
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ ।
सूर्य उपासनाको महापर्व छठको दोस्रो दिन आज देशभर खरना (लोहण्डा) विधि मनाइँदैछ । छठ पर्वको महत्वपूर्ण विधिका रूपमा रहेको खरनामा व्रतालुहरू दिनभर उपवास बसेर साँझ विशेष पूजाआराधना गर्ने गर्छन् ।
खरनाका दिन व्रताहरूले माटोको नयाँ चुलोमा सख्खरको खीर र रोटी पकाएर छठी मातालाई चढाउने परम्परा छ । पूजापछि उक्त प्रसाद परिवारका सदस्यसँगै ग्रहण गरिन्छ ।
खरनाको प्रसाद ग्रहण गरेपछि व्रतीहरूले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । यस अवधिमा उनीहरूले अन्न र पानीसमेत ग्रहण नगरी व्रत बस्ने परम्परा छ ।
छठ पर्वको तेस्रो दिन भोलि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ । त्यसका लागि तराई–मधेससहित देशका विभिन्न स्थानमा नदी, पोखरी तथा जलाशयका घाटहरू सजाइएको छ । पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ व्रत सम्पन्न हुनेछ ।
छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक विश्वास छ ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ।





