२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना भइरहेकाले विपद्को जोखिम अझै कायमै रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले सार्वजनिक अपिल जारी गर्दै नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेको अवस्थामा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

शाहका अनुसार असोज ८ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको छ । विपद्मा परी ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता रहेको विवरण प्राप्त भएको उनले बताएका छन् ।

मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र त्यसबारे विवरण संकलन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

उनका अनुसार बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएका छन् । यसबाट सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ ।

प्रधानमन्त्री शाहले विपद्का कारण प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको बताएका छन् । बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको उनको भनाइ छ ।

बाढीका कारण नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको शाहले बताएका छन् । पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडकहरू पनि बाढी तथा पहिरोबाट प्रभावित भएका छन् ।

त्यस्तै, बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको उनले जानकारी दिएका छन् । प्रसारण लाइनका टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने जोखिमका कारण ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमता भएका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा रोकिएको शाहले बताएका छन् ।

महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ । सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले बाढी तथा हावाहुरीका कारण किसानको धानबाली, तरकारीलगायतका कृषि उपजमा समेत ठूलो क्षति पुगेको बताएका छन् ।

उनले विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी राखिरहेको बताएका छन् । संकटका बेला भ्रामक प्रचार फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ ।

‘हामी धैर्य, संयम र एकताका साथ यो विपद्को पनि सामना गर्नेछौँ,’ शाहले भनेका छन् ।

मनाङको चामेनजिकै लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ। घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीका कारण मर्स्याङ्दी नदी थुनिएको हो। नदीको बहावसमेत बढिरहेका कारण आसपासका क्षेत्रमा जोखिम बढेको उनले बताए।

‘घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले भने, ‘नदीको बहाव बढिरहेकोले जोखिम बढिरहेको छ।’

नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिले मर्स्याङ्दी नदी क्षेत्रमा साइरन बजाइएको छ। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ ।

फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुन्छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो । संयुक्त अरब इमिरेट्स (युएई)ले विपद् उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुई वटा बोटमध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार उक्त बोट फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ । पानीमा तीव्र गतिमा आवतजावत, ‘वाटर सर्च’, ‘रेस्क्यु’, आपत्कालीन उद्धार तथा ‘वाटर पेट्रोल’का लागि बोट उपयोगी हुने उनले बताए ।

‘फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकताअनुसार उक्त बोट प्रयोग गरी उद्धार कार्य गर्नेछ । उच्च गतिमा पानीमा आवतजावत गर्न सक्ने भएकाले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार टोलीलाई घटनास्थलमा छिटो पुग्न सहयोग पुग्नेछ’, प्रहरी उपरीक्षक सिंहले भने ।

बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन उद्धार बोटले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

‘फेवातालमा आउने छालको पूर्वअनुमान गर्न नसकिएको भएकाले आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सकिने उच्च क्षमताको बोट सञ्चालनमा आउनु फेवातालको सुरक्षा व्यवस्थाका लागि महत्त्वपूर्ण उपलब्धि हो । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटको सुरक्षा पहिलो प्राथमिकता दिएका छौँ’, प्रमुख आचार्यले भने।

प्रमुख आचार्यले फेवातालमा आउने पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्नु पर्यटन प्रवर्द्धनसँगै स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी तथा पर्यटनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता थियो ।

नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो ।

 

यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३ः४० बजे नदीको जलसतह ११ दशमलव ७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।

नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए ।

कार्यालयका अभिलेखअनुसार विसं २०८१ असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११ दशमलव छ मिटर पुगेको थियो ।

विसं २०८० साउन २९ गते आठ दशमलव ३३ मिटर, विसं २०७९ असोज २० गते नौ दशमलव ५२ मिटर र विसं २०७८ असार २ गते १० दशमलव ५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उनका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन्।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आइतबार बिहान हिमलुङ हिमालमा हिमपहिरो गएको हो। हिमपहिरोमा परी १० जना बेपत्ता भएको सूचना आएको उनले बताए।

‘हिमपहिरोमा परेर १० जना बेपत्ता भएको सूचना आएको छ,’ पौडेलले भने, ‘हराएका भनिएकाहरू सबै नेपाली भन्ने विवरण आएको छ। यकिन भइसकेको छैन।’

बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। पहिलोपटक हेलिकप्टरबाट उद्धारकर्तालाई हिमपहिरो गएको भनिएको स्थानमा छाडिएको र थप उद्धारकर्तासहित अर्को हेलिकप्टर पनि घटनास्थलतर्फ जान लागेको पौडेलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बेपत्ता भएकाहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमलुङ हिमाल आरोहणका लागि गएका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ ।

बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा मात्रै ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ।

शुक्रबार रातिदेखि सप्तकोशी नदीमा पानीको बहाव बढेपछि बस्तीमा बाढी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको उनले बताए।

पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री वितरण गरिने नगरपालिकाको तयारी छ।

लगातारको वर्षा र नदीको जलस्तरमा भइरहेको उतारचढावका कारण सप्तरीका नदी तथा तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँ’मा पठाइएको बताएका थिए। तर उक्त सुरक्षित ठाउँ कहाँ हो भन्नेबारे उनले खुलाएका थिएनन्।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबराको निवास पुगेपछि उनलाई पक्राउ गरेर कार्यालय लगिएको थियो। पक्राउ पर्नुअघि जबराले आफ्ना भाइ प्रभुशमशेरलाई फोन गरी प्रहरी आएको जानकारी गराएका थिए।

प्रभुशमशेरले आइतबार बिहान आफूलाई प्रहरीले ‘जेनजीहरूबाट सुरक्षा थ्रेट’ रहेको भन्दै जबरालाई पक्राउ गरेर लगेको बताएका थिए। एसएसपी खड्काले पनि जबरालाई सुरक्षा थ्रेट रहेकाले रातारात कार्यालयमा ल्याएर राख्नुपरेको बताएका छन्।

यसैबीच, जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न दिएको थिएन। कार्यालयको गेटमा करिब ४५ मिनेट कुर्दासमेत भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो।

सरकारले जबरालाई पक्राउ गर्नुपर्नाको स्पष्ट कारण भने सार्वजनिक गरेको छैन। घटनाप्रति कानुनका जानकारहरूले समेत प्रहरीको पक्राउ गर्ने शैली र प्रक्रियामाथि प्रश्न उठाएका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न नदिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली प्रहरी कार्यालयबाटै फर्किएको छ ।

जबरालाई भेट्न कार्यालय पुगेको आयोगको टोलीले करिब ४५ मिनेटसम्म गेटमा कुर्दा पनि प्रहरीले भेट्न अनुमति नदिएपछि फर्किएको हो ।

गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनलाई अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । जबरा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्तोष खड्काको कार्यकक्षमा रहेको बताइएको छ ।

प्रहरीले सुरक्षा खतरा रहेको भन्दै जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जिकिर गरेको छ । तर, उनलाई पक्राउ गर्ने र प्रहरी कार्यालयमा राख्ने प्रहरीको शैलीमाथि कानुनका जानकारहरूले प्रश्न उठाएका छन् ।

मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिइएपछि जबराको पक्राउ र प्रहरी नियन्त्रणमा राखिएको विषय थप चासोको विषय बनेको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ ।

बाढीका कारण अन्य २३ घरसमेत उच्च जोखिममा परेका छन् । ती घरमा बस्न नसकिने अवस्था रहेको जनाइएको छ ।

उच्च जोखिममा रहेका घरका सरसामान सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतसहित अन्य सुरक्षा निकायका टोली उद्धार तथा राहत कार्यमा खटिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सुरक्षाकर्मीले जोखिममा रहेका बासिन्दाको सुरक्षालाई प्राथमिकता दिँदै उद्धार कार्य जारी राखेका छन् ।

चार दिनदेखि जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढी, पहिरो, लाइन फाल्ट र उपकरणमा परेको अत्यधिक भारका कारण पोखरा, बुटवल, हेटौँडा र काठमाडौंलगायत क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

वर्षा तथा बाढीको कारण पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी लाइनमा फाल्टका कारण करिब २०० मेगावाट उत्पादन प्रभावित भएको छ ।

रौघाङ लाइन १ र २ मा करिब १५५ मेगावाट उत्पादन प्रभावित भएको जनाइएको छ । त्यस्तै, कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी, मोदी लगायतका आयोजनाहरूमा बाढीका कारण उत्पादन-आपूर्ति अवरुद्ध भएको छ ।

पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्र करिब ४ सय मेगावाट भन्दा बढी क्षमताका आयोजना प्रभावित भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

न्यू बुटवल–कुस्मा २२० केभी लाइनको फाल्टपछि करिब ११० मेगावाट प्रभावित भएको छ ।

बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट भएको थियो । त्यस्तै, चापर–पथलैया १३२ केभी लाइन जाँदा कावासोती सबस्टेसनमा १ घण्टा लोड सर्टिलमेन्ट गरिएको जनाइएको छ ।

हेटौँडा क्षेत्रमा माण्डुको ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट, कावासोती–भारतपुर १३२ केभीमा भरतपुर सबस्टेसनमा सिभीटी जलेको छ ।

सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज/परवानीपुर/वीरगञ्ज उद्योगमा करिब ८० मेगावाट र काम्नेको सबस्टेसन तथा सो क्षेत्रका उद्योगमा करिब २५ मेगावाट आपूर्ति प्रभावित भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।