२०८३ कार्तिक २८ गते शुक्रबार
२०८३ कार्तिक २८ गते शुक्रबार

गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन् ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन् । “बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे र पक्की पुल, विद्युत्का खम्बा तथा टेलिफोन टावरमा क्षति पुर्‍याएको छ”, प्राधिकरणका प्रवक्ता शान्ति महतले भनिन्, “धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालि र आसपासका सातदेखि आठवटा घर बगाएको छ ।”

महतका अनुसार चुमनुव्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ भने सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको उनले जानकारी दिइन् ।

“त्यसैगरी, आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ”, उनले भनिन्, “माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र त्यहाँका २० देखि २२ घर जोखिममा छन् । बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । बाढीका कारण दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ ।”

बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन् । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा ४३७ जना सुरक्षाकर्मी परिचालित

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चारवटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए । “सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ”, उनले भने ।

“बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो र त्यस्तै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको छ”, उनले भने ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापति र महामन्त्री पदको मतगणनामा ३ हजार ४३५ मत गणना हुँदा खुला महामन्त्रीमा प्रदीप पौडेल र खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम गरेका छन्।

खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाउँदा डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८ र नैनसिंह महरले ४२८ मत प्राप्त गरेका छन्। शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन्।

केन्द्रीय उपसभापति (खुला)
1. डा. चन्द्रकान्त भण्डारी — १,६८६
2. ई. मधु आचार्य — १,०९०
3. सुरेन्द्रराज पाण्डे — ९५५
4. गोविन्द भट्टराई — ९४१
5. धनराज गुरुङ — ७१९
6. दीपक गिरी — ४९७
7. प्रा. डा. चन्द्रमोहन यादव — २९९
केन्द्रीय उपसभापति (समावेशी)
1. बिनोद कुमार चौधरी — ८९६
2. जीवन परियार — ८२९
3. फरमुल्लाह मंसुर — ४६९
4. रंजीत कर्ण — २७०
5. सीता गुरुङ — २५१
केन्द्रीय महामन्त्री (खुला)
1. प्रदीप पौडेल — २,०५५
2. उदयशमशेर राणा — १,१५९
3. डा. सुनिलकुमार शर्मा — ९३४
4. अमरसिंह पुन मगर — ८१९
5. गुरुराज घिमिरे — ६७८
6. नैनसिंह महर — ४२८
7. शंकर तिवारी — ८२
8. डा. सन्तोष उपाध्याय — ४९
केन्द्रीय महामन्त्री (महिला)
1. डा. डिला संग्रौला (पन्त) — १,५१७
2. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
3. रीता खनाल — ३६५

गोरखाको बुढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको छ । बाढीका कारण विभिन्न स्थानमा पुल, घर तथा जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आइतबार दिउँसो १ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन् ।

उनले भने, ‘आज मिति २०८३ असोज २५ गते बिहान गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुमलिङको बीचमा ठूलो पहिरो गई सोही स्थान भएर बग्ने बुढीगण्डकी नदी थुनि लेदोसहितको ठूलो बाढी जाँदा भौतिक क्षति भएको छ । हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन । जुन सुखद पक्ष हो, यद्यपि भौतिक क्षति चाहिँ धेरै भएको छ । नेपाली सेनाको चारवटा हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन भएको र प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ ।’

उप्रेतीले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपछि अवस्था केही सहज हुने अपेक्षा गरिएका बेला बुढीगण्डकीमा अर्को विपद् आएको बताए । बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण नआउनु सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न प्राथमिकता दिइएको थियो । इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जनाको प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

सल्लेरीस्थित टाइम्स ऊर्जा जलविद्युत् आयोजनाका १२ जना कर्मचारीलाई समेत सुरक्षित स्थानमा सारिएको उप्रेतीले जानकारी दिए । उक्त आयोजनाको भौतिक संरचनामा भने क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टर परिचालन गरिएको छ । उप्रेतीका अनुसार नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बल नेपालका १७७ गरी कुल ३८७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उनले भने, ‘हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना गरी ३८७ जना अहिले त्यो ठाउँमा परिचालन भएको छ, खोज र उद्धारमा ।’

जल तथा मौसम विज्ञान विभाग र जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो ।

प्राधिकरणले गोरखा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रमा समेत एसएमएसमार्फत सूचना सम्प्रेषण गरेको जनाएको छ । सूचना प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको थियो ।

त्यसैगरी, गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित प्रभावित क्षेत्रका २२१ जना उद्धारकर्मीलाई तत्काल प्रतिकार्यमा खटिन एसएमएस अलर्ट पठाइएको उप्रेतीले बताए ।

उनका अनुसार बिहान करिब ६ः३० बजेदेखि कार्यकारी प्रमुखको नेतृत्वमा कमान्ड पोस्टको बैठक निरन्तर जारी छ । प्रभावित क्षेत्रमा अनुगमन, सुरक्षा निकाय परिचालन तथा खोज र उद्धारका कार्य भइरहेको छ ।

बाढीका कारण गोरखाका विभिन्न स्थानमा पुल तथा घरमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दीबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस तथा वरपरका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक सूचना प्राप्त भएको उप्रेतीले बताए ।

आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ । उक्त पुल तीन भागमा रहेको बताइएको छ ।

सोही क्षेत्रमा माछीखोलाको तल्लो बस्तीमा बाढी पसेको र २० देखि २२ घर जोखिममा रहेको जानकारी प्राप्त भएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीबाट विभिन्न क्षमताका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र तथा केही निर्माण उपकरण बगाएको छ ।

त्यसैगरी, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको र बेलिब्रिज बगाएको छ । ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री तथा उपकरण बगाएको छ ।

१६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढीको प्रभाव धादिङ जिल्लामा समेत परेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ विशालनगरका करिब १०० घरधुरीमा लेदो पसेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाको नदी तटीय क्षेत्रमा रहेको नरसिंह धाम मन्दिर र गुरुकुल शिक्षालय जोखिममा रहेको सूचना प्राप्त भएको उप्रेतीले बताए ।

बाढीको वास्तविक कारण पत्ता लगाउन तथा आरुघाटस्थित पुल बगाएपछि सो स्थानमा तत्काल बेलिब्रिज राख्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

उनले भने, ‘बाढी आउनुको वास्तविक कारण बुझ्न र आरुघाटस्थित पुल बाढीले बगाएपछि उक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सकिने÷नसकिने सम्बन्धमा सम्भाव्यता अध्ययन समेतका लागि प्राधिकरण र सडक विभागबाट प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।’

प्राधिकरणले बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

नदीको बहाव घटेको देखिए पनि जोखिम कायम रहन सक्ने भएकाले जोखिमयुक्त पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।

प्राधिकरणले बाढीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा खोज, उद्धार र प्रतिकार्यका कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।

 नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।

सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको हो।पुल निर्माण गर्नुअघि नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो। त्यसपछि असोज २० गतेदेखि सुरु गरिएको पुल जडानको काम असोज २४ गते पूरा भएको सेनाले जनाएको छ।

नवनिर्मित पुल २४० फिट (७३.२ मिटर) लामो र १८ फिट (५.५ मिटर) चौडा छ। यसले अधिकतम ४० टन भार बहन गर्न सक्ने क्षमता राख्छ।

पुल सञ्चालनमा आएसँगै नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रका बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। साथै, बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री र अन्य अत्यावश्यक वस्तु ढुवानी गर्न पनि सहयोग पुग्ने विश्वास लिइएको छ।

पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।

‘प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने ।

 बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो । उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ ।

त्यस्तै, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाईमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाको टोली परिचालन गरिएको हो।

गोरखाको चुमनुब्री गाउँपालिका–३ क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीले विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा मोटरेबल पुलमा क्षति पु¥याएको छ । प्रारम्भिक जानकारीअनुसार बाढीले चुमनुब्री, आरुघाट र धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा क्षति गरेको छ भने पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको र त्यसपछि आएको बाढीले बूढीगण्डकी नदीको जलसतह बढाएको हो। बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पु¥याएको उनले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ को सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको छ। त्यस्तै, भ्याको झोलुङ्गे पुल, फिलिम र न्याक्चेत जोड्ने झोलुङ्गे पुल तथा ठाडो भञ्ज्याङको झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।

बाढीले जगत बगरका नौ वटा, सल्लेरीका पाँच वटा र ठाडो भञ्ज्याङका तीन वटा घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको पत्रकार उप्रेतीले बताए।

त्यसैगरी, आरुघाट गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने मान्बु–सोती मोटरेबल पुल तथा धार्चे गाउँपालिकाका वडा नम्बर १ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिज पनि बाढीले बगाएको छ। आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने आरुघाटस्थित मोटरेबल पुलमा समेत क्षति पुगेको छ।

यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिएको पत्रकार उप्रेतीले बताए । बाढीबाट भएको क्षति तथा सम्पर्कविहीन व्यक्तिहरूबारे थप विवरण आउन बाँकी छ।

गोरखाको बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएपछि जोखिमलाई मध्यनजर गर्दै आरुघाट बजार खाली गराइएको छ।

नदीमा लेदो र गेग्रानसहितको ठूलो बाढी आएपछि तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने आशंकामा बजार क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो।

बूढीगण्डकीमा आएको बाढीले यसअघि नै विभिन्न स्थानमा क्षति पुर्‍याइसकेको छ। बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाउनुका साथै घरहरूमा समेत क्षति पुर्‍याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घरहरूमा समेत क्षति पुर्‍याएको छ भने केही बस्ती जोखिममा परेका छन्।

चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको विवरण प्राप्त भएको छ।

बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् ।

आज बिहान ४:०० बजे ती गाउँमा बाढी पसेपछि नदी तटीय क्षेत्रका स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनको भनाइ छ ।

बाढीले गोरखाको माछिखोला बजारमा ठूलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठूलो क्षति पुर्‍याएको छ ।

बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए ।

हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।