
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकमा सांसदहरूको उपस्थिति र हाजिरी विश्लेषण गर्ने भएको छ ।
संसद्मा पछिल्लो समय अपेक्षित उपस्थिति नदेखिएको तथा बैठक सुरु हुँदा उपस्थित भए पनि बीचमै सांसदहरू बाहिरिने क्रम बढेको भन्दै रास्वपाले हाजिरी विश्लेषण गर्न लागेको हो ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद्को गरिमा कमजोर हुन नदिन विगतका केही बैठकको हाजिरी विश्लेषण गर्न लागिएको जानकारी दिएका छन् ।
बुर्लाकोटीका अनुसार २०८३ असार ३० र ३१ तथा श्रावण १४, १८ र २२ गते बसेका संसद् बैठकको उपस्थिति हाजिरी संसद् सचिवालयबाट झिकाएर विश्लेषण गरिनेछ ।
उनले हाजिरी विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको बताएका छन् ।
‘पछिल्लो समय संसद्मा अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरुमा उपस्थित भए पनि बीचमा संसद् छोडेर जाने क्रम पनि बाक्लिँदै गएको र यसबाट संसद्को गरिमा कमजोर हुँदै जाने देखिएकोले विगतको हाजिरी विश्लेषण गर्दै रहेको व्यहोरा जानकारी गराउँछु,’ मुख्य सचेतक बुर्लाकोटीले भनेका छन् ।
उनका अनुसार हाजिरी विश्लेषणपछि तयार हुने प्रतिवेदनका आधारमा संसद् बैठकमा सांसदहरूको उपस्थिति र जिम्मेवारी निर्वाहको अवस्थाबारे थप निष्कर्ष निकालिनेछ ।
तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्।
६५ वर्षीय सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए।
सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नो घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन थिए।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा सिंहले प्रयोग गर्दै आएको लु प्र ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।
सिंहको खोजीका लागि प्रहरीले गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। तीन दिनको खोजीपछि उनको शव जंगलमा फेला परेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिंह कपिलवस्तु नगरपालिकाका पूर्वमेयरका साथै नेपाली कांग्रेसमा सक्रिय नेता थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् ।
सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्दै पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग रहेको बताए ।
सरकार अहिले नै असफल भइनसकेको उल्लेख गर्दै उनले त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको बताए । सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्नुपर्ने र त्यसबाट विचलित भए आवश्यक कदम चाल्ने उनको भनाइ छ ।
‘सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ,’ उनले भने, ‘आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ ।’
लामिछानेले अहिले सरकारलाई हस्तक्षेप गर्नुपर्ने अवस्था नआएको बताए । सरकारलाई असफल हुन नदिने र आफ्नो मार्गबाट विचलित भए पुनः सही दिशामा ल्याउने उनको दाबी छ ।
‘तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ,’ उनले भने, ‘सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।’
सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै लामिछानेले यात्राका क्रममा आउने सामान्य अवरोधबाट आत्तिन नहुने बताए । प्राविधिक समस्या वा बाह्य कारणले कहिलेकाहीँ उडानमा ‘टर्ब्युलेन्स’ आउन सक्ने भन्दै उनले त्यसलाई यात्राको स्वाभाविक प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे ।
‘यो यात्रामा कहिलेकाहीँ टर्ब्युलेन्स आउँछन् । बादलका टुक्राबीच जहाज हिँड्दा जहाज हल्लिन सक्छ,’ उनले भने, ‘तर जहाज हल्लिँदैमा दुर्घटना हुन्छ कि भनेर डराउनुपर्दैन ।’
उनले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
‘त्यसैले–सिट ब्याक एन्ड रिल्याक्स । हामी असल नियत र सही दिशाका साथ यो यात्रालाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछौँ,’ उनले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन् ।
ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत् रहेकोमा प्रश्न उठाए ।
नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे । सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औँल्याए । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ ।
ढकालले भने ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए । त्यो सिंहदरबार भन्ने चाहिँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा । हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ । त्यो चिर्नुपर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।’
सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औँल्याए । उनले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिएका छन् ।
उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हट्दै जान थालेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आयातको परिमाण वृद्धि भएसँगै र वितरण प्रक्रिया सहज पारिएपछि बजारमा ग्यासको आपूर्ति लयमा फर्कन थालेको नेपाल आयल निगमले जनाएको छ।
गत असार ३१ गतेदेखि निगमले साविककै १४.२ किलोग्रामको पूर्ण सिलिन्डर बिक्री खुला गरेपछि बजारमा एक्कासि माग बढेर अभाव देखिएको थियो। निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्यायका अनुसार ७.१ किलो (आधा) बाट पुनः १४.२ किलोमा लैजाँदा सुरुआती दिनमा केही चाप परे पनि अहिले बिक्री वितरण सामान्य बन्दै गएको छ।
“अहिले पनि आईओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भइरहेका छन्,” उपाध्यायले भने, “बढीमा एक साताभित्र ग्यासको बिक्री वितरण पूर्ण रूपमा सहज हुन्छ। आमउपभोक्तालाई अनावश्यक सञ्चिति नगर्न आग्रह गर्दछौँ।”
पश्चिम एसियामा सिर्जित द्वन्द्व र सम्भावित सङ्कटलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि आधा (७.१ किलो) सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था मिलाएको थियो। आधा सिलिन्डर उपभोक्ताले खासै नरुचाएको र पूर्ण सिलिन्डर पाइने आशामा होल्ड गर्दा पछि एकाएक माग बढेको एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताए।
आयातमा उल्लेख्य वृद्धि
निगमको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको साउन महिनामा करिब ५५ हजार मेट्रिक टन आयात हुने अनुमान छ। चालु महिनाको २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास भित्रिसकेको छ।
आउँदा ठूला चाडपर्वलाई लक्षित गरी तीन महिनाका लागि ग्यासको कोटा बढाउन सरकारले भारतसँग कूटनीतिक पहलसमेत गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जानकारी दिइन्। नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्, जसको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ।
मन्त्रीद्वारा अनुगमन, ५ सय बढी गुनासो सम्बोधन
ग्यास वितरण सहज बनाउन उद्योगमन्त्री यादवसहित निगमका उच्च अधिकारीहरूले अनुगमनलाई तीव्र बनाएका छन्। शनिबार मन्त्री यादवको टोलीले बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित विभिन्न ग्यासका बिक्री केन्द्रहरूको निरीक्षण गरेको थियो। अनुगमनका क्रममा बजारमा कृत्रिम अभाव वा कालोबजारी नभेटिएको निगमले जनाएको छ।
यसैगरी ग्यास नपाएका उपभोक्ताको समस्या तत्काल समाधान गर्न निगममा गठित ‘क्विक रेस्पोन्स टिम’ ले हालसम्म ५ सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) आयोजना गर्ने घोषणा गरेको छ।
शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।
प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारको दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।
एनपीएलका लागि खेलाडीको लिलामी (अक्सन) प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल सहभागी टोलीले वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीव्रता दिइरहेका छन्।
सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा मूल्यवृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ गत शुक्रबारको तुलनामा ४ हजार ८ सय रुपैयाँले बढी हो ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम थियो ।
आज १० ग्राम सुनको भाउ भने २ लाख ५८ हजार ६ सय कायम भएको छ ।
यस्तै आज सुनसँगै चाँदी पनि महँगिएको छ । चाँदीको भाउ आज ६५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नाका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनले चाहेको काममा समय दिन पाउनुहुनेछ। आर्थिक पक्ष सुधार गर्ने नयाँ उपाय फेला पर्न सक्छ। आत्मीय व्यक्तिको साथले हौसला बढाउनेछ। ध्यान, जप वा आध्यात्मिक चिन्तनले मनलाई शान्त र प्रसन्न बनाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यक्षेत्रमा नयाँ सोचले राम्रो अवसर ल्याउन सक्छ। धेरै दिनदेखि रोकिएको छलफल निष्कर्षतर्फ पुग्ने संकेत छ। आर्थिक पक्षमा सन्तुलन कायम राख्दा भविष्यका योजना सहज बन्नेछन्। बेलुकातिर इष्टदेवको स्मरणले मनमा सकारात्मक ऊर्जा थप्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारमा ग्राहकको विश्वास बढ्ने सम्भावना छ। कुनै आवश्यक कामका लागि छोटो यात्रा गर्नुपर्ने हुन सक्छ। खानपानमा लापरवाही नगर्दा शरीर फुर्तिलो रहनेछ। परिवारसँगको आत्मीय क्षणले दिनलाई सुखद बनाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ विषय सिक्ने वा आफ्नो सीप प्रस्तुत गर्ने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा देखाएको सक्रियताले राम्रो प्रभाव छोड्नेछ। लेनदेनका विषयमा स्पष्ट निर्णय लिनु उचित हुनेछ। प्रिय व्यक्तिसँगको कुराकानीले मन हलुका बनाउनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दैनिक कामलाई व्यवस्थित गर्दा समयको राम्रो उपयोग हुनेछ। लामो समयदेखि सोचिरहेको योजना अघि बढाउने वातावरण बन्नेछ। स्वास्थ्यमा पर्याप्त आराम र पानीको मात्रा बढाउनु लाभदायक रहनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन प्रसन्न हुनेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नेतृत्व क्षमता देखाउने अवसर प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारीलाई आत्मविश्वासका साथ पूरा गर्दा सम्मान बढ्नेछ। सामाजिक भेटघाटबाट उपयोगी सम्बन्ध बन्न सक्छ। दिनको अन्त्यमा सन्तोषको अनुभूति हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुराना काम पूरा गर्ने जाँगर बढ्नेछ। व्यापारमा नयाँ योजना बनाउन सकिने समय छ। अध्ययन वा तालिमसँग सम्बन्धित विषयमा राम्रो प्रगति देखिन सक्छ। आफ्नो दिनचर्यामा नियमितता कायम राख्नु लाभदायक हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीमा गरिने कामबाट उत्साहजनक परिणाम मिल्न सक्छ। सिर्जनात्मक सोचले नयाँ अवसरको ढोका खोल्नेछ। अनावश्यक खर्चमा नियन्त्रण राख्दा आर्थिक पक्ष सन्तुलित रहनेछ। साँझतिर मनलाई आनन्द दिने समाचार सुन्न पाइनेछ। आजको शुभ रंग फिका गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धैर्यका साथ अघि बढ्दा जटिल देखिएको काम पनि सहज बन्नेछ। कार्यक्षेत्रमा अनुभवको राम्रो उपयोग गर्न सक्नुहुनेछ। स्वास्थ्यमा नियमित व्यायाम लाभदायक रहनेछ। शुभचिन्तकको सुझावले सही निर्णय लिन मद्दत गर्नेछ। आजको शुभ रंग गाढा बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बाहिरको कामबाट नयाँ सम्भावना देखिन सक्छ। व्यापार विस्तार गर्ने सोच बलियो बन्नेछ। अध्ययन वा अनुसन्धानमा रुचि बढ्ने संकेत छ। धार्मिक स्थलको दर्शनले मनमा शान्ति ल्याउनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनतले अपेक्षित परिणाम दिने समय नजिकिँदै छ। कागजी काम वा सरकारी प्रक्रिया सहज रूपमा अघि बढ्नेछ। शरीरलाई आराम दिनु पनि कामजत्तिकै आवश्यक हुनेछ। अनुभवी व्यक्तिको सल्लाह उपयोगी बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ प्रविधि वा नयाँ तरिकाबाट गरिएको काम सफल बन्न सक्छ। साथीभाइसँगको सहकार्यले राम्रो उपलब्धि दिलाउनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्ने संकेत छ। सेवा वा परोपकारका कामले आत्मसन्तुष्टि दिनेछ। आजको शुभ रंग समुद्री निलो हो भने शुभ अंक १ रहेको छ।
भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच तथा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उपभोक्तालाई प्रति सिलिन्डर ७ हजार रुपैयाँ का दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ। ग्यासको कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ। ग्यासको अवैध बिक्री वितरण तथा कालोबजारी नियन्त्रणका लागि अनुगमनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।




