२०८३ जेष्ठ १ गते शुक्रबार
२०८३ जेष्ठ १ गते शुक्रबार

काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्जामिन नेतन्याहूले आफ्नो मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको भ्रमपूर्ण प्रचारको कडा शब्दमा खण्डन गरेका छन् । इरानी आक्रमणमा उनको ज्यान गएको भन्दै तीव्र चर्चा चल्न थालेपछि बिहीबार राति आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले आफू पूर्ण रूपमा सुरक्षित र जीवित रहेको स्पष्ट पारेका हुन् ।

 

सञ्चारकर्मीमाझ बोल्दै नेतन्याहूले भने, ‘सबैभन्दा पहिले म यो स्पष्ट पार्न चाहन्छु कि म जीवित छु र तपाईँहरू सबै यसको प्रत्यक्ष साक्षी हुनुहुन्छ । मेरो मृत्युको बारेमा फैलाइएका सबै समाचारहरू भ्रामक र आधारहीन छन् ।’ उनले यस्ता कपोलकल्पित सूचनाहरूको पछि नलाग्न समेत आग्रह गरे ।

केही समयअघि नेतन्याहूले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानमाथिको जवाफी हमलाका बारेमा जानकारी दिँदै एक भिडियो सार्वजनिक गरेका थिए । तर, धेरै प्रयोगकर्ताहरूले उक्त भिडियो ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी बनाइएको दाबी गर्दै नेतन्याहूको मृत्यु भइसकेको हल्ला चलाएका थिए । यसरी सामाजिक सञ्जालमा भ्रमको खेती हुन थालेपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले समेत आधिकारिक विज्ञप्ति जारी गर्दै उक्त खबरको खण्डन गरेको थियो ।

 

पत्रकार सम्मेलनका क्रममा नेतन्याहूले अमेरिकासँगको सम्बन्ध र आगामी कार्यदिशाका बारेमा पनि चर्चा गरे । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इजरायल र अमेरिकाको संयुक्त अभियान थप मजबुत ढङ्गले अघि बढिरहेको दाबी गरे । सुरक्षा चुनौतीका बाबजुद इजरायल आफ्नो लक्ष्य प्राप्तिका लागि कटिबद्ध रहेको र ट्रम्प प्रशासनसँग मिलेर रणनीतिक कार्यहरूलाई पूर्णता दिने उनको भनाइ थियो ।

यसअघि इरानले गरेको आक्रमणपछि नेतन्याहू सार्वजनिक रूपमा नदेखिएको भन्दै विभिन्न अड्कलबाजीहरू गरिएका थिए । तर, बिहीबारको पत्रकार सम्मेलनसँगै ती सबै आशंकाहरू अन्त्य भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत फागुन २१ को निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने र विपक्षी दललाई मतदान गर्ने नेता-कार्यकर्तामाथि निर्मम कारबाही गर्ने चेतावनी दिएका छन ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जनवर्गीय सङ्गठनका नेताहरूलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीभित्र मौलाएको अन्तर्घात र विग्रहप्रति कडा आक्रोश व्यक्त गरेका हुन् ।

निर्वाचनको परिणाम अपेक्षाभन्दा निकै कमजोर आएपछि पार्टीभित्र तीव्र समीक्षा भइरहेका बेला प्रचण्डले ‘शुद्धीकरण’ को अभियान केन्द्रीय समितिबाटै सुरु हुने घोषणा गरे । ‘केन्द्रीय सदस्यहरू नै घण्टी (रास्वपा) तिर लागेको भन्ने जनरल रिपोर्ट आएको छ,’ प्रचण्डले भने, ‘को-को आफ्नो क्षेत्रमा गएनन् ? कसले घण्टीमा भोट हाले ? त्यसको ठोस प्रमाणसहितको रिपोर्ट ल्याउनुहोस् । त्यस्ता व्यक्तिलाई हामी आँखा चिम्लिएर कारबाही गर्छौँ ।’

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजेका लागि निर्धारण गरेको छ।

संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँगको छलफलपछि सचिवालयले शपथको मिति र समय तोकेको हो। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिर ीले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ चैत १२ गते २ बजे हुने तय भएको जानकारी दिए।

संविधानको धारा ८८ ले सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था गरेको छ। प्रवक्ता गिरीका अनुसार राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथग्रहण गराउने र लगत्तै ज्येष्ठ सदस्यले नवनिर्वाचित २७४ सदस्यलाई शपथग्रहण गराउनेछन्। प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले चैत १२ गते राष्ट्रपति कार्यालयमा शपथग्रहण गर्ने र सोलगत्तै सिंहदरबारमा नवनिर्वाचित बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथग्रहण गराउने छन्।

निर्वाचन आयोगले बिहीबार मात्रै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति रामचन्द्र पौडेल र सङ्घीय संसद् सचिवालयलाई पठाएको छ। आयोगले शपथको मिति तोक्न आयोगको प्रतिवेदन पर्खेको थियो।

सिंहदरबारमा भएको छ दलका प्रतिनिधिसँगको छलफलमा रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेपाली कांग्रेसका मोहन आचार्य, एमालेका गुरु बराल, राप्रपाका ज्ञानबहादुर शाही र श्रम संस्कृति पार्टीका प्रतिनिधि सहभागी थिए।

चैत तेस्रो सातादेखि संसद्को बैठक निर्वाचन आयोगले राष्ट्रपति पौडेललाई निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेपछि राष्ट्रपति कार्यालयले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने छ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधि सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने उल्लेख छ। आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाएकाले संविधानको सो व्यवस्थाबमोजिम राष्ट्रपतिलाई सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने बाटो खुला भएको छ।

शपथग्रहणलगत्तै संसद्को अधिवेशन आह्वान र प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु हुने छ।

प्रवक्ता गिरीका अनुसार संसद् अधिवेशन बोलाउनेबारे राष्ट्रपतिको कार्यालयसँग अनौपचारिक छलफल र समन्वय भइरहेको छ। चैत १२ गते नवनिर्वाचित सदस्यले शपथग्रहण गरेपछि राष्ट्रपतिबाट सोलगत्तै अधिवेशन आह्वान हुन सक्ने छ। सचिवालय स्रोतका अनुसार चैत १६ गते नवगठित प्रतिनिधि सभाको पहिलो बैठक बस्ने छ। अहिले नै तय भइसकेको छैन तर १६ गते बैठक बस्ने गरी आन्तरिक तयारी भइरहेको सचिवालय स्रोतले उल्लेख गर्यो‍।

शपथग्रहणपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढ्ने छ। संविधानको धारा ७६ (१) बमोजिम अबको प्रधानमन्त्री नियुक्त हुने छन्।

सो धाराले राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद्को गठन हुने व्यवस्था गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमनिर्वाचन २०८२ मा बहुमत प्राप्त गरेको छ। सो धाराबमोजिम रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने छन्।

शपथग्रहणलगत्तै रास्वपाले संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री र सरकार गठनका लागि दाबी पेस गरेपछि राष्ट्रपतिले सो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।

नवयुवा पुस्ताको आन्दोलनका व्रmममा प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २४ गते राजीनामा दिए। राष्ट्रपति पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरे । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ भदौ २७ गते शुक्रबार राति ११ बजेदेखि लागु हुने गरी आमनिर्वाचन २०७९ बाट गठित प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए।

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरको हो ।

 

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ ।

विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ ।

 

प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ ।

विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र भीषण हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले चैत ६ गते शुक्रबारदेखि मौसममा उल्लेख्य बदलाव आउने जानकारी दिएको हो।

शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा, धरान र आसपासका जिल्लामा झन्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। प्रि–मनसुनको अवधि भएकाले यस्तो शक्तिशाली हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र घरका छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा प्रभावित पार्न सक्ने जोखिम रहेको छ।

शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले जोखिमबाट बच्न विशेष काम नपरी यात्रामा ननिस्कन र सुरक्षित स्थानमा आश्रय लिन सर्वसाधारणलाई अपिल गरेको छ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ ।

संघीय संसद् सचिवालय बिहीबार सिंहदबरारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो ।

दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

शपथ ग्रहण गराउनु अगाडि ज्येष्ठ सदस्यको पहिचान गर्ने र ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्ने उनले बताए । राष्ट्रपतिसँग शपथ ग्रहण गरेपछि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ खुवाउने प्रवक्ता गिरीले जानकारी दिए । त्यस्तै नवनिर्वाचित सदस्यहरूको अभिमुखीकरणका लागि समेट्नुपर्ने विषयमा पनि दलहरूसँग राय लिइएको उनले बताए ।

खास गरी सैद्धान्तिक पक्ष भन्दा पनि व्यवहारिक पक्षलाई समेटेर अलि बढी केन्द्रित गरेर अभिमुखीकरणमा जान जरुरी रहेको सुझावहरू आएको प्रवक्ता गिरीले उल्लेख गरे ।

त्यस्तै उनले संसदीय दलको कार्यालयहरू व्यवस्थापन गर्न अलिकति चुनौतीपूर्ण रहेकाले उपलव्धताका बीच रहेर संसदीय दलको कार्यालय व्यवस्थापन गरेको बताए ।

छलफलपछि संसद् सचिवालयले दलका प्रतिनिधिहरूलाई दलको कार्यालय समेत देखाएको थियो । प्रवक्ता गिरीका अनुसार ठुला सङ्ख्याका हिसाबले रास्वपालाई नेकपाको दलको कार्यालयमा व्यवस्थापन गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतले रवि लामिछानेको अभियोग पत्र संशोधनका लागि दिइएको निर्देशन र सोसँग सम्बन्धित कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेसहितको मुद्दा संशोधनमा भएको टिप्पणी आदेश झिकाउन आदेश दिएको हो ।

अदालतले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीको लिखित जवाफमा उल्लेख भएको तर महान्यायाधिवक्ताको कार्यालयले पेस नगरेको ‘टिप्पणी आदेश’ को प्रतिलिपि माग गरेको छ ।

यसअघि २०८२ पुस ३० गते मातहतका जिल्ला सरकारी वकिल कार्यालयहरूलाई अभियोग पत्र संशोधनका लागि निकास दिने गरी आदेश भएको थियो ।

सोही क्रममा २०८२ माघ २ गते ‘त्रुटी सच्याई’ विचाराधीन मुद्दाका सबै प्रतिवादीहरू उपर दायर भएको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध तर्फको अभियोग संशोधन गर्ने गरी निकास दिइएको ब्यहोरा जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीको लिखित जवाफमा उल्लेख छ ।

तर, महान्यायाधिवक्ताको कार्यालयबाट पेस भएको लिखित जवाफमा सो २०८२ माघ २ गतेको त्रुटि सच्याइएको भनिएको ‘टिप्पणी आदेश’ को प्रतिलिपि संलग्न नदेखिएपछि अदालतले सो कागजात र त्यससँग सम्बन्धित अन्य प्रमाणहरू अनिवार्य रूपमा झिकाउन आदेश दिएको हो ।

सर्वोच्चले उक्त कागजातहरू झिकाई २०८२ चैत ९ गतेको लागि तोकिएको पेशीमा ‘हेर्न नमिल्ने न्यायाधीश बाहेकको इजलास समक्ष नियमअनुसार पेस गर्न निर्देश गरेको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानबदादुर (ज्ञानेन्द्र) शाहीलाई पार्टीको संसदीय दलको नेतामा चयन गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। त्यस्तै, बैठकले खुश्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गरेको छ।

राप्रपाबाट प्रत्यक्षमा एक र समानुपातिकमा चार सांसद निर्वाचित भएका छन्।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणका नाममा बजेट दुरुपयोग गरेको भन्दै गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

गाउँपालिकाले राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भनी एक नियमविपरीत १५ लाख सम्झौता गरिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरेको हो ।

चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ । चारैजना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट नवनिर्वाचित सांसद महावीर पुन पुनः सडक किनारमा पुस्तक बेच्न ओर्लिएका छन् । पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको सन्दर्भमा मेयर धनराज आचार्यले सडकमा नबस्न दिएको सुझावलाई बेवास्ता गर्दै पुनले आफ्नो अभियान जारी राख्ने घोषणा गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले शपथ ग्रहणको टुङ्गो नलागेको र आफू फुर्सदिलो भएकाले सडकमा आत्मकथा बेच्न लागेको बताएका छन् । ‘शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिर देखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु,’ पुनले फेसबुकमा लेखेका छन् ।

केही समयअघि मेयर आचार्यले कानुनको हवाला दिँदै पुनलाई सडकमा बसेर पुस्तक नबेच्न आग्रह गरेका थिए । त्यसको जवाफमा पुनले व्यङ्ग्यात्मक शैलीमा मेयरलाई सम्बोधन गर्दै भनेका छन्, ‘अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला ।’

चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्र म्याग्दीका ६ वटै स्थानीय तह पुगेर विकास र बजेटका बारेमा जनप्रतिनिधि र स्थानीयसँग छलफल सकेर उनी पोखरा फर्किएका हुन् । सांसदको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रियामा ढिलाइ भएपछि उनले पुनः पुस्तक बिक्रीकै दैनिकी रोजेका हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।