
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजीनामा दिने भन्दा पनि जिम्मेवारी पुरा गर्ने समय आएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टीका सभापती गगन थापालाई राजीनामा दिनुभन्दा पनि छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो रहेको बताएका हुन् ।
उनले लेखेका छन,‘राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो । त्यसैले गगन कुमार थापा ज्यूले नैतिकताको नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’
भण्डारीले समस्या देखेर भाग्नु भन्दा पनि उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको भएको उल्लेख गरे । उनले भने, ‘समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो ।’
उनले यो अवस्थामा कांग्रेस बचाउनु आफैँमा नैतिक दायित्व भएकाले युवाले कांग्रेसलाई छोड्दै गएको समयमा पार्टीलाई औषधि खुवाउनुपर्ने भएको बताए । यस्तोबेला कांग्रेस छाडेर हिँड्न नहुने उनको तर्क छ ।
‘नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ,’ उनले लेखेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् ।
रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष १२५ सहित दुईतिहाइ बहुमत पक्का गर्नै लाग्दा मोदीले सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।
रास्वपाबाट फागुन २१ को निर्वाचनपछि बालेन्द्र प्रधानमन्त्री हुने सहमति गत पुस १३ गते नै भइसकेको छ । निर्वाचनपछि प्रत्यक्ष र समानुपातिकको परिणाम अन्तिम चरणमा पुगिरहँदा दुवै नेतासँग मोदीले संवाद गरेका हुन् ।
उनले यो चुनावमा भएको ऐतिहासिक जितप्रति दुवैजनालाई बधाई दिएको पनि जानकारी गराएका छन् ।
सोमबार एक्स (ट्विटर) मार्फत उनले टेलिफोन संवादमा दुवै नेतालाई निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गरेका हुन्। मोदीले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको कल्याणका लागि सहकार्य गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
उनले दुवै देशको संयुक्त प्रयासमार्फत् आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्। मोदीले यसअघि फागुन २१ को निर्वाचन सफलतापूर्वक गराएकोमा सरकार र नेपाली जनतालाई बधाई दिएका थिए ।
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाका सबै १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ । फागुन २१ गते देशभर एकैसाथ सम्पन्न मतदानको अन्तिम परिणाम सोमबार राति संखुवासभाको मत गणना सकिएसँगै सार्वजनिक भएको हो ।
निर्वाचन आयोगका अनुसार संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गर्दै अन्तिम सिट सुरक्षित गरेका छन् । योसँगै प्रत्यक्षतर्फको १६५ सिटको छिनोफानो भएको छ ।
रास्वपाले परम्परागत शक्तिहरूलाई निकै पछाडि छाड्दै प्रत्यक्षतर्फ मात्रै १२५ सिटमा सानदार जित हासिल गरेको छ । यसैगरी नेपाली कांग्रेस १८ सिटमा खुम्चिएको छ भने नेकपा एमालेले ९ सिटमा चित्त बुझाएको छ । अन्य दलहरूमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ सिट प्राप्त गर्दा नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ । यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले पनि जित निकालेर संसदको यात्रा तय गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६४ हजार २३२ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७७ हजार ९४२ मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९३ हजार १३७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ६६० मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४९ हजार ०९० मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार २७३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३५ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५, ३६६) मत रहेका छन्।
काठमाडौँ। रौतहट-४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका सञ्चारकर्मी ऋषि धमलाले आम जनता पार्टी र ‘मोबाइल’ चुनाव चिह्नसँग आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूले प्रयोग गरेको चुनाव चिह्न तथा सम्बन्धित पार्टीसँग अब कुनै सम्बन्ध नरहने बताएका हुन्। उनका अनुसार उक्त चुनाव चिह्न उनले निर्वाचनका लागि मात्र प्रयोग गरेका थिए।
धमलाले आम जनता पार्टी तथा जनादेश पार्टीको आग्रहमा सो चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै आफू हालसम्म उक्त पार्टीको सदस्य नभएको र कुनै पनि राजनीतिक दलको औपचारिक सदस्यता नलिएको बताएका छन्।
उनले चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहले आफूलाई दुई पटक भेटेर जुनसुकै क्षेत्रबाट प्रतिस्पर्धा गरे पनि टिकट दिने प्रस्ताव गरेको दाबीसमेत गरे। तर अन्ततः आफूले ‘मोबाइल’ चुनाव चिह्न लिएर चुनाव लडेको उनको भनाइ छ।
धमलाले निर्वाचनमा आफूलाई सहयोग गरेका रौतहटका मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन्। यद्यपि आगामी दिनमा सक्रिय राजनीतिमा रहने वा पुनः पत्रकारितामा फर्किने भन्ने विषयमा भने उनले स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्।
रौतहट-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल ३६ हजार ८७६ मतसहित निर्वाचित भएका छन् भने धमलाले ६५५ मत प्राप्त गरेका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका केही मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्।
सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिक मतपत्रको ढ्वाङ खोल्दा भेटिएको स्वीकार गरेका छन्। उनका अनुसार प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका ढ्वाङ खोल्दा भेटिएको हो ।
ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।
मतपरिणाम घोषणा हुनुअघि नै मुचुल्का र गणनामा भेटिएको मतमा १८८ को फरक परेको भन्दै कांग्रेस उम्मेदवार लुइँटेलले प्रश्न उठाएका थिए । उनले मतपत्र हराएको र त्यसको खोजी गर्दै पुनः मतगणनाको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए ।
उनले प्रत्यक्षतर्फको मतपरिणामसम्बन्धी निर्णयमा हस्ताक्षेर गरेका छैनन् । उनका प्रतिनिधिले पनि हस्ताक्षर गरेका छैनन् । उनले यस विषयमा कानुनी प्रश्न उठाउने बताएका छन्। उनले जनताले दिएको मत बदर गर्न नमिल्ने तर्क गर्दै मतपत्रको खोजी नगरी परिणाम घोषणा गरिनु गैरकानुनी भएको दाबी गरेका छन्।
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।
उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याएका छन् ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेका छन् ।
चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र छ ।
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले आज आफ्नो चुनावी खर्च बुझाएका हुन् ।
बालेनले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ भएको उल्लेख गरेका छन् ।
उनले सवारी साधन भाडा २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रम खाना खर्च २९ हजार ३९०, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७०, प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार भएको उल्लेख गरेका छन्।
सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई सञ्जालमार्फत खुला पत्रलेखेको छन् । सिंहले फेसबुकमा लेखेको खुल्ला पत्रमा थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन् ।
उनले सर्लाहीमा आएर चुनाव लडेको भन्दै थापालाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाई आफैं उम्मेदवार भएर आएको भए प्रतिस्पर्धा अझ रोचक हुने थियो। तर तपाईं भ्रष्टहरुद्वारा आयातित उम्मेदवार हुनुभयो।’
साथै आफूविरुद्ध व्यक्तिगत र पारिवारिक जीवनमाथि टिप्पणी गराउन खोजिएको आरोप पनि सिंहले स्टाटसमार्फत गरेका छन्।
सिंहले राजनीति सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने आफ्नो विश्वास रहेको उल्लेख गर्दै चुनावका तिता कुरालाई अब समाप्त गरेर देश निर्माणमा सहकार्य गर्न सकिने संकेत दिएका छन् ।
सिंहले थापालाई कांग्रेस परिवर्तन गर्न खोजे पनि आफू परिवर्तन हुन नसकेको टिप्पणी गर्दै आगामी दिनमा स्वच्छ र पारदर्शी राजनीति गर्न सुझाव दिएका छन् ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिंहले सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट गगन थापालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।
नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
धनुषा क्षेत्र नम्बर १ को मत गणना सकिए पनि अन्तिम परिणाम घोषणा गरिएको छैन ।




