सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको भन्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।
रिट निवेदक डा. प्रेमराज सिलवालले आयोगका पदाधिकारीहरूले न्यायालयको आदेशविपरीत सूचना जारी गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलनाको निवेदन पेश गरेका हुन् ।
उनले सर्वोच्च अदालतले सबैका हकमा अन्तरिम आदेश जारी गरेको भए पनि आयोगले न्यायाधीश र सैनिक अधिकारीहरूको हकमा मात्रै लागू हुने गरी सूचना जारी गरेको दाबी गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अवहेलनासम्बन्धी निवेदन पेश भएको जानकारी दिए । उनले निवेदन एकल इजलासमा पेश हुने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढ्ने बताए ।
गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको काम कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म आयोगले कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्न भनिएको थियो ।
मिटरब्याज पीडित भएर न्यायको माग गर्दै काठमाडौँतर्फ पैदल यात्रा गरिरहेका पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन्।
पीडितहरूको यात्रा, अवस्था र उनीहरूले उठाएका मागबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री गुरुङ बाराको निजगढ पुगेका हुन्। भेटका क्रममा उनले सरकार मिटरब्याज पीडितका समस्या समाधानप्रति गम्भीर रहेको बताउँदै वार्ता र कानुनी प्रक्रियामार्फत न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए।
गृहमन्त्री गुरुङले पीडितहरूका गुनासा ध्यानपूर्वक सुन्दै सम्बन्धित निकायसँग समन्वय गरेर यथाशीघ्र समाधानको प्रक्रिया अघि बढाइने बताए। उनले कानुन विपरीत मिटरब्याज असुल्ने, सर्वसाधारणलाई आर्थिक तथा मानसिक रूपमा शोषण गर्ने जो–कोहीमाथि कानुनी कारबाही हुने स्पष्ट पारे।
न्यायको माग गर्दै विभिन्न जिल्लाबाट हिँडेका मिटरब्याज पीडितहरू राजधानी काठमाडौँ पुगेर सरकारसमक्ष आफ्ना माग राख्ने तयारीमा छन्। उनीहरूले मिटरब्याजका नाममा भएको शोषणको अन्त्य, पीडितलाई न्याय तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै आएका छन्।
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्पत्ति छानविन गर्ने विषयमा पनि सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन नगर्ने नीति बनाएर सरकारले विभेद गरेको बताए ।
उनले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानविन प्रतिवेदन सार्वजनिक नगर्नुलाई पनि सरकारले गरिरहेको राजनीतिकरणको उदाहरणका रूपमा लिन सकिने बताए ।
नेता शाहीले सरकारले नागरिकको हितमा कानून निर्माण गर्नुपर्नेमा त्यसविपरीत काम गरिरहेको आरोप लगाए । उनले मान्छेको जीवनभन्दा ठूलो सत्ता, पद वा कानूनको दम्भ हुन नसक्ने बताए ।
‘सबैको सम्पत्ति छानविन गर्छु भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानविन गर्नु हुँदैन भनेर नीति बनाउने कामलाई राजनीतिकरण भनिन्छ सभामुख महोदय,’ उनले भने ।
उनले अरुको सम्पत्ति छानविन गर्न समिति माग्ने तर आफ्नै विषयमा प्रश्न उठेपछि समिति बनाउने, सदस्यहरूलाई दबाब दिने र प्रतिवेदन लुकाउने प्रवृत्ति राजनीतिकरण भएको बताए ।
नेता शाहीले कर्णालीको भिरमा अड्किएका नागरिकको उद्धार गर्नु राजनीति नभएको भन्दै आफूहरू सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको दाबी गरे ।
‘देशको भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ । भ्रष्टाचारको विरोध गर्दा विभिन्न आक्रमण सह्यौँ, तर कसैलाई हानी पुर्याएनौँ,’ उनले भने ।
उनले कानून सबैका लागि समान हुनुपर्ने र राज्य नागरिकको अभिभावक बन्नुपर्ने बताए ।
‘नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ, जीवन समाप्त पार्नका लागि होइन । मान्छेको जीवनभन्दा ठूलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानूनको दम्भ हुन्छ,’ उनले भने ।
नेता शाहीले सरकारलाई नागरिकको अभिभावकको रूपमा काम गर्न सचेत गराउँदै प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिप्रति आफूहरूको विरोध कायमै रहेको बताए ।
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
विवेकका श्रीमती, एक छोरा र एक छोरी छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो। दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिकाका–२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
उक्त भ्यान कोशी लोकमार्गमा आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको लागि म्याद थपिएको छ ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । यो सहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको म्याद थपिएको थियो ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार जारी विज्ञप्तिमा रास्वपाले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको उल्लेख गरेको छ ।
राज्यको चौथो अंगका रूपमा स्थापित सञ्चारमाध्यमले निर्भीक रूपमा काम गर्न पाउने वातावरणमाथि धावा बोल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने पार्टीको भनाइ छ ।
रास्वपाले आफू सधैं पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको जनाएको छ ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्ने गतिविधि अस्वीकार्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले स्वतन्त्र र भयरहित पत्रकारितालाई लोकतन्त्रको प्राणवायुको संज्ञा दिँदै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता गतिविधिको भत्र्सना गरेको छ ।
साथै, घटनाको तत्काल, निष्पक्ष र तथ्यपरक छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि रास्वपाले आग्रह गरेको छ ।
विज्ञप्तिमा सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गर्दै रास्वपाले सञ्चारकर्मी तथा सञ्चार गृहको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता दोहोर्याएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए ।
उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री शाहले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।
एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उनले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधानका लागि पहल गरिने बताए ।
छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवद्र्धन र पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरे ।
उनीहरुले स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराए ।
त्यस अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए ।
काठमाडौँका विभिन्न सञ्चारगृहको मुख्य प्रवेशद्वारमा बेवारिसे सवारीसाधन तेर्स्याएर आतंक सिर्जना गर्ने घटनामा गाडी धनीको पहिचान खुलेको छ। सोमबार बिहानै कान्तिपुर पब्लिकेसन, अनलाइन खबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि बाटो छेकिने गरी राखिएका गाडीहरू यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बैंक र व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार कान्तिपुर पब्लिकेसनको गेट अगाडि राखिएको बा. प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता छ। त्यसैगरी, अनलाइन खबरको कार्यालय अगाडिको बा. १२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा र हिमालय टेलिभिजनको कार्यालय अगाडिको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा रहेको खुलेको छ।
बिहान ७ बजेदेखि नै गाडीहरू यसरी पार्किङ गरिएका थिए कि जसले सञ्चारगृहमा कार्यरत पत्रकार तथा कर्मचारीहरूलाई आफ्ना सवारीसाधन समेत कार्यालय हाताभित्र लैजान बाधा पुगेको थियो। यस कार्यलाई नियोजित र रहस्यमय रूपमा लिँदै सञ्चार क्षेत्रमा त्रास फैलाउने उद्देश्यले गरिएको गतिविधि भनी आलोचना भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले तत्काल घटनास्थलमा पुगेर क्रेनको सहयोगमा ती सवारीसाधनहरूलाई हटाई सडक खुलाएको छ। जिल्ला प्रहरी परिसरले गाडी धनीहरूको पहिचान भएसँगै ती सवारीसाधन कसले र किन उक्त स्थानमा ल्याएर राखेको हो भन्ने विषयमा गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।
यसअघि नै नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारको अधिकारमाथि गरिएको यस प्रकारको अवरोध निन्दनीय रहेको भन्दै संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिसकेको छ।
नेकपा एमालेले विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको भन्दै आपत्ति जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुम निरज आचर्याले यस्तो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको बताएका हुन् । उनले भनेका छन्, ‘विभिन्न सञ्चारमाध्यमका कार्यालयको मूल गेटमै शंकास्पद रूपमा गाडीहरू पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीहरूलाई काममा जान अवरोध सिर्जना गरिएको र आतंकित पारिएको छ । आज बिहानैदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारी साधन तेस्र्याएर पत्रकारहरूको आवतजावत ठप्प पारिएको यो कार्य लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो।’
उनले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ’स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो। सञ्चारगृह र पत्रकारलाई भयभित बनाउने र काममा अवरोध पुर्याउने यो निन्दनीय र रहस्यमय घटनाको भत्र्सना गर्दछौ । यस सम्बन्धमा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूलाई पूर्ण समर्थन गर्दछौँ ।’
एमाले नेता प्रदीप ज्ञवालीले ‘तर्साउने र मुख थुन्ने धृष्टता ?’ भन्दै प्रश्न गरेका छन् ।
पत्रकार महासंघले पनि विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको कार्यालयको गेटमै शंकास्पद रुपमा गाडी पार्किङ गरी त्यहाँ कार्यरत पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध र आतंक सिर्जना गरिएको उल्लेख गरेको छ ।
अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले यस्तो कदमले आफूहरु नतर्सने बताएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो । र चाहिएको थियो आइन्दा यस्ता घटना सकभर नहुन् भन्नेगरी यथोचित कदम । तर राज्य संवेदनशील अभिभावक र सबैलाई जोड्ने कनेक्टर बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् । तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं । आफ्नो जिम्मेवारी पूरा निष्ठा र संकल्पका साथ पूरा गर्छौं ।’
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको छ । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको हो । पार्किङ गरिएका सवारीसाधन दिउँसो प्रहरीले हटाएको छ । सरकार समर्थकले यस्तो गरेको भन्दै यस कदमको सर्वत्र विरोध भइरहेको छ ।





