
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत उनी रिहा भएका हुन् ।
डिल्लीबजार कारागार स्रोतका अनुसार रायमाझीलाई बिहीबार बिहान श्रीमती र परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरिएको हो ।
‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ । आज बिहान उहाँ यहाँबाट जानुभयो,’ कारागार स्रोतले भन्यो ।
रायमाझीले ज्येष्ठ नागरिकको सुविधा पाउनुपर्ने भन्दै अदालतमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अदालतले संशोधित कैदीपुर्जी कारागारमा पठाएको थियो । काठमाडौं जिल्ला अदालतले पनि कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ ।
रायमाझी २० वैशाख २०८० मा पक्राउ परेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाइएको थियो ।
यही कसुरमा थप ६ महिना कैदसमेत निर्धारण गरिएको थियो ।
सबै कसुरको सजाय एकीकृत गर्दा रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला भएको थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस आज बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान पाँच खेल खेलेको पोखरा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।
पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।
प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ । त्यसैले लुम्बिनीविरुद्धको खेल कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ ।




