२०८३ श्रावण ३१ गते आईतवार
२०८३ श्रावण ३१ गते आईतवार

गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले नै थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु भएको छ ।

बाली जोगाउन श्रीमानले राखेको करेन्टमा परेर धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी श्रीमती ६० वर्षीया हुमकला भण्डारीको यस्तो घटनामा परेर मृत्यु भएको हो ।

घटनामा परेकी हुमकला चिच्चाएको थाहा पाएपछि छिमेकीले प्रहरीलाई १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले यस्तो घटनाको जानकारी पाएका थिए ।

छिमेकीसमेत रहेका धुर्कोट गाउँपालिका वडा नं ५ का अध्यक्ष केशवराज भण्डारीले श्रीमानले राखेको धरापबारे श्रीमतीलाई जानकारी नहुँदा त्यही धरापमा परेको र उनी चिच्याएपछि छिमेकीले प्रहरीको १ सय नम्बरमा खबर गरेको धेरै समयपछि मात्रै श्रीमानले जानकारी पाएका थिए ।

भण्डारी दम्पत्तीका ३ छोराछोरी भएपनि सबै बाहिर भएकाले घरमा बुढाबुढी मात्रै रहेका थिए । दुई छोरा र १ छोराी भएका उनीहरुको दुई छोरा र एक बुहारी रोजगारीको लागि दुबई बस्छन् भने छोरीको बिवाह भइसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ६६ वर्षीय भेषराज भण्डारीले घरदेखि करिब १ सय ५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए ।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १ः३० बजे हुमकला धरापमा परेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट उनी बँदेल पर्‍यो कि भनेर हेर्न एक्लै बारीमा गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छोएपछि करेन्ट लागेको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी थियो । तर, मध्यरातमा बँदेल परेको आशंकामा उनी एक्लै बारीतर्फ गएको बताइएको छ ।

गम्भीर घाइते भएकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, चिकित्सकले बिहान ३ः२५ बजे मृत घोषणा गरेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

घटनापछि प्रहरीले विद्युतीय धराप थाप्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

वडाध्यक्ष केशवराज भण्डारीका अनुसार आज बिहानै प्रहरीले भेषराजलाई घटनाको मुचुल्का बनाउन तम्घासबाट गाउँमा ल्याएर फर्काएको छ ।

श्रीमतीको शव भने तम्घासमै राखिएको छ । घटनाको अवस्थाबारे प्रहरीले अनुसनधान गरेपछि र छोराहरु आएपछि मात्रै शव के गर्ने भन्ने टुंगो लाग्ने उनले जनाए ।

उनका अनुसार जंगली जनावरले किसानको खेती नष्ट पार्न थालेपछि गाउँमा धेरैले यस्ता धरापहरु राख्ने गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ । मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ०६० मा प्राप्त गर्नेछन् ।

यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको अधिकार सुनिश्चित गरेको छ। तर बागलुङको बडिगाड गाउँपालिका–७ थामचौरका बासिन्दाका लागि त्यो अधिकार अझै कागजमै सीमित छ। यहाँका स्थानीय आज पनि डेढ घण्टासम्म उकालो–ओरालो हिँडेर गाईबस्तुले खाने पोखरीको फोहोर पानी ल्याउन बाध्य छन्।

गाउँमा सुरक्षित खानेपानीको स्रोत नहुँदा स्थानीयले चरिचरन क्षेत्रमा रहेको एउटा पोखरीको पानी नै दैनिक उपभोग गर्दै आएका छन्। उक्त पोखरीमा गाईबस्तु पानी पिउँछन्, त्यहीँ मलमुत्र त्याग्छन्, जसका कारण पानी धमिलो, दुर्गन्धित र फोहोर देखिन्छ। तर विकल्प नहुँदा त्यही पानी गाग्रीमा भरेर घर लैजाने, उमाल्ने र पिउने बाध्यता स्थानीयको दैनिक जीवन बनेको छ।

टाढाबाट पानी ल्याउन सक्ने अवस्था सबैको छैन। विशेषगरी वृद्धवृद्धा, महिला र बालबालिका सबैभन्दा बढी समस्यामा छन्। स्वच्छ पानीको अभावले स्वास्थ्य जोखिम बढेको भए पनि स्थानिय तह तथा सम्बन्धित निकायबाट दीर्घकालीन समाधान नहुँदा स्थानीयको पीडा वर्षौंदेखि उस्तै छ।

यही यथार्थ देखाउने एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि थामचौरको खानेपानी संकट फेरि चर्चामा आएको छ। भिडियोमा स्थानीयवासी गाईबस्तुले प्रयोग गर्ने पोखरीबाट गाग्रीमा पानी भरिरहेको दृश्य देखिन्छ।

पोखरीमा पानी लिन पुगेकी करिब ७० वर्षीया एक वृद्धाले भनिन्, मैले थाहा पाएदेखि यही पानी खाइरहेको हो। गाईबस्तु चर्न आउँदा पनि यही पानी खान्छन्, मान्छेले पनि यही पानी खान्छ। गाईबस्तुले यहीँ पिसाब पनि गर्छन्। अब के गर्ने त, अर्को पानी लिन कहाँ जाने?,

स्थानीयका अनुसार यो समस्या नयाँ होइन। वर्षौंदेखि सुरक्षित खानेपानीको व्यवस्था नहुँदा उनीहरू बाध्यतावश यही पोखरीमा निर्भर छन्। उनीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्।

खानेपानी जस्तो आधारभूत आवश्यकता पूरा हुन नसक्दा थामचौरका बासिन्दा आज पनि गाईबस्तुसँगै एउटै पोखरीको पानी पिउन विवश छन्। यस्तो दूषित पानीको प्रयोगले झाडापखाला, हैजा, टाइफाइडलगायत पानीजन्य रोग फैलिने जोखिम बढ्ने भएकाले स्थानीयको स्वास्थ्य गम्भीर संकटमा पर्न सक्ने देखिन्छ। त्यसैले नागरिकको स्वास्थ्य र सुरक्षित खानेपानीको अधिकार सुनिश्चित गर्न स्थानिय तह तथा सम्बन्धित निकायले यस समस्याप्रति तत्काल गम्भीर ध्यान दिई दिगो समाधानको पहल गर्नु आवश्यक देखिएको छ।

भक्तपुर चाँगुनारायणकी ४५ वर्षीया शान्ति रावत सामान्य रूपमा जीवनयापन गर्दै थिइन्। उनलाई पहिले पनि कहिलेकाहीँ टाउको दुख्ने, रिंगटा लाग्ने र शरीर कमजोर हुने समस्या देखिन्थ्यो तर औषधि सेवनपछि ठीक हुने भएकाले त्यति गम्भीर रूपमा लिइएको थिएन। तर एक दिन उनी आफ्नी बहिनीको घर खरिपाटी गएको बेला अचानक बेहोस भइन् र अवस्था एक्कासी जटिल बन्दै गयो। उनी भुइँमा नठोक्किएर कुर्सीमै ढल्न पुगेकी कारण ठूलो चोटबाट जोगिइन्। त्यसपछि उनलाई तत्काल होसमा ल्याउने प्रयास गरियो तर अवस्था नफर्किएपछि एम्बुलेन्समार्फत साँझ साढे आठ बजे काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पुर्‍याइयो।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा पुगेपछि चिकित्सकहरूले तुरुन्तै उनको अवस्था मूल्याङ्कन गरे। सीटी स्क्यान लगायत सबै आवश्यक परीक्षण गर्दा मस्तिष्कको देब्रे भागमा रक्तस्राव भएको स्पष्ट देखियो। अवस्था गम्भीर भएकाले तत्काल न्युरोइन्टरभेन्सन विधिबाट उपचार गर्ने निर्णय गरियो।

डाक्टर अरुण पौडेलको नेतृत्वमा रहेको न्युरोइन्टरभेन्सन टोलीले क्याथल्याबमा एन्जियोग्राफी गरेर थप जाँच गर्दा दिमागको रक्तनलीमा “बेलुन” अर्थात् एन्युरिज्म रहेको पुष्टि भयो। त्यो संरचना ठूलो र जोखिमपूर्ण भएकाले उपचार अत्यन्त संवेदनशील थियो। परिवारसँग सल्लाहपछि शीर नखोली तार विधिबाट, अर्थात् कोइल र स्टेन्टको सहायताले रक्तनलीभित्रैबाट रक्तस्राव नियन्त्रण गर्ने उपचार गरियो। लामो र सूक्ष्म प्रक्रियापछि उपचार सफल भयो र रक्तस्राव नियन्त्रणमा आयो।

उपचारपछि केही दिनसम्म टाउको दुख्ने समस्या देखिए पनि विस्तारै शान्तिको अवस्था सुधार हुँदै गयो। जमेको रगत क्रमशः सोसिँदै गयो र उनी पूर्ण रूपमा होसमा फर्किइन्। केही समयपछि उनलाई पूर्ण रूपमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरियो।

अस्पतालको बसाइका क्रममा शान्तिले आफूलाई नयाँ जीवन प्राप्त भएको अनुभूति गरिन्। उनले उपचारमा संलग्न चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति भावुक हुँदै धन्यवाद व्यक्त गरिन्। आँसु झार्दै उनले भनिन्, “समयमै सही उपचार पाएर म बाँच्न सकेँ, तपाईंहरू मेरो लागि भगवान् समान हुनुहुन्छ।” परिवारका सदस्यहरूले पनि शान्तिको जीवन बचाउन सफल भएको भन्दै सम्पूर्ण टोलीप्रति गहिरो आभार प्रकट गरे।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो। उनीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा(डिभी) लिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ ।

निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ । स्वीकृत बिदा समाप्त भएपछि ३० दिन भित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकोले उनीहरूलाई स्पष्टीकरणको सोधिएको हो ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्। मन्त्री रावलले निजामती सेवामा अनुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने जानकारी दिइन्।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथिको सुनुवाइका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले रिटसँग सम्बन्धित तथ्य, प्रमाण र कागजातको समग्र अध्ययनका लागि विशेष अदालतबाट सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल पेस गर्न आदेश जारी गरेको हो ।

विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी हुन् । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले न्यायिक निरुपणका लागि सक्कल मिसिल आवश्यक रहेको ठहर गर्दै उक्त आदेश दिएको हो ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे । 

उनले भने, ‘खेलकुदको आवश्यकता शारीरिक तथा मानसिक स्वास्थ्यका लागि, समाजका विभिन्न पक्षहरूलाई प्रतिबिम्बित गर्न, समाजको सभ्यता, संस्कृति आदिको परिचय गराउन हो । समाज कस्तो छ भन्ने तस्बिर देखाउन पनि हो । समाजको अवस्था देखाउन खेलकुदको असाधारण भूमिका र महत्व छ । अहिले विश्व फुटबल चलिरहेको छ । हामीभन्दा साना देशहरूले कमालको प्रदर्शन गरिरहेका छन्। हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ । कस्तो उल्टोपाल्टो कुरा छ । हामीभन्दा साना देशहरू आश्चर्यजनक ढंगले खेलिरहेका छन्। अल्पविकसित, विकासशीलतामा भर्खर प्रवेश गर्दै गरेका देशहरूले विश्व फुटबलमा तहल्का मच्चाएका छन्, तर नेपाली फुटबल प्रतिबन्धमा छ ।’

ओलीले नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै त्यसकै कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध लागेको दाबी गरे । उनले खेलकुद क्षेत्रमा योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा अवसर प्रदान गरिनुपर्नेमा जोड दिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको हो।

उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको २०८३ असार ९ गतेको पत्रलाई आधार बनाउँदै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलनिकट विद्यार्थी संगठनका संरचना हटाउन भनिएको उल्लेख गरिएको छ।

पत्रअनुसार मन्त्रालयले ६० दिनभित्र शैक्षिक संस्थाबाट दलनिकट विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ प्रणाली विकास गर्न निर्देशन दिएको छ।

सोही निर्देशन कार्यान्वयनका लागि त्रिविले आफ्ना सबै आंगिक क्याम्पसलाई आवश्यक प्रक्रिया अघि बढाई गरिएको प्रगतिको जानकारी यथाशीघ्र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा पठाउन आग्रह गरेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलको हिरासत अवधि तीन दिन थप गरिएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको इजलासले सोमबार अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावल रहेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।

सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर उनले कालो सिसा हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले र अन्य अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री गुरुङले आफ्नो सरकारी गाडीको कालो सिसा पनि हटाउन आग्रह गरेका थिए । ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्,’ उनले भनेका थिए ।

गृहमन्त्रीले प्रयोग गर्ने गाडीमा समेत कालो सिसा हटाउने प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार गृहमन्त्रीको निर्देशनपछि उनको प्रयोगमा रहेको गाडीको कालो सिसा पनि हटाइनेछ ।

असार १४ देखि ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएको कालो सिसा (स्टिकर) हटाउने अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा स्टिकर हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधनका सम्बन्धमा भने ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।