२०८३ भाद्र ७ गते आईतवार
२०८३ भाद्र ७ गते आईतवार

काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ।

सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ। उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए।

घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ। उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ।
यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ।

एनआरएनएले २९ बर्षीय श्रेष्ठको शव स्वदेश फिर्ता लैजाने लगायतका सम्पुर्ण कार्यमा नेपाली राजदुतवास सहजिकारणअ गर्न तत्पर रहेको जनाएको छ ।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचन सन्दर्भमा कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल वा समर्थन नगर्ने आफ्नो नीतिगत निर्णय पुनः स्पष्ट गरेको छ।

विशेषतः रुपन्देही जिल्ला क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस लाई समर्थन गरिएको भन्ने समाचारप्रति पार्टीले असहमति जनाउँदै त्यस्ता दाबी निराधार रहेको जनाएको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र रणनीति अवलम्बन गरेको उल्लेख छ। विज्ञप्तिअनुसार पार्टीको आधिकारिक नीति विपरीत हुने कुनै पनि गतिविधि अनुशासनको विषय बन्ने र त्यस्ता कार्यमा संलग्न हुने व्यक्तिमाथि आवश्यक कारबाही गरिने जनाइएको छ।

उक्त क्षेत्रमा प्राविधिक कारणले प्रत्यक्षतर्फ पार्टीको उम्मेदवारी कायम नरहेकाले समानुपातिकतर्फ मत संकलनमा केन्द्रित हुन पार्टीपंक्ति र समर्थकहरूलाई आग्रह गरिएको छ। निर्वाचनको सन्दर्भमा संगठनात्मक एकता र नीतिगत स्पष्टता कायम राख्न सबै तहका कार्यकर्तालाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, रुपन्देही-२ का उम्मेदवार रामबहादुर थापा ले पार्टी निर्देशन विपरीत गतिविधि गरेको ठहर गर्दै उनलाई निलम्बन गरिएको जानकारी पनि पार्टीले दिएको छ।

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिताका लागि सबै मतदातासँग अपिल गरेकी छन्।

होली अर्थात् फागु पूर्णिमाको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन्।

प्रधानमन्त्रीले देश फेरि इतिहासको महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै निर्वाचनमार्फत नागरिकले आफ्नै भविष्य निर्धारण गर्ने बताइन्।

उनले भोट हाल्नु केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नो र सन्तानको भविष्य तय गर्ने निर्णय भएको स्पष्ट पारिन्। त्यसैले मतदानका दिन अन्य काम छाडेर भए पनि मतदान केन्द्रमा पुग्न आग्रह गरिन्।

जेन–जी आन्दोलनपछिको जटिल अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ ल्याउन सफल भएको उल्लेख गर्दै उनले अहिले विधिको शासन र संविधानको मार्गमा देश अघि बढिरहेको दाबी गरिन्। उक्त उपलब्धि सबै नेपालीको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ।

निर्वाचनको सन्दर्भमा उनले राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयमित र सम्मानजनक ढंगले प्रचार–प्रसार गर्न आग्रह गरिन्। मौन अवधिको पूर्ण पालना गर्नसमेत उनले आह्वान गरेकी छन्।

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको भूमिकाको प्रशंसा गर्दै निष्पक्षता र मेहनतले निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन्।

सरकारले निर्वाचन सुरक्षामा चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको र संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय भइरहेको उनले जानकारी दिइन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मित्रराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोगलाई पनि सकारात्मक भनेकी छन्।

सामाजिक सञ्जालमा फैलाइने भ्रामक सामग्री र तथ्यहीन सूचनाप्रति सचेत रहन उनले आग्रह गरेकी छन्। यस्ता गतिविधिलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै दण्डहीनतालाई कुनै पनि हालतमा प्रश्रय नदिने चेतावनी दिइन्।

सम्बोधनको क्रममा उनले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षामा सरकार सतर्क रहेको बताइन्। परराष्ट्र मन्त्रालयमार्फत निरन्तर अनुगमन भइरहेको र आवश्यक सहजीकरण गरिने उनको भनाइ छ।

प्रधानमन्त्रीले निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आह्वान गर्दै फागुन २१ को मतदानलाई शान्तिपूर्ण र उदाहरणीय बनाउन सबैसँग सहयोग मागेकी छन्।

सम्बोधनको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नमस्कार !

आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु।

हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ।

आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ।

तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन्।

मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ।

जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो।

त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो।

आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो।

अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ:

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्।

भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।

तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।

दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो।

चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।

म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।

साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु।

यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ।

निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्।

प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्‍याएका छन्।

नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन्।

सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।

छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ।

निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ।

सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु।

साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु।

आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन।कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।

तेस्रो, हाम्रो उत्सवको कुरा ।

निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ। यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु।

यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ।

निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस्।

तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ।

चौथो– एक गम्भीर विषय।

आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ। इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ।

विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ। त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो।

त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।

हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।

अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु।

मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ।

आउनुहोस्, होलीको खुसी साटौँ। फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ।

धन्यवाद।

२०८२ फागुन १८ गते सोमबार ।

मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ ।

निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।

झण्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ ।

भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन् ।

तर त्यो आश निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरु बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन् । ‘अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन्’, यहाँका स्थानीय बिरभाने वादीले भने, ‘यहाँ जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ ।’

उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन । भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रुपमा रहेको यहाँका स्थानीय सीता बादीले बताइन् । हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरु यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन् ।

सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उनको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,’ यहाँका स्थानीय रेशम बादीले भने, ‘चुनावमा नेताहरु आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन् ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० जना छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन् । गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार आज (सोमबार) राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मका लागि निर्वाचनको औपचारिक प्रचारप्रसारमा पूर्ण रोक लगाइएको हो ।

आयोगको कार्यतालिका अनुसार, मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि सुरु हुने यो अवधि मतदान केन्द्रहरू पूर्ण रूपमा बन्द नभएसम्म कायम रहनेछ । यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूले कुनै पनि माध्यमबाट मतदाता प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन् ।

के गर्न पाइँदैन ?
मौन अवधिमा चुनावी सभा, जुलुस, सम्मेलन, गोष्ठी वा कार्यशाला जस्ता कुनै पनि औपचारिक कार्यक्रम गर्न निषेध गरिएको छ । आयोगले भौतिक उपस्थितिमा गरिने छलफल मात्र नभई सामाजिक सञ्जाल वा अन्य विद्युतीय माध्यमबाट समेत मत माग्न वा निर्वाचन प्रचार गर्न रोक लगाएको छ ।

यसैगरी, मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टर जस्ता प्रचार सामग्रीहरू आजै हटाउनुपर्ने प्रावधान छ । निर्वाचनको मर्यादा कायम राख्न र मतदातालाई स्वविवेकले निर्णय गर्ने वातावरण मिलाउन यो समयलाई अत्यन्तै संवेदनशील मानिन्छ ।

आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी नै खारेज हुन सक्ने
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको कडा पालना गर्न सरोकारवालाहरूलाई सचेत गराएका छन् । उनका अनुसार, यदि कसैले मौन अवधिको आचारसंहिता विपरीत गतिविधि सञ्चालन गरेको पाइएमा वा निर्वाचनको वातावरण बिथोल्ने प्रयास गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

आयोगले मौन अवधिमा हुने सक्ने अवाञ्छित गतिविधि र मतदातालाई प्रलोभनमा पार्ने कार्यको निगरानीका लागि विशेष अनुगमन टोली समेत परिचालन गरेको छ । सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आजैदेखि आफ्ना चुनावी गतिविधिहरू स्थगित गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आयोगले पुनः आह्वान गरेको छ ।

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दाह गरेपछि समापन हुन्छ ।

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका एक–एक जना नागरिकको ज्यान गएको जनाएको छ ।

आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुनेहरू यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान र इरानलगायत देशका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले घटनामा एक नेपाली नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरे । ‘यसबारे हामीलाई विस्तृत जानकारी दिइएको छैन,’ उनले भने । यूएई सरकारबाट मृत्यु भएकाहरूको औपचारिक परिचय भने सार्वजनिक भइनसकेको उनले बताए ।

यूएई रक्षा मन्त्रालयका अनुसार इरानतर्फबाट १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो । तीमध्ये १५२ वटा क्षेप्यास्त्र निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको जनाइएको छ ।

त्यस्तै दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन पनि प्रहार गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोन निस्तेज पारिए पनि २१ वटा ड्रोन सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा खसेको उल्लेख गरिएको छ ।

 प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।

निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका जानकारी दिए ।

मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।

मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन् । बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो । गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो ।

बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए ।

रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको भाइरल ज्वरो नर्खजी गाउँका चार बस्तीमा चारसय भन्दा बढी स्थानीयमा तीव्र रूपमा फैलिएको हो ।

नर्खजिमा रहेको स्वास्थ्य संस्थामा बिरामीहरुलाई बस्ने, आराम गर्ने बेड नहुँदा बिरामीहरु भुइमा र स्वास्थ्य संस्थाको पेटीमा आराम गर्ने गरेका छन् ।

प्रतिनिधी सभा निर्वाचन आउन केही दिन बाँकी रहेको बेला उम्मेदारहरुले आफ्ना लागि भोट मागीरहे पनि विरामीहरुका लागि कुनै पहल नभएको गुनासो आउने गरेको छ ।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

खत्याडगाँउपालिका वडा नम्बर ९ मा फागुन पहिलो साताबाट फैलिरहेको ज्वरोबाट धेरै जना स्थानीय बिरामी भइरहेको भन्ने खबर आएपछि जिल्ला अस्पताल, ठीनी ,खत्याड गाँउपालिकाको स्वास्थ्य शाखा र पालिकालगायत अन्य सरोकारवालासँग पहल भइरहेको जनाइएको छ ।

एक जनाको मृत्यु भएको खबर सुनेपछि खत्याड गाँउपालिकाबाट औषधीसहितको टोली नखैजी गाँउतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।