२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।

मन्त्रालय मातहतको सिँचाइ विभागअन्तर्गत पर्ने नागमती तथा धाप बाँध आयोजनाले शनिबार विज्ञप्ति जारी गरी काठमाडौँ उपत्यकाको सुख्खायामको पानीको आवश्यकता पूर्ति गर्न निर्मित धाप बाँध र यसको मुख्य संरचना हालसम्म पूर्ण रूपमा सुरक्षित रहेको जनाएको हो ।

भारी वर्षापछि धाप बाँधको अवस्थाबारे प्रश्न उठेपछि नागमती तथा धाप बाँध आयोजनाले अवस्था स्पष्ट पारेको हो । आयोजनाले बाँध क्षेत्रमा केही दिनअघि देखिएको जोखिम पनि पूर्णरुपमा हटेको वस्तुस्थितिकै भिडियो पनि सार्वजनिक गरेको छ ।

आयोजनाकाअनुसार निरन्तरको मनसुनजन्य वर्षाका कारण जलाशय तथा आसपासका क्षेत्रमा पानीको बहाव बढेपछि प्राविधिक टोलीले बाँधको अवस्था, जलसतह तथा पानीको आवगमन माथि नियमित निगरानी गरिरहेको छ ।

गत भदौ २४ गते साँझ स्याडल ड्याम-१ नजिकै सडक किनारामा पहिरो गएपछि सुरक्षात्मक कदम छिटो चालिएको थियो । आयोजनाका अनुसार सोही दिन साँझदेखि आउटफ्लोमार्फत करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको छ । जसका कारण जलाशयको जलसतह २.३८ मिटरले घटेर हाल २०८४.८० मिटरमा आएको छ भने कुल सञ्चित पानीको करिब ३५ प्रतिशत हिस्सा सुरक्षित रूपमा निकासा भइसकेको छ ।

आयोजनाकाअनुसार धाप बाँधको सामान्य जलसतह २०८७.१४ मिटर रहेको छ । यदि आगामी दिनमा भारी वर्षा भई जलसतह यो बिन्दुभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवे बाट स्वतः बाहिर जाने प्राविधिक व्यवस्था मिलाइएको छ । हाल वर्षाको मात्रा घट्दै गएकाले बाँधमा भित्रिने पानीको मात्रा पनि कम हुँदै जाने अनुमान गरिएको छ ।

आयोजनाले पहिरो प्रभावित क्षेत्रमा आवश्यक पानी निकास, तटबन्ध तथा आपत्कालीन व्यवस्थापनका कार्यहरू द्रुत गतिमा अघि बढाएको छ ।

बाँधको सुरक्षा र प्राविधिक मूल्याङ्कन निरन्तर भइरहेकाले कुनै अप्रिय जोखिम नरहेको र सर्वसाधारणलाई अनावश्यक त्रास नमान्न तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न आयोजनाले अनुरोध गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन् ।

उनलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री गनेश पौडेल विमानस्थलमा पुगेका थिए ।

​गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए ।

​भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न अवतरण गरेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई औपचारिक निमन्त्रणा दिइएको छ।

कांग्रेस सहमहामन्त्री उदयशमशेर राणा नेतृत्वको टोलीले तीनै जना नेतालाई भेटेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ।

सहमहामन्त्री राणाले सामाजिक सञ्जालमार्फत तीनै जना नेतालाई भेटेर औपचारिक निमन्त्रणा प्रदान गरिएको जानकारी दिएका छन्। उनले उद्घाटन समारोहमा सहभागी हुन सबै राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पनि आमन्त्रण गरेका छन्।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउने विश्वास राणाले व्यक्त गरेका छन्।

उनले असोज १६ गते खुलामञ्चमा हुने उद्घाटन समारोहमा उपस्थितिका लागि सबैलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदका लागि युवा नेता सगुन श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।

संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने तथा पार्टीभित्र युवाको सहभागिता बढाउने उद्देश्यसहित श्रेष्ठले क्षेत्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

कांग्रेस संगठनमा लामो समयदेखि सक्रिय श्रेष्ठले यसअघि नेपाल तरुण दल जिल्ला उपाध्यक्ष तथा जुगल गाउँपालिका सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। स्थानीय तहदेखि पार्टी संगठनमा काम गरेको अनुभवलाई क्षेत्रीय तहमा उपयोग गर्दै कार्यकर्ताबीच समन्वय, संगठन सुदृढीकरण र युवाको सहभागितालाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।

राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठ हाल निर्माण व्यवसाय संघ, सिन्धुपाल्चोक जिल्ला अध्यक्षका रूपमा कार्यरत छन्। संगठनात्मक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका श्रेष्ठले पार्टीको क्षेत्रीय नेतृत्वमा रहेर युवालाई अवसर र जिम्मेवारीसँग जोड्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

विशेष महाधिवेशनदेखि नै गगन थापाको नेतृत्वलाई समर्थन गर्दै आएका श्रेष्ठले आगामी दिनमा पनि थापा नेतृत्वप्रति आफ्नो प्रतिबद्धता कायम राख्दै युवालाई पार्टी संगठन र नेतृत्वमा समावेश गर्ने अभियानलाई निरन्तरता दिने बताएका छन्। पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढाउँदै संगठनलाई थप चलायमान बनाउने उनको दाबी छ।

१५औँ महाधिवेशनको तयारीसँगै सिन्धुपाल्चोक क्षेत्र नं. १ मा क्षेत्रीय नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। यसै क्रममा श्रेष्ठको उम्मेदवारीले युवा नेतृत्व, संगठन सुदृढीकरण र पुस्तान्तरणको विषयलाई क्षेत्रीय अधिवेशनको चर्चामा ल्याएको छ।

विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्। अपर त्रिशूली–१ आयोजनामा कार्यरत उनी भदौ १० को भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी हुन्।

आफ्नी छोरीको खबरको प्रतिक्षामा रहेका परिवारमा पुग्यो बिहीबार लोकसेवा आयोगको लिखित परीक्षामा उत्तीर्ण भएको नतिजा। लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचाले सफलता हासिल गरेकी हुन् ।

लिखित परीक्षाको नतिजामा उनको नाम १२ औँ क्रमसंख्यामा छ । उनले गत असार ६ गते परीक्षा दिएकी थिइन्।

ऋचा बेपत्ताको पीडामा रहेको परिवारमा उनको नतिजाले झन पीडा दियो। ६ महिनाअघि मात्रै आयोजनामा काम गर्न रसुवा गएकी ऋचाले पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् ।

बुबा लीलाप्रसाद निरौलाका अनुसार पहिलो प्रयासमै उनले नाम निकालेकी हुन्। लीलाप्रसादका तीन सन्तानमध्ये ऋचा कान्छी हुन् ।

ऋचाको मोबाइल लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि फोन स्विच अफ छ।

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए । त्यस्तै, लोकेश बमले २२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा अविजित ५२ रनको योगदान दिए । ओपनर आसिफ शेखले २१ रन बनाए ।

जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल रद्द गरिएको हो ।

खेल रद्द भएसँगै नेपालले दुई खेलबाट तीन अंक जोडेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको छ। गत भदौ १० गते बिहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन्। यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन्। बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीन वटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन्।

बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ। उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ। विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन्। यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन्। यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। करिब सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन्। बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ। त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ।

‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत (१२ लाख अमेरिकी डलर) खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए।

साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो। सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो।

स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पुर्‍याइरहेका छन्। ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ। यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ।

महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँले भने, ‘ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पुर्‍यायो। स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए। प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो। यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पुर्‍यायो। यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पुर्‍यायो। सङ्कटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो। यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पुर्‍यायो।’

भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए। महासचिव चापागाईँ भने,‘भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्त्वपूर्ण ‘मोडेल’ बन्न सक्छ। ’

बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ। रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिए। उनले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना, बहुउद्देश्यीय नगद सहायता/नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सहायता निरन्तर जारी रहेको बताए।

मानवीय सहायता निरन्तर जारी

महामन्त्री खनालद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एक हजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एक हजार ३२४ थान वितरण गरिएको भने करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ। एक महिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरूमा ट्याङ्करबाट पानी वितरण गरिएको सोसाइटीले जनाएको छ। विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोगबाट एक हजार ७१० बाढी प्रभावित लाभान्वित भएका, रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सेवाबाट एकजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि अन्य आवश्यक सेवा उपलब्ध गराएको, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापनाबाट दुई हजार २९१ खोजतलाससम्बन्धी ‘केस’मा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरूलाई दुई हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको उल्लेख छ।

विज्ञप्तिमा बहुउद्देश्यीय नगद सहायता/नगद तथा भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङको १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको, समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा ‘रेफरल’ सेवा प्रदान गरिएको, संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एक हजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ। मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एक हजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ।

सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता/सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराएको र सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्व सूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा/सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ ‘विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ। साथै, प्रभावित परिवारको पुनः स्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ। यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पुर्‍याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी , नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस धन्यवाद तथा आभार व्यक्त गर्दछ। ’

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आध्यात्मिक चेतना जगाउनमा गुरुजनहरू सहायक रहनेछन्। युवाहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ। प्रेमको बन्धन कसिनेछ। सकेसम्म यात्रा नगर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा कामको मेसो नमिल्दा व्यवहारमा पछाडि पर्नुहोला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सामूहिक कार्यको जिम्मेवारी एक्लै वहन गर्नुपर्ला। आलोचकहरू सक्रिय रहनेछन् सचेत रहनुहोस्। मेहनतले गर्दा गुमाएको अवसर पुनः प्राप्त होला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)साहसिक कार्य गर्ने समय रहेको छ। आलस्य गर्नदेखि बच्नुहोस्। नोकरी वा राजनीतिक क्षेत्रमा विशेष लाभ प्राप्त हुनेछ। घरायसी जिम्मेवारी बढ्नाले धन खर्च हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफन्तहरूको सोचेजस्तो साथ सहयोग नमिल्ला। प्रयत्न गर्दा अप्ठ्यारो कार्य सम्पादन गर्नमा सफल भइनेछ। बच्चाहरूसँग मनोरंजनात्मक समय बित्नेछ। आजको शुभ रंग कालो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)समाजमा प्रतिष्ठा बढ्नेछ। विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। प्रतिष्ठित कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्। मठमन्दिर र देवस्थानमा यात्रा हुन सक्ला। धर्ममा मन लाग्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लागिरहेको रोग बढ्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा थप लगानी गर्न धैर्य राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा मनग्य लाभ कमाइनेछ। पायकपर्ने ठाउँको यात्रा हुनसक्ला। जीवन साथीको सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहायताले आँटिलो कार्य पूर्ण गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा अर्काको देखासिकी गर्दा हानि हुनसक्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् ।

बिहीबारदेखि सुरु भएको वर्षा शुक्रबार पनि जारी छ । खुला स्थानमा निर्माण गरिएका अस्थायी टहरा तथा टेन्टमा पानी पस्दा प्रभावितको दैनिकी थप कष्टकर बनेको हो । टेन्टभित्र पानी पसेपछि राहतमा प्राप्त भएको खाद्यान्न, लत्ताकपडा तथा अन्य सामग्री जोगाउन समस्या भएको रसुवाबाट विस्थापित भई नुवाकोटमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका-१ का वडाध्यक्ष मानसिंह तामाङले बताए ।

उनका अनुसार खुला स्थानमा टेन्ट राखेर बस्दै आएका प्रभावितलाई छानाबाट चुहिएको पानीसँगै जमिनमा बगेको भल टेन्टभित्र पस्दा थप समस्या भएको छ ।

रसुवाबाट विस्थापित भई नुवाकोटका विभिन्न स्थानमा बसोबास गर्दै आएका ३४४ परिवारमध्ये १४२ परिवार विदुर नगरपालिका-५, बाणाचौतारोमा अस्थायी टेन्टमा बस्दै आएका छन् । टेन्टमा पानी चुहिएपछि राहतमा प्राप्त खाद्यान्न र लत्ताकपडा भिजेको तथा ज्येष्ठ नागरिक र बालबालिकालाई थप समस्या भएको खाल्डेबाट विस्थापित भई बाणाचौतारोमा बस्दै आउनुभएका दावामिङ्मार तामाङले बताए ।

‘टेन्टमा पानी पसेपछि सामान जोगाउनै समस्या भएको छ । जमिन हिलाम्मे बनेको छ भने चिसो बढेपछि ज्येष्ठ नागरिक र बालबालिकालाई बढी समस्या भएको छ’, उनले भने ।

अस्थायी संरचनामा बस्दै आएका प्रभावितको टेन्टमा पानी चुहिन नदिन नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले त्रिपाल उपलब्ध गराएर सहयोग गरिरहेको छ । जिल्ला शाखाका मन्त्री उद्धव शर्मा रिजालका अनुसार बाणाचौतारोसहित जिल्लाका विभिन्न पाँच स्थानमा बसोबास गरिरहेका प्रभावितको टेन्टमा त्रिपाल ओढाउने र जमिनबाट बगेको पानी टेन्टभित्र पस्न नदिन चारैतर्फबाट पानीको निकास बनाउने काममा स्वयंसेवक परिचालन गरिएको छ ।

‘वर्षाका कारण प्रभावितको बसाइ थप कष्टकर बनेपछि टेन्टमा त्रिपाल ओढाउने र पानीको निकास बनाउने काम भइरहेको छ, उनले भने, आज साँझसम्म सबै स्थानमा रहेका प्रभावितको टेन्टमा त्रिपाल लगाउने काम सम्पन्न गर्ने लक्ष्य छ ।’

निरन्तरको वर्षाका कारण बाढीले पुरिएका संरचनाको भग्नावशेष हटाएर सामग्री निकाल्ने तथा खोज तथा उद्धारको कामसमेत प्रभावित भएको छ । त्रिशूली बजार तथा त्रिशूली नदीको पारिपट्टि बाढीले पुरिएका संरचनामा भइरहेको खोज तथा उद्धारमा वर्षाले कठिनाइ भएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए ।

बाढीले पुरिएका भग्नावशेष हटाई सुरक्षित रहेका सामग्री निकाल्न प्रभावित परिवारलाई विदुर नगरपालिका तथा विभिन्न सङ्घसंस्थाले सहयोग गरिरहेका छन् । तर, निरन्तरको वर्षाले भग्नावशेष तथा आसपासको क्षेत्र हिलाम्मे भएपछि खोज तथा उद्धारका साथै सामग्री निकाल्ने काममा कठिनाइ भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

भोटेकोशी हुँदै त्रिशूलीको बाढीका कारण नुवाकोटमा दुई हजार १०० भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भई घरबारविहीन भएका छन् । भाडामा बस्ने र व्यवसाय गर्दै आएका परिवारसमेत थप हुँदा बाढीपछि जिल्लामा दुई हजार ५०० भन्दा बढी परिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्यांक छ ।

बाढीबाट विस्थापित परिवारमध्ये केहीले घर तथा बाढीले पुरिएका संरचनाबाट सामान निकाल्न सफल भए पनि धेरै परिवार अझै अस्थायी संरचना र राहत सामग्रीको भरमा बस्दै आएका छन् । निरन्तरको वर्षाले चिसो बढेपछि विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, बिरामीलाई समस्या बनाएको छ । बाढीपश्चात् अस्थायी संरचनामा बस्दै आएका परिवारको जनजीवन अहिलेको निरन्तरको वर्षाले थप प्रभावित बनाएको हो

रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रवार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उनको निवासमा भव्य स्वागत गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो ।

१० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य शाहसका साथ जीवितै बाहिर निकालेको थियो ।

उद्धारपश्चात उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रवार अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनी पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए । काठमाडौंबाट ललितपुरस्थित आफ्नो निवासतर्फ फर्कने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए ।

महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।