२०८३ कार्तिक २१ गते शुक्रबार
२०८३ कार्तिक २१ गते शुक्रबार

विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत वितरण गर्ने तयारी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ ।

 

प्राविधिक जटिलता र कार्यालयको बिदाका कारण रोकिएको राहत वितरण तिहारपछिको पहिलो दिनबाटै सुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गरे ।

उप्रेतीका अनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पुर्‍याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ । मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको उनले जानकारी दिए ।

राहत वितरणको तयारीबारे उप्रेतीले भने, ‘विपद् प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । विकास साझेदारहरूसँगको सहकार्यमा कृषि उपज, विशेषगरी काउली र आलु नष्ट हुन नदिन बिदुरसम्म ढुवानी गर्ने व्यवस्था गरिएको छ । प्रभावित परिवारलाई दिइने १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता वितरणका लागि लाभग्राही विवरण तयार भइसकेको छ । प्राविधिक समस्या र प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएपनि वैकल्पिक व्यवस्था अपनाएर तिहारपछि पहिलो दिनदेखि लाभग्राहीको खातामा रकम पठाउने तयारी गरिएको छ ।’

यसअघि नै ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको र दोहोरो सहायता नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । तिहारलाई लक्षित गरी विकास साझेदारमार्फत आवश्यक सामग्री खरिद गर्न मिल्ने भौचर वितरणसमेत भइरहेको उनको भनाइ छ ।

सडक पूर्वाधारको विषयमा बोल्दै उनले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताए । ‘सडक तथा पुल पुनःस्थापनामा पनि निरन्तर काम भइरहेको छ । कठिन भौगोलिक अवस्थाका बाबजुद धुन्चेसम्मको सडक सञ्चालनमा ल्याइएको छ । स्याफ्रुबेँसीमा निर्माण गरिएको अस्थायी पुल बाढीले क्षति पुर्‍याए पनि पुनःस्थापनाका प्रयास जारी छन्,’ उनले भने ।

दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उनले उल्लेख गरे । यस विषयमा चीन सरकारसँग छलफल भइरहेको र आधुनिक, सुरक्षित तथा वातावरणमैत्री सडक निर्माणले व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको उनले बताए ।

उप्रेतीले भने, ‘अस्थायी आवाससँगै स्थायी आवास निर्माणको मोडेललाई अन्तिम रूप दिने काम पनि तीव्र रूपमा भइरहेको छ । प्रशासनिक तथा प्राविधिक अवरोध हटाउँदै प्रभावित नागरिकलाई छिटो राहत, सहायता र पुनःस्थापनाको सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।’

अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तीव्रता दिइएको बताउँदै उप्रेतीले तिहारको बिदाका समयमा पनि सम्बन्धित टोलीले काम गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधा फुकाउन प्राधिकरण सक्रिय रहेको उनको भनाइ छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।