
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ ।
यसैगरी, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ ।
राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई आचारसंहिता लाग्नेगरी प्रस्ताव गरिएको छ ।
सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुमगन समितिका पदाधिकारी तथा अनुमगनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्ववद्यालय, सोका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र त्यसका कर्मचारीलाई पनि पूर्ण रूपमा आचारसंहिता लाग्नेछ ।
त्यस्तै, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदारलाई पनि आचारसंहिता लाग्छ ।
वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई पनि आचारसंहिता लाग्ने छ। आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाहसहित केही दिनभित्रै लागू हुने जनाइएको छ ।
काठमाडौं। राजधानी काठमाडौंको मुटु मानिने नयाँ सडक (न्युरोड)को प्रवेश पुल, जसलाई पार गरेर दिनहुँ हजारौँ मानिस हिँड्छन्, सरकारी भीभीआईपी सवारी कुद्छन्, व्यापार फस्टाउँछ, लाखौंको हिसाबकिताब हुन्छ । त्यही भीडको छायाँमा एउटा जीवन मौन रूपमा हराइरहेको थियो ।
न कुनै नाम थियो, न आवाज । न हात चल्थ्यो, न खुट्टा । बोल्न नसक्ने, हिँड्न नसक्ने, आफ्नै पीडालाई व्यक्त गर्न नसक्ने एक असक्त शरीर वर्षौँदेखि पुलछेउमा मागेर जिउँदै थिए, वा भनौँ, जिउँदो भएर पनि मरेतुल्य बाँचिरहेका थिए ।
शरीरभरि घाउ थिए । घाउ मात्र होइन, ती घाउबाट जीवन आफैँ झर्दै थियो । मासु कुहिएको थियो, हातखुट्टाको संवेदना हराएको थियो, शरीरबाट त्यत्तिकै दुर्गन्ध आइरहेको थियो । न खाने निश्चितता, न ओढ्ने, न हेर्ने कोही । मान्छेहरू दिनहुँ उही बाटो हिँड्थे, सायद देख्थे पनि । तर देखेर नदेखेजस्तै गर्थे । उनी समाजको आँखामा ‘बेवारिसे’ बनेका थिए ।
यही मौन पीडाको बीचमा एकदिन मानवताको आवाज उठ्यो । एकजना समाजसेवी सम्झना घिमिरेले उनको त्यो अवस्था देखेर खबर गरेपछि नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक डाक्टर सुनील शर्माले त्यो खबरलाई सामान्य सूचना मानेनन् । उनले त्यो आवाजलाई जीवनको पुकार ठाने ।
उनकै निर्देशनमा समय खेर नफाली एम्बुलेन्स पठाइयो । पुलछेउमा अलपत्र परेको त्यो शरीरलाई सम्मानका साथ अस्पताल ल्याइयो, जहाँ कुनै बोझ नभएर पहिलोपटक उनलाई ‘बिरामी’ भनेर सम्बोधन गरियो ।
अस्पताल पुग्नेबित्तिकै उपचारको पहिलो चरण सुरु भयो — सरसफाइ । वर्षौँको मैलो, घाउमा जमेको पीडा, शरीरमा जमेका उपेक्षा र फोहोर बिस्तारै पखालियो । नुहाइयो, घाउ सफा गरियो, संक्रमण नियन्त्रणमा लिइयो । त्यो केवल शारीरिक सरसफाइ थिएन, एउटा जीवनलाई फेरि मानिस बनाउने प्रक्रिया थियो ।
त्यसपछि सुरु भयो उपचार । घाउको उपचार, पोषण व्यवस्थापन, संक्रमण नियन्त्रण, आवश्यक औषधि र निरन्तर निगरानी । बोल्न नसक्ने भए पनि उसका आँखाले प्रतिक्रिया दिन थाले। पीडाको सट्टा आशाको चमक देखिन थाल्यो । डा.सुनिल शर्माले सम्पूर्ण निःशुल्क,औसधि उपचार खान सबै निसुल्क गर्ने व्यवस्था मिलाइदिए , किनकि मानवता मूल्यसँग साटिँदैन ।
आज उनको अवस्थामा सुधार देखिँदैछ । घाउ सुक्दैछन्, शरीरले उपचार स्वीकार गर्न थालेको छ । सबैभन्दा ठूलो कुरा— अब उनी एक्लो छैनन् । उनलाई हेर्ने आँखा छन्, छोइने हात छन्, बुझ्ने मन छन् ।
यो कथा केवल एउटा व्यक्तिको उद्धारको कथा होइन । यो समाजलाई ऐना देखाउने कथा हो, जहाँ एउटा अस्पताल केवल भवन होइन, एउटा आश्रय बन्न सक्छ । जहाँ एउटा चिकित्सक केवल पेशेवर होइन, भगवान् बनेर उदाउन सक्छ । र जहाँ ‘बेवारिसे’ भनिएको जीवन पनि मायाको स्पर्श पाएपछि फेरि बाँच्न थाल्छ ।
नयाँ सडकको त्यो पुल आज पनि उस्तै व्यस्त छ । तर त्यहाँबाट हराएको एउटा मौन पीडा आज अस्पतालको एक शैयामा आशाको सास फेर्दैछ । यही हो मानवीयताको विजय। जहाँ उपचारले मात्र होइन, करुणाले जीवन बचाउँछ ।
अनि त्यो जीवनदाता बनेर उदाएका छन् डाक्टर सुनील शर्मा ।
डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन, देशभर उत्तिकै लोकप्रिय छन् ।
काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।
बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले जने-जी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् ।
आयोगले बयानका लागि शुक्रबार उपस्थित हुन पत्राचार गरेको भन्दै उनले आफू भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताएका छन् ।
जेन-जी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्राचार गरेको थियो ।
पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबिच बिहीबार भेटवार्ता भएको छ ।
बुधबारदेखि राजनीतिक भेटवार्तालाई तिव्रता दिएका मेयर बालेनले बिहीबार बिहानैदेखि देशको राजनीति आफूतर्फ आकर्षित हुने गरी छलफल गरेका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा बालेनले रविसहितका व्यक्तिसँग भेटवार्ता गरेका हुन् ।
बालेन र रविबिच छलफल भइरहँदा बेन निवास परिसरमा सञ्चारकर्मी, जेनजी तथा शुभेच्छुकको भीड लागेको थियो ।
लामो समयको छलफलपछि रवि बाहिरिए । सोही क्रममा सञ्चारकर्मीले उनलाई बालेनसँगको भेटबारे जिज्ञासा राखे । तर, स्पष्ट जवाफ नदिइ रविले भने, ‘मेरो अनुहारले के भन्छ ?’
रविको कूटनीकि जवाफप्रति पुनः सञ्चारकर्मीले प्रश्न गरे, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’
यस प्रश्नको रविले स्पष्ट जवाफ दिएनन् । उनले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’
फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको छ।
बेनको ललितपुरस्थित निवासमा चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । उनले आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताए ।
यतिमात्रै होइन उनले आफैँले सामाजिक सञ्जालमार्फत छलफलका लागि दबाब दिन आफूले घरको गेटमा ताला लगाइदिएको बताए । सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उनको भनाइ छ ।
उनले एक भिडियो समेत जारी गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्झौता नहुँदासम्म हामी रवि लामिछाने र बालेन शाहलाई बाहिर जान दिने छैनौं !’
उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ । हामी यहाँ गार्ड छौँ, यहाँबाट कोही पनि भित्र छिर्दैन कोही पनि बाहिर निस्कँदैन । कुरा नमिलेसम्म यत्तिकै हो ।’
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिने गरेको बताएका छन् ।
एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिन काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, जेन-जी अभियन्ता सुधन गुरुङ र निकोलश भुसालहरूमाथि नसामा रमाउने गरेको आरोप लागिरहेका बेला ओलीले यो कटाक्ष गरेका हुन् ।
निकोलशले सार्वजनिक रुपमै लागुपदार्थ मानिने गाँजाको वकालत गर्ने गरेका छन् । उनले कहिलेकाहीँ खाने गरेको पनि बताउँछन्।
उता आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरुङले सार्वजनिक रुपमै भेपबाट धुमपान गरिरहेको भेटिएको थियो ।
बालेनमाथि पनि यस्तै आरोप लाग्ने गरेको छ। यही सन्दर्भमा ओलीले देशका चर्चित मानिसहरू नसामा भेटिने गरेको भनेर कटाक्ष गरेका हुन् ।
‘देशका चर्चित भनिएका मानिसहरू अचेल नसामा भेटिन्छन् । चर्चामा ल्याउन खोजिएका मानिसहरू नसामा हुन्छन्’, उनले भने, ‘हाम्रा युवाहरू कोही पनि दुर्व्यवसनमा लागेका छैनन् । मेरो भनाइलाई इख मानेर दुर्व्यसन छोडे भने म खुसी हुन्छु ।’
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउने उद्देश्यले ‘निर्वाचन आचारसंहिता-२०८२’ को मस्यौदा तयार गरेको छ । आयोगले बिहीबार उक्त मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग आवश्यक सल्लाह तथा सुझावको आह्वान गरेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले नयाँ आचारसंहिताको प्रस्ताव अघि सारेको हो । यो नयाँ आचारसंहिता लागू भएसँगै यसअघिको ‘निर्वाचन आचारसंहिता-२०७९’ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।
प्रस्तावित मस्यौदामा १० परिच्छेद र ५ वटा अनुसूचीहरू समावेश गरिएको छ । आयोगले यसपटक आचारसंहितामा केही कडा र नवीन प्रावधानहरू समेट्ने प्रयास गरेको छ । जसअनुसार, आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम अब आयोगले सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । यसले निर्वाचन प्रक्रियामा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ ।
यसैगरी, मस्यौदामा विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने तथा उम्मेदवार वा दलले निर्वाचन घोषणापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने जस्ता विषयहरूलाई प्राथमिकताका साथ उठाइएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी र स्वतन्त्र बनाउन सबै पक्षको रचनात्मक सुझावको अपेक्षा गरिएको आयोगले जनाएको छ ।
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै छन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्माएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उनले बताए।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको उनले सुनाए ।
महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।
दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो समय मुख्य सहरका प्रमुख स्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ । महासंघको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान ८ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने आदेश गरेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै कांग्रेसका ५७ जना पूर्वसांसदले रिट निवेदन दायर गरेका थिए ।
विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाउँ भनी पुरक निवेदन दिएका थिए ।
संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर १७ वटा रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, सभामुख लगायतबाट लिखित जवाफ आइसकेको छ ।
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधवार सुशीला कार्की नेतृत्वको सरकार भंग गर्न माग गर्दै विप्लवले राष्ट्रपति रामचन्द्र पौडेलसमझ ज्ञापनपत्र बुझाएका हुन् ।
‘वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ।’ ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ । पत्रमा जेजनी आन्दोलनको भावनाअनुसार, नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरिएको छ ।
साथै, विप्लवले १० दिनभित्र माग सम्बोधन नगरिए सडक सङ्घर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।
पढ्नुहोस् विप्लवले राखेका १३ माग :
१) वर्तमान अन्तरिम सरकारलाई भङ्गगरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ ।
२) जेनजी विद्रोहको भावना अनुरूप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्छ ।
३) भदौ २३९२४ गते भएका गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्छ ।
४) संविधान निर्माणदेखि असन्तुष्ट वर्ग, जाति, लिङ्ग, क्षेत्र, समुदाय र युवा लगायतका मागहरूलाई समेटेर संविधानको पुनर्लेखन गर्नुपर्छ ।
५) नयाँ संविधान अनुरूप राज्यको पुनर्संरचना गर्नुपर्छ । राज्यको पुनर्संरचना गर्दा अग्राधिकार सहितको समाजवादी सङ्घीय ढाँचामा गरिनुपर्छ ।
६) राजनीतिक स्थिरताका लागि कार्यकारी प्रमुखको छनोट प्रत्यक्ष निर्वाचनद्वारा गर्नुपर्छ ।
७) राज्यले उच्चस्तरीय भूमि आयोग बनाएर निष्पक्षताका आधारमा छानबिन गर्नुपर्छ । वास्तविक सुकुम्वासीलाई वासको सुनिश्चित हुनेगरी जमिन उपलब्ध गराउनुपर्छ ।
८) भ्रष्टाचारको निष्पक्ष छानबिन गर्ने उच्चस्तरीय नागरिक आयोग गठन गर्नुपर्छ ।
९) भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायालय गठन गर्नुपर्छ। उक्त न्यायालयको फैसला नै अन्तिम फैसला हुनुपर्छ ।
१०) राज्यको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्म कैद गर्नुपर्छ ।
११) गैरकानूनी रूपले आर्जन गरेको कालोधनलाई राज्यको मातहत ल्याउन ५ सय र १ हजारका नोटलाई खारेज गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्छ ।
१२) अस्थिर राजनीतिक परिस्थितिमा देशको स्वाधीनता र सार्वभौमिकतामाथि भई रहेको साम्राज्यवादी हस्तक्षेप रोकी घुसपैठियाहरूलाई कडा कारबाही गर्नुपर्छ ।
१३) नेपाली मौलिक जनसंस्कृतिमाथि भइरहेको साम्राज्यवादी सांस्कृतिक हस्तक्षेप बन्द गर्नुपर्दछ ।





