२०८३ भाद्र ६ गते शनिबार
२०८३ भाद्र ६ गते शनिबार

काठमाडौं । नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का, साथै उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान भइरहेको छ ।

यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।

२४ भदौमा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए ।

सो घटनापछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाएको थियो । प्रारम्भिक अनुसन्धानको आधारमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ ।

यसैबीच सरकारले २०४८ सालयता राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार सम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा २०६२ सालयताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्मका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने योजना सार्वजनिक गरिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा ओलीलाई मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको उल्लेख छ ।

ओलीलाई अस्पतालको ‘एनेक्स १’ भवनको बेड नम्बर ५०१ मा राखेर उपचार गरिएको छ ।

प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओलीलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकको सल्लाहअनुसार उनलाई थप निगरानीका लागि अस्पतालमै राखिएको हो ।

जेनजी आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने निर्णय अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।

प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको सूची सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूलाई प्रचलित कार्यविधिअनुसार रोजगारीमा समावेश गरिने तयारी गरिएको हो।

सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेपछि प्राधिकरणले सो निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो।

यद्यपि, सूचीमा समावेश भएका सबै व्यक्तिलाई आफ्नो नाता सम्बन्ध पुष्टि गर्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको छ। प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको परीक्षण गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद साम्पाङले देशको समग्र स्वास्थ्य र सुशासनका लागि राज्यका उच्च पदस्थको यस्तो परीक्षण अनिवार्य रहेको तर्क गरेका हुन् ।

“प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीको मापसे र लापसे चेकजाँच दैनिक गरिनु पर्दछ । सांसदको पनि गर्नुपर्छ,” उनले लेखेका छन्, “देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।”

सार्वजनिक पद धारण गरेका व्यक्तिले संवेदनशिल निर्णय गर्ने हुनाले उनीहरूको शारीरिक र मानसिक अवस्था सन्तुलित हुनुपर्नेमा उनले जोड दिएका हुन् । साम्पाङ पछिल्लो समय सामाजिक सञ्जालमार्फत शासकीय सुधार र अनुशासनका विषयमा धारणा राख्दै आएका छन् ।

काठमाडौं । शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । गत भदौ २३–२४ गते जेनजी आन्दोनलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।

शुक्रबार बसेको बालेन साह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार खड्कालाई आइतबार बिहान महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरी स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिएका छन् ।

जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ‘पैसा उडेको’ भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही प्रकरणसँग जोडिएका पक्षहरूसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ ।

बालेन शाह नेतृत्वको नयाँ सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीअन्तर्गत २०४८ सालपछि सार्वजनिक पद धारण गरेका राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गरिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका लागि १०० कार्यसूची स्वीकृत गरेपछि शनिबार सार्वजनिक गरिएको विवरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ। सो समिति १५ दिनभित्र गठन गरिनेछ।

कार्यसूचीअनुसार छानबिन दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा वि.सं. २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण र विश्लेषण गरिनेछ। दोस्रो चरणमा वि.सं. २०४८ देखि २०६१/६२ सम्म सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गरिने उल्लेख छ।

समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरू समावेश गरिने सरकारको योजना छ। छानबिन प्रक्रियालाई कानुनी मापदण्डमा आधारित, प्रमाणमुखी तथा निष्पक्ष बनाइने र समितिले पेश गर्ने प्रतिवेदन तथा सिफारिस सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

काठमाडौँ । भदौ २४ गते भएको घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने भएको छ।

बालेन नेतृत्वको सरकारले स्वीकृत गरेको शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत उक्त घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समय सीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइने उल्लेख गरिएको छ।

 

समितिको प्रतिवेदनका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ। 

यसका साथै विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न ३० दिन भित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया शुरु गर्नेसमेत जनाएको छ । 

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले गलत ढंगले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टीको बैठकले विज्ञप्ति जारी गर्दै यस्तो निष्कर्ष निकालेको हो । भदौ २३ र २४ गतेको घटनालाई निष्पक्ष ढंगले टुङ्ग्याउनु भन्दा पनि सरकारले थप राजनीति गर्न खोजेको देखिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भाद्र २३ को एउटै घटना, एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यबहार “सेलेक्टिभ” भएको देखिन्छ ।’

केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)का कार्यकर्ताले देशभर आन्दोलन गरेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त बनेको हो ।

भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपको स्थिति समेत सिर्जना भएको थियो । त्यसैक्रममा सात जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका पवन भट्टराईले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो । भट्टराईका अनुसार एक जना प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

सुरक्षामा खटिएका प्रहरीहरुले संयमित भई प्रदर्शन गर्न र सडक अवरोध हटाउन आग्रह गरिरहेका थिए । प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।