
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो ।
जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए।
कर्णालीका मार्क वाटले २ विकेट लिए।
आजको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको छ।
यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।
अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री कार्यालयको नियमित पत्रकारकार सम्मेलनमा शुक्रबार प्रवक्त हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ जम्मा भएको जानकारी दिए ।
देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको कार्यालयले जनाएको छ। नागरिकको जिउधनको सुरक्षामा कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिइएको छ।
यसैबीच, प्रधानमन्त्रीले भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा नेपालमा हालै गएको बाढीपहिरोपछि भारत सरकारले उद्धार तथा राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक पनि शुक्रबारदेखि सुरु भएको छ। बैठकमा हालसम्म सम्पादन भएका कार्यक्रम तथा क्रियाकलापको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भइरहेको छ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीमध्ये २१ वटा गुनासो छानबिन तथा आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय र मन्त्रालयमा पठाइएको छ।
कात्तिक १६ गते बसेको सचिव बैठकले मन्त्रालय तथा निकायहरूले चालु आर्थिक वर्षका लागि तयार गरेका विस्तृत कार्यान्वयन योजनालाई समयबद्ध रूपमा कार्यान्वयन गर्न र प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्न निर्देशन दिएको छ। महालेखा परीक्षकले औँल्याएका बेरुजु फछ्र्यौट तथा न्यूनीकरणका लागि पनि स्पष्ट कार्ययोजना बनाउन भनिएको छ।
उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभावजस्ता अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई थप सघन बनाउने निर्णयसमेत भएको कार्यालयले जनाएको छ। सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग तथा प्रवद्र्धन गर्ने र सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली २०८३ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ।
त्यस्तै, सरकारी वेबसाइटको सुरक्षा मजबुत बनाउन एसएसएल तथा टीएलएस सर्टिफिकेट अनिवार्य गर्ने र विभिन्न प्रविधिमा देखिएका सुरक्षा कमजोरीबारे साइबर सुरक्षा एड्भाइजरी जारी गरिएको छ। व्यक्तिगत डाटा संरक्षण नीतिको मस्यौदामाथि पनि राय तथा सुझाव संकलन गरिएको कार्यालयले जनाएको छ।
लगानीतर्फ अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी र विद्युत् प्रसारण लाइनको प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी कागजात प्राप्त भएपछि आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको कार्यालयले जानकारी दिएको छ।
यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले कात्तिक १७ गतेदेखि विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) को दोस्रो संस्करण सञ्चालनमा ल्याएको छ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ। रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको अदालत स्रोतले जनाएको छ।
कार्कीले आफूलाई कानुनी प्रक्रिया पूरा नगरी प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सरकारी निर्णय बदर गरी पदमा पुनर्बहाली गर्न माग गरेका छन्।
बिहीबार सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन अदालत प्रशासनले अध्ययन गर्नुपर्ने भन्दै बिहीबार दर्ता गरेको थिएन। शुक्रबार दर्ता प्रक्रिया अघि बढेसँगै रिट न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गरेको हो।
सामान्यतया रिट निवेदन दर्ता भएपछि लगत्तै सुनुवाइका लागि पेसी तोकिने भए पनि तिहार बिदाका कारण कार्कीको निवेदनमाथिको प्रारम्भिक सुनुवाइ पछि सरेको हो। शनिबारेदेखि कात्तिक २५ गते बुधबारसम्म बिदा रहेकाले कात्तिक ३० गतेका लागि पेसी निर्धारण गरिएको अदालत स्रोतको भनाइ छ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.लाई नयाँ महानिरीक्षक नियुक्त गरेको थियो। कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको थियो।
पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले सिंहदरबारभित्रै राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ ।
सल्लाहकारको गाडीको ठक्करबाट सांसद गैरे सामान्य घाइते भएकी छन् ।
मन्त्रालयअघि जेब्रा क्रसिङमा हिँडिरहेका बेला मन्त्रीका सल्लाहकारको गाडीले ठक्कर दिएको सांसद गैरेले बताइन् । ‘मन्त्रालयअघि जेब्रा क्रसिङमा म बाटो काट्दै थिएँ, हात पनि दिएको थिएँ,’ उनले भनिन्, ‘तैपनि मलाई गाडीले ठक्कर दियो, भुइँमा लडेँ ।’
उनले आफूलाई गाडीले ठक्कर दिएको घटनाबारे राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई समेत जानकारी गराइसकेकी छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ ।
प्राविधिक जटिलता र कार्यालयको बिदाका कारण रोकिएको राहत वितरण तिहारपछिको पहिलो दिनबाटै सुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् ।
शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गरे ।
उप्रेतीका अनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पुर्याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ । मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको उनले जानकारी दिए ।
राहत वितरणको तयारीबारे उप्रेतीले भने, ‘विपद् प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । विकास साझेदारहरूसँगको सहकार्यमा कृषि उपज, विशेषगरी काउली र आलु नष्ट हुन नदिन बिदुरसम्म ढुवानी गर्ने व्यवस्था गरिएको छ । प्रभावित परिवारलाई दिइने १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता वितरणका लागि लाभग्राही विवरण तयार भइसकेको छ । प्राविधिक समस्या र प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएपनि वैकल्पिक व्यवस्था अपनाएर तिहारपछि पहिलो दिनदेखि लाभग्राहीको खातामा रकम पठाउने तयारी गरिएको छ ।’
यसअघि नै ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको र दोहोरो सहायता नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । तिहारलाई लक्षित गरी विकास साझेदारमार्फत आवश्यक सामग्री खरिद गर्न मिल्ने भौचर वितरणसमेत भइरहेको उनको भनाइ छ ।
सडक पूर्वाधारको विषयमा बोल्दै उनले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताए । ‘सडक तथा पुल पुनःस्थापनामा पनि निरन्तर काम भइरहेको छ । कठिन भौगोलिक अवस्थाका बाबजुद धुन्चेसम्मको सडक सञ्चालनमा ल्याइएको छ । स्याफ्रुबेँसीमा निर्माण गरिएको अस्थायी पुल बाढीले क्षति पुर्याए पनि पुनःस्थापनाका प्रयास जारी छन्,’ उनले भने ।
दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उनले उल्लेख गरे । यस विषयमा चीन सरकारसँग छलफल भइरहेको र आधुनिक, सुरक्षित तथा वातावरणमैत्री सडक निर्माणले व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको उनले बताए ।
उप्रेतीले भने, ‘अस्थायी आवाससँगै स्थायी आवास निर्माणको मोडेललाई अन्तिम रूप दिने काम पनि तीव्र रूपमा भइरहेको छ । प्रशासनिक तथा प्राविधिक अवरोध हटाउँदै प्रभावित नागरिकलाई छिटो राहत, सहायता र पुनःस्थापनाको सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।’
अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तीव्रता दिइएको बताउँदै उप्रेतीले तिहारको बिदाका समयमा पनि सम्बन्धित टोलीले काम गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधा फुकाउन प्राधिकरण सक्रिय रहेको उनको भनाइ छ ।
बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ। सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ।
नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६, न्यू शक्ति नुनको २० र भानु नुनको नौ रुपैयाँ तोकेको छ। तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ। गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै बढी छ।
मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा प्रतिप्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ। तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए।
‘पाङसिङबाट साम्दोसम्म एकपोका नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रुपैयाँ पर्छ। आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्च छुट्टै छ। त्यसपछि पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एकपोका नुनको मूल्य २०० पुग्छ’, उनले भने।
सामागाउँभन्दा केही तल वडा नं २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० पर्ने भएकाले एक प्याकेट आयोनुनको मूल्य १५० रुपैयाँ पर्ने गरेको छ। गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट १०० मा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए।
‘पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ भाडा लाग्छ। त्यतिबेला नुनको मूल्य १०० पर्छ’, उनले भने, ‘वर्षायाममा ढुवानी भाडा प्रतिकिलो ७० सम्म पुग्छ। त्यसअनुसार सामानको मूल्य पनि बढ्छ।’ वडा नं ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिकिलो नुनको मूल्य १०० देखि १७० सम्म पर्ने स्थानीयवासीले बताएका छन्।
त्यस्तै, चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले एक प्याकेट आयोनुनको १८० देखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन्। पाङसिङबाट डेढदेखि दुई दिनको पैदलदूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० भाडा लाग्ने गरेको छ। त्यहाँबाट केही वर रहेको लामागाउँसम्म ५५ र छेकम्पारको छेकम गाउँसम्म प्रतिकिलो ५० ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए। छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पर्छ।
गाउँपालिका–६ चुम्लिङमा भने एक प्याकेट आयो नुनको १०० रुपैयाँ पर्ने स्थानीय गोपाल लामाले बताए। उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपैयाँ भाडा लाग्छ।
सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ। कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको कर्पोरेसनका गण्डकी प्रदेश प्रमुख सागर सेरचनले जानकारी दिए।
‘उत्तरी गोरखाको मागअनुसार कर्पोरेसनले आयो नुन पठाउँछ। हामीले यहाँबाट प्रतिकिलो २८ का दरले नुन पठाएका हुन्छौँ’, उनले भने, ‘पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ।’
सरकारले ढुवानी अनुदान दिएर पठाएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन। अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए। ‘सरकारले जगतसम्म नुन पुर्याउन ढुवानी अनुदान दिन्छ। त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्छ। त्यसैले हामीले चर्को खच्चड ढुवानी भाडा तिर्नैपर्छ’, उनले भने।
नेपाली सेनाले गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म सडकको ट्र्याक खोलेको छ। तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ। बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ। बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन। फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छ वटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन्।
सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा पनि प्रतिप्याकेट ३० पर्ने आयोनुनको मूल्य ६० पर्ने स्थानीय कुमारी गुरुङले बताइन्। आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ।
मोटर पुगेको वडा नं ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो। खच्चडबाट मनास्लु क्षेत्रको अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खाद्यान्न पुर्याउँदा प्रतिकिलो १०० ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए। उनका अनुसार तीन दिनको पैदलयात्रापछि गाउँमा पुग्ने खाद्यान्नको ढुवानी खर्च प्रतिकिलो १०० पर्छ।
नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनतेरस मनाइँदै छ। यस अवसरमा नयाँ सुनचाँदीका गरगहना, सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा भित्र्याउने र पूजा गर्ने परम्परा छ।
धनतेरसलाई धनसम्पत्ति र समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। यस दिन सुन, चाँदी, तामा तथा पित्तलका सामान किन्नु शुभ मानिने धार्मिक विश्वास छ। यही परम्पराअनुसार बजारमा धनतेरसका लागि सुनचाँदीका गरगहना तथा विभिन्न धातुका सामग्रीको किनमेल हुने गर्छ।
धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी रहनेछ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ।
पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाउन लागिएको हो। आज बिहान ११ बजेर १० मिनेटपछि सुरु हुने त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ।
मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलनसमेत छ। यस दिन धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ।
यसरी धनतेरससँगै सुरु हुने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गरिन्छ।





