
काठमाडौँ । कतारमा हुने हवाई उडान बन्द भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतारले दोहा एयरपोर्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेकोले आजका लागि हुने उडान रोकिएको जानकारी दिए ।
‘त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ । युएई कुवेत लगायतका देशको बारेमा अहिलेसम्म खबर आएको छैन’ भुल भन्छन्, ‘हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकोले हामीले खबर पर्खिरहेका छौँ । दोहा चाहिँ बन्द नै भयो ।’
काठमाडौँ । खाडी मुलुकहरूले हवाई क्षेत्र बन्द गरेका छन् । इजरायलले इरानमाथि आक्रमण सुरू गरेपछि कतार, कुवेत र यूएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।
शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा हवाई आक्रमण गरेको थियो ।
इरानले पनि इजरायली आक्रमणको जवाफमा प्रतिआक्रमण सुरू गरेको छ ।
इजरायलले इरानविरुद्ध हमला गरेको छ । इरानले हमला गर्न सक्ने भन्दै इजरायलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।
आफ्नो आक्रमणको बदलामा अब निकट भविष्यमा इजरायलमा क्षेप्यास्त्र हमला हुन सक्ने अपेक्षा गरिएको पनि उसले बताएको छ । बिहानै विज्ञप्ति जारी गरी इजरायली रक्षामन्त्री इजरेल क्याट्जले देशमा “विशेष तथा स्थायी सङ्कटकाल“को घोषणा गरिएको जनाएका छन् ।
इजरायलमा मानिसहरूलाई इरानबाट क्षेप्यास्त्र हमला हुन सक्ने भनेर सावधान गराइएको छ । इजरायलभरि हवाई हमलाबारे सावधानी अपनाउन साइरन बजाइएको छ । इरानका सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन् ।
काठमाडौँ। मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं २ सेदुवा जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको हो ।
आज बिहान ९:०० बजे सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। ठूला सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हो ।
बेलीब्रिज भाँचिँदा नुम सेदुवा सडकखण्डको भित्री सडकमा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।
घाइते चालकको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौँ लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ ।
यसमार्ग हुँदै मकालु बेसक्याम्प जाने आउने गरिन्छ । पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ । उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ । विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवा मतदान केन्द्रमै उपलब्ध गराउन निर्देशन दिएको छ ।
उक्त दिन देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुँदैछ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलगायत मतदातालाई आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने भएकाले पूर्वतयारी गर्न आयोगले सरोकारवालालाई आग्रह गरेको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ। निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको पनि जनाइएको छ।
आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि पत्राचार गरेको जनाएको छ। साथै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाइएको जानकारी दिइएको छ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारसहित सरोकारवाला निकायसँग सहकार्य जारी रहेको आयोगले जनाएको छ। मतदाताको सहभागिता सुनिश्चित गर्न मतदानको दिनअगाडि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भइसकेको उल्लेख गरिएको छ।
मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार र सरोकारवालासँग समन्वय गरिएको छ। मतदान केन्द्र कायम भएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि फागुन २१ गतेसम्म उपयोग गर्न मिल्ने व्यवस्था गर्न सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगले जनाएको छ। यससम्बन्धी पत्राचार गृह मन्त्रालयमार्फत भइसकेको उल्लेख छ।
आयोगले आफ्नो निर्णयअनुसार आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीका रुपमा अघि सारिएकाहरूबीच फागुन १८ गते काठमाडौंको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ ।
कांग्रेसले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।
कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले त्यस्तो प्रस्ताव गरेका हुन् ।
‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले सोधे, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ?’
उपसभापति शर्माले सम्बोधनका क्रममा आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए । उनले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रूपमा लिन नहुनेसमेत बताए ।
निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।
उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ । हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’
उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए ।
काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ।
जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो ।
यस वर्ष आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड उठिसकेको छ भने १ खर्ब ४४ अर्ब ३३ करोड प्राप्ति हुन बाँकी छ ।
त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने १ खर्ब ९५ अर्ब ८४ करोड प्राप्त हुन बाँकी रहेको छ ।
त्यस्तै, सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा २ खर्ब ३ अर्ब ६५ करोड भुक्तानी भइसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९ दशमलव ५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ३ दशमलव ३३ प्रतिशत रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउनु अत्यावश्यक भएको बताएका छन् । शुक्रबार चितवनमा आयोजित चुनावी सभामा उनले किसानलाई उचित मूल्य नदिने केही नेता र विचौलियाको सिन्डिकेटले समस्या सिर्जना गरेको आरोप लगाएका छन् ।
बालेनले भने, ‘देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही मूल्य दिन आवश्यक छ ।’ उनले चितवनका किसानले बजारमा उचित मूल्य र पहुँच नपाएको स्थिति उजागर गरे ।
उनले सिन्डिकेटले किसानको उत्पादन महँगो देखाउने भ्रम फैलाएर लाभ लिइरहेको बताए । ‘केही सीमित नेताहरू र विचौलियाले अनुदानको नाममा भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम गरिरहेका छन् । त्यसलाई रोक्न आवश्यक छ,’ बालेनले भने ।
सैनिक र चुनावी तयारीका क्रममा बालेन झापा-५ बाट उम्मेदवार रहेका छन् र विभिन्न जिल्लामा अभियान चलाउँदै स्थानीय समस्या र चुनौतीबारे जनतालाई जानकारी गराइरहेका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरवार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको आरोप लगाएका छन्।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले जेन जेड आन्दोलनमा बालबालिकालाई गोली हानिएपछि सिंहदरवार जलेको बताएका छन्। अझै पनि सिंहदरवार कसले जलाउने भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै लामिछानेले भने, ‘पहिले गोली हानियो, त्यसपछि संरचना जलेका हुन्।’
सिंहदरवारलाई भ्रष्टाचारको अखडा बनाइएकाले जलेको उनको भनाइ थियो। ‘आजसम्म पनि सिंहदरबार कसले जलायो भन्छन्। सिंहदरबार त्यसैले जलायो, जसले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनायो, बालबालिकाहरूलाई गोली ठोक्यो,’ उनले भने।
सिंहदरवार चलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह भएको उनको जिकिर छ। ‘सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै समूह हो, एउटै मानिसहरू हुन्, एउटै जात छ उनीहरूको। अरु कोही पनि होइन,’ लामिछानेले भने।
अब आफूहरूले सिंहदरवार बनाउने उनको भनाइ थियो। ‘सिंहदरबार बनाउँछौँ पनि बदल्छौँ पनि,’ उनले भने।
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन् ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।’
सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको जानकारी दिए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरुलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, उनले भने ।
उनले थपे, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरुले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ ।’
सभापति थापाले कांग्रेस बाहेक अरुले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे ।
उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए ।
अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने उनले अठोट व्यक्त गरे ।
सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरे । आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनको अठोट छ ।
सभापति थापाले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने जानकारी दिए । उनले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे ।





