणमा लिनुको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको तथा अदालतको अनुमति लिएको नदेखिएको उल्लेख छ। सार्वजनिक बिदा सुरु हुनुअघि लगातार दुई दिनसम्म पत्रकारलाई नियन्त्रणमा लिने कार्य भएको भन्दै काउन्सिलले त्यसप्रति आपत्ति जनाएको हो।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको काउन्सिलको ठहर छ। पक्राउको कानुनी आधार र प्रक्रिया तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई अविलम्ब रिहा गर्न काउन्सिलले आग्रह गरेको छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भए वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परे त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी आफ्नो रहेको काउन्सिलले स्पष्ट पारेको छ। समाचारकै विषयमा प्रत्यक्ष प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा उसले जोड दिएको छ।
यसका लागि नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ। साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको संवर्द्धनप्रति काउन्सिल प्रतिबद्ध रहेको उल्लेख छ।
विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्न अनुमति दिएको हो।
नेपालविरुद्ध पतञ्जली योगपीठलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
उक्त मुद्दा करिब डेढ वर्षदेखि विशेष अदालतमा विचाराधीन छ। मुद्दाको अन्तिम टुंगो नलाग्दै नेपालले वारेसमार्फत अदालतमा प्रतिनिधित्व गर्न पाउने अनुमति मागेका थिए।
अदालतको अनुमतिसँगै नेपालले उक्त मुद्दामा कानुनबमोजिम वारेस राख्न पाउने भएका छन्।
पत्रकारहरूमाथि प्रहरीले धरपकड थालेको छ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाको मोबाइलमा भेटिएको सम्पर्क विवरण सार्वजनिक गर्ने पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको हो।
प्रहरीले प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्दै विवरण सार्वजनिक गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार पक्राउ गरेको छ।
प्रहरीले आजै मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरेको थियो । बराल अनामनगरबाट पक्राउ परेका हुन् ।
पुतलीसडकस्थित नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी परिचालन गरिएकाे छ। नयाँ पत्रिकाले इनम सापकोटा र सर्वोच्चका न्यायाधीश हरि फुयाँलको बिचमा कुराकानी हुने गरेको विवरण सार्वजनिक गरेको थियो ।
दियो पोस्टका प्रधान सम्पादक सुदिप विश्वकर्मालाई पनि प्रहरीले खोजिरहेको बताइएको छ। प्रहरी टाेली दियाे पाेस्टकाे कार्यालयमा समेत पुगेकाे छ।
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएका निर्देशन बारम्बार पालना नगरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई निलम्बन गरेको हो।
मन्त्रालयका अनुसार नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट दिइएका निर्देशन पालना नगरेको पाइएको थियो। साथै, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको मन्त्रालयले जनाएको छ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूलाई २०८३ भदौ २३ गते छलफलका लागि बोलाएको थियो। छलफलपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ जेठ १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरिएको थियो।
तर, उक्त आग्रहसमेत पालना नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन गरेको आधारमा सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गरेको हो।
निलम्बनसँगै संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। निलम्बन अवधिमा संस्थाको नाम प्रयोग गरी गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब ११ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी दिङबुतेबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
उनका अनुसार होटल सञ्चालक कुलबहादुर तामाङ रहेका छन् । आगलागीबाट होटलका दुईवटा भवन पूर्णरूपमा जलेको छ ।
प्रहरी निरीक्षक तामाङका अनुसार अहिले आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण आउन बाकी रहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको उनले बताए ।
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।
नदीले बगाएर टाढा पुर्याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो ।
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गरेका हुन् ।
विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरेर कार्यसम्पादन भइरहेको उनले जानकारी दिए ।
एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म १ हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ ।
विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा समेत क्षति पुगेको र सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई चिर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।
शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ । यसले देश–विदेशमा रहेका आफन्तहरूलाई शव पहिचान गर्न सहज भएको छ ।
यसका साथै डीएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइते व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्याङ्क प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको छ ।
यद्यपि, भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै पनि केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको वास्तविक संख्या यकिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
‘शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला’, विभागका मौसमविद् डेभिड ढकालले बताए ।
भारतमा शक्तिशाली चक्रवात ‘अर्नब’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।
उनका अनुसार आज दिउँसो र राति देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
‘आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ’, उनले भने।
विभागका अनुसार राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ । सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोक जिल्लाको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको छ ।
यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भएको विभागले जनाएको छ ।





