
धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।
माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
उनका श्रीमान् ३५ वर्षीय उमेश यादव भने घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा छन् । छोराको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताए । श्रीमान उमेशले श्रीमती रिनाको हत्या गरि आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनले घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिँदै छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।
आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।
आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।
भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।
सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ ।
देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो ।
धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र नागढुंगा चेकपोष्ट क्षेत्र पनि अहिले शान्त बनेको छ ।
विगतमा सधैँ सवारी साधनको घुइँचो र कोलाहल हुने त्रिभुवन लोकमार्गअन्तर्गत पर्ने नागढुंगा क्षेत्रमा दशैँ मान्न आउजाउ गर्ने यात्रुको चाप हुने समयमा पनि जामको सास्ती छैन । उकालो र घुम्ती सडकमा ठूलाठूला सवारीहरूबाट निस्किएको धुवाँ र सडकको धुलो, त्यसमाथि पनि जामका कारण घण्टौँसम्म गाडीमै रोकिनुपर्ने सास्तीको अन्त्य नै भएको छ ।
गाडीको हर्न र धुवाँ–धुलोले सधैँ गञ्जागोल भइरहने सडक शान्त भएसँगै यात्रुहरूले राहत र खुसीको अनुभूति गरेका छन् । नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत पिपलमोडको तल्लो घुम्तीमा स्कुटर रोकेर थकाइ मार्दै गरेकी चितवनकी कृष्टी पौडेल भन्छिन्, ‘गाडीमा यात्रा गर्दा बान्ता हुने समस्याले अघिल्लो वर्षतिर यो बाटो सम्झेर दशैँमा घरै नजाऔँ जस्तो लाग्थ्यो, अहिले यो सजिलो छ भन्ने सुनेर स्कुटरमै आएँ, यति सजिलोसँग पार गर्न पाइन्छ भन्ने सोचेकै थिएन ।’
विशेष गरी दशैँ–तिहारजस्ता ठूला राष्ट्रिय पर्वका बेला राजधानी छाडेर बाहिरिने र भित्रिने हजारौँ यात्रुहरू धुवाँ, धुलो र गर्मीमा गाडीभित्रै घण्टौँ कुर्न बाध्य हुन्थे । यसबाट बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई झन् बढी कष्ट हुने गरेको थियो । अहिले सुरुङमार्गबाट सवारी साधनहरू बिनाअवरोध सरर पार हुन थालेपछि चाडपर्वको समयमा हुने सकसपूर्ण यात्राबाट सर्वसाधारणले छुटकारा पाएका छन् ।
पहिला नागढुंगाको उकालोमा बाध्यताले घण्टौँ जाममा रोकिनुपर्ने सडकमा अहिले यात्रुहरू खुसीले दृश्य हेर्न रोकिने गरेका छन् । सुरुङमार्ग छिर्ने प्रवेशद्वारभन्दा माथिल्लो सडक (पिपलमोड खण्ड) मा मोटरसाइकल रोकेर सुरुङ प्रवेशद्वारको दृश्य नियालिरहेका रामजी वस्तीले विगत र वर्तमानको यात्रा अनुभव तुलना गर्दै भने, ‘दशैँमा घर जाँदा र फर्किदा युद्ध लडेजस्तो हुन्थ्यो । गाडीहरू सुरुङबाट जान थालेपछि यो वर्ष बाटोमा रोकिँदै, दृश्य हेर्दै आनन्दले हिँड्न पाइयो ।
सुरुङमार्गलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गरिरहेका अर्का युवा विष्णु श्रेष्ठले पनि पुरानो सास्ती र अहिलेको सहजताबारे सुनाए । उनले भने, ‘पहिले जाम परेका कारण बाध्य भएर रोकिनुपर्थ्यो, अहिले सुरुङमार्ग र यहाँको दृश्य रमाइलो लागेर आफैँ रोकिन मन लाग्ने भएछ ।’
त्यस्तै, सार्वजनिक सवारीसाधनमार्फत सुरुङमार्ग पार गरेर धादिङको खानीखोला पुग्नुभएकी तनहुँकी चेली मगरले सुरुङभित्रको यात्रा सम्झँदै अहिले सुखद यात्रा सुनाइन् । ‘जाम र धुलो–धुवाँ सम्झेर दशैँ–तिहारमा घर आउन–जान बर्सेनि सास्ती हुन्थ्यो । एक त घण्टौँको जाम, त्यसमाथि गाडीमा बान्ता भएर सासै फुस्केला जस्तो हुन्थ्यो । अहिले सुरुङबाट सरर एकैछिनमा कट्न पाइने भएछ । पहिलोचोटि सुरुङ छिरेर यहाँ आइपुग्दा सपना जस्तै लाग्यो,’ उनले भनिन् ।
२.६८ किलोमिटर लम्बाइको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग हो । जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको हो ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएको आरोपसमेत लगाए ।
प्रचण्डले तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै माओवादी आन्दोलन समाप्त नभई रूपान्तरण भएको दाबी गरे ।
शान्ति प्रक्रियापछि पार्टीका नाम परिवर्तन भए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ । माओवादी आन्दोलनको अस्तित्वबारे जनतामा भ्रम फैलाउन खोजिएको भन्दै उनले नयाँ पार्टीभित्र विभिन्न घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने बताए ।
‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो । यो विघटन नभई रूपान्तरण हो । नामभन्दा काम महत्त्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने सङ्कल्पमा छौँ,’ प्रचण्डले भने ।
एमालेसँगको राजनीतिक सम्बन्धबारे बोल्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफूहरूले अभियान चलाइरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे ।
उनले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले पहिल्यै सचेत गराएको बताए । लोकतन्त्रमा पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार सञ्चालन गर्नु संसदीय अभ्यासका दृष्टिले उपयुक्त नभएको उनको टिप्पणी थियो ।
आफूहरू भ्रष्टाचारविरुद्ध लडिरहेको र तत्कालीन सत्तापक्षले भ्रष्टाचारको संरक्षण गरेको आरोप लगाउँदै उनले दुई दलबीचको राजनीतिक भिन्नता स्पष्ट रहेको बताए ।
‘हाम्रो र उनीहरूको राजनीतिक दृष्टिकोणमा फरक छ । हामी भ्रष्टाचारविरुद्ध लड्ने र सुशासन, सामाजिक न्याय तथा समृद्धिका लागि प्रतिबद्ध छौँ,’ उनले भने ।
यद्यपि, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यकताअनुसार एमालेसहित अन्य दलसँग पनि संवाद र सहकार्य गर्न सकिने उनले स्पष्ट पारे । तर, यस्तो सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।
‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ । तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन । त्यसका लागि इतिहास, पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक छ,’ प्रचण्डले भने ।
सामाजिक सञ्जाल र नयाँ प्रविधिको बढ्दो प्रभावसँगै कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठिरहेका प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो संशय नयाँ नभएको बताए ।
उनले २०४६ सालको जनआन्दोलनपछि पनि कम्युनिस्ट आन्दोलन कमजोर हुने र अब अघि बढ्न नसक्ने भाष्य निर्माण गरिएको स्मरण गरे । तर, विगतमा पनि यस्ता चुनौतीका बीच आफूहरूले परिवर्तनका लागि संघर्ष गरेको उनको भनाइ छ ।
कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै प्रचण्डले नकारात्मक प्रचार र आलोचनामा अल्झिनुभन्दा ऐतिहासिक लक्ष्य र आफ्नो काममा केन्द्रित हुनुपर्ने बताए ।
‘कम्युनिस्ट आन्दोलन अब उठ्न सक्दैन भन्ने भाष्य नयाँ होइन । विगतमा पनि यस्तै भनिन्थ्यो, तर हामीले परिवर्तनका लागि संघर्ष गर्यौँ,’ उनले भने ।
आलोचना र नकारात्मक प्रचारको पछि नलागी पार्टीले आफ्नो राजनीतिक लक्ष्य, जनपक्षीय एजेन्डा र संगठन विस्तारमा ध्यान दिने प्रचण्डले बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गरे ।
वर्तमान दुईतिहाइ समर्थित सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको आरोप उनको छ । बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गरेको छ । साथै, लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको औंल्याइएको छ ।
यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा समेत गरेको संयोजक दाहालले बताए । कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ ।
अभियानका क्रममा केन्द्रिय नेताहरूकै कमाण्डमा टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले बताए । ती समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष मागपत्र तथा ज्ञापन पत्र पेश गरिनेछ । यसका साथै सदस्यता नवीकरण र सांगठनिक सुदृढीकरणका काम पनि सोही अवधिमा अघि बढाइने कार्यतालिका छ ।
हालै देशका विभिन्न भूभागमा आएको बाढीपहिरो तथा रसुवाको भोटेकोशी विपद्का बेला राज्य संयन्त्रले नागरिकको खोज, उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ । मित्रराष्ट्रबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोग समयमै सदुपयोग नगरिँदा थप क्षति भएको उल्लेख गर्दै प्रभावितहरूको सुरक्षित पुन:स्थापना र क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भए पनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो ।
गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ । हाललाई देशको मौसम स्थिर रहे पनि कात्तिक १० गतेदेखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार उक्त न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भूभागमा प्रभाव पर्न सक्ने सम्भावना छ । यद्यपि, वर्षाको मात्रा र प्रभावको यकिन अवस्थाबारे अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ ।
यो मौसमी फेरबदलले विशेष गरी कृषि र पर्यटन क्षेत्रलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ । हाल धान भित्र्याउने समय भएकाले किसानलाई मंगलवारसम्मको अनुकूल मौसमको सदुपयोग गर्दै बाली भित्र्याइसक्न विभागले विशेष आग्रह गरेको छ । कात्तिक ८ गतेपछि कुनै पनि बाह्य कार्यक्रम, भ्रमण वा कृषि कार्यको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यानमा राख्न र पछिल्ला अद्यावधिक सूचनाहरू नियमित रूपमा लिन सचेत गराइएको छ ।
उनले भने, ‘आगामी कार्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य भूभागमा वर्षाको सम्भावना न्यून छ । कार्तिक १० देखि १५ गतेसम्म बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिन्छ । वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । यसबाट कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुनसक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र योजना बनाउन अनुरोध छ । धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कार्तिक ७ गतेभित्रै सम्पन्न गर्नुहोला ।’
उक्त प्रणालीका कारण सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगिताहरूमा समेत असर पर्न सक्ने देखिएको छ । आम नागरिकलाई आधिकारिक मौसमी सूचनाका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू नियमित हेर्न वा ११५५ मा फोन गरेर जानकारी लिन अनुरोध गरिएको छ ।
शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ ।
गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् ।
फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए ।
बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा परिषद्को बैठक बोलाएका थिए । फ्रान्स२४ का अनुसार, उनले सप्ताहान्तमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र पारिएका बेला सुरक्षाकर्मीहरूसँग पनि भेट गर्ने कार्यक्रम थियो ।
खस्कँदो शैक्षिक वातावरणको विरोधमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ । बढ्दो महँगी र जीवनयापनको लागतले सर्वसाधारणमा बढाएको असन्तुष्टिले पनि प्रदर्शनलाई थप चर्काएको छ ।
प्रदर्शनले उग्र रूप लिएपछि म्याक्रोंले पहिलोपटक माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग भेट गरेका छन् । तर, विद्यार्थी प्रतिनिधिहरूले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव सरकारले अघि नसारेको भन्दै सहपाठीहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन् ।
अभियान समूह ‘हाई स्कुल रिन्युयल’का अध्यक्ष नाथानेल कोम्बारीले म्याक्रोंले भेटका क्रममा आफूहरूका कुरा ध्यानपूर्वक सुनेको बताए ।
यद्यपि, सोमबार प्रधानमन्त्रीसँग हुने छलफलका क्रममा सरकारले ठोस प्रस्ताव अघि सार्ने अपेक्षा विद्यार्थीहरूले गरेको उनले बताए ।
‘हामी सन्तुष्ट छैनौँ,’ कोम्बारीले भने । उनले सरकारमाथि दबाब कायम राख्न विद्यार्थीहरूलाई आन्दोलन जारी राख्न आग्रह गरे ।
फ्रान्स सरकारले प्रदर्शनकारीहरूका जायज गुनासा र शान्तिपूर्ण प्रदर्शनलाई लुटपाट, आगजनी तथा तोडफोडका घटनाबाट अलग राख्ने प्रयास गरिरहेको छ । गत शनिबारको प्रदर्शनका क्रममा यस्ता हिंसात्मक घटना भएका थिए ।
फ्रान्स२४ का अनुसार, न्यायमन्त्री जेराल्ड डार्मानिनले हिंसासम्बन्धी घटनामा अदालतहरूले हालसम्म २१७ जनालाई जेल सजाय सुनाइसकेको बताए । सजाय पाउनेमध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्ति रहेको उनले जानकारी दिए ।
बिहीबार म्याक्रोंले आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि ‘अधिकतम कडाइ’ गर्न आह्वान गरेका थिए । उनले गत सप्ताहन्तको अशान्तिका क्रममा अतिवामपन्थी समूहहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोपसमेत लगाएका थिए ।
यी प्रदर्शनले सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनअघि राजनीतिक तनावसमेत बढाएको छ । फ्रान्स२४ ले उल्लेख गरेको हालैको एक जनमत सर्वेक्षणअनुसार, अतिदक्षिणपन्थी उम्मेदवार मरिनले पेन अझै अग्रस्थानमा रहेकी छन् । पछिल्ला घटनाक्रमले उनको राजनीतिक स्थिति थप बलियो बनाएको बताइएको छ ।
ले पेनको पार्टी ‘नेसनल र्याली’ले यसै सप्ताहन्तमा पेरिसको दक्षिणमा पर्ने ओरलियँ सहरमा महाधिवेशन आयोजना गर्दैछ । उक्त कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ ।
यसैबीच, सोही सहरमा प्रदर्शनको विरोधमा उत्रिने समूहहरूले पनि भेला आयोजना गर्ने योजना बनाएपछि स्थानीय अधिकारीहरूले दुवै पक्षबीच सम्भावित झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ।
डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ।
शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। डब्ल्यूएचओका अनुसार यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो। गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा समेत यसको सङ्क्रमण देखिएको छ।
विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) का अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन्। यसले जन्मिने बाच्छाबाच्छीमा जन्मजात असामान्यता पनि निम्त्याउन सक्छ।
यसअघि शामोन्डा भाइरसका अधिकांश घटना अफ्रिका र जापानमा देखिएका थिए। सन् २०२६ को गर्मीयाममा जर्मनीको दक्षिणी क्षेत्र र स्विट्जरल्यान्डका गाईवस्तुमा यो भाइरस पहिचान भएपछि युरोपमा पनि यसको उपस्थिति देखिएको हो। त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ।
कसरी सर्छ भाइरस?
यो भाइरस मुख्यतः कुलिकोइडिस नामक सानो उड्ने किराको टोकाइबाट जनावरमा सर्छ। यो किरा झिँगाजस्तै देखिन्छ। भाइरसको सङ्क्रमण फैलाउने किराको ठ्याक्कै प्रजाति पहिचान गर्न थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ।
सामान्य अवस्थामा एउटा जनावरबाट अर्को जनावरमा यो भाइरस सर्ने गरेको प्रमाण छैन। तर, सङ्क्रमित गर्भवती जनावरबाट गर्भमा रहेको भ्रूणमा भने सङ्क्रमण सर्न सक्छ।
शामोन्डा भाइरस अर्थोबुन्याभाइरस समूहमा पर्ने भाइरस हो। यो समूहका भाइरसको प्रकोप किराको मौसमी गतिविधिअनुसार चक्रमा देखिन सक्ने विश्व पशु स्वास्थ्य सङ्गठनले जनाएको छ।
विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज चौथो दिन पनि जारी रहनेछ । निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।
बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ ।
दशैंको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ ।
कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।
गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ ।
पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।




