२०८३ कार्तिक २९ गते शनिबार
२०८३ कार्तिक २९ गते शनिबार

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा(डिभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरणको सोधिएको हो ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन्।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथिको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण र कागजातको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल पेस गर्न आदेश जारी गरेको हो ।

विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी हुन् । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले न्यायिक निरुपणका लागि सक्कल मिसिल आवश्यक रहेको ठहर गर्दै उक्त आदेश दिएको हो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे । 

उनले भने, ‘खेलकुदको आवश्यकता शारीरिक तथा मानसिक स्वास्थ्यका लागि, समाजका विभिन्न पक्षहरूलाई प्रतिबिम्बित गर्न, समाजको सभ्यता, संस्कृति आदिको परिचय गराउन हो । समाज कस्तो छ भन्ने तस्बिर देखाउन पनि हो । समाजको अवस्था देखाउन खेलकुदको असाधारण भूमिका र महत्व छ । अहिले विश्व फुटबल चलिरहेको छ । हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ । कस्तो उल्टोपाल्टो कुरा छ । हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ ।’

ओलीले नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै त्यसकै कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको दाबी गरे । उनले खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको हो।

उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको २०८३ असार ९ गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलनिकट विद्यार्थी संगठनका संरचना हटाउन भनिएको उल्लेख गरिएको छ।

पत्रअनुसार मन्त्रालयले ६० दिनभित्र शैक्षिक संस्थाबाट दलनिकट विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली विकास गर्न निर्देशन दिएको छ।

सोही निर्देशन कार्यान्वयनका लागि त्रिविले आफ्ना सबै आंगिक क्याम्पसलाई आवश्यक प्रक्रिया अघि बढाई गरिएको प्रगतिको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन आग्रह गरेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हिरासत अवधि तीन दिन थप गरिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको इजलासले सोमबार अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।

सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री गुरुङले आफ्नो सरकारी गाडीको कालो सिसा पनि हटाउन आग्रह गरेका थिए । ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्,’ उनले भनेका थिए ।

गृहमन्त्रीले प्रयोग गर्ने गाडीमा समेत कालो सिसा हटाउने प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार गृहमन्त्रीको निर्देशनपछि उनको प्रयोगमा रहेको गाडीको कालो सिसा पनि हटाइनेछ ।

असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएको कालो सिसा (स्टिकर) हटाउने अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा स्टिकर हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधनका सम्बन्धमा भने ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।

उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले ८ लाख रुपैयाँ र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने तथा हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिपछि उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं। दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै क्यानडा जारी फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ।

अमेरिकाको लस एन्जलस रंगशालामा सोमबार भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले स्तब्ध पार्दै क्यानडाले अघिल्लो चरणको यात्रा तय गरेको हो।

क्यानडालाई ऐतिहासिक सफलता दिलाउन स्टेफेन युस्टाकियो नायक बने। खेलको दोस्रो हाफको अतिरिक्त समय (इन्जुरी टाइम) मा उनले गरेको उत्कृष्ट गोल नै टोलीका लागि निर्णायक साबित भयो।

नयाँ इतिहास: विश्वकपमा तेस्रोपटक सहभागिता जनाइरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । यसअघिका संस्करणहरूमा क्यानडा समूह चरणबाटै बाहिरिने गरेको थियो।

यसअघि क्यानडा समूह ‘बी’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरण (राउन्ड अफ १६) मा आमनेसामने भएका थिए । जितसँगै क्यानडाले आफ्नो विश्वकप यात्रालाई थप रोमाञ्चक बनाएको छ भने दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिहरू फेरि एकताबद्ध हुन लागेको बताएका छन् ।

मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै खनालले क्रान्तिलाई नयाँ उचाइबाट अगाडि बढाउने गरी वामपन्थी शक्तिहरू एकताबद्ध हुन लागेको बताएका हुन् । वामपन्थी एकता धेरै अघिदेखि नै जरुरी रहेकामा अहिले बाध्यात्मक परिस्थिति सिर्जना भएकाले एकता अपरिहार्य रहेको उनको भनाइ छ ।

‘बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरू के–के पलायो–पलायो, त्यसकारण हामी एकताबद्ध हुन सकेनौँ,’ उनले भने, ‘अब परिस्थितिले बाध्य बनाएको छ । यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदै छौँ ।’

आजकै दिनबाट वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने कामको थालनी गर्न उनले आह्वान गरेका छन् । ‘हामी निकै लामो समयदेखि वैचारिक रूपले भिन्नभिन्न भएर आएका छौँ । यो भिन्नता एउटा विचार गोष्ठीले मेटिनेवाला छैन । लामो यात्रा गर्नुपर्ने छ, कम्तीमा आजको ज्वलन्त विषयमा एक हुँदै कार्यगत एकता गरेर अगाडि बढ्नुपर्नेछ,’ उनले भने ।

कम्युनिस्टहरू छिन्नभिन्न भएकाले भर्खरै सम्पन्न निर्वाचनमा वामपन्थी आन्दोलनले शर्मनाक पराजय बेहोर्नुपरेको उनको भनाइ थियो । ‘यदि निर्वाचनअघि नै दुई दलले कार्यगत एकता गरेको भए परिणाम अर्कै हुन्थ्यो । हिसाब गर्नुस्, नेकपाको १७ सिट र एमालेको २५ सिट जोड्दा ४२ सिट हुन्थ्यो । तर हामी जुध्दा ३२ सिट गुमायौँ, त्यो सिट हाम्रै हुन्थ्यो । त्यो जोड्दा ७२ हुन्थ्यो, दुई पार्टीबीच एकता भएको भए यो संख्या अझ बढ्थ्यो,’ उनले भने, ‘करिब १०० सिट वामपन्थीको हुन्थ्यो । आज यो बालेन तानाशाही चल्ने थिएन ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।