
काठमाडौं- स्थानीय तह र प्रदेशस्तरमा ३० भन्दा बढी जनप्रतिनिधिको पद खाली भएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि स्थानीय तह तथा प्रदेशसभा सदस्य रहेका केही जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएपछि ती स्थान रिक्त भएका हुन्।
स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।
स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा भएको थियो । २०७९ साल मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । यसआधारमा स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल एक वर्षभन्दा बढी छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे उपनिर्वाचनबारे निर्वाचन आयोग र सरकारले निर्णय गर्ने बताउँछन् ।
२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधि उम्मेदवार बनेका थिए । त्यसमध्ये १४ जनाले चुनाव हारे । १३ जना प्रदेश सभा सदस्य कार्यकाल नसकिँदै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उठेका थिए । ती मध्ये पाँचजनाले मात्र चुनाव जिते ।
यी लगायत रिक्त भएका स्थानीय तह र प्रदेश सभा सदस्यको ठाउँमा उपनिर्वाचन गर्ने वा के गर्ने भनेर सरकारसँग छलफल गर्न बाँकी रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।
काठमाडौं । श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरु भएसँगै अध्यक्ष हर्क साम्पाङले कारबाहीको चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्क्तिलाई सचेत गराएका हुन् ।
हर्कले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु !हद भो ।’ हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको साम्पाङ नेतृत्वको पार्टी राष्ट्रिय पार्टी बनेसँगै समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ ।
निर्वाचन आयोगमा ११० जनाकै समानुपातिक उम्मेदवारको सूची पठाएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सीट (पुरुष) जितेको छ । प्रत्यक्ष र समानुपातिक गरेर श्रम संस्कृतिको सांसद सङ्ख्या ७ पुग्छ । अब साम्पाङले ३३ प्रतिशत महिला सुरक्षित गर्नुपर्ने हुन्छ । कम्तीमा दुईजना समानुपातिक सांसद बन्ने देखिन्छ भने अन्य क्लस्टर पनि मिलाउनुपर्ने हुन्छ ।
महिला क्लस्टरमा १६ नम्बर सूचीमा रहेकी समला राईले पार्टीभित्र गुटबन्दी सुरु भइसकेको भन्दै मिडियाबाट हिजो हर्कलाई आफूलाई सांसद नबनाए राम्रो नहुने चेतावनी दिएकी थिइन् ।
उनले भनेकी छन्, ‘मभन्दा सङ्घर्ष गरेर आएको कोही छ भने म छाडिदिन्छु । तर, जनजातिमा अरू गयो भने राम्रो हुँदैन । हर्क साम्पाङ ज्यूले यो कुरा बुझ्नुपर्छ ।’
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। लामो समयदेखि उमेरजन्य स्वास्थ्य समस्याका कारण अस्वस्थ रहेका ओलीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।
मोहनप्रसादका दुई छोरा र तीन छोरी छन् । एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले नयाँ आपूर्तिकर्तासँग सम्झौता गरेर राहदानी प्रणाली, राहदानी पुस्तिका लगायत आवश्यक प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिएको छ ।
विभागका अनुसार आगामी एक-दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ । यो परिवर्तनको अन्तरिम अवधिमा प्रणाली स्थिर हुन केही समय लाग्न सक्ने भएकाले राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुन सक्ने जनाइएको छ ।
यस क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ । त्यसैगरी राहदानी विभागबाट दिइने सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने बताइएको छ ।
नयाँ प्रणाली कार्यान्वयन भएपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्न सक्ने विभागको भनाइ छ । त्यस अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार हुन अहिलेको भन्दा बढी समय लाग्न सक्ने विभागले स्पष्ट गरेको छ ।
यस अवस्थालाई ध्यानमा राख्दै विभागले आगामी छ महिनाभित्र, अर्थात् २०८३ असोजसम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेको छ ।
नयाँ प्रणाली सुरु हुने मिति र त्यस अवधिमा गरिने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने पनि विभागले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको नाम पेश गर्न दलहरूलाई ३ दिनभित्र समय सीमा तोकेको छ। यो प्रक्रिया समानुपातिक मतगणना पूरा भइसकेपछि सिट वितरण तय भएपछि गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, थ्रेसहोल्ड नियमअनुसार ३ प्रतिशतभन्दा बढी मत पाएका दललाई सिट उपलब्ध गराइने व्यवस्था अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ५७, नेपाली काँग्रेसलाई २०, नेकपा (एमाले) लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ४ सिट प्रदान गरिएको छ।
समानुपातिक मतगणनामा कुल एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो, जसमध्ये ९६.०५ प्रतिशत मत (एक करोड ८ लाख ३५ हजार २५) सदर भएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मतदाता रहेको निर्वाचनमा ९४.५५ प्रतिशत मत (एक करोड ५ लाख ५९ हजार १७) सदर भएको बताइएको छ।
प्रतिनिधि सभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ रहेको छ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरी प्रयोग गर्न पाइने आदेश २०८२ सालको राजपत्रमा प्रकाशित गरेको छ।
मन्त्रालयले बिहीबार राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पेट्रोलमा इथानोल मिसाउने बाटो औपचारिक रूपमा खुला गरेको हो।
यो निर्णय पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो। सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्नुको उद्देश्य स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर इथानोल उत्पादन गर्ने उद्योग प्रवर्द्धन गर्नु, रोजगारी सिर्जना गर्नु र पेट्रोलको आयात घटाउनु रहेको बताइएको छ।
काठमाडौँ । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट पाएको छ । दोस्रो बनेको काँग्रेसले २० सिट प्राप्त गरेको छ । एमालेले १६ सिट पाएको हो छ भने नेपाली कम्युनिष्ट पार्टीले ९सिट पाएको छ ।
श्रम संस्कृति र राप्रपाले समान चार/चार सिट पाए । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ ।
नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
निगमले आज विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाइ आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि निगमले शुक्रबारदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय भएको जनाएको छ । आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।
निगमले निगमले नियमित रुपमा माग अनुरूप नै एलपी ग्यासको आयात तथा वितरण गरिरहेको भए पनि विगत दुई/तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको प्रष्ट पारेको छ ।
धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।
साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।
साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।
धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. १२ बस्ने साहको उम्मेदवारी खारेज भएपछिको निर्वाचनमा रास्वपाको घण्टी चुनाव चिह्नमा करिब २३ हजार मत खसेको थियो ।
तर आयोगले साहको उम्मेदवारी खारेज भइसकेकाले १० हजार मत ल्याएका नेपाली कम्युनिस्ट पार्टीका मातृकाप्रसाद यादवलाई विजयी घोषित गरेर प्रमाण पत्र पनि दिएको छ। उनलाई बिहीबार मात्रै आयोगले आफ्नो वेबसाइटमा विजयी घोषित गरेको छ।
एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ ।
पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्याइएको थियो ।
कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ ।




