
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए।
विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र मतदान हुनुअघिसम्म पनि छलफल जारी रहने मुख्यमन्त्री यादवको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसैगरी, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव सरकारको निरन्तरताका लागि आवश्यक बहुमत जुटाउने प्रयासमा छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।
त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना प्रदेशसभा सदस्य छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बुधबार कुनै खेल नहुने भएको छ। प्रतियोगिताको तालिकाअनुसार आज विश्राम दिन राखिएको छ।
प्रतियोगिताअन्तर्गत भोलि बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछन्।
त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।
अमेरिका बस्ने नेपालीमूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित अदालतले उनलाई मंगलबार दोषी ठहर गरेको हो ।
प्रिन्स विलियम काउन्टीको अदालतमा सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ । त्यति बेलासम्म भट्ट हिरासतमै रहनेछन् ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश करिब १० वर्षअघि धनगढीमा मेडिकल प्रतिनिधि (एमआर) का रूपमा काम गर्थे । सेती प्रादेशिक अस्पताल आसपासका दुई मेडिकलमा उनको लगानीसमेत थियो । व्यवसाय राम्रै चलिरहेका बेला उनी २०७३ साउन १४ गते अमेरिका गएका थिए ।
अमेरिकी सेनामा भर्ती हुने उद्देश्यले पुगेका उनी एक वर्षपछि २०७४ असारमा अमेरिकी सेनामा भर्ती भएका थिए । पक्राउ पर्नुअघि उनी अमेरिकी सेनाको सूचना प्रविधि विभागमा कार्यरत थिए ।
सामाजिक सञ्जालमार्फत ममतासँग चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७७ मंसिर २५ गते विवाह गरेका उनीहरूको आठ महिनापछि ममता पनि अमेरिका पुगेकी थिइन् । करिब एक वर्षअघि उनीहरूले छोरीलाई जन्म दिएका थिए ।
ममतालाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो । जुलाई २९ मा नेपालमा रहेकी आमासँग भिडियो कल गरेपछि उनको फोन र सामाजिक सञ्जालमा कुनै गतिविधि देखिएको थिएन ।
सहकर्मीहरूको आग्रहमा अगस्ट २ मा प्रहरी उनीहरूको घर पुगेको थियो । त्यसबेला नरेशले आफूहरू अलग हुन लागेको र ममता न्युयोर्क वा टेक्ससमा परिवारका सदस्यलाई भेट्न गएको हुन सक्ने बताएका थिए । तर, प्रहरीले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको पत्ता लगाएको थियो । त्यसपछि प्रहरीले घरमा खानतलासी गरी नरेशलाई पक्राउ गरेको थियो ।
दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ ।
यो मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि।सं। १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।
जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेवमा मन्दिरमा पनि टीका लगाइने
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ।
२०३५ साल अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो। त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो।
पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ।
नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइ दिने दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको रहेको छ ।
दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।





