२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो । उक्त बस्तीमा करिब ८० घर रहेका थिए । तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ ।

बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ ।

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।

 

दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।

यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ ।

घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा निसी खोला गाउँपालिका–३ की ३९ वर्षकी श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हो ।

 

निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ ।

मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।

नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको हो ।

उनका अनुसार प्रारम्भिक जानकारीअनुसार ताल गाउँका चारदेखि पाँच घरधुरी प्रभावित भएका छन् । थप क्षतिको विवरण भने अझै आउन सकेको छैन । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो बस्तीको अवस्थाबारे जानकारी लिन कठिन भएको अध्यक्ष गुरुङले बताए । त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

नासोँ गाउँपालिका मनाङको लमजुङसँग जोडिएको दक्षिणी प्रवेश क्षेत्र भएकाले अहिले उपलब्ध जानकारी ताल गाउँसम्म सीमित रहेको गाउँपालिकाले जनाएको छ । माथिल्लो क्षेत्रको अवस्था बुझ्न प्रयास भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको झन्डै आधा भाग भासिएपछि यातायात सेवा प्रभावित भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान नदीले कटान गर्दा सडक भासिन गएकाले उक्त स्थानमा सवारी साधनहरू एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

 

सडक डिभिजन भरतपुरले सडक मर्मत तथा सहज आवागमनका लागि पहल भइरहेको जनाएको छ। एकतर्फी मात्र सडक खुला रहेकाले उक्त खण्डमा सवारी साधनको चाप र जाम हुन सक्ने भन्दै चालकहरूलाई धैर्यतापूर्वक र सतर्कताका साथ सवारी चलाउन आग्रह गरिएको छ।

देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला खोटाङ अन्र्तगत मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ । याङवरक गाउपालीका २ दोभाने खोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ ।

अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ । 

यस्तौ, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ । 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ ।

सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरू बाढी र पहिरोको उच्च जोखिमका कारण बन्द गरिएको छ । ८ गते साँझ ६ बजेदेखि आगामी १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएकाले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन र पैदल यात्री बाहेक अन्य सम्पूर्ण सवारी साधन र मानिसहरूको रात्रिकालीन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ ।

भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग लगायत सम्पूर्ण भित्री सडकहरू सम्भावित क्षति रोकथामका लागि बन्द गरिएको छ । ८ गते दिउँसो १६ः४० बजेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अत्यावश्यक सवारी साधन (एम्बुलेन्स, दमकल, खाद्यन्न बोकेका) को हकमा नजिकको प्रहरी इकाईसँग समन्वय गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

इलाम जिल्लाका सम्पूर्ण सडकहरू सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । मेची राजमार्ग, मेची कोरिडोर लगायतका सडकहरूमा ८ गते बेलुका १७ बजेदेखि ११ गतेसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि ९ गते सम्म बेलुका १९ बजे देखि बिहान ५ बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। यसैगरी, हलेसी तुवाचुङ नपा १ कटुवा स्थित मध्य पहाडी सडक खण्डमा १० गते बिहान ०९ः१५ बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

उदयपुर जिल्लाको कटारी—घुर्मी (सिद्धिचरण लोकमाग)सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ । ८ गते देखि १२ गते सम्म बेलुका १७ बजे देखि बिहान ५ बजे सम्म सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ ।

पाँचथर जिल्लाको तुम्वेवा गा.पा. २ नावाखोलामा बाढी आएका कारण तमोर—कोरिडोर सडक खण्ड ८ गते बिहान ८ः५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, याङवरक गा.पा. २ दोभान खोला स्थित मध्य पहाडी लोकमार्गमा ९ गते बिहान ०८ः३० बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क्षति पुगेको छ ।

गए राति तिनाउ नदीको जलसतह सतर्कता तह पार गरेपछि आएको बाढीले स्थानीय दुर्गा बानियाँसहित उनका छिमेकीको घर पूर्ण रूपमा बगाएको हो । बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ ।

बाढीबाट घरमा क्षति भएपछि प्रभावित परिवारलाई स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारेर आवश्यक राहत तथा अस्थायी आश्रयको व्यवस्था गरिएको छ ।

तिनाउ नदीको जलसतह बढ्दै गएपछि स्थानीय प्रशासन तथा जल तथा मौसम विज्ञान विभागले नदी किनार, तटीय क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । सोहीअनुसार जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम जारी रहेको जनप्रतिनिधिले बताएका छन् ।

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई महाराजगञ्जस्थित घरबाट गए राति पक्राउ गरेको हो । उनीविरुद्धको कसुर भने खुलाइएको छैन ।

उनी २०७५ पुस १८ देखी प्रधान न्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रुपमा सुरु भएको छ ।

आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

 

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।

चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।

कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनको भनाइ छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्रहरु बताउँछन् ।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।

ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार कतारको राजधानी दोहा प्रस्थान गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ ७ बजे दोहा प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन् ।

एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउनेछन् । त्यस क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

वार्षिक बैठक तथा द्विपक्षीय भेटवार्ता सम्पन्न गरी अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल १४ असोजान कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।